शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षदेखि गरिन् अभिनय : श्रीमान्–बच्चालाई छोडेर प्रेमीसँग विदेश भागिन्, सडकमा मागेरसमेत खानुपर्‍यो

शनिबार, २४ वैशाख २०७९, १२ : ११
शनिबार, २४ वैशाख २०७९

ठूलो पर्दामा अरुको जीवनमा विष घोल्ने व्यक्तिको रुपमा देखिले गरेकी शशिकलाको आफ्नो जीवन भने एक दुःस्वप्न जस्तो रह्यो । उनी असाध्यै धनी परिवारमा जन्मिएकी थिइन् तर बुबाको व्यवसाय डुबेपछि परिवार सडकमा आयो र त्यहिँबाट शशिकलाको संघर्षपूर्ण यात्रा सुरु भयो ।

६ दाजुभाइमध्ये शशिकला सबैभन्दा सुन्दर र प्रतिभाशाली थिइन् । त्यसैले बुबाले उनलाई फिल्ममा काम गरेर पैसा कमाउन पठाए । महिनौँ भौतारिएपछि फिल्ममा काम त पाइन्  तर पाइन् खलनायिकाको । फिल्ममा काम पाउनुका साथै शशिकलाले वास्तविक जीवनमा पनि प्रेम पाउन असाध्यै मिहिनेत गर्नुपर्यो ।

विवाह गरिन् तर श्रीमानबाट प्रेम पाउन सकिनन् । जब विवाहेत्तर सम्बन्धबाट प्रेम पाइन् तब स्थिति थप तनावग्रस्त बन्यो । प्रेमीको दुर्व्यवहारले आजित भएपछि फिर्ता त भइन् तर घर न घाटको भइन् । न बस्नको लागि घर थियो, न खानका लागि पैसा, न लगाउने कपडा । शशिकला सडकमै सुतिन् र भिख मागेर जे जति पाउँथिन् त्यहि नै खान थालिन् ।

नायिका शशिकलाको जीवनको कहानी यस्तो छ

बुबा कंगाल भएपछि परिवारसँग पुगिन् बम्बई

४ अगस्ट सन् १९३२ मा ६ दाजुभाइका बीचमा जन्मिएकी शशिकलाको जन्म महाराष्ट्रको सोलापुरमा भएको थियो । ५ वर्षको उमेरमा उनले नाच्न, गाउन र अभिनय गर्न थालिन् । उनी सहरमा आयोजना हुने थुप्रै नाटकमा पनि भाग लिने गर्थिन् ।

केही समयपछि बुबालाई व्यापारमा यस्तो घाटा भयो कि उनीहरु सहर छोडेर मुम्बई जान बाध्य भए । परिवार मुम्बई पुग्यो तर यहाँ न घर थियो, न पैसा । साथीले आफ्नै घरमा उनको परिवारलाई आश्रय दिएका थिए ।

अरुको घरमा सहयोगी बनेपछि उनको घरको चुल्हो बल्यो 

घर चलाउने संघर्षमा शशिकला अघि बढ्नुपर्यो । उनी घर–घरमा गएर सहयोगीको रुपमा काम गर्न थालिन् ।  शशिकलाले सानै उमेरदेखि नै कुचो लगाएर, लुगा धोएर, भाँडा माझेर पैसा कमाउन थालिन् । उनी असाध्यै सुन्दर थिइन् तर पैसा कमाउने अरु माध्यम थिएन । जुन घरमा का गर्थिन् त्यहाँका मानिसले भन्ने गर्थे – यति राम्री छौ, एकचोटी फिल्ममा प्रयास गर न ।

फिल्म स्टुडियोमा चक्कर लगाएपछि पाइन् काम 

जब मानिसहरूले यस्तो भने, तब उनका बुबाले पनि उनलाई फिल्ममा प्रयास गर्ने हो कि भनेर सल्लाह दिए । त्यतिबेला पनि हिन्दी सिनेमामा स्थापित हुन कहाँ  सजिलो थियो र ?  तरपनि १० वर्षकी शशिकला कामको खोजीमा फिल्म स्टुडियोमा भौँतारिन थालिन् । त्यहाँ एक दिन उनको भेट तत्कालीन समयकी सफल अभिनेत्री नूर जहाँसँग भयो ।

नूरका पति शौकत हुसैन रिजवीले जीनत (१९४५) नामको फिल्म बनाइरहेका थिए । बाध्यतामा सहयोग गर्दै नूर जहाँले शशिकलालाई फिल्मको कव्वालीमा सानो भूमिका दिइन् । उत्कृष्ट अभिनयका लागि, शशिकलाले यस फिल्मको लागि २५ भारु पाइन् । हेर्दा हेर्दै शशिकलाको नूर जहाँ र शौकको परिवारसँग निकै राम्रो सम्बन्ध स्थापित भयो । उनीहरुले भनेपछि शशिकलाले फिल्ममा काम पनि पाउन थालिन् ।

शशिकला केही फिल्ममा देखा त परिन् तर यी फिल्मले सफलता भने पाउन सकेका थिएनन् । जुन भूमिका उनले पाइरहेकी थिइन् त्यो नूर जहाँको रिफारिशमा मात्रै पाइरहेकी थिइन् ।  भारत–पाकिस्तान विभाजनपछि नूरजहाँ आफ्ना श्रीमानसँग पाकिस्तान पुगेपछि  शशिकलालाई फेरि काम पाउन गाह्रो भयो । स–सानो भूमिका गर्दा मात्रै उनको घरको गुजारा चल्न सक्यो ।

नेगेटिभ रोलबाट इन्डष्ट्रिमा पहिचान पाइन्

शशिकला सन् १९४८ मा फिल्म ‘पुगडी’ मा देखिइन् । त्यसपछि शशिकला ‘तीन बत्ती चार रास्ता’ (१९५३) लगायत धेरै फिल्ममा देखिइन् । शशिकला शम्मी कपुरसँग डाकू (सन् १९५५) फिल्ममा पनि थिइन् । सन् १९५९ मा शशिकलाले भ्याम्प इन्डष्ट्रिमा पहिचान पाइन् । यस अवधिमा उनी आरती, फूल और पत्थर, आई मिलन की बेला, गुमराह, वक्त र खुबसुरत जस्ता फिल्महरूमा देखिइन् ।

शशिकलाको भूमिकाले मानिसहरूले उनलाई घृणा गर्थे । उनी नायिकाको जीवनमा विष घोल्ने सासु, नन्द वा अतिरिक्त पात्रको रुपमा सबैभन्दा धेरैपटक पर्दामा देखिइन् । शशिकला आफ्नो पूरा करियरमा करिब सयभन्दा बढी फिल्ममा देखिइन् । आरती र गुमराहका लागि उनले बेस्ट सपोर्टिङ रोलका लागि फिल्म फेयर अवार्ड पनि दिइयो ।

विद्रोही शशिकलाको व्यक्तिगत जीवन विवादमा 

शशिकलाले सानै उमेरमा ओमप्रकाश सहगलसँग विवाह गरिन् । यो प्रेम विवाह थियो, जसबाट उनीहरुले २ छोरी जन्माएका थिए । विवाह गरेको केही महिनापछि मात्रै दुईको वैवाहिक जीवनमा खटपट सुरु हुन थाल्यो । मनमुटाव बढ्दै गयो र दुईबीच झगडाको सीमा रहेन ।

विवाहेत्तर सम्बन्धका लागि छोडिन् घर

जब दाम्पत्य जीवनमा खटपट सुरु हुन थाल्यो तब शशिकल एक व्यक्तिको निकै नजिक आइन् । दुईबीचको घनिष्टता यस्तो बढ्यो कि शशिकलाले केही नसोची श्रीमान र दुई छोरीलाई छोडिन् । ती व्यक्ति को थिए भनेर निकै थोरैलाई मात्रै थाहा छ । उनको कहिल्यै कुनै पहिचान सार्वजनिक भएन । शशिकला नयाँ जीवनको आशमा ती व्यक्तिसँग विदेश गइन्, तर जो व्यक्तिसँग पुनः घरबार बसाउने सपना देखेकी थिइन् तिनै व्यक्तिले उनलाई यातना दिन थाले । कुटपिट र यातना यति हदसम्म पुग्यो कि शशिकला विदेशबाट भागेर भारत फर्किइन् ।

परिवारले अस्वीकार गर्दा सडकमा बित्यो जीवन

शशिकला फिर्ता त भइन् तर परिवारले उनका लागि घरको ढोका खोलेनन् । नराम्रोसँग टुटिसकेकी शशिकला सडकमा आइन् । त्यहिँ बस्न थालिन्, त्यहि सुत्थिन्, भिख माग्दा जे पाउँथिन् त्यहि खान थालिन् । पागलजस्तै सडकमा घुम्न थालिन् ।

केही महिनापछि शशिकलाले शान्तिको खोजीमा आश्रम र मन्दिर धाउन थालिन् । कोलकाता पुगेपछि उनी मदर टेरेसासँग बस्न थालिन् । ९ वर्ष उनीसँगै जनताको सेवा गरिन् । शान्ति पाएको महसुस भएपछि उनी मुम्बई फर्किइन् । कामको खोजीमा बाहिर निस्किँदा टिभी उद्योगले उनलाई काम दिए । शशिकला सोनपरी, जीना इसि का नाम है, दिल देके देखो जस्ता कार्यक्रममा देखिइन् । उनले शाहरुख, अमिताभ, सलमानसँग परदेसी बाबु, बादशाह, कभी खुशी कभी गम, मुझसे शादी करोगी र चोरी–चोरी जस्ता फिल्ममा काम गर्ने मौका पाइन् ।

सन् २००५ मा शशिकला अन्तिम पटक पद्मश्री लालुप्रसाद यादवमा देखिइन् र त्यसपछि उनी फिल्मबाट टाढा भइन् । सन् २००७ मा, उनलाई पद्मश्रीद्वारा सम्मानित गरिएको थियो । ४ अप्रिल २०२१ मा ८८ वर्षको उमेरमा शशिकला यो संसारबाट बिदा भइन् । पछिल्लो दिनमा शशिकला आफ्नी छोरी र ज्वाइँसँग मुम्बईमा बस्ने गर्दथिन् ।

दैनिक भास्करबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप