सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला भलिबल सकिएको एक वर्ष पुग्दा पनि खेलाडीले पाएनन् पुरस्कार

शुक्रबार, १५ पुस २०७९, १४ : २५
शुक्रबार, १५ पुस २०७९

बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्जमा भएको आठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पुरस्कार एक वर्ष बित्दा पनि खेलाडीले पाएका छैनन् । प्रतियोगिता गत वर्ष फागुन २१ देखि २५ गतेसम्म आयोजना भएको थियो । 

उक्त प्रतियोगिताको पुरस्कार अहिलेसम्म नपाएको खेलाडीहरूले बताएका छन् । प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोटर््स क्लबले जितेको थियो । फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै हरियाणाले उपाधि जितेको हो । 

प्रधानमन्त्री कपमा प्रथम हुनेले पाँच लाख, दोस्रो हुनेले दुई लाख, तेस्रोलाई एक लाख र चौथोलाई ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो । बाँके जिल्ला भलिबल संघले हालसम्म टिमलाई पुरस्कार र उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार नदिएको हो । 

बाँके जिल्ला भलिबल संघले अघिल्लो कार्यकालमा भएको प्रतियोगिता भएका कारण यसको विषयमा आफूहरूले कुरा अघि बढाइ रहेको बताएको छ । संघका अध्यक्ष चिरन नन्दले आफूहरूले पुरस्कारका लागि अघिल्लो कार्यसमितिसँग सम्पूर्ण जानकारी लिएर खेलाडीलाई तत्काल पुरस्कार दिने वातावरण बनाउने बताए । 

‘अघिल्लो कार्यकालमा भएको प्रतियोगिता थियो । पुरस्कारको विषयमा त्यति जानकारी थिएन । खेलाडीले पुरस्कार नपाएको थाहा भयो अब छिट्टै पुरस्कार दिने व्यवस्था बनाउने छु,’ चन्दले भने । यता संघका पूर्व अध्यक्ष टीएस ठकुरीले आफूहरूले आर्थिक समस्याका कारण पुरस्कार समयमै दिन नसकेको बताए । आउने भन्ने ठाउँमा पैसा समयमै नउठ्दा पुरस्कार दिन नसकिएको बताए । 

‘आर्थिक समस्याले गर्दा हामीले समयमै पुरस्कार दिन सकेनौं । आउनु पर्ने ठाउँबाट पैसा समयमा नआउँदा पुरस्कारमा ढिलाइ भएको हो । नयाँ कार्यसमितिले पनि यो विषयलाई सकारात्मक रूपमा लिएर छिटै पुरस्कार दिने व्यवस्था मिलाउने छ,’ ठकुरीले भने । 

प्रतियोगिताका मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना)ले आफूहरूले महिलाको प्रतियोगिता भएका कारण संयोजन मात्र गरेका तर आर्थिक पाटोमा जिम्मेवारी नलिएको बताइन् । अहिलेसम्म खेलाडीहरूले पुरस्कार नपाएको सुन्दा नराम्रो लागेको बताइन् । 

‘मलाई प्रतियोगिताको बाहिरी पाटोको व्यवस्थापनको जिम्मेवारी दिएको थियो । तर, आर्थिक पाटोको जिम्मेवारी सबै भलिबल संघले लिएको थियो । पुरस्कारको विषयमा खासै जानकारी भएन । खेलाडीले पुरस्कार नपाएको भन्ने सुन्दा नरमाइलो लाग्यो,’ केसीले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप