शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्ममा आउँदा समाजद्वारा बहिष्कृत, स्टेजमा श्रीमान्‌को मृत्यु हुँदा उनको लुगा लगाएर पूरा गरिन् नाटक

मङ्गलबार, ०३ जेठ २०७९, १३ : २३
मङ्गलबार, ०३ जेठ २०७९

हिन्दी चलचित्र क्षेत्रमा पहिलो पटक पर्दामा देखा परेकी कमलाबाई गोखलेको आज २५ औं पुण्यतिथि हो । दादासाहेब फाल्केले पहिलो फिल्म राजा हरिश्चन्द्र बनाउँदा महिलाहरू फिल्ममा काम गर्न तयार थिएनन्, त्यसैले अन्ना सालुँके फिल्मकी नायिका बनेका थिए । तर जब फाल्केले दोस्रो चलचित्र मोहिनी भस्मासुर बनाए, तब पहिलो पटक पर्दामा महिलाको भूमिका महिलाले नै निभाए ।

यी महिला थिए  – कमलाबाई गोखले र उनकी आमा दुर्गाबाई कामत । फिल्ममा देखिएपछि स्कुलमा भर्नासमेत  पाइनन् । आखिरमा घरमा नै आमाले शिक्षा दिइन् । एक असभ्य पेशा मानिने उनको अभिनय करियरका कारण उनी समाजबाट पूर्णतया बहिस्कृत भइन्, तर त्यति बेलासम्म कमलाबाईले इतिहास रचिसकेकी थिइन् ।

कमलाबाईले आफ्नो साहसका साथ इतिहास रचिन् र अन्य महिलाहरूका लागि हिन्दी फिल्म उद्योगको ढोका खोलिदिइन् ।  जुन स्टेजले उनलाई देशैभरी पहिचान दिलाएको थियो, त्यहि स्टेजमा नाटक गर्दा गर्दै एक दिन उनको मृत्यु भयो । श्रीमानलाई हृदयघात भएपछि कमलाबाई आफैंले पुरुषको लुगा लगाएर पतिको स्थान लिएर नाटक जारी राखिन् ।

पुण्यतिथिको विशेष अवसरमा एक यस्ती सहासले भरिएकी कमलाबाईको जीवनबारे थाहा पाऔँ ।

बाबुआमाको झगडा हेर्दै बित्यो बालापन

कमलाबाईको जन्म सन् १९०० मा भएको थियो । कुरा यति पुरानो छ कि जन्ममिति पनि कसैलाई थाहा छैन । उनकी आमा दुर्गाबाई कामत र बुबा आनन्द नानोस्कर थिए, जो जेजे स्कूल अफ आर्ट्समा प्रोफेसर थिए । कमलाबाईका बाबुआमा सन् १९०३ मा छुट्टिए । पिताले धेरैजसो आमामाथि खराब व्यवहार गर्दथे, कुटपिट गर्दथे, त्यसैले पनि उनका आमा–बुवा छुट्टिएका थिए ।

कमलाबाईले ४ वर्षदेखि नाटकमा भाग लिन थालिन्

सम्बन्धविच्छेदपछि कमलाबाईकी आमाको काँधमा घरको जिम्मेवारी आइलाग्यो । नचाहँदा पनि दुर्गाबाईले ट्राभलिङ थिएटर कम्पनीमा कलाकारको रूपमा काम गर्न थालिन् । आमासँगै ४ वर्षीया कमलाबाई पनि नाटकमा सहभागी हुन थालिन् ।

अभिनय गर्दा समाजद्वारा बहिष्कृत

कमलाबाई र उनकी आमा दुर्गाबाईले सहर–सहर गएर नाटक गर्ने गर्दथे, जबकी लगभग सबै महिला पर्दामा घरमा नै बस्दथे । त्यो पुरुष प्रधान समाजको देश थियो जहाँ महिलाले जागिर खानु धेरै ठूलो कुरा थियो । तर कमलाबाई अभिनय गर्थिन्, जसले मानिसहरूलाई हजम भइरहेको थिएन । फलस्वरूप उनलाई ब्राह्मण समाजले बहिष्कृत गरेको थियो । पढ्न इच्छा देखाउँदा कुनै पनि स्कूलले भर्ना गर्न पनि मानेनन् । समाजको यस्तो व्यवहारले तनाव भएपछि दुर्गाबाईले छोरी कमलाबाईलाई घरमा नै पढाउन सुरु गरिन् ।

भारतीय सिनेमामा काम गर्ने पहिलो महिला कसरी बनिन् ?

कमलाबाई र दुर्गाबाई मराठी नाटकमा काम गर्थे । यी दुई थुप्रै्र वर्षसम्म चित्ताकर्षक नाटक कम्पनीसँग आबद्ध रहे । यो ड्रामा कम्पनी एउटा नाटकको सिलसिलामा नासिक पुगेका बेला राजा हरिश्चद्रपछि भस्मासुर बनाउने सोचमा रहेका भारतीय सिनेमाका पिता दादासाहेब फाल्केले कमलाबाईलाई यसका लागि प्रस्ताव राख्ने सोच बनाए ।  फाल्केको पहिलो फिल्ममा कुनै पनि महिलाले काम गर्न नमान्दा उनले ढाबामा काम गर्ने अन्ना सालुङ्केलाई नायिका बनाएका थिए । फाल्के दोस्रो पटक नायिकाको खोजीमा थिए ।

जब चित्तरक्षक नाटक कम्पनी बन्द हुन लागेको थियो, तब फाल्केले यसका मालिक रघुनाथराव गोखलेलाई आफ्नो नाटक कम्पनीबाट दुई जना महिलालाई आफ्नो फिल्ममा काम गर्न पठाउन आग्रह गरे । रघुनाथराव राजी भए र कमलाबाई, दुर्गाबाईले चलचित्र मोहिनी भस्मासुरमा काम गरेर इतिहास रचे ।

दुर्गाबाईले फिल्ममा पार्वती र उनकी छोरी कमलाबाई मोहिनीको मुख्य भूमिका निभाएका थिए । यो फिल्मलाई २ जनवरी सन् १९१४ मा बम्बईको ओलम्पिया थिएटरमा रिलीज गरिएको थियो, जसमा पहिलो पटक पर्दामा महिला देखिएका थिए ।

 


 

चलचित्रमा काम गर्दा ठूलो मुल्य चुकाउनु पर्यो

भस्मासुरपछि कमलाबाई मोहिनी देशभर चर्चाको विषय बनेकी थिइन् । कमलाबाई १४ वर्षको उमेरमा स्टार बनेकी थिइन्, तर फिल्ममा अभिनय गर्दा धेरै बेफाइदाहरू थिए । उनीहरुप्रति जनता धारणा असाध्यै खराब हुँदै गयो । धेरै पटक मानिसहरूले उनीहरूलाई समाजको लागि खतरा भन्दै आक्रमण गरे । यी सबैको बावजुद, कमलाबाईले आफ्नो अभिनय करियर जारी राखिन् र प्रभु का प्यारा (१९३६), चाबुकवाली (१९३८), स्टन्ट किंग (१९४४) जस्ता धेरै उत्कृष्ट चलचित्रहरूमा अभिनय गरिन् ।

१५ वर्षको उमेरमा रघुनाथराव गोखलेसँग विवाह भयो

फिल्ममा आएको अर्को वर्ष उनले रघुनाथराव गोखलेसँग सन् १९१५ मा विवाह गरिन् । रघुनाथले सुरुमा किर्लोस्कर नाटक कम्पनीमा काम गरे । महिलाको अभाव हुँदा रघुनाथले प्रायः महिलाको भूमिका निर्वाह गर्थे । पछि उनी रोमाञ्चक नाटक कम्पनीमा मालिकको रूपमा सामेल भए, जहाँ उनले कमलाबाईलाई भेटे । रघुनाथ र कमलाबाई दुबै यस ड्रामा कम्पनीको प्रमुख जोडी थिए । दुबैले धर्म सिंहासन, जनता जनार्दन, मान–अपमान जस्ता ठूला नाटकमा काम गरेका थिए । विवाहबाट उनीहरूका तीन सन्तान भए, तर तेश्रो छोराको जन्म हुनुअघि नै रघुनाथरावको मृत्यु भयो ।

स्टेजमा श्रीमानको मृत्यु हुँदा आफैंले लुगा फेरेर नाटक जारी राखिन्

राजा गोपीचन्द नाटकको क्रममा रघुनाथराव गोखलेलाई हृदयघात भयो, सास फेर्न गाह्रो भयो । श्रीमती नजिकै आएर बसेपछि उनले भने, ‘कमली म धेरै बेर बाँच्दिनँ होला, यो नाटक के गर्ने होला ?’ श्रीमानले अन्तिम क्षण आइरहेको थियो तर कमलाबाईले बचन दिइन्, ‘हामी यो शो बन्द गर्ने छैनौँ’ । उनले तुरुन्त पुरुषको कपढा लगाइन् र श्रीमानको पात्र निभाइन् । यति बेला कमलाबाई तेस्रो पटक गर्भवती थिइन् ।

‘म खासै ठूलो अभिनेत्री थिइनँ तर मसँग प्रतिभा थियो । शो मस्ट गो अन र यही मेरो वास्तविक योग्यता थियो ।’

रगत बगिरह्यो तर ‘शो मस्ट गो अन’

कमलाबाईको मनमा नाटकका लागि एक विशेष स्थान थियो । उनी कुनै पनि हालतमा शो बीचमा बन्द गर्ने पक्षमा थिइनन् । नाटकका क्रममा दर्शकले भरिएको अडिटोरियमको बालकनी भत्किँदा पनि कमलाबाईले पूर्ण इमान्दारिताका साथ डाइलग बोलेर निकै उत्कृष्ट तरिकाले नाटक गरिरहिन् । अडिटोरियममा भागदौड मच्चिइसकेको थियो तर कमलाबाईले नाटक जारी राखिन् ।

त्यही क्रममा एक नाटकका क्रममा उनको हातमा तरवारले नराम्ररी चोट लागेको थियो । उनको हातबाट रगत बगिरहेको थियो र हात रगताम्मे भइसकेको थियो, तर कमला रोकिइनन् । छेउमा उभिरहेका मानिसहरू छक्क परे । दर्शकमा बसेका मानिसहरूले चिच्याउँदै भन्न थाले , ‘कमलाबाई, तिम्रो हातबाट रगत बगिरहेको छ ।’ उनले जवाफ फर्काइन्– ‘पहिले मलाई पूरा गर्न त दिनुहोस् ।’

ध्वनि चलचित्रबाट नाटक कम्पनी बन्द भएपछि किर्तनमा लागिन्

आलमआरापछि भारतमा ध्वनि चलचित्रको क्रेज बढेको थियो, जसका कारण मानिसहरु नाटकको सट्टा चलचित्र हेर्न थालेका थिए । यस्तो अवस्थामा नाटक कम्पनीहरू बन्द हुने अवस्थामा पुगेका थिए । कमलाबाईले पनि काम पाउन छाडेकी थिइन् । कमलाबाईले तीन सन्तानको हेरचाह गर्न किर्तन गर्न थालिन् । थुप्रै महिनासम्म उनले यसै काममार्फत् घर चलाइन् ।

८० वर्षको उमेरसम्म गरिन् अभिनय

कमलाबाईले आफ्नो अभिनय करियरमा ३५ वटा चलचित्रमा काम गरिन् । उनको अन्तिम फिल्म सन् १९८० को ‘गहिराई’ थियो जसमा कमला ८० वर्षकी थिइन् । सेवानिवृत्त भएपछि कमलाबाई पुणेको एउटा अपार्टमेन्टमा एक्लै बस्न थालिन् । ‘शो मस्ट गो अन’ सिकाउने पहिलो भारतीय सिनेमा अभिनेत्री कमलाबाई गोखलेको १७ मे १९९७ मा निधन भयो । तिनै कमलाबाई जसले समाजसँग लड्दै महिलाका लागि चलचित्र उद्योगको ढोका खालिदिने काम गरिन् ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप