बलिउडकी पहिलो महिला सुपरस्टार : हिरोकाे सय रुपैयाँ रुबीको थियो ५ हजार पारिश्रमिक, हिरो साइकल चढ्थे उनी रोल्स रोयस
विदेशी मूलकी रुबी मेयर्स अर्थात् सुलोचनालाई भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको उपाधि दिइएको थियो । असाध्यै सुन्दर, अदाले भरपुर र बोल्डनेसमा पनि अघि । उनीअघि केही महिला फिल्ममा नआएका होइनन् तर रुबी आफ्नो क्षमताले भारतकी पहिलो महिला सुपरस्टार बनिन् । यो त्यतिबेलाको कुरा हो जब भारतमा मौन फिल्म मात्रै बन्ने गर्दथे ।
फिल्ममा न त डाइलग हुन्थे, न गीत तर रुबीलाई जसले ठूलो पर्दामा देख्थे, उनीहरु हेरेको हेर्यै हुन्थे । क्रेज यस्तो थियो कि ठूल्ठूला अभिनेता सय रुपैयाँ पारिश्रमिक लिन्थे तर रुबी हरेक फिल्मका लागि पाँच हजार रुपैयाँ लिन्थिन् । त्यतिबेला महाराष्ट्रका गर्भनरको तलब पनि योभन्दा निकै कम थियो । सन् १९२५ मा फिल्ममा कदम राख्ने सुलोचनाले करिब ६५ वर्षको फिल्मी करियरमा १०७ भन्दा बढी फिल्ममा अभिनय गरिन् ।
जब फिल्ममा आवाजको प्रयोग हुन थाल्यो तब हिन्दीमा कमजोर बेलायती मूलकी रुबीलाई पाखा लगाइयो । एक वर्षको ब्रेक लिएर रुबीले हिन्दीमा महारत हासिल गरिन् र दमदार फिर्ती गरिन् । आफ्नै निर्माण कम्पनी रुबी पिक सुुरु गरिन् र सबैभन्दा बढी पारिश्रमिक पाउने नायिका बनिन् । आज उनकै फिल्म र उनको सफलताबारे कुरा गरौँ ।
जसले देखे हेरेको हेर्यै भएः
सन् १९०७ मा रुबी मेयर्सको जन्म पुणे, महाराष्ट्रमा भएको थियो । आफ्नो खर्च धान्नका लागि रुबी एक टेलिफोन अपरेटरको काम गर्ने गर्थिन् । टाइपिङ स्पिडमा उनीसँग कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैनथ्यो र उनी यति सुन्दर थिइन् कि उनी सधैँ आकर्षणको केन्द्रमा पर्ने गर्थिन् । यता नै कोहिनुर फिल्म कम्पनीका मोहन भवनानीको उनीमाथि नजर पर्यो । मोहनले तुरुन्त सोधे, ‘सिनेमामा काम गर्छौ ?’ तर जवाफ नकारात्मक पाए ।
पहिलो फिल्मपछि रुबी मेयर्सबाट बनिन् सुलोचनाः
त्यतिबेला अभिनयलाई महिलाका लागि असाध्यै असभ्य पेशा मानिन्थ्यो । रुबीको सुन्दरताले कायल भइसकेका मोहन भवनानीले असाध्यै जिद्दी गरे र उनी अन्ततः फिल्ममा अभिनय गर्न राजी भइन् । यद्यपि, उनलाई अभिनयको कुरा अनुभव थिएन । यो मौन फिल्मको समय थियो जब फिल्ममा न त डाइलग हुन्थे न नै आवाज । रुबीले सन् १९२५ को फिल्म विर बालाबाट अभिनय सुरु गरिन् । फिल्ममा उनले मिस रुबी क्रेडित पाइन्, तर त्यसपछि रुबी सुलोचना बनिन् ।
भवनानीको निर्देशनमा बनेको फिल्मले सुलोचनालाई स्टार बनाइदियो तर केही फिल्मपछि सुलोचनाले कोहिनुर फिल्म छोडेर इन्पेरियल फिल्म कम्पनीसँग आबद्ध भइन् । यो कम्पनीसँग सुलोचनाले करिब ३७ फिल्म गरिन् ।
यीमध्ये टाइपिस्ट गर्ल (१९२६), बलिदान (१९२७), वाइल्ड क्याट अफ बम्बे (१९२७) निकै चर्चित रह्यो । सन् १९२८–२९ बीच रिलिज भएका फिल्म माधुरी, अनारकली र इंदिरा बीएले सुलोचनालाई सफल नायिकाको दर्जा हासिल गर्न सहयोग गर्यो ।
सुलोचनाको अगाडि फेल थिए पुरुष कलाकारः
सन् १९२५ देखि १९३० को समयमा भारतीय अभिनेताले सय भारु पारिश्रमिक पाउने गर्दथे तर सुलोचनाले हरेक फिल्मका लागि पाँच हजार भारु पारिश्रमिक लिन्थिन् । त्यतिबेला भारतका गभर्नर चार्ल्स हार्डिङ्ग्सको तलब पनि सुलोचनाको भन्दा कम थियो ।
त्यो जमानामा जहाँ अभिनेता साइकल चढेर सेटमा आउँथे भने सुलोचना शेवरले र रोल्स रोयसजस्ता विलासी गाडीमार्फत् आउँथिन् । उनी गाडीबाट ओर्लिँदा वरिपरि उनलाई हेर्नेहरुको भीड लाग्ने गर्दथ्यो । मानिसमा यति क्रेज थियो कि भीडको डरले सुलोचना आफ्नो फिल्म हेर्न बुर्का लगाएर जाने गर्थिन् ।
भारतीय महिलाका लागि प्रेरणा बनिन् सुलोचनाः
पर्दामा बस्ने महिलाका लागि सुलोचना एक प्रेरणा बनिन् । उनले फिल्ममा स्विमिङ गरिन्, घोड सवारी गरिन् र स्टन्ट गर्नमा पनि पछि हटिनन् ।
चुम्बनको दृश्यले मच्चियो हंगामाः
हीर–रांझा फिल्ममा सुलोचनाले सह–कलाकार डी बोलिमोरियासँग चुम्बनको दृश्य दिँदा असाध्यै हल्ला खल्ला भएको थियो । सुलोचना हेर्दा हेर्दै मौन फिल्मकी सेक्स सिम्बल बनेकी थिइन् । रिलबाहेक वास्तविक जीवनमा पनि सुलोचनाले बोल्डनेसले मानिसहरुको ध्यान आफूतिर आकर्षित गर्थिन् ।
फिल्ममा डाइलग प्रयोग गर्न थालेपछि पछि परिन्ः
रुबी असाध्यै सफल थिइन् तर जब पहिलो बोल्ने फिल्म आलम–आरा आयो तब निर्माताले उनलाई साटो जुबैदालाई कास्ट गरे । रुबीको हिन्दी खासै राम्रो नभएकोले यस्तो गरिएको हो । जुबैदालाई हिन्दी र उर्दूको निकै राम्रो जानकारी थियो ।
सुलोचनालाई यो सह्य भएन । उनले समयसँगै अघि बढ्नका लागि फिल्मबाट एक वर्षको ब्रेक लिइन् र हिन्दी सिक्न थालिन् । यसैबीच सुलोचनाका सबै मौन चलचित्र साउन्डसँग पुनः बनाइयो । बिरबाला फिल्म माय म्यान नामबाट बन्यो ।
यस्तै, माधुरी, अनारकली, इन्दिरा बीएले पुनः बक्स अफिसमा गहिरो छाप छोड्यो । नयाँ नायिका नूरजहां, खुर्शिद, सुरैया आएपछि सुलोचनाको चर्चा कम भयो तर उनको रवैया र महँगो शौख जारी रहे ।
बोल्डनेसका कारण मोरारजी देसाइले प्रतिबन्ध लगाए सुलोचनाको फिल्मः
जुगनू फिल्ममा विद्यार्थी बनेकी सुलोचना र प्राध्यापक बनेका दिलिप कुमारबीच लभ एंगल देखाइयो । त्यतिबेला बम्बे स्टेटका तत्कालीन गृहमन्त्री मोरारजी देसाइले फिल्मलाई असभ्य र नैतिकता विरोधी बताउँदै यसलाई प्रतिबन्ध गरिदिए । फिल्ममा दिलिप कुमार र नूरजहां मुख्य भूमिकामा थिए तर सुलोचना फिल्ममा विद्यार्थी बनेकी थिइन् ।
चर्चा कम हुँदा एक्स्ट्रा बनिन्ः
जब सुलोचनाको फिल्म अनारकली तेस्रो पटक बन्यो तब सुलोचनाले मुख्य पात्रको साटो सलिमकी आमा जोधा बाईको सहायक भूमिका पाइन् । बिना रोय फिल्मकी नायिका थिइन् । आफ्ना महँगो शौख पूरा गर्नका लागि सुलोचना तयार भइन् । हेर्दा हेर्दै उनले साइड रोल पाउन पनि छोडिन् । त्यसपछि सुलोचना एक्स्ट्रा बनेर काम गर्न थालिन् ।
शौख ठूलो थियो, तर कमाई शून्यः
समय यस्तो पनि आयो जब सुलोचनाले इन्डष्ट्रिमा काम पाउनै छोडिन् । सुलोचनाका सुनका गहनालाई नक्कली गहनाले बिस्थापित गरे । आर्थिक संकटको समय सुरु भयो तर उनले कहिल्यै कसैको अगाडि हात फैलाइनन् । पहिलो महिला सुपरस्टार एक जुनियर आर्टिस्ट बनिन् । सुलोचनासँग काम त थिएन तर इन्डष्ट्रिले उनलाई भरपुर सम्मान दियो ।
सन् १९७३ मा सुलोचनालाई भारतीय सिनेमामा दिएको योगदानका लागि फिल्म जगतको सबैभन्दा सम्मानित दादा साहेब फाल्के अवार्डबाट सम्मानित गरियो । सुलोचना मानिसको नजरबाट टाढा हुन थालिन् । अन्ततः १० अक्टोबर सन् १९८३ मा गुमनाम जीवन बाँचिरहेकी सुलोचनाले संसार छोडेर गइन् ।