सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

जितेन्द्र : नक्कली गहना पुर्‍याउने, नायिकाको डुप्लिकेट बन्नेदेखि सुपरस्टारसम्म

शुक्रबार, २५ चैत २०७८, १२ : ५४
शुक्रबार, २५ चैत २०७८

प्रदीप सरदाना

‘जितेन्द्र ८० वर्षका भए । यो निकै खुसीको कुरा हो तर योभन्दा बढी खुसी यो कुराको छ कि उनले आफूलाई यसरी फिट राखेका छन् कि ८० को उमेरमा पनि उनी ५५ वर्षका झैँ देखिन्छन् । वास्तवमा भन्ने हो भने उनी हाम्रा रोल मोडल हुन् । हामी पनि उनलाई फलो गर्ने कोसिस गर्छौँ ।’

यो भनाई हो चर्चित अभिनेता–फिल्मनिर्माता र जितेन्द्रका निकै मिल्ने साथी राकेश रोशनको । जितेन्द्र। राकेश रोशन र ऋषि कपुर फिल्म इन्डष्ट्रिका यस्ता तीनजना साथी हुन् जसको दोस्तीका थुप्रै उदाहरण दिइने गर्छ ।

जितेन्द्र ८० वर्ष पूरा हुँदा जब मैले राकेश रोशनलाई जितेन्द्रको यो फिटनेसको राज के हो भनेर सोधेँ तब उनले भने, ‘उनीहरु नियमित व्यायाम गर्छन्, खानपिनको ध्यान राख्छन् र खुसी हुन्छन् ।’

फिल्ममा ८० वा यस आसपासको उमेर भएका अन्य सेलिब्रिटी पनि छन् । अमिताभ बच्चन ११ अक्टोबरमा ८० वर्ष पुग्नेछन् । धर्मेन्द्र ८६ वर्ष पुगिसकेका छन् । विश्वजीत पनि ८५ को हुनेछन् । मनोज कुमार जुलाईमा ८५ वर्षका हुनेछन् ।

यीमध्ये मनोज कुमार अस्वस्थ छन् । उनलाई हिँड्न पनि मुश्किल छ । उता अमिताभ बच्चन कामको हिसाबले निकै फिट छन् । यो उमेरमा उनको काम गर्ने जोशलाई मान्नैपर्छ तर उनी वर्षौंदेखि थुप्रै रोगद्वारा ग्रसित छन् । उमेर उनको अनुहारमा पनि देखिन्छ ।

विश्वजीत हिँड्न–डुल्न त सक्छन् तर उनलाई हेरेपछि उनको उमेरको अन्दाज लगाउन सकिन्छ । रणधीर कपुर ७५ वर्षको उमेरमा लगातार अस्वस्थ छन् । उनको हातमा लठ्ठी आइसकेको छ ।

धर्मेन्द्र आफ्नो ८६ को उमेरको हिसाबले निकै फिट छन् । आफ्नो फार्मृ हाउसमा उनी खेती पनि गर्छन्, स्विमिङमा रमाउँछन् । उनी पनि ८६ वर्षको पुगिसकेको जस्तो देखिँदैनन् । उनको स्मरण शक्ति पनि निकै राम्रो छ तर जितेन्द्रको अनुहारको जस्तो चमक कोही अरु सेलिब्रिटीमा छैन ।

८० को उमेरमा ५५ जस्ता देखिने जितेन्द्रः

जितेन्द्रले जब आकाशे रङको ज्याकेट र निलो रङको कमिज–पाइन्ट लगाएर आफ्नो ७६ औँ जन्मदिनको केक काटेर सङ्गीतको धुनमा झुमिरहेका थिए तब उनी मुश्किलले ५० वर्षको जस्तो देखिएका थिए ।

साथीहरुको उपस्थितिमा केक काट्नु अघि र पछि जितेन्द्र आफ्नै फिल्मको गीत ‘बार बार दिन ये आए, बार बार दिल ये गाये’ आफैँ गाइरहेका थिए र त्यसमा नाचिरहेका पनि थिए ।

त्यसअघि जब जितेन्द्रले आफ्नो ७५ औँ जन्मदिनको समारोह जयपुरमा मनाए, त्यतिबेला पनि जितेन्द्रको मस्ती कमालको थियो । जितेन्द्र आफ्नी श्रीमती शोभा र छोरी एकतासँग नाच्दै गाउँदै सबैलाई आफ्नो हातले केक खुवाइरहेका थिए ।

जितेन्द्रलाई पछिल्लो ४५ वर्षदेखि म हेरिरहेको छु । उनी आज पनि करिब करिब वर्षौंअघि देखिने जस्तै देखिन्छन् ।

जितेन्द्रको जीवनको कहानीलाई हेर्ने हो भने त्यसमा थुप्रै उतारचढाव छन् । थुप्रै समस्या छन् भने सफलता र लोकप्रियता पनि चरममा छ ।

जन्मदेखि नै सुरु भयो संघर्षः

जितेन्द्रको जीवनको संघर्ष उनको जन्मदेखि नै सुरु भएको थियो । ७ अप्रिल सन् १९४२ को अमृतसरमा जन्मिएका जितेन्द्रको वास्तविक नाम रवि कपुर हो ।

वास्तवमा रवि ७ महिनामा नै जन्मिएका थिए त्यसैले आमा कृष्णा र पिता अमरनाथ कपुरले उनको विकासमा कुनै कमी नहोस् भनेर आफ्ना नाजुक रविलाई निकै ध्यानपूर्वक हुर्काए । ।

उता परिस्थिति केही यस्तो बन्यो कि अमरनाक कपुरलाई अमृतसरबाट मुम्बई आउनुपर्यो जहाँ गिरगांवको रामचन्द्रको बिल्डिङको एउटा भाडाको कोठामा बस्न थाले जसमा उनका आमा–बुवाका साथै उनका दुई बहिनी र एक भाइ पनि थिए ।

भाडाको यो एउटा कोठामा यी ६ जना बस्दथे तर त्यो भवनमा बसिरहेका अन्य धेरै मानिसका लागि एउटा मात्रै शौचालय थियो, त्यो शौचालय प्रयोग गर्नका लागि बिहान–बेलुका लामो लाइन बस्नुपर्दथ्यो ।

उनका पिता नक्कली गहनाको काम गर्दथे जसका कारण फिल्म निर्मातालाई पनि उनले यस्ता गहना भाडामा दिने गर्दथे । यसै सिलसिलामा रवि पनि गहना दिनका लागि स्टुडियो आउजाउ गर्ने गर्दथे ।

पिताको आर्थिक अवस्था राम्रो थिएन तर पिताले धेरै दुःख गरेर रविलाई त्यहाँको एउटा राम्रो सेन्ट सेबस्टियनस हाई स्कूलमा पढाए जहाँ अमृतसरकै एक अर्का बालक जतिन खन्ना पनि रविसँग पढ्थे ।

यहाँ जतिन रविको विशेष साथी बने । यहि जतिन पछि गएर राजेश खन्नाको रुपमा देशको पहिलो सुपर स्टार बने । रवि कपुरले पनि फिल्ममा जितेन्द्रको रुपमा आएर आफ्नो नामको धुम मच्चाए ।

वास्तवमा, जितेन्द्रको पहिलो फिल्ममा काम गर्नमा खासै रुची थिएन तर जतिनलाई सुरु देखि नै अभिनयको औधी शौख थियो । त्यो देखेर रविलाई पनि अभिनयमा रुची लाग्न थाल्यो ।

जितेन्द्रले फिल्ममा आएपछि एकपटक भनेका थिए, ‘म पढाईमा असाध्यै कमजोर थिएँ । मेरो परिवारको आर्थिक स्थिति पनि कमजोर थियो । यदि पढाईमा राम्रो गरेको भएँ राम्रो जागिर पाउन सक्थेँ होला वा परिवारसँग अलि धेरै पैसा भएको भए आफ्नो कुनै व्यापार व्यवसाय गर्न सक्थेँ होला । त्यसैले मेरा लागि दुबै बाटो बन्द जस्तै थिए त्यसैले मैले फिल्ममा आउन कम्मर कसेँ ।’

स्कूलको पढाई जसोतसो पूरा गरेर रविले पनि जतिनसँग मुम्बईको ‘केसी कलेज’ मा बिएमा भर्ना भएका थिए तर रविले आफ्नो बीएको पढाई पूरा गर्न सकेनन् । त्यसअघि नै उनी फिल्ममा आए जबकी राजेश खन्ना थुप्रै वर्षपछि मात्रै फिल्ममा आए ।

वास्तवमा रवि कपुर जब नक्कली गहना दिन राजकमल स्टुडियो जान्थे तब त्यहाँ उनको धेरैजसो फिल्म निर्माता भि शान्तारामसँग भेटघाट हुने गर्दथ्यो । रवि त्यतिबेला १७ वर्षका थिए । एक दिन उनले शान्तारामलाई आफूले फिल्ममा करियर बनाउन चाहेकोले केही मद्दत गरिदिने आग्रह गरे ।

शान्तारामले तत्काल खासै ठूलो सहयोग गर्न अस्वीकार गरे तर आफ्नो एक फिल्म ‘नवरंग’ (१९५९) मा उनलाई एउटा निकै सानो भूमिका दिए । त्यसपछि अर्को एउटा फिल्म ‘सेहरा’ मा पनि उनले एउटा यस्तो भूमिका पाए जसमा जितेन्द्रले त्यतिबेलाका दिग्गज अभिनेता उल्हाससँग एउटा संवाद पनि बोल्नुथियो ।

त्यो एउटा सानो संवाद थियो, ‘सरदार सरदार, दुश्मनले निर्ममतापूर्वक गोली बर्साउँदै आइरहेका छन् ’ । रोचक कुरा के रह्यो भने आफ्नो फिल्मी जीवनको यो पहिलो संवाद बोल्नका लागि जब जितेन्द्रले क्यामराको सामना गरे तब उनी नराम्रोसँग भक्भकाउन थाले । बडो मुश्किलले करिब २० टेकपछि जितेन्द्रले यो संवाद बोल्न सके ।

जब नायिकाका डुप्लिकेट बनेः

हुन त फिल्ममा हिरोको डुप्लिकेटको भूमिका पुरुष र हिरोइनको डुप्लिकेटको भूमिका धेरैजसो महिला नै गर्छन् तर जितेन्द्रले एकदिन शान्तारामकै फिल्म ‘सेहरा’ मा फिल्मकी नायिका सन्ध्याको डुप्लिकेट बन्नुपर्यो ।

जितेन्द्र भन्छन्, ‘सन् १९६२ को कुरा हो । फिल्म सेहराको सुटिङ बिकानेरमा चलिरहेको थियो । त्यहाँ एउटा दृश्यमा नायिका सन्ध्याको डुप्लिकेटको आवश्यकता थियो । तर त्यहाँ कोही डुप्लिकेट पाइएन । हामीले त्यतिबेला स–साना भूमिका गर्दथ्यौँ त्यसैले शान्ताराम जी लाई खुसी बनाउनका लागि, उनलाई प्रभावित पार्नका लागि कुनै मौका छोड्दैनथ्यौँ । त्यसैले मैले जोशमा नै भनिदिएँ ‘यदि डुप्लिकेट पाइरहेको छैन भने म डुप्लिकेट बनिदिन्छु’ । यद्यपि, शान्ताराम जी की नायिकाको डुप्लिकेट बन्न सजिलो थिएन । उनलाई परिपूर्ण, वास्तविक युवती चाहिएको थियो जसका लागि मैले त्यस्तै रुप धारण गरेँ ।’

जितेन्द्रको मराठीले प्रभावित भए शान्तारामः

हुन त जितेन्द्र शान्तारामलाई प्रभावित गर्नका लागि प्रयासरत थिए तर शान्ताराम जितेन्द्रको मराठी बोलीमा असाध्यै धेरै प्रभावित भए ।

जितेन्द्रले आफ्नो एक अन्तरवार्तामा भनेका थिए, ‘मैले मुम्बई पुगेर छिट्टै मराठी सिकिसकेको थिएँ । हाम्रो घरको वरिपरि, स्कूलमा, कामकाजमा सबैजना मराठी बोल्थे । एकदिन शान्तारामले मैले धाराप्रवाह मराठी बोलेको सुनेर दङ्ग भए । मैले पञ्जाबी भएर पनि यति राम्रोसँग मराठी बोलेको सुनेर उनी चकित भएका थिए ।’

जितेन्द्रका यस्तै केही कुराबाट प्रभावित भएर एकदिन शान्तारामले जितेन्द्रलाई आफ्नो फिल्मको अडिसनका लागि बोलाए । यो फिल्म थियो ‘गीत गाया पत्थर ने’ जसमा उनकी छोरी राजश्री नायिका थिएन् । यद्यपि, यो अडिसनमा पनि जितेन्द्रलाई असाध्यै गाह्रो भयो । पछि पनि जितेन्द्रको अभिनय देखेर शान्तारामले फिल्मको सुटिङ तीन दिनसम्म रोकेका थिए तर त्यसपछि जितेन्द्र यस्तो जमे कि उनले त्यसपछि पछाडि फर्किएर हेर्नुपरेको छैन ।

‘गीत गाया पत्थरों’ ले सन् १९६४ मा प्रदर्शित भएको यो फिल्म निकै रुचाए । यस्तै त्यो फिल्म थियो जसमा रवि कपुरलाई शान्तारामले जितेन्द्र नाम दिएर पर्दाको राजकुमार बनाइदिए ।

यद्यपि, आफ्नो पहिलो फिल्म हिट भएपछि पनि जितेन्द्रको नयाँ फिल्म आउन समय लाग्यो । यो फिल्मको करिब तीन वर्षपछि जितेन्द्रको सन् १९६७ मा तीन फिल्म प्रदर्शित भए । ‘गुनाहों का देवता’, ‘बूंद जो बन गई मोती’ र ‘फर्ज’ ।

‘फर्ज’ ले फेरिदियो भाग्यः

जितेन्द्रले पहिलो ठूलो सफलता फिल्म फर्जबाट पाए जसमा जितेन्द्रकी नायिका बबिता थिइन् । फर्ज तेलुगुको एक सुपरहिट फिल्म ‘गुडाचरी ११६’ को रिमेक थियो जुन खासमा जेम्स बन्डको फिल्मबाट प्रभावित थियो । तेलुगुमा फिल्मका नायक कृष्णा र नायिका जयललिता थिए ।

‘फर्ज’ जितेन्द्रका लागि विभिन्न तरिकाले महत्वपूर्ण साबित भयो । फर्जबाट जितेन्द्रले दक्षिण फिल्मको रिमेकमा काम गर्ने यस्तो सुरुवात भयो कि जितेन्द्र त्यसपछि दक्षिणको हरेक हिन्दी फिल्मको रिमेकको पहिलो रोजाई बने । जितेन्द्रले जति रिमेकमा काम गरे त्यो अरु कोही पनि हिरोले गरेनन् ।

फर्जमा सेतो जुत्ता लगाएर जसरी डान्स गर्दै – ‘मस्त बहारों का मे आशिक’ गीतमा जे जति हर्कत गरे त्यो जितेन्द्रको शैली बन्यो । यससँगै जितेन्द्रको सेतो जुत्ता चर्चित भयो र यसै फिल्मको डान्सले उनलाई ‘जम्पिङ ज्याक’ को उपाधि दियो ।


२५० भन्दा बढी फिल्ममा गरे कामः

जितेन्द्रले फिल्ममा काम नगरेको अब लगभग २० वर्ष पुगिसकेको छ । यतिबेला उनी कहिलेकाँही कुनै फिल्म वा वेब सिरिजमा पहुना वा स्वयं जितेन्द्रको रुपमा देखिए । तर सन् १९६० देखि १९९० को ३० वर्षमा जितेन्द्रले करिब २५० फिल्ममा काम गरेर त्यो समयलाई ‘जितेन्द्र एरा’ नै बनाइदिए ।

हुन त आफ्नो यो फिल्म यात्रामा उनको खराब समय पनि आयो । उनीसँग केही महिनाका लागि फिटिक्कै काम थिए । यस्तै जितेन्द्रले सन् १९८२ मा निर्माता बनेर ‘दिदार–ए–यार’ फिल्म बनाए तब त्यो फिल्म फ्ल िभयो र उनी नराम्रोसँग ऋणमा डुबे ।

जितेन्द्र भन्छन्, ‘ममाथि यस्तो थुप्रै पटक भयो । त्यतिबेला अब के होला भन्ने पनि लागेको थियो तर म भगवानप्रति आभारी छु कि हरेक पटक म ती समस्याबाट छिट्टै निस्कन सकेँ ।’

सन् १९६० देखि १९८० को २० वर्षमा जितेन्द्रले धर्ती कहे पुकार के, मेरे हजुर, जिने की राह, खिलौना, हमजोली, कारवां, अनोखी अदा, नागिन, उधार का सिंदुर, धर्मवीर, अपनापन, बदलते रिश्ते, स्वर्ग नर्क, लोक परलोक र आशाजस्ता थुप्रै हिट फिल्म दिए ।

यस्तै, यतिबेला उनको परिचय, खुशबु, किनारा र विदाईजस्ता भिन्न खालका फिल्ममा पनि देखिए ।

श्रीदेवी, जया प्रदासँग नयाँ इनिङः

जितेन्द्र जतिबेला आफ्नो फिल्म ‘दीदार–ए–यार’ को घाटाबाट तनावमा थिए । त्यतिबेला उनले दक्षिणको एक हिन्दी रिमेक हिम्मतवाला पाए । यसको मूल दक्षिण संस्करणमा जया प्रदा नायिका थिइन् तर यो हिन्दी फिल्ममा श्रीदेवीलाई लिइयो ।

यो निश्चय नै एउटा ठूलो जोखिम थियो । एक त जितेन्द्र ‘दीदार–ए–यार’ बाट फ्लप भएका थिए, दोस्रो श्रीदेवी पनि आफ्नो पहिलो हिन्दी फिल्म ‘सोलहवां सावन’ बाट फ्लप रहेकी थिइन् । तर हिम्मतवाला यति चल्यो कि जितेन्द्र र श्रीदेवी दुबैको विफलतालाई मानिसले बिर्सिए ।

त्यसपछि त जितेन्द्र दक्षिणका फिल्म निर्माताका लागि यति प्रिय भए कि त्यहाँका हरेक फिल्म निर्माता जितेन्द्रलाई लिनका लागि आतुर थिए । नायक जितेन्द्र, नायिका चाहे श्रीदेवी, जया प्रदा वा अरु जोसुकै होउन् ।

जितेन्द्रको सन् १९८१ देखि १९९० को समयका ती फिल्ममा तोहफा, मवाली, मकसद, पाताल भैरवी, संजोग, स्वर्ग से सुन्दर, सिंहासन, सुहागन, औलाद र मेरा पति सिर्फ मेरा हे जस्ता थुप्रै फिल्म देशभरका सिनेमामा छाइरहन्थे ।

जितेन्द्रसँग हिँडिरहेको छ रविः

शान्तारामले रविलाई जितेन्द्र बनाएर नयाँ नाम दिएका छन् । जितेन्द्रलाई यो नामले जीवनमा सबैकुरा दियो तर रोचक यो पनि हो कि उनको रवि कपुर नाम पनि उनीसँगै हिँडिरहेको छ ।

यस्तो यसकारण किनभने जितेन्द्रले जुन फिल्ममा अभिनय गरेका छन् तीमध्ये करिब ३० फिल्म यस्ता रहे जसमा उनको पात्रको नाम रवि रहेको छ । केहीमा त रवि कपुर पनि । त्यसमाथि रेखाजस्ता अभिनेत्रीले जितेन्द्रलाई जितेन्द्र नभनी रवि नामले बोलाउँछन् 

यहाँसम्म कि जितेन्द्रकी छोरी एकता कपुरले आफ्नो पूरा नाम एकता रवि कपुर नै लेख्छिन् । केही समय अघि एकताले पद्मश्री पाइन् र उनी जब राष्ट्रपति भवनको दरबार हलमा उक्त सम्मान लिन पुगिन् तब उनलाई एकता रवि कपुर भनेर बोलाइयो । एकताले आफ्नो छोराको नाम पनि रवि कपुर राखेकी छिन् ।

३० वर्ष अघि अपनाएका थिए फिटनेस मन्त्रः

जितेन्द्र सधैँ खानपिनका शौखिन रहे तर सन् १९९० को सुरुवातमा उनको यस्ता र अन्य केही खराब बानीले उनको जीवनलाई भित्रभित्रै खोक्रो बनाउन सुरु गरेको थियो । बेस्सरी खानु, बेस्सरी पिउनु, अबेर रातीसम्म तास खेल्नु, उनको बानी थियो । जितेन्द्रलाई त्यसपछि महसुस भयो कि यो सबैले उनलाई बर्बाद गरिदिनेछ । त्यसपछि उनी आध्यात्मिक भए र आफ्नो खानपिनलगायतका विभिन्न कुरामा सुधार गरे ।

मलाई याद छ सन् १९९३ मा दिल्लीको छतरपुर फार्म हाउस क्षेत्रमा एक टेलिभिजन सेट र क्यासेट निर्माताको पार्टीमा जितेन्द्रलाई जब मैले पहेँलो वस्त्र लगाएको सन्यासीको रुपमा देखेँ तब उनले कुनै फिल्मका लागि यो रुप धारण गरेको होलान् भन्ने मैले सोचेँ । तर जब मैले जितेन्द्रलाई सोधेँ – तपाईं कुन फिल्मका लागि सन्यासी बन्नुभएको छ ? त्यतिबेला जितेन्द्रले जवाफमा भनेका थिए, ‘कुनै फिल्ममा होइन । मैले केही दिन यही रुपमा बस्ने निर्णय गरेको छु ।’

पछि जब एकता कपुरले हम पाँच, पडोसन र इतिहासजस्ता सिरियल बनाएर आफ्नो करियर सुरु गरिन् तब जितेन्द्र आफ्नी श्रीमती शोभासँग दिल्ली आइरहन्थे तर जितेन्द्रलाई त्यतिबेला पनि खानपिनमा नियन्त्रण गरेको देखिन्थ्यो ।

‘सन एन स्यान्ड’ निकै समयसम्म जितेन्द्र, राकेश रोशन र ऋषि कपुरजस्ता साथीको बेलुकाको अड्डा रह्यो तर पछि जितेन्द्रले यो होटलको हेल्थ क्लबलाई यसरी अपनाए कि कोरोना कालअघि उनी त्यहाँ दैनिक देखिन्थे ।

सन एन स्यान्डको हल्थ क्लबका सुपरभाइजर परब भन्छन्, ‘जितेन्द्र जी कोभिड अघिसम्म त्यहाँ थुप्रै वर्षसम्म लगातार आइरहन्थे । उनी आफ्नो स्वास्थ्यलाई निकै ध्यानमा राख्छन् । आफ्नो तौलको विषयमा त उनी हरपल चिन्तित हुन्छन् । यसका लागि उनी हेल्थ क्लबमा कम्तीमा एक घण्टा वेट उठाउँथे । ’

जितेन्द्रले भनेका थिए, ‘यदि मैले आफ्नो ड्रिङ्क्स, फुड र अबेर रातीसम्मको बसाईंलाई नियन्त्रण नगरेको भए म कतैको हुने थिइनँ । मैले समय हुँदा नै आफ्ना सबै खराब बानी त्यागेर खानपिनमाथि नियन्त्रण गरेँ । त्यसैले त आज म फिट छु ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप