नेपालसहित बर्मादेखि थाइल्यान्डसम्म मनाइने ल्होछारको नालीबेली
१६औँ शताब्दीभन्दा पहिले, बाइसे–चौबिसे राज्य नबन्दै नेपालको पश्चिम पहाडमा तमुहरूको शासन थियो । त्यस समयमा दक्षिणतिरका शासकले बारम्बार आक्रमण गरिरहन्थे । एकपल्ट उइसौँ ह्याल्सामा बैरीले तमुहरूले खाने पानीमा विष मिसाइदिएछन्, धेरै तमु योद्धा विषका असरले मर्न पुगे र राजाले युद्ध हारे । राजाको हारपछि बैरीद्वारा लखेटिएका थुप्रै केटाकेटी र स्वास्नी मानिस आफ्ना वृद्ध आमाबुवा, सुत्केरी आइमाई र बिरामीलाई छाडेर भागे । बिर्सेर पनि बिर्सन नसकिने यस घटनाले तमुहरूलाई ज्यादै पीडित बनायो । उनीहरूले मृतक र छाडिएका परिवारका सम्झनामा म्हों थाङको स्थापना गरी आफ्नो कुलका जति मानिस मरे वा बेपत्ता भए, त्यत्तिकै संख्यामा केटाहरूका लागि भाले र केटीहरूका लागि पोथी बलि दिएर मरेकाहरूको आत्मशान्तिका निमित्त म्हों पूजा गर्ने गरेका हुन् । कसैकसैको कुलमा ५०–६० वटा कुखुरा काटेर पूजा गर्नुपर्ने पनि देखिन्छ । यो गुरुङ जातिमा चल्दै आएको एउटा विशेष चलन हो ।
सुनीता गुरुङले ०५४ सालमा तयार गरेको ‘गुरुङ संस्कृतिमा रोदीगीतको अध्ययन’ शोधपत्रमा यो सन्दर्भ उल्लेख छ । उनले खुसीमान तमुको पुस्तक ‘गर्भमा लुकेका तमुवानका लोककथाहरू’ पुस्तकबाट उपरोक्त प्रसंग उद्धृत गरेकी रहिछन् । मदन पुस्तकालयमा सुरक्षित यस शोधपत्रमा रहेको नेवार समुदायको म्हपूजासँग ध्वनि सादृश्यता भएको म्हों पूजाले मेरो ध्यान खिच्यो । मैले संस्कृतिविद् डा. जगमान गुरुङलाई यस सम्बन्धमा सोधेँ । उनले भने, ‘म्हो थाङ होइन, मोँ थान हो । हुन त आ–आफ्नो भाषिका हुन्छ । मोँ भनेको भूत हो । यसलाई वायु थान पनि भनिन्छ, अर्थात् अगति परेका मान्छेको आत्मशान्तिका लागि वैशाख शुक्ल पक्षको पूर्णिमामा र बडादशैँको फूलपातीमा यो पूजा गरिन्छ ।’
यो सन्दर्भलाई यहीँ थाती राखौँ, किनभने आज ‘तमु ल्होछार’ परेको छ र यसको सामान्य चर्चा गर्नुछ ।
शब्दार्थमा तमु ल्होछार
गुरुङले आफ्नो मौलिक भाषामा आफूलाई ‘तमु’ भन्छन् । तमुको अर्थ फलामको हतियार अथवा बञ्चरो धारण गर्ने लडाकु हुन्छ । तिब्बती भाषाको लो–सार शब्दबाट गुरुङ भाषाको ल्होछार शब्द बनेको हो । डा. जगमान गुरुङका अुनसार, तिब्बती ‘लो’को अर्थ वर्ष वा वर्ग (समूह) र सारको अर्थ नयाँ भन्ने हुन्छ । तमु ल्होछारको अर्थ भयो– तमु (गुरुङ)को नयाँ वर्ष ।
गुरुङ भाषामा १२ महिना यस प्रकार छन् : तोकुन्दो (बाघ महिना) अर्थात् पुस, हेकुन्दो (खरायो महिना) अर्थात् माघ, मुप्ह्रिकुन्दो (गरुड महिना) अर्थात् फागुन, सबृकुन्दो (सर्प महिना) अर्थात् चैत, तकुन्दो (घोडा महिना) अर्थात् वैशाख, ल्हुकुन्दो (भेडा महिना) अर्थात् जेठ, प्रकुन्दो (बाँदर महिना) अर्थात् असार, च्ह्यकुन्दो (चरा महिना) अर्थात् साउन, खिकुन्दो (कुकुर महिना) अर्थात् भदौ, फोकुन्दो (मृग महिना) अर्थात् असोज, च्युकुन्दो (मुसा महिना) अर्थात् कात्तिक, लोङ्कुन्दो (गाई गोरु महिना) अर्थात् मंसिर ।
प्राज्ञ पैँडि इन्द्रबहादुर अदि लेम गुरुङको पुस्तक ‘तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन’का अनुसार, स्थानीयताले प्रभाव पारेर गुरुङले पुसको १५ गतेलाई नयाँ वर्ष मानेका हुन् । उनी लेख्छन्, ‘खसानका खसहरूको संस्कृतिमा जडानका जाडहरूको संस्कृति र जडानका जाडहरूको संस्कृतिमा खसानका खसहरूको संस्कृतिले प्रभाव पारेको छ ।’
१५ पुसदेखि दिन लामो हुन्छ भन्ने मान्यता हामीकहाँ सबै समुदायले राख्दै आएको पाइन्छ । यद्यपि, पछिल्लो समय अंग्रेजी महिना डिसेम्बरको २२ तारिखदेखि दिन लामो हुन्छ भन्ने प्रचलित छ । खासगरी, दिन लामो हुन थालेसँगै नयाँ वर्ष मनाइने हुँदा १५ पुसको दिन तमु ल्होछार मनाइएको पाइन्छ ।
पैँडि इन्द्रबहादुर अदि लेम गुरुङ लेख्छन्, ‘आजभन्दा ६ सय वर्षअघि इस्वीको १५औँ शताब्दीको अन्ततिर कास्कीका राजा जगदिखान शाहीको पालादेखि खस, बाहुन, ठकुरी र कामी, दमाईसँग गुरुङहरूको सम्पर्क भयो । त्यसपछि गुरुङ समाजमा हिन्दू धर्म, संस्कृति र खस भाषाको प्रभाव बढ्दै गयो । गुरुङहरूले बाहुन र जोगीहरूलाई गुरु थापेर देवनागरी लिपि, हिन्दू ज्योतिषशास्त्र तथा तन्त्रमन्त्र सिके ।’
उनका अनुसार, देवनागरी लिपिमा लेखपढ गर्न जान्ने, हिन्दु ज्योतिषशास्त्र तथा तन्त्रमन्त्र जान्ने, चार जुगको लक्षण बताउन सक्ने र विभिन्न जात वंशको वंशावली जान्ने व्यक्तिलाई गुरुङ भाषामा पैँडि भनिन्छ । संस्कृत भाषाको पण्डित पँडित हुँदै गुरुङ भाषाको पैँडि शब्द बनेको हो ।
उत्पत्ति
भारतीय ज्योतिषशास्त्रका सौर्य मण्डलीय १२ राशिजस्तै चिनियाँ–तिब्बती ज्योतिषशास्त्रमा १२ लो अथवा १२ वटा विभिन्न पशुपक्षीको आकृतिको परिकल्पना गरेर भूगोलमाथि खगोलको प्रभावलाई हेरिन्छ । १२ लो, नौ मेवा र ८ पार्ग चिनियाँ–तिब्बती ज्योतिष शास्त्रका मुख्य विधा हुन् ।
पैँडि इन्द्रबहादुरको उपरोक्त पुस्तक अनुसार, ल्हो पद्धतिको उत्पत्ति मंगोलियाको तुर्किस्तानमा भएको हो । पछि चीनमा यसको विकास भई त्यहाँबाट विश्वमा अन्य मुलुकमा यस पद्धतिको प्रचारप्रसार भयो । नेपाल लगायत तिब्बत, चीन, ताइवान, हङकङ, बर्मा, मकाउ, सिंगापुर, मलेसिया, जापान, लद्दाख, थाइल्यान्ड, भियतनाम, लाओस आदि देशमा आ–आफ्नै प्रकारले ल्होछार मनाएको पाइन्छ । जस्तोः शेर्पाहरूले ग्याल्पो ल्होसार, तामाङहरूले सोनाम ल्होसार र गुरुङले पुस १५ गते तमु ल्होछार मान्छन् ।
डा. जगमान गुरुङका अनुसार, ल्होसार चार प्रकारका छन्ः तोल ल्होसार (पौष शुक्ल प्रतिपदामा प्रवर्तन हुने), सोनाम ल्होसार (माघ शुक्ल प्रतिपदाको दिन प्रवर्तन हुने), ‘ग्याल्पो ल्होसार’ (फागुन शुक्ल प्रतिपदाको दिन प्रवर्तन हुने) र गुरुङहरूले पुस १५ को दिन मनाउने तमु ल्होछार । अन्य तीन ल्होसार तिथि अनुसार मनाइन्छ भने तमु ल्होछार सौरमान अनुसार मनाइन्छ । ल्होसारमध्ये तोल ल्होसार सबैभन्दा आदिम हो । यी चार ल्होसारमध्ये अहिले सोनाम ल्होसार मान्ने बढी छन् । ‘चाइनिज न्यु–इयर’ पनि माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।
पैँडि इन्द्रबहादुर लेख्छन्, ‘तोल ल्होसार तमुको शब्द हो । ‘तो’को अर्थ बाघ र ‘ल’को अर्थ लयीँ (जून) हो । तो र ल यी दुई शब्दको संयोगले पूर्णेको जून जनाउँछ ।’ उनका अनुसार, चीनको ह्वाङहो नदी र पिल नदीको आपसमा दुई थरी जाति बस्थे– ह्याङ्दी र याङ्दी । यी दुई थरीको आपसी मेलमिलापबाट अर्को जातिको जन्म भयो, जसलाई हुवा र सिया भनियो । हुवा र सियाबाट हान जाति बन्यो । गुरुङ यिनै हान जातिका हुन् भन्ने गरिन्छ । तमु (गुरुङ)को उद्गमस्थल चोँनासलाई मानिन्छ । भाषा, धर्म, शास्त्र, संस्कृति र परम्पराहरू चोँनासबाटै चलेर आएको गुरुङका पुरेत घ्याब्रेँ, पच्यु, लामा र पैँडि (ज्योतिषीहरू)को मान्यता छ । तिब्बतदेखि उत्तर पामरपठारबाट पूर्व मंगोल देशदेखि दक्षिण चीनको सुचुआन क्षेत्रदेखि पश्चिममा ह्वाङ्हो नदीको किनारमा कोकोकोन्होर तालको वरिपरि चोँ भन्ने ठाउँहरू प्रशस्तै देखिन्छ ।
डिल्ली जङ गुरुङको २०४६ सालमा प्रकाशित पुस्तक ‘तमु (गुरुङ) वंशको परिचय’ अनुसार, तिब्बतको भूभागबाट पटकपटक गरी नेपालका उत्तरी हिमालयका आसपास मनाङ र मुस्ताङ जिल्ला अन्तर्गतका विभिन्न क्षेत्रमा आफ्नो जीवन निर्वाह गर्नका लागि सिकार खेल्न र पशुपालन गर्न गुरुङहरू बसेका थिए । तमु चएँक्रो फौजीका साथ मुस्ताङमा आई बसेका थिए । त्यहाँँ उनका तीन छोरा भए । उनीहरूको समूह निकै ठूलो भई खान–पिउनमा कठिनाइ हुन थाल्यो । त्यसैले तीन भाइ छोरा तीन समूहमा विभाजन भई तीनतिर पसे । जेठा मनाङ खोलातिर, माइला केरुङ खोलातिर, कान्छा छिमी घ्यार्जा (मुक्तिनाथ) थाकखोलाबाट पसे । उनी लेख्छन्, ‘एउटै भाषा, धर्म, संस्कृति, कला साहित्य, परम्परा रहिआएका तमु (गुरुङ) जातिभित्र ४ जात र १६ जात गराई ठूलो र सानो जात बनाइदिएको छ । ठूलो जात र सानो जात भनी जातीय विभाजन गर्नमा मूल कारण के हो भने, जनशक्तिलाई टुक्र्याउनु हो ।’
कसरी मनाउने ?
जगमान गुरुङका अनुसार, तिहारमा देउसी–भैलो खेलेर संकलन गरेको धान, चामल र पैसाले स्योकैँ (सहभोज) खाएर पुसे १५औँमा ल्होछार मान्ने चलन थियो । तिहारमा देउसी–भैलो खेलेको छैन भने चेलीबेटीले आ–आफ्नो घरबाट चामल, रक्सी उठाउने र माइतीहरूले घिउ, कुखुरा वा बोका ल्याउने गर्थे । विशेषतः रोटी, रक्सी र मासुभात खाई ल्होछार मान्ने पुरानो चलन हो । योसँगै ल्होछार मान्ने विधिविधान पनि छन् ।
गुरुङ समाज र संस्कृतिको विकासमा सये ल्ह्ये (भूपति अथवा त्यस स्थानको प्रमुख व्यक्ति), त्होये ल्ह्ये (मौलोको मालिक अथवा दण्ड विधानको अधिकारी) म्हिग्रेँ चोग (ठूला बडा, भद्र भलादमी), दिनये ल्ह्ये (दिनको मालिक अथवा शुभ–अशुभ मुहूर्त विचार गर्ने पैँडि अथवा ज्योतिषी) र ह्योएँदोये ल्ह्ये (यजमानका मालिक अथवा पुरोहित)को प्रमुख भूमिका पाइन्छ । वर्तमान परिप्रेक्ष्यमा सये ल्ह्ये, त्होये ल्हये, म्हिग्रेँ चोग भनेका विभिन्न सामाजिक संघ–संस्थाका पदाधिकारी हुन् । अतः ल्होछार पर्वको अवसरमा उपरोक्त पदाधिकारीको अगुवाई र चाँजोपाँजोमा दिनये ल्ह्ये पैँडिले शुभ मुहूर्त विचार गरी ह्योएँदोये ल्ह्ये पुरोहितहरूले स्वस्ति शान्तिको कर्म गर्न अत्यावश्यक छ ।
२०५८ चैतमा पैँडि इन्द्रबहादुर अदि लेम गुरुङको अध्यक्षतामा ‘चिनियाँ ज्योतिष प्रतिष्ठानको गठन गरियो, जसमा जगमान गुरुङ महासचिव थिए । ०५९ असार ४ गते बसेको प्रतिष्ठानको बैठकले विश्वशान्ति पूजा गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान भन्छन्– प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको हो, लोडसेडिङ हुँदैन
-
बाँकेमा लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
-
फाल्गुनन्द गोल्डकपको तयारी पूरा
-
भारतीय क्रिकेटर अश्विनले लिए सन्न्यास
-
भारतीय क्रिकेटर अश्विनले लिए सन्न्यास
-
देश र जनताका पक्षमा कलम चलाउन उपाध्यक्ष भुसालको आग्रह