कोरोनापछि बालबालिकामा मनोवैज्ञानिक असरः परीक्षाको समेत मतलव छैन !
‘विद्यार्थीहरू कक्षाकोठामा ५ मिनेट पनि स्थिर भएर बस्न नसक्ने । शिक्षकहरूले अलि बढी दबाब दिन थाल्यो भने झम्टिन खोज्ने ।’ अचेल अधिकांश विद्यालयका बालबालिकामा यस्तो खालको समस्या देखिने गरेको छ ।
यतिमात्र नभएर अचेल विद्यार्थीको हात हातमा मोबाइल फोन हुन्छ । विशेष गरी सहरी क्षेत्रमा अध्ययनरत बालबालिकाको सहजताका लागि अभिभावकहरूले मोबाइल किनिदिने गरेका छन् । तर, बालबालिकाले भने त्यसको सदुपयोग गर्न सकेका छैनन् । अनावश्यक रूपमा च्याट गरिराख्ने, बढी जसो गेममा ध्यान दिने, अश्लील साइटहरू हेर्ने जस्ता समस्या देखिएका छन् ।
प्रदर्शनीमार्गस्थित पद्मोदय माविका प्रधानाध्यापक नारायणप्रसाद गौतमले अहिले बच्चाहरूमा पढाइप्रतिको रुचि कम भएको बताए । पढाइमा भन्दा पनि बालबालिकाको ध्यान अन्यत्रमा बढी केन्द्रित रहेको उनको भनाई छ ।
कोरोना महामारीको समयमा अनलाइन कक्षाका लागि बालबालिकालाई किनिदिएको मोबाइल अहिले समस्या बनेको उनले बताए । विद्यार्थीहरू कक्षाकोठामा ५ मिनेट पनि स्थिर भएर बस्नु नसक्ने भएका छन् । यतिमात्र नभएर सुन्न सक्ने धैर्यता नै नरहेको उनको भनाई छ ।
‘कोरोनाको बेलामा हामीले नै मोबाइल किनिदिनु भन्यौँ । मोबाइल किनेर अनलाइन पढाई गर्छौ भनेर अभिभावकहरूले किनेर दिए । अहिले विद्यार्थीको हातमा मोबाइल छ,’ उनले भने, ‘त्यसले गर्दा के भयो भने मोबाइलले नै बच्चाहरू एडिक्ट जस्तो भयो । उनीहरू मोबाइलमा मात्रै ध्यान दिने गरेका छन् ।’
विद्यार्थीहरूलाई एक छिन पनि मोबाइल नचलाई बस्न सक्दैनौँ भन्ने प्रश्नमा ‘सक्दैनौँ सर’ भन्ने गरेका छन् ।
यतिमात्र नभएर उनीहरू दिमागलाई कन्सन्ट्रेट गरेर पढ्न समेत सक्दैनन् । यतिबेला बालबालिका एक किसिमको एडिक्ट जस्तै भइसकेको उनको भनाई छ ।
‘अभिभावकहरूलाई फोन नदिनुहोस् भन्दा सर अहिलेको जमाना ठिक छैन, फोन नबोक् भन्यो कहाँ गएर झुन्डिन्छन्, कहाँ भाग्छन्, खाना खान आउँदैनौ भन्छन्,’ उनले भने ।
विद्यार्थीलाई ‘पढ–पढ’ भन्दा कुनै अप्रिय घटना पो घटाउने हुन कि भनेर शिक्षक÷शिक्षिकाहरूले डराउनुपर्ने अवस्था रहेको छ । ‘अहिले पठन संस्कृति नै छैन । कुनै उद्देश्य नै छैन । यो सबै कोरोनाले गर्दा भएको हो,’ प्रधानाध्यापक गौतमले भने ।
‘मोबाइलमा सबैभन्दा बढी टिकटक हेर्छन् । इन्स्टाग्राम पनि चलाउने अनि च्याट पनि धेरै गर्दा रहेछन् । च्याटिङका लागि ग्रुप क्रियट गरेका हुन्छन् । त्यसमा चाहिन÷नचाहिने सबै खालका म्यासेज गर्छन् । यसले सबैभन्दा विगार्‍यो,’ गौतम भन्छन् ।
गौतमका अनुसार परीक्षामा समेत विद्यार्थी गम्भीर छैनन् । केही दिन अगाडि पद्मोदय स्कूलले शनिवार परीक्षा गर्ने भनेको थियो । शिक्षकहरू प्रश्नपत्र, कापी लिएर तयारी अवस्थामा थिए । तर, आधाभन्दा कम मात्रै विद्यार्थी उपस्थित भए । आधा विद्यार्थीहरू सल्लाहै गरेर शनिवार परीक्षा दिन नजाने निर्णय गरेका रहेछन् ।
उपस्थित विद्यार्थीलाई एक हप्ता विद्यालय बन्द गर्ने प्रशासनले भनेपछि परीक्षा दिन जम्मा भएका विद्यार्थीहरूले ग्रुप च्याटमा म्यासेज पठाएछन् अनि आधा घण्टामा सबै विद्यार्थीहरू जम्मा भए ।
‘तिमीहरू आएनौँ भने एक हप्ता स्कूलै बन्द गरिदिने भन्नुभएको छ । तिमीहरू जसरी पनि आऊ’ भनेपछि थप विद्यार्थी आइपुगे । ७ बजेदेखि परीक्षा सुरू हुनुपर्नेमा ८ बजेतिर बल्ल सबै विद्यार्थी आइपुगे ।’ प्रधानाध्यापक गौतमले भने ।
पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार काठमाडौँकी प्रधानाध्यापक रिता तिवारीले पनि बालबालिकामा अचेल विभिन्न खालको समस्या देखिने गरेको बताइन् । ‘कोभिडपछि विद्यार्थीहरूमा पढ्ने कन्सन्ट्रेसन एकदमै कम छ । कक्षामा पहिलाको जसरी ध्यान दिने गरेका छैनन् ।’ उनले भनिन्, ‘विद्यार्थीहरूको मानसिकता पनि चेन्ज भएको छ । अहिले धेरै विकृति देखियो ।’
यस्तो खालको समस्या देखिएपछि विद्यालयहरूले अनेक जुक्ति निकाल्न थालेका छन् । प्रधानाध्यापक गौतमले बालबालिकालाई कसरी खुसी पार्न सकिन्छ, पढाइतर्फ कसरी ध्यान केन्द्रित गराउन सकिन्छ भनेर अतिरिक्त क्रियाकलापमा बढी ध्यान दिने गरिएको बताए ।
‘१० कक्षाका विद्यार्थीलाई पढाइमा मात्र फोकस गरेका छौँ । त्यो बाहेक सानो कक्षाका विद्यार्थीलाई कहिले घुमाउन लैजाने, कहिले खेलकुदका कार्यक्रम गर्ने गरेका छौँ । अतिरिक्त कक्षा (कोचिङ क्लास) पनि सञ्चालन गरिरहेका छौँ ।’ उनले भने ।
पद्मकन्याकी प्रधानाध्यापक तिवारीले पनि विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा बढी फोकस गरेको बताउँदै भन्छिन्, ‘विद्यार्थीहरूलाई फ्रेस मुडमा ल्याउने प्रयास गरिरहेका छौँ । उनीहरूलाई नाचगानतिर पनि ध्यान दिइरहेका छौँ ।’ उनका अनुसार पढाइमा विस्तारै सुधार हुन्छ होला । तर, कोभिडको असर अझै केही वर्ष रहने देखिन्छ ।
सहरको तुलनामा गाउँघरतिरका बालबालिकामा भने यस्तो खालको समस्या कम देखिएको छ । कञ्चनपुरको लक्ष्मी माविका शिक्षक लोकराज जोशी भन्छन्, ‘ गाउँघरतिर कोरोनाको बेला पनि बालबालिका कोठाभित्र मात्र सीमित भएनन् । जसले गर्दा त्यति धेरै समस्या देखिएको छैन ।’
गाउँघरतिर फोन तथा इन्टरनेटको पहुँच कम भएकाले त्यस्तो खालको समस्या कम देखिएको उनको भनाई छ ।
बालबालिकाहरूले भने अभिभावकहरूलाई समेत ढाँट्ने गरेका छन् । ‘म पढिरहेको छु, मेरो अनलाइन क्लास छ भनेर अभिभावकलाई ढाँट्ने अनि फोनमै बिजी हुने देखियो,’ प्रधानाध्यापक गौतमले भने ।
यस्तो खालको समस्या विशेष गरी मावि तहका विद्यार्थीहरूमा बढी देखिने गरेको प्रधानाध्यापक गौतमले बताए ।
‘माथिल्लो लेभलका बच्चाहरू बढी समस्या छ । १२ कक्षाको विद्यार्थीले सेल्फ कन्ट्रोल गर्न भने सक्दो रहेछ । तर, ८, ९, १० कक्षाका विद्यार्थीहरूमा बढी समस्या छ,’ उनले भने, ‘तल्लो तहका विद्यार्थीमा भने यस्तो खालको समस्या देखिएको छैन । उनीहरू पढाइमा मज्जाले ध्यान दिने गरेका छन् ।’
‘हाम्रो लगभग ३० प्रतिशत विद्यार्थी बिहान बेलुका काम गरेर स्कुल पढ्न आउने गरेका छन् । उनीहरूले भने पढाइमा ध्यान दिने गरेका छन्,’ प्रधानाध्यापक गौतमले भने ।
कोरोना महामारीभन्दा पहिला भने विद्यार्थी पढाइप्रति निकै केन्द्रित हुने गरेका थिए । ‘त्यो बेला त कक्षा खाली भयो भने सर पढाउन आउनुहोस् भन्ने, सर आएनन् भने किन आएनन् भनेर खोजीनिती गर्थे । तर, अहिले सर नआएपछि झनै खुसी हुन्छन्,’ प्रधानाध्यापक गौतमले सुनाए ।
विद्यार्थीहरू बढी मोबाइल चलाउन थालेपछि विद्यालयले अचेल प्रत्येक कक्षाकोठामा सिसिटिभी राखेको छ । कसैले मोबाइल चलाएको देखिएमा दिनभर मोबाइल खोसेर राख्न थालेपछि क्लासमा मोबाइल चलाउने समस्या कम हुँदै गएको छ ।
मनोविद् गोपाल ढकालका अनुसार बालबालिकामा कोरोनाकाल पछिको मनोवैज्ञानिक असर पछिसम्मै रहन सक्छ । बालबालिकामा मानसिक मात्र नभएर आर्थिक तथा सामाजिक लगायतका विषयमा समेत प्रभाव परेको उनको भनाई छ ।
‘कोरोनाका कारण बालबालिकाको पढ्ने बानीमा परिवर्तन भयो । उनीहरूमा सामाजिक सञ्जालको लत नै बस्यो ।’ मनोविद् ढकालले भने ।
अब शिक्षकहरूले विद्यार्थीको पढाइप्रतिको रुचि अभिवृद्धि गर्नुपर्नेमा उनको जोड छ । भन्छन्, ‘त्यसका लागि विभिन्न तौरतरिका अवलम्बन गर्न सकिन्छ । बालबालिकामा सोसल मिडियाको लत नै लागेको हो भने परामर्श लिने या उपचार पनि गराउन सकिन्छ ।’
कोरोना महामारीका कारण शिक्षा क्षेत्र तथा बालबालिकामा कस्तो खालको प्रभाव परेको छ भन्ने विषयमा सरकारले अध्ययन समेत थालेको छ । विज्ञ समूह नै गठन गरेर सरकारले त्यसले पारेको प्रभाव र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सुझावसमेत मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
-
अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट
-
किन असफल भयो टीआरसी सिफारिस समिति ? अब के हुन्छ ?
-
सुनको गहनामा जर्तीको नाममा रकम असुल्ने कार्य बन्द गर्न आग्रह
-
वरिष्ठ जनरलको हत्या मामिलामा रुसमा उज्वेकिस्तानी नागरिक पक्राउ