शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले छाड्न सक्छ गठबन्धन !

कार्यकर्तालाई तयार रहन यादवको निर्देशन
बिहीबार, २३ भदौ २०७९, १४ : २९
बिहीबार, २३ भदौ २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबिना पनि चुनाव लड्ने अवस्था आउन सक्ने भन्दै त्यसको लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार वीरगञ्जमा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् । 

सत्ता गठबन्धनमा रहेका पाँच दलकै ध्यान मधेस प्रदेशतिर छ । जसपा भने त्यहाँ अरू दललाई प्रवेश दिनै चाहेको छैन । उता मधेस प्रदेशमा एक सिट भए पनि कांग्रेसले जसपाभन्दा बढी सिट लिने अडानमा छ । नेकपा एकीकृत समाजवादी पार्टीले अरू प्रदेशभन्दा मधेस प्रदेशमा आफ्नो संगठन बलियो रहेको दाबी गर्दै उसले पनि सबभन्दा बढी सिटको दाबी गरिरहेको छ । माओवादी केन्द्रको पनि सोही अनुसारको डिमान्ड छ । 

मधेस प्रदेशकै कारण पनि गठबन्धन टुट्न सक्ने अवस्था सृजना भइरहेको गठबन्धनभित्रकै नेताहरू बताउन थालेका छन् । जसपाले देशभरमा प्रतिनिधिसभामा ३० र प्रदेशसभामा ६० सिटको माग गरेको छ । त्यसमा मधेस प्रदेशमा मात्र कम्तीमा प्रतिनिधिसभामा २० र प्रदेशसभामा ३० सिट हुनुपर्ने अडानमा छ । 

जसपाका एक नेताले भने, ‘मधेस प्रदेशमा हाम्रो प्रतिनिधिसभाको सिट घटाइयोस् तर प्रदेशमा हामी कुनै पनि हालतमा घटाउन दिँदैनौँ । जसपाको बेस नै मधेस प्रदेश हो एक्लै चुनाव लडे पनि सबभन्दा बढी सिट ल्याउँछ ।’ 

मधेस प्रदेशमा प्रदेशसभा सदस्यमा बढी सिट दाबी गर्नुको कारण जसपाले त्यहाँ आफ्नो नेतृत्वको सरकार बनाउन चाहेको छ । तर जसपाको यसको खालको डिमान्डप्रति गठबन्धन सकारात्मक देखिएको छैन । गठबन्धनमा यसरी नै विवाद बढ्दै गएपछि जसपा अलग भएर नयाँ ढंगको गठबन्धन बनाएर पनि अगाडी बढ्ने सक्ने अवस्थाको संकेत अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । त्यसैले वीरगञ्जमा जसपाका अध्यक्ष यादवले भनेका थिए, ‘गठबन्धनमा जसपालाई उपेक्षा गरिएको छ, यदि यस्तै रहने हो भने जसपा एक्लै चुनाव लड्न तयार रहनु पर्छ ।’ 

 

जसपाको हैसियत अनुसार सिट बाँडफाँट नगरिए एक्लै चुनाव लड्ने धारणा राख्दै उनले त्यही अनुसारको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको सो पार्टीका नेता हरिनारायण रौनियारले बताए । कार्यक्रममा सहभागी रहेका रौनियारले भने, ‘अध्यक्षज्यूले गठबन्धनबिना पनि चुनाव लड्न निर्देशन दिनुभएको छ ।’ जसपाको शक्ति र संगठनअनुसार सिट नदिए एक्लै पनि चुनाव लड्न पार्टी तयार रहेको नेता रौनियारले बताए । 

 

गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलका सदस्य समेत रहेका जसपा कार्यकारिणी सदस्य रकम चेम्जोङले जसपाले गठबन्धन छाड्ने अवस्था अहिले नै नआएको बताए । ‘गठबन्धनभित्र छलफल जारी छ । कुरा सहमति नजिक नजिक पुगेको छ । कुरा मिल्नेमा म विश्वस्त छु,’ उनले भने, ‘अन्त्यमा गएर कुरा मिल्दै मिलेन भने जसपा चुनावमा भाग नलिने कुरा हुँदैन । एक्लै भए पनि चुनावमा भाग लिन्छ ।’ तर अहिले त्यो अवस्था नआएको दाबी गरे । 

‘गठबन्धनमा प्रमुख पाँचवटा दल छन् तर सिट थोरै छ । सबैको आ–आफ्नो चाहना छ । तर समस्या जटिल छैन, कुरा मिल्छ,’ उनले भने, ‘देशमा कस्ता–कस्ता विवाद त छलफलबाट मिलेको छ । यो नमिल्ने कुरा नै हुँदैन ।’

जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले ठूला दल भनाउँदाहरुले पेल्ने र हेप्ने काम गरे गठबन्धनबाट अलग भएर पनि चुनावमा जाने प्रतिक्रिया दिए । उनले भने, ‘हामी गठबन्धनबाट अलग हुन चाहँदैनौँ । गठबन्धन बनाउन जसपाको मुख्य भूमिका थियो । त्यही भएर हामी गठबन्धन छाड्ने पक्षमा छैनौँ । तर जेमा पनि हेप्ने, जेमा पनि पेल्ने काम गर्‍यो भने त्यहाँ बसिरहने बाध्यता रहँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप