शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७०० फिल्ममा मुख्य हिरो, एउटै नायिकासँग १३० फिल्म : प्रशंसकको माया नै बन्यो मृत्युको कारण

शनिबार, ०४ असार २०७९, १३ : ५२
शनिबार, ०४ असार २०७९

आफ्नो ३९ वर्षको करियरमा धेरै ठूला कीर्तिमान बनाउने एक स्टार हुन् प्रेम नाजिर । मलयालम फिल्म उद्योगलाई भारतभरि पहिचान दिने उनी नै हुन् ।  सबैभन्दा धेरै फिल्म, सबैभन्दा धेरै डबल रोल, सबैभन्दा धेरै ट्रिपल रोल र एकजना नायिकासँग करिब १३० फिल्ममा अभिनय गर्नेजस्ता ठूला रेकर्ड उनकै नाममा छ । उनको अभिनय यति दमदार हुने गर्दथ्यो कि एक समयमा हरेक फिल्म निर्माताले उनलाई नै लिएर फिल्म बनाइरहेका थिए । फलस्वरूप सन् १९७९ मा उनका २–३ मात्र होइनन् ३९ वटा फिल्म रिलिज भए ।

मलायालम सिनेमाको स्वर्ण युग ल्याउने प्रेम नाजिरका फ्यानहरू अत्यधिक थिए तर एक प्रशंसकको लापरवाही नै उनको मृत्युको कारण बन्यो । उनको मृत्युपछि उनी राम्रो कलाकार हुन् कि समाजसेवी भन्ने बहस पनि सुरु भयो । नतिजा निस्कन त सकेन तर सबैले चलचित्र जगतमा प्रेम नाजिरजस्तो स्टार कहिल्यै नजिन्मने बताए ।

आज मलयालम सिनेमाको नक्सा परिवर्तन गर्ने र सिनेमालाई मानवताको पाठ सिकाएर सुनौलो इतिहास रच्ने प्रेम नाजिरको कथा पढ्नुहोस्:

प्रेम नाजिरको जन्म ७ अप्रिल सन् १९२७ मा केरलामा २ भाइ र ६ बहिनीको बीचमा भएको थियो । प्रेमले कदिनमकुलमबाट आफ्नो स्कुलको पढाई पूरा गरे र कलेज जाने बित्तिकै थिएटर समूहमा सामेल भए । आफ्नो कलेजको समयमा, प्रेमले यति धेरै नाटकहरूमा भाग लिए कि उनले अभिनयमा महारथ हासिल गरे । आफ्नो करियरको पहिलो नाटक द मर्चेन्ट अफ भेनिस (१९५१) थियो, जसका लागि उनले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । प्रेमले सन् १९५२ मा आएको फिल्म मरुम्कलबाट फिल्ममा डेब्यु गरेका थिए । पहिलो फिल्ममा उनलाई अब्दुल कादर नामले क्रेडिट दिइएको थियो जुन उनको वास्तविक नाम थियो । उनले सोही वर्ष रिलिज भएको आफ्नो फिल्म ‘विसाप्पिंटे विली’ बाट लोकप्रियता कमाए । आफ्नो प्रारम्भिक करियरमा, उनले एक्सेल प्रोडक्सन, उदय र मेरील्याण्ड स्टुडियोसँगको सहकार्यमा धेरै फिल्महरूमा काम गरे ।

कम उमेरमा प्रेमकी आमा असूमा बिवीको निधन भयो । पितालाई आमासँग यति प्रेम थियो कि केही वर्षपछि उनले यसै नामकी अर्की महिलासँग विवाह गरे ।

स्टारडमबाट महिलाको मनपर्ने नायक बनेका थिए प्रेम

लगातार हिट दिएर, प्रेम नाजिरले रोमान्टिक नायकको छवि स्थापित गरे र पहिलो मलयालम सुपरस्टारको हैसियत हासिल गरे । ५० को दशकमा नाजिर उदीयमान कलाकार बनेर भारतीय सिनेमाको महत्वपूर्ण अनुहार बनेका थिए । महिलाहरु माझ उनको सबैभन्दा धेरै लोकप्रियता थियो । सन् १९५६–७६ को बीचमा, प्रेमले सामाजिक र धार्मिक चलचित्रहरूमा अभिनय गर्न जारी राखे । उनका उत्कृष्ट फिल्महरूले मलयालम फिल्म उद्योगलाई देशभर पहिचान दिलाए ।

प्रेम नाजिरले ३९ वर्षमा ९०० फिल्म गरे

प्रेमले आफ्नो ३९ वर्षको फिल्मी करियरमा करिब ९०० फिल्म गरिसकेका छन् । सन् १९७९ मा उनका सर्वाधिक ३९ फिल्म रिलिज भएका थिए भने सन् १९७३ र १९७७ मा ३०-३० फिल्म रिलिज भएका थिए । औसतमा हेर्ने हो भने हरेक वर्ष औसत २३ वटा फिल्म छन् । यो त्यो समय हो जब थिएटर र स्क्रिनको संख्या पनि कम हुने गर्दथ्यो ।  सुविधा नहुँदा पनि प्रेमले एक वर्षमा यति धेरै फिल्म कसरी सुटिङ गरे, सोच्नै पर्ने विषय हो ।

सबैभन्दा धेरै फिल्म बनाउने कीर्तिमान प्रेम नाजिरको नाममा छ

– सन् १९७९ मा प्रेम नाजिरका ३९ फिल्म रिलिज भएका थिए ।

– ७०० भन्दा बढी फिल्ममा मुख्य भूमिका निभाएको लिम्का विश्व रेकर्ड

– ८५ नायिकासँग काम गरेको रेकर्ड

– सन् १९७५ सम्म, प्रेमले अभिनेत्री शीलासँग कूल १३० चलचित्रमा काम गरे । प्रेमले शीलालाई आफ्नो ‘लक’ मान्थे ।

– प्रेम नाजिरले ४० भन्दा बढी चलचित्रमा दोहोरो भूमिका निर्वाह गरेका छन् । उनी तीनवटा फिल्ममा ट्रिपल रोलमा पनि देखिएका छन् ।

स्टारडम घटेपछि बने साइड हिरो

७० को दशकसम्म प्रेम नाजिरले धेरै कीर्तिमान बनाए पनि १९८० को दशकको सुरुमा सुपरस्टार जयन, सुकुमारन, शंकरको आगमनसँगै उनको लोकप्रियता घट्यो । यहाँ पनि प्रेमले हार मानेनन् र सहायक भूमिका खेल्दै करियरको दोस्रो इनिङ्स सुरु गरे । ठूला स्टारसँग साइड रोल खेलेर पनि प्रेमले आफ्नो स्टारडम कायम राखे ।

प्रेम नाजिरको करियरको सबैभन्दा आइकोनिक भूमिका पद्योत्तम (सन् १९८२) बाट थियो, यसमा उनले सहायक कलाकारको भूमिका निभाएका थिए ।

फिल्म फ्लप हुँदा उनी निर्मातालाई सहयोग गर्थे

प्रेम नाजिरको उपस्थितिलाई मलयालम फिल्म उद्योगको स्वर्ण युग भनिन्छ । उनी ती अभिनेता थिए जसको यदि कुनै फिल्म फ्लप भए उनी तुरुन्त निर्मातालाई अर्को फिल्म सुरु गर्न आग्रह गर्थे ।  उनी आफ्नो व्यस्त तालिकाबाट समय निकालेर त्यही निर्माताको फिल्म गर्ने गर्थे, घाटा पूर्ति गर्नका लागि ।

मलयालम फिल्म उद्योगलाई ठूलो उचाइमा पुर्‍याउने स्टार

आज जहाँ चलचित्र क्षेत्रका हरेक व्यक्तिले एकअर्कालाई प्रतियोगी ठान्छन्, त्यहाँ प्रेम नाजिर उद्योगका हरेक व्यक्तिलाई सहयोग गर्ने व्यक्ति थिए । प्रेम नाजिरले शशिकुमारको सहयोगमा मलयालम उद्योगका हरेक टाट पल्टिसकेका निर्मातालाई आर्थिक मद्दत प्रदान गरे ताकि उनीहरूले आफ्नो करियर फेरि सुरु गर्न सकून् ।

प्रेम नजिरले हबिबा बिवीसँग विवाह गरेका थिए जसबाट उनका एक छोरा र तीन छोरी छन् ।

 


जुन फिल्ममा अन्तिम पटक मुख्य भूमिका निभाए त्यो एक वर्षसम्म थिएटरमा चल्यो

अन्तिम पटक प्रेम सन् १९८५ मा आएको फिल्म वेलारिक्का पट्टनममा नायकको भूमिकामा देखिएका थिए । यो फिल्म ब्लकबस्टर थियो, जुन एक वर्षसम्म थिएटरमा चल्यो ।  प्रेमले फिल्मका लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पनि पाउन सक्थे, तर उनले एक भोटले अवार्ड गुमाए । उनको करियरको अन्तिम फिल्म सन् १९९० को कडाथन्दन अम्बादी थियो ।

साथीलाई सहयोग गर्न र्‍यालीमा भाग लिँदा स्वास्थ्य बिग्रियो

प्रेम नाजिर जीवनभर राजनीतिबाट टाढा रहे, तर उनले आफ्नो नजिकको साथीलाई सहयोग गर्न र्‍यालीमा भाग लिए । प्रेमलाई मधुमेह भएकोले अभियानका क्रममा उचित खाना र आराम नपाएपछि उनी निकै बिरामी परेका थिए । पेप्टिक अल्सर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

फ्यानको माया मृत्युको कारण बन्यो

प्रेम नाजिर अस्पताल भर्ना भएको खबर फैलिएपछि अस्पतालबाहिर भीड लागेको थियो । प्रेमलाई भेट्न अस्पताल पुगेका एक फ्यानलाई दादुरा लागेको थियो, उनी नुहाएर त्यहाँ पुगेका थिए । नुहाउँदा दादुरा संक्रमणको जोखिम अत्यधिक बढ्छ । जसका कारण अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका प्रेम पनि दादुराको सिकार भए । अवस्था गम्भीर भयो । विदेशबाट औषधि ल्याइयो तर सुधार भएन । अन्ततः १६ जनवरी १९८९ को बिहान ६२ वर्षको उमेरमा प्रेम नाजिरले संसार छोडे । उनको पार्थिव शरीरलाई विमानबाट त्रिवेन्द्रम र त्यसपछि विशेष बसबाट गाउँ लगिएको थियो, जहाँ उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

उनी राम्रा अभिनेता थिए कि सामाजिक कार्यकर्ता ?

फिल्मभन्दा पनि प्रेम नाजिर समाजसेवामा व्यस्त थिए । उनी उत्कृष्ट अभिनेता हुन् कि समाजसेवी भन्ने बहस वर्षौंसम्म चल्यो। अन्ततः मानिसहरूले उनी एक उत्कृष्ट सामाजिक कार्यकर्ता हुन् भन्ने स्वीकार गरे ।  चलचित्र क्षेत्रसँग जोडिएका केही वरिष्ठ कलाकारले प्रेम नाजिरजस्तो मान्छेले अब कहिल्यै जन्म लिन नसक्ने बताउँछन् । उद्योगका साना तहदेखि ठूला वर्गसम्मका मानिसलाई समान रूपमा ध्यान दिने उनी एकमात्र अभिनेता थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप