शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मिना कुमारीको मृत्युमा नरगिसले भनेकी थिइन्, ‘तिमीलाई मृत्युको शुभकामना, यो धर्तीमा फेरि नआउ’

बिहीबार, १७ चैत २०७८, १५ : ००
बिहीबार, १७ चैत २०७८

‘साहिब बिबी और गुलाम, पाकिजा, मेरे अपने, बैजु बावरा, दिल आपना प्रित पराई’ जस्ता थुप्रै हिट फिल्मकी नायिका मिना कुमारीको निधन ३१ मार्च सन् १९७२ मा भएको थियो । फिल्ममा चकाचौँधले भरिएको जीवन बाँचेको देखिने मिना कुमारीको जीवनका अन्तिम दिनहरु भयानक सपनाजस्तै थिए, जहाँ न त प्रेम थियो, न कुनै आफन्त ।

मिना कुमारीले निर्माता–निर्देशक कमाल अमरोहीसँग विवाह गरेकी थिइन् । उनको वैवाहिक जीवन असाध्यै खराब रह्यो । कमालले उनीमाथि थुप्रै प्रतिबन्धसमेत लगाएका थिए । उनीमाथि कुटपिटसमेत हुने गर्दथ्यो । नायिका नरगिस आफैंले मिनाको कोठामा आउने कुटपिटको आवाज सुन्ने गर्थिन् । मिना कुमारीको दुःखदायी जीवनले नरगिस यति तनावमा थिइन् कि उनको मृत्युपछि उनले एउटा लेखमा लेखेकी थिइन्, ‘मिना, तिमीलाई मृत्युको शुभकामना । अब फेरि यो दुनियाँमा कदम नराख्नु ।’

मिना कुमारी यत्ति दुःखी रहन्थिन् कि उनलाई फिल्मको सुटिङमा रुनका लागि कहिल्यै ग्लिसिरिन चाहिँदैनथ्यो तर उनका प्रशंसक यस्ता पनि थिए, जसले उनको कपालको बुटी बनाएरसमेत घाँटीमा लगाउँथे । उनको पुण्यतिथिको मौकामा एक गरिब परिवारमा जन्मिएकी महजबीँ बानो हिन्दी फिल्म इन्डष्ट्रिकी ट्रेजेडी क्विन कसरी बनिन् भन्नेबारे जानकारी लिऔँ ।

उनी जन्मिँदा उनका पितासँग डाक्टरको शुल्क बुझाउने पैसासमेत थिएनः

अली बक्स एक पारसी थिएटर आर्टिस्ट थिए जसले क्रिश्चियन प्रभावती देवीसँग विवाह गरे, जो विवाहपछि इकबाल बेगम बनिन् । एक छोरी जन्मिएपछि अली बक्स छोरा चाहन्थे तर घरमा पुनः छोरी नै जन्मिइन् । त्यो मिति थियो १ अगस्ट सन् १९३३ । गरिबीमा गुजारा गरिरहेको परिवारसँग कान्छी छोरी जन्माउन सहयोग गर्ने डाक्टरको शुल्क बुझाउने पैसा पनि थिएन । असाध्यै गरिबी झेलेका अली बक्सले कान्छी छोरीलाई अनाथ आश्रममा छोड्ने निर्णय गरे । केही घण्टा पछि उनीहरुले आफ्नो निर्णय फेर र छोरीलाई पुनः घर ल्याए । छोरीलाई नाम दिए महजबी, जसलाई घरमा मन्ना भन्न थालियो । कसलाई थाहा थियो कि यी बालिका एक दिन मिना कुमारी बनेर इन्डष्ट्रिमा राज गर्नेछिन् ।

४ वर्षको उमेरमा जोडियो फिल्म स्टुडियोसँग नाताः

अली बक्सका लागि घर चलाउन मुश्किल थियो । त्यसैले उनले ४ वर्षकी छोरी महजबीलाई पनि आफूसँगै फिल्म स्टुडियोमा लिएर जान थाले । यो सिलसिला फाइदाजनक साबित भयो र महजबीको लुकबाट खुसी भएपछि निर्देशक विजय भट्टले उनलाई आफ्नो फिल्म लेदरफेसमा कास्ट गरे । पहिलो दिन नै उनले २५ भारु पारिश्रमिक पाए, जुन त्यतिबेला ठूलै रकम हुन्थ्यो । यो फिल्म सन् १९३९ मा रिलिज भयो । त्यसपछि घरको जिम्मेवारी ६ वर्षकी महजबीमाथि आइलाग्यो ।

महजबीले बाल कलाकारको रुपमा अधुरी कहानी (१९३९), पूजा (१९४०), एक ही भूल (१९४०) मा काम गरिन् जसमा उनले नाम पाइन् ‘बेबी मिना’ । यो नाम उनलाई निर्देशक विजय भट्टले दिए । त्यसपछि उनी नई रोशनी (१९४१), कसौटी (१९४१), विजय (१९४२), लाल हवेली (१९४४) मा देखिइन् ।

१३ वर्षको उमेरमा नायिका बनिन्, गीत पनि गाइन्ः

रमणिक प्रोडक्सनले १३ वर्षकी मिनालाई फिल्म ‘बच्चो का खेल’ मा कास्ट गरे । यो फिल्मको रिलिजको १८ महिनापछि मिनाले आफ्नी आमा इकबाल बेगम गुमाइन् । त्यो उमेरमा आमालाई गुमाउनु एउटा ठूलो झट्का थियो तर मिना रोकिइन् । उनले ‘दुनिया एक सराय, पिया घर आजा, बिछडे बलम’ मा काम गरिन् । यी फिल्ममा अभिनयका साथै मिनाले गीतमा आफ्नो आवाज पनि दिएकी थिइन् ।

मिनाले फिल्ममा अभिनय त गरिरहेकी थिइन् तर सफल भने भइरहेकी थिइनन् । लामो प्रतीक्षा पछि उनलाई उनै विजय भट्टले ‘बैजु बावरा’ मा कास्ट गरे जोसँग मिनाले ६ वर्षको उमेरमा अभिनयको करियर सुरु गरेकी थिइन् । उक्त फिल्म असाध्यै हिट भयो र त्यसपछि मिनाले पहिचान पाइन् । यो फिल्मको सुटिङका बेला एउटा दुर्घटना पनि भएको थियो जसमा मिना झण्डै डुबेकी थिइन् ।

सन् १९५२ मा कमाल अमरोहीसँग विवाहः

कमाल अमरोही र मिना कुमारीको प्रेमकथा कुनै परीको कथाभन्दा कम थिएन । कमालले मिनालाई उनी पाँच वर्षको हुँदा पहिलोपटक देखेका थिए । कमाल उनलाई आफ्नो फिल्मका लागि हेर्न गएका थिए । त्यतिबेला कुरा मिलेन ।
१४ वर्षपछि अशोक कुमारले मिनाको परिचय पुनः कमालसँग गराए । कमाले मिनालाई फिल्म अनारकली अफर गरे । केही समयपछि मिनाको दुर्घटना भयो, उनी अस्पताल भर्ना हुनुपर्यो । कमाल सधैँ उनलाई भेट्न जान्थे र जब भेट्न जान पाउँदैनथे तब उनीहरुले एक–अर्कालाई पत्र लेख्दथे । करिब चार महिनाको यो सिलसिलामा दुबैको प्रेम उत्कर्षमा पुग्यो र १४ फेब्रुअरी सन् १९५२ मा यी दुईले गोप्य रुपमा विवाह गरे । यतिबेला मिना १८ वर्षकी थिइन् भने कमाल ३४ वर्षका ।

विवाहपछि पिताले घरबाट निकालिदिएः

मिनाले गोप्य रुपमा विवाह गरेपनि उनी आफ्ना पिता अली बक्ससँगै बस्थिन् तर यो विवाहको खबर उनीसम्म पुग्यो तब बबाल भयो । पिताले उनीमाथि सम्बन्धविच्छेद गर्ने दबाब बनाए । प्रतिबन्ध बढ्न थाल्यो । कमालले यसैबेला मिनालाई आफ्नो फिल्म दायरा अफर गरे तर पिताले अस्वीकार गरे । पिताले ‘मिनाले दायरा फिल्ममा काम गरिन् भने उनका लागि घरको ढोका सधैँका लागि बन्द हुने’ बताए ।

यति नै बेला मिना महबुब खानको फिल्म अमरको सुटिङ गरिरहेकी थिइन् । ४ दिनसम्म फिल्मको सुटिङ गरेपछि उनले महबुब खानसँग सम्झौता रद्द गरिन् र सिधै बम्बे टकिज गइन् जहाँ ‘दायर’ को सुटिङ चलिरहेको थियो । मिनाले दायराको सुटिङ सुरु गरिन् । यो खबर उनका पितासम्म पुग्यो । मध्यरातमा जब मिना सुटिङबाट घर फर्किइन् तब पिताले ढोका खोल्न अस्वीकार गरे । मिनाले आफ्नो गाडी घुमाइन् र श्रीमान् कमाल अमरोहीको घरमा पुगिन् ।

विवाहपछि लागे प्रतिबन्धः

कमाल अमरोहीले विवाहपछि मिनालाई काम गर्न अनुमति त दिए तर थुप्रै प्रतिबन्धसहित । मिनाको मेकअप रुममा मेकअप आर्टिस्टबाहेक अरु कसैलाई जान अनुमति थिएन । बेलुकी साढे ६ बजे आफैं कार चलाएर घर आइसक्नुपर्ने । मिनाले यी शर्त त मानिन् तर एक नायिकाका लागि यी शर्त पालना गर्न निकै मुश्किल थियो । कमालले मिनामाथि निगरानी राख्न सुरु गरे । एकदिन त समयमा घर नपुगिने भन्दै मिनाले असाध्यै आत्तिएर साहिब, बिबी र गुलामको सुटिङ रुँदै गरेकी थिइन् ।

पीडादायी वैवाहिक जीवनः

साहिब, बिबी र गुलामले बर्लिन फिल्म फेस्टिबलमा स्थान पायो तर कमालले मिनासँग जान अस्विकार गरे । मिनाले पनि एक कदम पछि सारिन् । इरोज सिनेमामा सोहराब मोदीले महाराष्ट्र सरकारको एउटा कार्यक्रममा मिनाको परिचय दिँदै भने, ‘उनी चर्चित नायिका मिना कुमारी हुन् र यिनी उनका श्रीमान् कमाल अमरोही । ’ कमलले रिसाउँदै तुरुन्त जवाफ दिए, ‘होइन, म कमाल अमरोही हुँ र उनी मेरी श्रीमती मिना हुन् ।’ रिसाएका कमालले तुरुन्तै अडिटोरियम छोडे र मिनाले एक्लै पूरा प्रिमियर हेरिन् ।

हेर्दाहेर्दै यी दुईबीचको ठाकठुक कुटपिटसम्म पुग्यो, यसको प्रत्यक्षदर्शी नरगिस पनि रहिन् । ‘मे चुप रहुँगी’ फिल्मको सुटिङका बेला नरगिसले मिनासँग रुम सेयर गरेकी थिइन् । मिनाको मृत्युपछि उर्दू म्यागजिनलाई दिएको अन्तरवार्तामा नरगिसले आफूले कुटपिटको आवाज सुनेको बताउँदै त्यसको भोलिपल्ट मिनालाई भेट्दा उनको आँखा सुन्निएको बताएकी थिइन् ।

जब कमालका सहयोगीले हाने मिनालाई थप्पडः

विभिन्न प्रतिबन्धपश्चात् पनि मिनाले एकपटक गीतकार गुलजारलाई आफ्नो मेकअप रुममा आउन दिइन् । यो देखेपछि कमालका सहयोगी बकर अलीले मिनालाई बेस्सरी थप्पड हाने । मिनाले कमाललाई यसबारे बताउँदै उनलाई सेटमा बोलाए तर उनले यसलाई खासै महत्व दिएनन् । मिना टुटिसकेकी थिइन्, उनलाई आफ्नो विवाह बच्ने हो कि भन्ने आशा पनि थिएन । मिना सिधै आफ्नी दिदी भएठाउँ गइन् र त्यसपछि कहिल्यै फर्किइनन् । कमालले मिनाको मृत्युपछि प्रतिक्रिया दिँदै भनेका थिए, ‘उनी राम्री नायिका थिइन् तर श्रीमती होइन किनभने उनी आफूलाई घरमा पनि एक नायिका ठान्थिन् ।’

निद्रासँग दुरी र नशासँग निकटताः

श्रीमानसँग अलग्गिएपछि मिना एक्ली भइन् । उनलाई क्रोनिक इन्सोम्निया भयो । लामो समयदेखि निद्राको औषधीको सहारा लिइरहेकी मिनालाई रक्सीको लत पर्यो । निद्रा नआउँदा डा. सईद तिमुर्जनाले उनलाई ब्रान्डी लिन सल्लाह दिएका थिए तबर सम्बन्धविच्छेदपछि मिना नशामा डुब्दै गइन् । मिना बिस्तारै नशासँग निकट भइन् र संसारबाट टाढा । नशाको लतले मिनालाई पहिला लिभर सिरोसिस र त्यसपछि मृत्यु नजिक पुर्यायो ।

मृत्युको डरबीच शुट गरिन् पाकिजाः

विवादपछि पनि मिना कुमारीले कमालको फिल्म पाकिजामा काम गर्न जारी राखिन् । यो बन्न १६ वर्ष लाग्यो । सुटिङको बीचमा नै सन् १९६८ मा मिनालाई थाहा थियो कि उनी धेरै दिन बाँच्दिनन् । लण्डनबाट उपचार गराएर फर्किनेबित्तिकै मिनाले पाँचौँ दिन पुनः पाकिजाको अन्तिम सुटिङ पुरा गरिन् ।

अन्तिम फिल्म हेर्दा भावुक भइन् मिनाः

पाकिजाको प्रिमियर ३ फेब्रुअरी सन् १९७२ मा मराठा मन्दिर थिएटरमा भयो । मिना कुमारी, श्रीमान् कमाल अमरोहीसँगै बसिन् । फिल्म हेरेपछि मिनाका शब्द थिए, ‘मैले मानेँ कि मेरा श्रीमान् खारिएका फिल्म निर्माता हुन् ।’ त्यसको भोलिपल्ट पाकिजा रिलिज भयो । यो फिल्म अलटाइम ब्लकबस्टर थियो । रिलिजको तीन हप्तापछि २८ मार्चमा मिनालाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो । उनी कोमामा गइन् । त्यसको ठिक तीन दिन पछि ३१ मार्चमा मिना कुमारीको निधन भयो । श्रीमानको इच्छा अनुसार मिनालाई रहमतबादको समाधिस्थलमा गाडियो , त्यस नजिकै सन् १९९३ मा उनका श्रीमान् कमाल अमरोहीलाई उनको मृत्युपछि गाडियो ।

३३ वर्षको अभिनय करियरमा उनलाई ४ फिल्मफेयर अवार्डबाट सम्मानित गरियो ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप