शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१७ वर्षमा पहिलो जागिर, १३५ भन्दा बढी सिरियल निर्माण गर्ने एकता कपुरको छ यत्ति सम्पत्ति

मङ्गलबार, २४ जेठ २०७९, १२ : ००
मङ्गलबार, २४ जेठ २०७९

टेलिभिजन क्विन भनिने एकता कपुर आज (मंगलबार) ४७ वर्ष पुगेकी छिन् । एकता आज उद्योगकी सबैभन्दा चर्चित सफल महिला निर्माता हुन् । यद्यपि, उनको सुरुवाती यात्रा निकै मुश्किलको रह्यो । ‘हम पाँच, क्योंकि सास भी कभी बहु थी, कसौटी जिन्दगी की’ जस्ता उत्कृष्ट टेलिसिरियल (डेली सोप) बनाएर वर्षौँदेखि एकता यो क्षेत्रको शीर्ष स्थानमा रहेकी छिन् । आज करिब ३९ फिल्म, ४५ सिरिज र १३५ डेली सोप निर्माण गरिसकेकी एकताले कसैको जागिर खाएर आफ्नो करियरको सुरुवात गरेकी थिइन् । पिता स्टार थिए तर एकताले पिताको स्टार पावरको प्रयोग बिना नै आफ्नो करियरलाई शीर्ष स्थानमा पुर्याइन् । उनको जन्मदिनको विशेष मौकामा उनको यात्रा कस्तो थियो भन्नेबारे जानकारी लिऔँ ।

एकता बुबाको हिरोइनसँग रिसाउँथिन्

एकता कपूरको जन्म ७ जुन १९७५ मा मुम्बई, महाराष्ट्रमा भएको थियो । बुबा जितेन्द्र आफ्नो समयका चर्चित अभिनेता थिए, आमा शोभा कपुर निर्माता थिइन् । एकताको बाल्यकाल उनको बुबाको कारणले फिल्म उद्योगमा बित्यो तर उनलाई फिल्मको सेटमा जान दिइएन । एकता कपुर आफ्ना बुबाका लागि निकै पोजेसिभ थिइन् । एकताले बुबा जितेन्द्रलाई अर्की नायिकासँग रोमान्स गरिरहेको देखेमा उनले कतै ती नायिकामाथि हमला गर्ने त होइन भन्ने परिवारलाई डर थियो ।

बुबाको गाली पछि १७ वर्षमा पहिलो जागिर

स्टार किड भएकाले एकताले आफ्ना प्रायः सबै शौख पूरा हुन्थ्यो तर एक समय यस्तो पनि आयो जब उनका बुबाले  उनलाई पकेट मनी दिन मानेनन् । कारण थियो, १७ वर्षकी एकतामा चाहिने भन्दा बढी पार्टी गरिरहेकी थिइन् ।  बुवाले स्पष्टसँग भने – या त बिहे गर, या मेरो इच्छाअनुसार काम गर, पार्टी होइन ।

बुबाको सहयोगमा निर्माता बनिन्

एकतालाई पिताको यो कुराले गहिरो असर पर्यो । त्यसैले उनले विज्ञापन फिल्म निर्माता कैलाश सुरेन्द्रनाथसँग इन्टर्नशिप सुरु गरिन् । इन्टर्नसिप सकिएपछि एकता सोही विज्ञापन कम्पनीमा काम गर्न थालिन् । एकताको जोश देखेर बुबाले उनलाई काम सुरु गर्न आर्थिक सहयोग गरे । पैसा पाएपछि एकताले बालाजी टेलिफिल्ममा निर्माता भएर काम गर्न थालिन् ।

पहिलो शो असफल भयो, त्यसपछि ५० लाख रुपैयाँ डुब्यो

एकता कपुरले केही शोहरू गरिन् र आफ्ना केही एपिसोडहरू च्यानललाई देखाइन् । सबै च्यानलहरूले उनको शो अस्वीकार गरे, जसका कारण उनको पूरा ५० लाख भारु डुब्यो । सन् १९९५ मा एकता कपुरद्वारा निर्मित शो ‘मानो या ना मानो’ले जीटीभी च्यानलमा स्थान पायो । त्यही समयमा उनको साङ्गीतिक कार्यक्रम धुन–धमाका दूरदर्शनमा प्रसारण भएको थियो । सोही वर्ष एकताले ‘हम पाँच’ शो बनाइन् जुन उनको पहिलो हिट शो थियो ।

‘के’ की प्रशंसक एकताले करिब ६३ वटा शो गरिन्

एकता कपुरले पहिलो पटक सन् १९९९ मा कन्यादान शो बनाएकी थिइन् । त्यसयता एकताले के अक्षरबाट सिरियल बनाउन थालिन् । यसको कारण ज्योतिषमा एकताको विश्वास थियो। आफ्नो २७ वर्षको करियरमा एकताले ६३ वटा शो बनाएकी छिन् जसको शीर्षक ‘के’ बाट सुरु हुन्छ । जसमध्ये ‘क्योंकी सा भी कभी बहु थी, कसौटी जिन्दगी के, कहानी घर–घर की, कभी सौतन कभी सहेली, कोई अपना सा, कहीं किसी रोज, कुटुम्ब, कुसुम, कितनी मोहब्बत है, काव्यञ्जली, कयामत, सबैभन्दा लोकप्रिय थिए ।

एकता कपुरले ३९ फिल्म निर्माण गरिसकेकी छिन्

एकता कपूरको प्रोडक्सन हाउसले २००१ मा आएको फिल्म ‘क्यूंकी।।।मैं झुठ नही बोलता’बाट फिल्म निर्माण गर्न थालिन् । त्यसयता, एकताले कृष्णा कटेज, लभ सेक्स और धोका, वन्स अपन ए टाइम इन मुम्बई, द डर्टी पिक्चर, रागिनी एमएमएस, हाफ गर्लफ्रेन्ड, एक भिलेन, ड्रीम गर्ल जस्ता करिब ३९ फिल्महरू निर्माण गरिसकेकी छिन् ।

९५ करोडको सम्पत्तिको मालिक

एकता कपुरको प्रोडक्सन हाउस बालाजी प्रोडक्सनको मूल्य करिब ४०० करोड भारु छ । योसँगै एकताको कुल सम्पत्ति ९५ करोड रहेको छ । एकताले सन् २०१२ मा मुम्बईमा ७ करोड भारुको घर किनेकी थिइन्  । घरहरू बाहेक, एकताको देशभरि धेरै घर जग्गा सम्पत्तिहरू छन् । एकताको व्यक्तिगत लगानी ४५ करोड भारतीय रुपैयाँ छ । उनले सन् २०१२ मा बालाजी टेलिफिल्म्सको ब्यानरमा इन्स्टिच्युट पनि खोलेकी छिन् । सन् २०१७ मा एकताले ओटीटी प्लेटफर्म अल्ट बालाजी सुरु गरिन् जुन भारतीय टिभी कार्यक्रमहरू स्ट्रिम गर्ने पहिलो डिजिटल एप थियो ।

कार संग्रहमा लक्जरी कारहरू

एकता कपूरको कार कलेक्शनमा फोर्ड, मर्सिडीज बेन्ज, अडी र बीएमडब्लू जस्ता लक्जरी गाडीहरू छन्, जसको कुल लागत करिब ४(५ करोड रुपैयाँ छ ।

बाल्यकालमा बिहे गर्ने मन थियो, आज ४७ वर्षमा एक्ली आमा

एकता कपुरलाई बाल्यकालदेखि नै बिहे गर्ने धेरै क्रेज थियो तर इन्डस्ट्रीमा आएपछि उनले बिहेप्रतिको विश्वास गुमाइन् । एकता कपुर कहिल्यै विवाह गर्न चाहन्नन्, तर उनी आमा भने बन्न चाहन्थिन् । ३६ वर्षको उमेरमा एकताले आफ्नो अण्डा फ्रिज गरिन् । एकताले सन् २०१९ मा ४४ वर्षको उमेरमा सरोगेसी मार्फत् छोरा जन्माइन् । छोराको नाम उनले रवि कपूर राखेकी छिन् ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप