रातोपाटी ब्रिफिङ : पक्राउ पुर्जी जारीसँगै सन्दीप निलम्बित, सेना–प्रहरीलाई बालेनको पत्र
आज मिति २०७९ साल भदौ महिनाको २३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।
१. सन्दीप निलम्बित, पक्राउ पुर्जी जारी
नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हो ।
विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’
आजै प्रहरीले लामिछानेलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले मंगलबार बलात्कारको जाहेरी दिएकी थिइन् । सन्दीप यतिबेला देशबाहिर छन् ।
२. कानुनी लडाइँका लागि सन्दीपले मागे सहयोग
लामिछाने बलात्कार आरोपको मुद्दामा कानुनी सहयोगका लागि क्यानसँग आग्रह गरेका छन् । क्यानका कार्यबाहक प्रशिक्षक प्रशान्तविक्रम मल्लकाअनुसार सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको बताए ।
खेलका अन्य समाचार
३. कार्यदलले प्रतिवेदन बुझायो
मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
सञ्चारमन्त्री तथा सत्ता गठबन्धनबीच सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले न्यायोचित ढंगले सिटको बाँडफाँट हुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि प्रतिक्रिया दिँदै मन्त्री कार्कीले न्यायोचित ढंगले सिटको बाँडफाँट हुने बताएका हुन् ।
४. निर्वाचन कार्यतालिका सार्वजनिक
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यस्तै असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।
५. अमेरिका र रुसमा हवाई सेवा सुरु गर्न छलफल
नेपालले अमेरिका र रुससम्म हवाई उडान गर्ने तयारी गरेको छ । ‘कनेक्टिभिटी’ विना विकासको गति सहज नहुने भन्दै सरकारले अमेरिका र रुससहितका देशसँगको सिधा हवाई सम्पर्क कायम गर्न खोजेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विभिन्न देशसँगको ‘कनेक्टिभीटीको लागि सरकारले पहल गरिरहेको जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।
६. बालेनको एक्सन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालयलाई कर बुझाउन ताकेता गर्दैै पत्र काटेका छन् । शाहको आदेशमा महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीको हस्ताक्षरित पत्रमा १० दिनभित्र बहाल कर तिर्न भनिएको छ ।
महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकामा हालसम्म पनि कर नबुझाएकाले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गइ कर र जरिवाना तिर्न पत्रमार्फत ताकेता गरिएको छ ।
७. प्रचण्ड–कट्टेल सवालजवाफ
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका अध्यक्ष ऋषि कट्टेलबीच सवाल जवाफ भएको छ । सवाल जवाफका क्रममा प्रचण्ड तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विरुद्धमा मुद्दा हालेर कट्टेलले पार्टी फुटाइदिएको भन्दै आक्रोश समेत पोखे ।
८. उद्योगमन्त्रीको रिपोर्ट कार्ड
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री बडूले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो कार्यकालमा उद्योग विभागमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको जानकारी दिए । सो संख्याका उद्योग दर्ता हुँदा ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको मन्त्री बडूको भनाई छ । यसमध्ये विदेशी लगानीका २९५ उद्योगमार्फत ५४ अर्ब १५ करोड लगानी हुने र १६ हजार ९ सय नयाँ रोजगारी सिर्जना हुने मन्त्रालयले जानकारी दियो ।
९. सेयर बजार
आज नेपाल स्टक एक्सचेन्जमा सामान्य अंकको गिरावट आएको छ । दिनभर घटबढ भएको नेप्से परिसूचक अन्तिम समयमा आएर घटेर बन्द भएको हो । दिउँसो साढे १२ बजेसम्मको समयमा नेप्से परिसूचक घटेर १९ सय २६ अंकमा आइपुगेको थियो ।
पछिल्लो २४ घण्टामा देशभर जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१०. यो पनि
अबदेखि लोक सेवा आयोगले लिने प्रथम चरणको परीक्षामा प्राप्त गरेको अंकको ५० प्रतिशत मात्रै अन्तिम चरणमा जोडिने भएको छ ।
सहकारी आयकर घटेको छ । सरकारले बिहीबार आर्थिक ऐन २०७९ संशोधन गर्दै सहकारी संस्थाको नाफामा लाग्ने आयकर घटाएको हो ।
संशोधित आर्थिक ऐन २०७९ अनुसार अब नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीको कारोबारमा ५ प्रतिशत मात्र आय कर लाग्नेछ भने उपमहानगरपालिका भित्रका सहकारीको कारोबारमा ७ प्रतिशत र महानगरपालिकाभित्रका सहकारीमा १० प्रतिशत आय कर लाग्ने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले दिएको सुझाव प्रतिनिधिसभाले नमानेको गुनासो गरेकी छिन् । नागरिकता विधेयकलगायत अन्य समसामयिक विषयमा बिहीबार जनता समाजवादी पार्टी नेपाल का नेताहरुसँग शीतल निवासमा छलफल गर्ने क्रममा उनले सो गुनासो गरेकी हुन् ।
भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न बिहीबार स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कमेडियन अपूर्व क्षितिज सिंहलाई हाजिर जमानीमा रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेको भनाइ छ ।
माध्यमिक विद्यालय शिक्षक युनियनले आन्दोलनको घोषणा गरेको छ । विभिन्न माग अघि सारेर युनियनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी