बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुचित्रा सेन : फिल्म फ्लप हुँदा आफूलाई ३६ वर्षसम्म कोठामा कैद गरिन्, मृत्युपछि पनि देखाइएन अनुहार

बुधबार, २३ चैत २०७८, ११ : ५६
बुधबार, २३ चैत २०७८

सुचित्रा सेन । बांग्ला फिल्मकी ती नायिका जसको नाम बलिउडमा पनि लिइने गर्दथ्यो । सुचित्रा सेनाको फिल्मी इन्डष्ट्रिमा त्यो चार्म रह्यो कि उनले सत्यजित रे र राज कपुरको फिल्मलाई पनि सानो कुरामा नै छोडिदिन्थिन् । सत्यजित रे र राज कपुरको फिल्ममा अभिनय गर्नका लागि अन्य नायिका अत्यन्त लालायित हुन्थे । कुल ६१ फिल्ममध्ये हिन्दीमा कुल ६ वटा फिल्ममा अभिनय गरिन्, अरु बांग्ला फिल्म मात्रै गरिन् । सुचित्राको स्टार पावरको अन्दाज यसले पनि लगाउन सकिन्छ कि उनले आफ्ना हिरोभन्दा बढी पारिश्रमिक लिन्थिन् ।

श्रीमान् र ससुराको मद्दतले उनी फिल्ममा आइन् तर यिनै फिल्मले उनलाई श्रीमानबाट टाढा राख्यो । उनी सफलताको घोडामा यसरी सवार थिइन् कि श्रीमानदे उनलाई छोडेर अमेरिका गए, रक्सीको नशामा डुबे । सन् १९७८ मा सुचित्राको फिल्म प्रनोय पाशा फ्लप भयो । एउटा फ्लपले उनलाई भित्रैदेखि तोड्यो र उनले फिल्मी दुनियाँ छोडिन् । आफूलाई एउटा कोठामा कैद गरिन् । सन् १९७८ देखि २०१४ का बीच उनी एकपटक मात्रै सार्वजनिक रुपमा देखिइन्, ३६ वर्ष उनले आफूलाई कैद नै गरेर राखिन् ।

आफ्नो घरमा पनि कोठाबाट बाहिर निस्कँदा उनको अनुहार ढाकिएको हुन्थ्यो । सन् २००५ मा दादा साहेब फाल्के अवार्ड पनि यसकारण अस्वीकार गरिन् किनभने उनी घरबाट निस्किएर कुनै कार्यक्रममा जान चाहन्न थिइन् । सन् १९७८ देखि २०१२ को बीचमा उनी बेलुरको रामकृष्ण मिशन आश्रममा जान्थिन् तर अनुहारलाई कालो वा सेतो कपडाले ढाकेर । सन् २०१४ मा उनको मृत्यु पछि पनि कसैलाई पनि उनको अनुहार देखाइएन ।

आज उनको ९१ औँ जन्म जयन्तीको विशेष मौकामा उनको जीवनसँग जोडिएका केही तथ्यबारे जानकारी लिऔँः

१५ वर्षको उमेरमा गरिन् विवाहः

६ अप्रिल सन् १९३१ मा ब्राह्मण परिवारमा जन्मिएकी सुचित्राका पिता स्कूलका प्रधानाध्यापक थिए भने आमा गृहिणी । स्वतन्त्रताको लडाईंका बेला सुचित्राको परिवार बंगलादेशको सिराजगञ्जबाट पश्चिम बंगाल पुग्यो । यहाँ सुचित्राको १५ वर्षको उमेरमा सन् १९४७ मा दिबानाथ सेनासँग विवाह गराइयो जो एक सफल व्यापारी थिए । १६ वर्षको उमेरमा सुचित्राले छोरी मुनमुन सेनालाई जन्म दिइन् जो एक सफल नायिका छिन् ।

फिल्ममा कसरी आइन् सुचित्रा ?

सुचित्रा सधैँ अभिनय गर्न चाहन्थिन् । श्रीमान् र ससुराको मद्दतले सुचित्रा फिल्ममा आइन् तर जब सफल भइन् तब उनको करियर विवाहको बीचमा आयो । विवाहको ४ वर्षपछि सुचित्राले ‘शेष कोथाए’ मा काम गरिन् तर यो फिल्म रिलिज भएन । त्यसको अर्को वर्ष सुचित्राले उत्तम कुमारसँग ‘शारे चौत्तोर’ मार्फत् डेब्यू गरिन् । यो फिल्म र दुईको अनस्क्रिन जोडी निकै हिट भयो । यो एउटा आइकोनिक जोडी बन्यो जसलाई २० वर्षसम्म असाध्यै रुचाइयो ।

सुचित्राले ६१ मध्ये ३० फिल्म उत्तमसँग गरेकी थिइन् । सुचित्रा बांग्ला सिनेमाकी सबैभन्दा सफल नायिका बनिसकेकी थिइन् ।

सन् १९५५ को फिल्म देवदासबाट हिन्दी सिनेमामा आइन् । सुचित्राले इन्दिरा गान्धीमाथि बनेको फिल्म ‘आँधी’ मा सञ्जिव कुमारसँग काम गरिन् । फिल्म विवादमा थियो तर सुचित्रालाई असाध्यै रुचाइयो । सुचित्राले जम्मा ६१ फिल्ममा काम गरिन् जसमध्ये ६ वटा हिन्दी फिल्म थिए – देवदास, आँधी, बंबई का बाबू, ममता, सरहद र चम्पाकला । यीबाहेक सबै फिल्म बांग्ला रह्यो ।

थुप्रै ठूला फिल्म निर्माताको अफर अस्वीकार गरिन्ः

सुचित्रा सेना असाध्यै स्वाभिमानी भएको बताइन्थ्यो र साधारण कारणले ठूला अफर अस्वीकार गर्ने गर्थिन् । ७० को दशकमा जहाँ हरेक नायिका राज कपुरसँग काम गर्न चाहन्थे, त्यतिबेला सुचित्राले उनीहरुको फिल्म अस्वीकार गरिन् । आफ्नो एउटा फिल्मका लागि राज कपुर सुचित्रालाई फुल लिएर भेट्न गएका थिए । सुचित्रालाई राज कपुरको फुल दिएको शैली मन परेन त्यसैले उनले फिल्ममा अभिनय गर्न मानिनन् । सत्यजित रे पनि सुचित्रालाई लिएर देवी चौधरानी बनाउन चाहन्थे तर नायिकाले फिल्म अस्वीकार गर्दा सत्यजित रे ले फिल्म नै बनाएनन् ।

सफलताको सिँढी चढ्दा विवाहमा बाधाः

सुचित्रा सेना फिल्ममा यति व्यस्त हुन थालिन् कि यसले उनको वैवाहिक जीवनमा समस्या आउन थाल्यो । उनले श्रीमान र घरको काममा समय दिन सक्दिनथिन् । उनका श्रीमान् दिबानाथ रक्सी पिउन थाले, दुईबीच झगडा बढ्न थाल्यो । अन्ततः दिबानाथले उनलाई छोडेर अमेरिका गए जहाँ सन् १९७० मा उनको निधन भयो । जब १९७८ मा सुचित्राको फिल्म प्रनोय पाशा फिल्म फ्लप भयो तब उनले अचानक फिल्मी दुनियाँ छोडिन् । यतिबेला सुचित्रा राजेश खन्नासँग ‘नाती बिनोदिनी’ मा काम गरिरहेकी थिइन् तर उनको अचानक मृत्यु भएपछि फिल्म बीचमा नै रोकियो ।

संसारको नजरबाट टाढा भइन् सुचित्राः

फिल्म छोड्ने बित्तिकै सुचित्रा गायब भइन् । उनले आफूलाई एउटा सानो कोठामा बन्द गरिन् जहाँ उनी एउटा सानो बेडमा सुत्थिन् । सुचित्राको परिवारलाई पनि उनीसँग भेट्न अनुमति थिएन । उनी कोठाबाटै निस्किन छोडिन् । सुचित्राले रामकृष्ण आश्रमको भरत महाराजसँग सम्पर्क गरेर अध्यात्मको बाटो अपनाएकी थिइन् ।

 


मात्रै एकपटक देखिइन् सुचित्राः

सुचित्रालाई एकपटक मात्रै घर बाहिर देखियो । त्यतिबेला उनी भरत महाराजको निधनमा खाली खुट्टा बेलुर मठमा पुगेकी थिइन् । सुचित्राकी नातिनी राइमा सेनका अनुसार उनकी हजुरआमा कहिलेकाँही कोठाबाट निस्किन्थिन् तर यतिबेला उनको तीन चौथाई अनुहार कपडाले ढोकेको हुन्थ्यो ।

दादा साहेब फाल्के अवार्ड लिन अस्वीकारः

सन् २००५ मा सुचित्रालाई दादा साहेब फाल्के अवार्ड प्रदान गरिएको थियो तर सुचित्रा घरबाट बाहिर निस्कन छोडेकी थिइन् । सुचित्राले अवार्ड दिन चाहेको खण्डमा घरमा नै आएर दिनुपर्ने बताइन् । उनी कार्यक्रममा गइनन् र उनले अवार्ड पनि पाइनन् । सुचित्रालाई फिल्म सात पाके बधाका लागि मस्को इन्टरनेशनल फिल्म फेस्टिबलमा अवार्ड दिइयो । यो अन्तर्राष्ट्रिय अवार्ड जित्ने उनी पहिलो नायिका थिइन् ।

मृत्युपछि पनि देखिएन सुचित्राको अनुहारः

फोक्सोमा संक्रमणका कारण सन् २०१३ जनवरी २४ तारिखमा सुचित्रालाई अस्पताल भर्ना गरियो । उनलाई अस्पतालमा पनि लुकाएर राखिएको थियो । थुप्रै महिनाको उपचारपछि १७ जनवरी सन् २०१४ बिहान ८ः२५ मा हृदयघातका कारण उनको निधन भयो । उनको गोपनियताको सम्मान गर्दै अन्तिम संस्कारमा पनि उनको अनुहार ढाकेर राखियो । निधनपछि त्यसै वर्ष सुचित्रालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप