बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अमेरिका र रुसमा हवाई उडान सुरु गर्ने गृहकार्यमा सरकार

महेन्द्रनगर, नेपालगन्ज र भैरहवा प्रवेशबिन्दु सन्चालनमा ल्याउन भारतसँग छलफल
बिहीबार, २३ भदौ २०७९, १८ : ३४
बिहीबार, २३ भदौ २०७९

नेपालले अमेरिका र रुससम्म हवाई उडान गर्ने तयारी गरेको छ । ‘कनेक्टिभिटी’ विना विकासको गति सहज नहुने भन्दै सरकारले अमेरिका र रुससहितका देशसँगको सिधा हवाई सम्पर्क कायम गर्न खोजेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विभिन्न देशसँगको ‘कनेक्टिभीटीको लागि सरकारले पहल गरिरहेको जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

उनले कनेक्टिभीटी बिना निकासले गति लिन सहज नरहेको बताए । कृषि, जलस्रोत र पर्यटन क्षेत्रका लागि पनि कनेक्टिभीटी आवश्यक रहेको रहेको उनको भनाई छ । ‘हवाइ, जल, स्थल, रेल सञ्जालको आवश्यकता छ, एउटा मात्र मुलुकको विकासले विश्व आर्थिक रुपमा मजबुत हुन सक्दैन, रिजनल कनेक्टिभीटीलाई अगाडि बढाउन आवश्यक छ, सँगै रहेका मुलुकको हातेमालोले समग्र अर्थतन्त्र सुदृढिकरण हुन सक्छ, क्षेत्रीयसँगै आन्तरिक कनेक्टिभिटीको पनि उत्तिकै आवश्यक छ,’ मन्त्री श्रेष्ठले भने ।

उनले हाल ४० मुलुकसँग दुईतर्फी हवाइ उडान सम्झौता गरेको सरकारले अमेरिका र रुसमा उडान गर्ने तयारी सुरु गरेको बताए। एउटा मात्र हवाइ बिन्दु रहेका कारण महेन्द्रनगर, नेपालगन्ज र भैरहवा प्रवेश बिन्दु सन्चालनमा समस्या भएकोले भारतसँग छलफल सुरु गरिएको उनको भनाई छ । नेपाल विद्युत प्राधिकरणले आउँदो चार वर्षमा मुलुकको उर्जा क्षमता १३ हजार मेगावाट पुर्याउने योजना बनाएको प्रवन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले भारत र बंगलादेशसँग ट्रान्समिसन कनेक्टिभीटीको सम्भावना बलियो रहेको बताए। 

‘ट्रान्समिसन कनेक्टिभीटीका लागि भारत बंगलादेश नै प्रमुख बजार हुन्, हामीले गत महिना मात्र बैगलादेशका प्रतिनिधिसँग भेट्यौं,  दुई पक्षीय सम्झौता बारे कुरा भइसकेको छ,’ घिसिङले भने । नेपालमा भएको उर्जा विक्रिका लागि भारत र बंगलादेश नै प्रमुख बजार रहेको उद्योग परिसंघको उर्जा परिषद सभापति ज्ञानेन्द्र लाल प्रधानले बताए । उर्जा क्षेत्र विस्तारका लागि वित्तीय सहायता गर्दै आएको मिलिनियम च्यालेन्ज फण्डले मुलुकमा रहेका सरकारी संस्थाले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न आवश्यक रहेको कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको भनाई छ । 

पछिल्लो समय दक्षिण एसिया क्षेत्रमा रहेका अधिकांश मुलुकमा पूर्वाधार विस्तारका लागि लगानी वृद्धि  हुँदै आएको  बोर्ड अफ डाइरेक्टर्स पार्टनरसीप फर ट्रान्सपरेन्सीका प्रतिनिधि रजत नागले बताए । रिजनल कनेक्टिभीटीका लागि नेपालसँग जोडिएका विभिन्न मुलुकको सीमाक्षेत्र लचिलो हुन आवश्यक रहेको उनको भनाई छ । ‘क्षेत्रीय व्यापारमा नेपालको ठूलो सम्भावना छ, पूर्वाधारतर्फ यतिखेर मल्टीमोडल यातायातको अभाव छ, अहिलेको मुख्य आवश्यकता भनेको सडक र जलमार्गलाई मजबुत बनाउनु हो, सडकमार्गबाटै ७० प्रतिशत सामान ढुवानी हुँदै आएको छ,  अधिकांश ट्रकले प्रतिघण्टा तीस किलोमीटर दुरी पार गर्दै आएको हुन्छ,’ उनले भने ।

भारतीय सिमा क्षेत्रमा दैनिक ७५० ट्रक र बंगलादेश सिमामा दैनिक तीन सय ५० मालवाहक ट्रकको निरीक्षण हुँदै हुँदै आएको उनले जानकारी दिए।  हाल सडकमार्ग, उर्जा र प्रविधि विकासमा सहयोग गर्दै आएको विश्व बैंकले नेपालका लागि रिजनल कनेक्टिभीटी अतिआवश्यक रहेको  निर्देशक सेसील फ्रम्यानले बताइन् । नेपालसँग स्थलगत मार्गबाट जोडिएका विभिन्न मुलुकमा सहजै मालवाहक गाडीको आउजाउको व्यवस्था आवश्यक रहेको उनको भनाई छ । 

‘क्रस बोर्डर ट्रेडका लागि यहाँ ठूलो सम्भावना छ, यसका लागि नेपाल र भारतबीच आउजाउ गर्ने मालवाहक गाडीलाई सहजताको व्यवस्थापन गरिदिनुपर्नेछ, हामीले यही कुरालाई मध्यनजर गर्दै बोर्डर एण्ड बोर्डर इन्फ्रास्ट्रक्चर, उड्डयन, जलमार्ग, डिजिटलाइजेशन, क्लाइमेटचेन्ज लगायतमा वित्तीय सहयोग गर्दै आएका छौं,’ उनले भनिन् । विश्व बैंकले नेपाल–बंगलादेश  आवतजावत सहजताका लागि लगानी गर्ने योजना बनाएको उनले जानकारी दिइन् । विश्वबजारमा  माग आइरहेको उर्जा विकासका लागि बैंकले सन् २०१५ देखि सन् २०३० सम्मका लागि २२६ विलियन डलर वित्तीय सहायता गरेको उनको भनाई छ । 

हाल उर्जा, यातायात, उड्डयन क्षेत्रमा वित्तीय सहयोग गर्दै आएको एसियाली विकास बैंकले नेपाल बौद्ध धर्मावलम्बीको केन्द्रविन्दु भएका कारण पर्यटन क्षेत्रमा अव्वल सम्भावना रहेको वरिष्ठ अर्थशास्त्री थियम ही एनजीले बताए।  ‘क्षेत्रीय विकासका लागि हामी आफ्नोतर्फबाट काम गरिरहेका छौं, हामीले नेपालमा उर्जा, यातायातमा वित्तीय सहायता दिँदै आएका छौं, रिजनल कनेक्टिभीटीसँगै व्यापार व्यवसायका  लागि नेपालमा ठूलो सम्भावना रहेको छ, नेपाल उर्जा उत्पादन र पर्यटनको मुख्य गन्तब्य हो,’ उनले भने ।

मुलुकको पर्यटन क्षेत्र पुनरुत्थान र विस्तारका लागि क्षेत्रीय र संजालको भूमिका महत्वपूर्ण रहेको नेपाल पर्यटन बोर्डका वरिष्ठ  निर्देशक नन्दिनी लाहे थापाले बताइन् । ‘कोभिडयता विस्तारै पुरानो लयमा फर्किएको मुलुकको पर्यटन क्षेत्रका लागि एयर कनेक्टिभीटी, होटल, रेष्टुरेण्टको भूमिका महत्वपूर्ण रहेको छ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेको छ, पोखरा विमानस्थल संचालनमा आउने तयारीमा छ, यसमार्फत एयर कनेक्टिभीटी थप प्रभावकारी हुने देखिएको छ,’ उनले भनिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप