रातोपाटी ब्रिफिङ : कांग्रेस पदाधिकारीसँग राष्ट्रपतिको परामर्श, एमालेले स्थानीय स्तरमा चुनावी तालमेल गर्ने
आज २०७९ साउन भदौ १३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा कांग्रेस पदाधिकारीसँग राष्ट्रपतिको परामर्श, संक्रमणकालीन न्यायका बारेमा सांसदहरुको चासो, सिट बाँडफाँटको टुङ्गो बुधबारसम्ममा : प्रचण्ड, विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित, एमालेले स्थानीय स्तरमा चुनावी तालमेल गर्ने, मानहानी मुद्दामा बालेन शाहलाई लिखित जवाफ पेस गर्न आदेश, एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयको सहमति लगायत छन् ।
१. कांग्रेस पदाधिकारीसँग राष्ट्रपतिको परामर्श
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सो पार्टीका पदाधिकारीसँग विचाराधीन विधेयक तथा आसन्न निर्वाचनको तयारीबारे परामर्श गरेकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको बारेमा विशेष चासो राखेको बताइन्छ ।
२. संक्रमणकालीन न्यायका बारेमा सांसदहरुको चासो
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरुले संक्रमणकालीन न्यायबारे चासो राखेका छन् । उनीहरुले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकको सैद्धान्तिक पक्षबारे छलफलमा भाग लिँदै पीडितले न्याय नपाउने हुन् कि भन्नेबारे चिन्ता व्यक्त गरेका हुन् ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले संक्रमणकालीन न्यायलाई फौजदारी कानुनको आँखाले हेर्न नहुने बताए । सोमबारको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
३. सिट बाँडफाँटको टुङ्गो बुधबारसम्ममा : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा बुधबारसम्ममा सत्ता गठबन्धनभित्र सिट संख्या टुङ्गो लाग्ने बताएका छन् । पार्टीको उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले तीन स्टेपमा गरेर चुनावी तालमेलको प्रक्रिया टुङ्गो लगाउने बताए ।
४. विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित
विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँग वार्ता गर्न भन्दै आन्दोलन स्थगित गरिएको विद्यालय कर्मचारी परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले जानकारी दिए । उनले वार्ताको प्रक्रिया अवधिभरका लागि सबैखाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
५. एमालेले स्थानीय स्तरमा चुनावी तालमेल गर्ने
आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धा गर्ने क्रममा नेकपा एमालेले अर्को गठबन्धन बनाउने भन्दा पनि स्थानीय तहमा चुनावी तालमेल गरेर जाने रणनीति बनाएको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार एमाले गठबन्धन बनाउने पक्षमा छैन । उनले स्थानीय तहमा तालमेलका लागि पनि एमाले सदैव तयार रहेको बताए ।
६. मानहानी मुद्दामा बालेन शाहलाई लिखित जवाफ पेस गर्न आदेश
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई मानहानी मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । बालेनले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसले अदालतको मानहानी भएको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
७. एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयको सहमति
अर्थ मन्त्रालयले आसन्न निर्वाचनको सुरक्षाका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरी प्रधान कार्यालयलाई सहमति प्रदान गरेको छ । प्रहरीले भने एक लाख २० हजारभन्दा धेरै म्यादी प्रहरी भर्नाका लागि प्रस्ताव गरेको थियो ।
८. निर्वाचन आयोगमा प्रतिनिधिसभाको समानुपातिकतर्फ ७६ दलका ६८ निवेदन
प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ७६ वटा दलबाट ६८ वटा निवेदन परेको छ । यसैबीच कांग्रेस र एमालेले हाल समानुपातिकतर्फ रहेका सांसदलाई फेरि समानुपातिकमै अवसर नदिने भएपछि कयौं समानुपातिक सांसदले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी नपाए ‘रिङ आउट’ हुनुपर्ने भएको छ ।
९. झोलामा रहेका खोला खोज्दै सरकार
सरकारले विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेर सम्पर्कविहीन भएका आयोजनाहरूको सूची खोज्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले पीपीए गरेर सम्पर्कविहीन बनेका आयोजनाहरूको सूची खोज्ने बताएकी हुन् । उनका अनुसार आयोजना बनाउने भन्दै खोला ओगटेर बसेका लगानीकर्ताको सूची निकालेर छिटो निर्माणमा जान दबाब दिने तयारीमा मन्त्रालय लागेको हो ।
१०. र यो पनि,
कर्णाली प्रदेशका थपिएका माओवादी केन्द्रका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको तालाबन्दी लगायतका समस्या शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् ।
मिटरव्याजी साहुकारका बारेमा गृहमन्त्रालयले सर्वसाधारणबाट उजुरी संकलन गरिरहेको समयमा दाङका मिटरव्याज पीडितले मिटरव्याजकै कारण आफूहरुको उठीबास भएको गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन