बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

प्रभु साहलाई साथ नदिएपछि सांसद किरण साहको आलोचना

शुक्रबार, १५ पुस २०७९, २१ : ०६
शुक्रबार, १५ पुस २०७९

रौतहट क्षेत्र नम्बर २ का सांसद किरण साहलाई चुनाव जिताउन सहयोग गर्नेहरू यतिबेला उनीसँग रुष्ट भएका छन् । ‘स्वतन्त्र जिताउ अभियान’का पदाधिकारीहरू सांसद किरण साहले प्रभु साहको साथ छाडेपछि रुष्ट भएका हुन् ।

गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन मा नेकपा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवारहरूको प्यानल नै खडा गरेका थिए । प्रभु साह नेतृत्वको ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान’बाट चुनाव लडेका किरण साहले पछिल्लो समय बोली फेरेपछि उनलाई साथ दिने अभियानका सदस्यहरु रुष्ट भएका हुन् ।

अभियानका क्षेत्रीय संयोजक श्रीभगवान पटेलले किरण साहले गद्दारी गरेको बताए । पटेलका साथै सो क्षेत्रका नेताहरू धर्मेन्द्र पटेल, त्रिभुवन साह, सन्तोष मेहता, फजिले हक, मोहन मेहता, रामबाबु कुश्वाहा लगायत अहिले किरण साहको खुलेर विरोधमा उत्रिएका छन् ।

जनता समाजवादी पार्टीका तत्कालीन जिल्ला अध्यक्ष एवम् सोही क्षेत्रमा पर्ने देवाही गोनाही नगरपालिकाको पूर्वमेयर धर्मेन्द्र प्रसाद पटेलले किरण साहले जनमतको अपमान गरेको प्रतिक्रिया दिए ।

‘प्रभु साहको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन रौतहट जिल्लाको अधिकतम सदस्यहरु सहित पार्टी परित्याग गरेका थियौं,’ उनले भने, ‘उनकै  नेतृत्वमा जिल्लामा चुनाव लडेका स्वतन्त्र प्यानललाई साथ दिन त्यागको बाटो रोजेर हामीले रौतहट क्षेत्र नम्बर २ मा किरण साहलाई साथ दिएका थियौ । तर किरण साहले गद्दारी गरे ।’

नेकपा एमालेको तत्कालीन जिल्ला अध्यक्ष एवम् बौधीमाई नगरपालिकाका मेयर प्रत्यासी त्रिभुवन साह पनि किरण साहले धोका दिएको बताउँछन् । किरण साहले जनमतको अपमान गरेको उनको आरोप छ ।

पछिल्लो समय किरण साहले आफू स्वतन्त्र रुपमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताको सहयोगमा जितेको भन्दै प्रभु साहको नेतृत्वमा गठित राजनीतिक दलमा आफ्नो नाम राखेकोमा आपत्ति जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप