बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अब कसरी अघि बढ्लान् माधव नेपाल ?

शुक्रबार, १५ पुस २०७९, १० : १८
शुक्रबार, १५ पुस २०७९

तत्कालीन सत्ता गठबन्धन भत्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् । नेकपा एमालेसहितका दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेपछि नेता नेपाल आगामी भूमिका र पार्टीको भविष्यलाई लिएर गम्भीर भए पनि कुनै ठोस निर्णयमा पुग्न सकेका छैनन् ।

अध्यक्ष नेपालले बुधबार आफ्नो पार्टीका जिल्ला र प्रदेशका जिम्मेवार नेताहरुसँग भर्चुअल माध्यमबाट आगामी मार्ग र भूमिकाबारे सल्लाह र सुझाव लिएका छन् । अब बस्ने केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समिति बैठकमा यस सम्बन्धमा महत्वपूर्ण निर्णय लिने उनको तयारी छ ।

निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि नेकपा एकीकृत समाजवादीका कतिपय नेताहरु एमालेमा फर्किनुपर्छ भन्दै लबिङमा लागेका छन् । बाँकी नेताहरु माओवादीसँग एकता गर्नुपर्छ भन्न थालेका छन् । पार्टीका अधिकांश नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी बलियो पार्टी बन्न नसक्ने निष्कर्षमा पुगेपछि अध्यक्ष नेपालले आवश्यक निर्णय लिन जिल्लादेखि केन्द्रसम्मका बैठक बोलाएर छलफल अघि बढाएका छन् ।

एकीकृत समाजवादीमा अनेक खालका हल्ला चल्न थालेपछि पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पार्टीसँग एकता गर्नेगरी अघि नबढेको प्रतिक्रिया दिए । ‘हामी बजार हल्लाको भ्रममा नपरौं, हाम्रो पार्टी कुनै पार्टीसँग एकीकरण  गर्ने गरी अगाडि बढेको छैन,’ खतिवडाले भने, ‘यति बेला पार्टी सुदृढीकरणको योजना बनाउँदै छौं । पार्टी विस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर विचार विमर्शमा छौं ।’

अब बस्ने स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक आयोजना गरेर आवश्यक निर्णय लिने खतिवडाले बताए । यस्तै उपाध्यक्ष प्रमेश हमालले अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘हामी अहिले वेट एण्ड सीको अवस्थामा छौं । अहिलेको गठबन्धन कसरी अगाडि बढ्छ ? त्यसपछि मात्रै समर्थन गर्ने वा नगर्ने निर्णय हुन्छ । सरकारको गुण र दोषका आधारमा निर्क्यौल गर्छौं,’ हमालले भने, ‘तत्काल एकता गर्नेभन्दा पनि आफ्नै पार्टीलाई बलियो बनाउँछौैं । आवश्यकता र औचित्यका आधारमा एकता र ध्रुवीकरणमा जाने हुन सक्छ ।’

संघ र प्रदेशमा महत्वपूर्ण हिस्सेदारी खोज्दै

पाँच दलीय गठबन्धन टुटेपछि कांग्रेस आफ्नै आन्तरिक झगडामा रुमल्लिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन नमान्दा सबै गुमेको भन्दै महामन्त्री गगन थापा र शेखर कोइराला समूहले देउवाको चर्को विरोध गरिरहेका छन् । कांग्रेस आन्तरिक झगडामा रुमल्लिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल उनीहरुसँगै प्रतिपक्षमा रहने अवस्था देखिँदैन । बरु प्रचण्ड नेतृत्वको सरकारमा संघ र प्रदेशमा समेत भागबण्डा लिएर सहकार्य गर्ने पक्षमा उनी पुगेको नेताहरु बताउँछन् ।

स्रोतका अनुसार उनी अहिले सरकारको साझा न्यूनतम कार्यक्रमलाई पर्खेर बसेका छन् । साझा न्यूनतम कार्यक्रम र प्रचण्डले विश्वासको मत लिएमा नेकपा एकीकृत समाजवादी पनि संघ र प्रदेशमा समेत सरकारमा सहभागी हुन सक्ने धेरैको आकलन छ । सरकारमा जाने विषयमा छलफल भइरहे पनि कुनै निर्णय भई नसकेको उपमहासचिव प्रकाश ज्वालाले बताए ।

‘हामी प्रतिपक्ष भनेर बाहिरै बस्न सक्ने अवस्था छैन । सरकारमा सम्मानजनक हैसियत भएमा जानुपर्छ भन्ने छ,’ ज्वालाले भने, ‘सरकारका साझा न्यूनतम कार्यक्रम र गठबन्धनको गतिविधिलाई नियालेर सरकारमा सहभागी हुने विषयमा  निर्णय लिनुपर्छ भन्ने छ ।’

यदि सरकारमा जाने निर्णय भएमा संघ र प्रदेश सरकारका विषयमा प्याकेजमा सहमति गरिने उनले बताए । सरकारका साझा न्यूनतम कार्यक्रम र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि एकीकृत समाजवादी वर्तमान सरकारमा जाने÷नजाने स्पष्ट हुनेछ ।

औचित्य साबित गर्न नेपालको जोड

तत्कालीन नेकपाबाट अलग भई आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि अध्यक्ष नेपालले एमाले वा माओवादीमा यसै प्रवेश गर्ने पक्षमा छैनन् । आफ्नोसमेत हिस्सेदारी हुनेगरी पार्टी एकता गर्न भने उनी सकारात्मक रहेको बताइन्छ । त्यसका लागि नेपालले तत्कालीन नेकपालाई ब्युँताउने रणनीति बनाएका छन् । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम भट्टराईको समूह, वामदेव गौतम नेतृत्वको समूह, प्रभु साहको समूहलाई एक ठाउँमा ल्याएर बलियो कम्युनिस्ट पार्टी बनाएर एकता गर्न उनले चाहेका छन् ।

संसद बाहिर भएका सबै कम्युनिस्ट पार्टीहरुसँग आवश्यकता र औचित्यका आधारमा एकता र ध्रुवीकरणमा जाने नेता ज्वालाले बताए । ‘अब हठात कुनै पार्टीसँग एकता वा सहयर्का हुँदैन,’ उनले भने, ‘विचार र कार्यदिशाका आधारमा एकता र ध्रुवीकरणमा जान्छौं ।’

संसद बाहिर भएका सबै कम्युनिस्ट पार्टीलाई एकता र ध्रुवीकरणमा जोडेर  बलियो कम्युनिस्ट पार्टी बनाउनुपर्छ भन्ने अवस्थामा पुगेको ज्वालाले बताए । 

प्रचण्ड र ओलीको आ–आफ्नै रणनीति

एकीकृत समाजवादी पार्टीका विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष   केपी शर्मा ओलीका आ–आफ्नै रणनीति छन् । नेपाललाई राष्ट्रपति बनाएर ओली एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने योजनामा छन् । त्यसका लागि एमालेका नेताहरु नेपाललाई भेटेर राष्ट्रपति बन्न अफर गर्न थालेका छन् । नेपाल राष्ट्रपति भएमा एकीकृत समाजवादीलाई एमाले प्रवेश गराउन सजिलो हुने ओलीको बुझाई छ । यदि एमाले र एकीकृत समाजवादी एक भएमा संसदको पहिलो शक्ति भएर निर्णायक बन्न सकिने ओलीको दाउ छ ।

उता प्रधानमन्त्री प्रचण्ड भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपति बनाएर एमाले बाहेकका शक्तिहरुलाई जोडेर बलियो समाजवादी केन्द्र बनाउने रणनीतिमा छन् । एमालेसँग तत्काल एकता हुने सम्भावना नभएकाले एमाले बाहेकका शक्तिलाई एक ठाउँमा बनाउने उनको योजना छ ।

यदि नेता नेपाल राष्ट्रपति भएमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी, वामदेव गौतम समूह र प्रभु साह समूहलाई समेत जोडेर ठूलो पार्टी बनाएर प्रचण्ड सजिलै नेतृत्वमा पुग्ने योजनामा छन् । यसरी एमाले बाहेकको शक्तिलाई केन्द्रित गरेमा आफू बलियो हुने प्रचण्डको बुझाई छ । त्यसैले प्रचण्ड पनि नेपाललाई राष्ट्रपति बन्न अफर गरिरहेका छन् ।

एमाले बाहेकका शक्तिलाई केन्द्रिकृत गरेमा दीर्घकालीन रुपमा एमालेसँग एकता वा सहकार्य गर्न सजिलो हुने प्रचण्डको बुझाई छ । त्यसैले ओली र प्रचण्ड दुवै नेपाललाई राष्ट्रपति बनाएर आफ्नो रणनीति पूरा गर्ने दाउमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप