नायिका बन्नु वेश्यावृत्तिभन्दा पनि खराब मानिने समयमा फिल्ममा आइन् देविका, ४ मिनेटको चुम्बनको दृश्यमा भएको थियो हंगामा
भारतीय सिनेमाकी पहिलो नायिका देविका रानी हुन् । देविका त्यो जमानामा फिल्म इन्डष्ट्रिमा कदम राख्ने पहिलो नायिका बनिन् जब महिलाले फिल्ममा काम गर्नु वेश्यावृत्तिभन्दा पनि गिरेको काम मानिन्थ्यो । तर त्यति हुँदा हुँदै पनि देविकाले समाजको धारणाविरुद्ध थिर आफ्नो क्षमतामार्फत् निकै ठूलो उपलब्धि हासिल गरिन् ।
१० वर्षको अभिनयको करियरमा देविकाले असाध्यै चर्चा बटुलिन् । फिल्मको सबैभन्दा ठूलो अवार्ड दादा साहेब फाल्के पाउने पहिलो कलाकार पनि देविका नै थिइन् । उनको नीजि जीवन पनि कुनै फिल्मी कहानीभन्दा कम थिएन । पहिलो फिल्ममा नै देविकाले ४ मिनेटको लामो किसिङ सीन दिएर चारैतिर तहल्का मच्चाएकी थिइन् ।
रविन्द्रनाथ टेगोरकी आफन्त थिइन्, ९ वर्षको उमेरमा बेलायत पढ्न गइन्ः
विशाखापट्टनम नजिकै वलतायरका ठूला जमिन्दारको घरमा जन्मिएकी देविकाका पिता मद्रास प्रेसिडेन्सीका पहिलो सर्जन थिए । देविकाकी हजुरआमा सुकुमारी देवी, ठाकुर रविन्द्रनाथ टेगोरकी बहिनी थिइन् । शिक्षित परिवारकी देविकालाई ९ वर्षको उमेरमा बेलायतको बोर्डिङ स्कूल पठाइयो । पढाई पूरा गरेर देविका रोयल एकेडेमी अफ ड्रामेटिक आर्ट, लण्डनमा भर्ना भइन् । थुप्रै डिजाइनिङ कोर्स गरेर देविकाले सन् १९२७ मा टेक्सटाइल डिजाइनिङमा काम सुरु गरिन् ।
कसरी राखिन् फिल्ममा पहिलो कदम ?
देविका रानीको भेट सन् १९२८ मा फिल्म निर्माता हिमांशु रायसँग भएको थियो । हिमांशु त्यतिबेला लण्डनमा आफ्नो फिल्म द थ्रो अफ डाइसको सुटिङ गरिरहेका थिए । देविकाको कामबाट प्रभावित भएर हिमांशुले उनलाई आफ्नो प्रोडक्सन हाउस जोइन हुन प्रस्ताव गरे । देविका राजी भइन् र उनको प्रोडक्सनका लागि कस्ट्युम डिजाइनिङ र आर्ट डायरेक्सन गर्न थालिन् ।
हिमांशु रायको प्रेममा देविकाः
सँगै काम गर्दा गर्दै देविका रानी र हिमांशु रायबीच प्रेम बस्यो । हिमांशु, देविकाभन्दा १६ वर्ष जेठा थिए तर यति हुँदा हुँदै पनि सन् १९२९ मा यी दुईले विवाह गरे । विवाहपछि दुबै बर्लिनमा बस्न थाले तर जब भारतमा फिल्म बन्न सुरु भए तब यी दुई भारत फर्किए ।
कर्मामार्फत् बनिन् भारतकी पहिलो नायिकाः
हिमांशु रायले भारत आएर कर्मा (१९३३) फिल्म बनाए । यो फिल्ममा देविका रानी नायिका बनिन् र हिरो बने हिमांशु । त्यतिबेला फिल्ममा काम गर्नु महिलाका लागि यति खराब थियो कि नायिकाको भूमिका पनि पुरुषले नै गर्ने गर्दथे । कर्मा फिल्म रिलिज भयो र देविका रानी स्टार बनिन् ।
एकातिर फिल्मलाई मन पराइँदै थियो, अर्कोतर्फ फिल्ममा देखिाइएको ४ मिनेटको किसिङ सीनको विषयमा थुप्रै विवाद निम्तिए । यो दृश्य देविका र हिमांशुबीच नै छायांकन गरिएको थियो । विवादपछि पनि देविकाको कदम डग्मगाएन र उनले ‘फर्स्ट लेडी अफ इन्डियन सिनेमा’ बनेर इतिहास रचिन् ।
विवाहित हुँदा पनि को–स्टारको प्रेममा परिन् देविकाः
सन् १९३४ मा देविका र हिमांशुले बम्बे टकिजको स्थापना गरे । यो इन्डष्ट्रिको सबैभन्दा ठूलो फिल्म स्टुडियो थियो । जवानी की हवा (१९३५) पछि हिमांशुले देविका रानी र नज्म–उल–हसनलाई लिएर दोस्रो फिल्म जीवन नैया सुरु गरे । तर देविका र नज्मबीच निकटता बढ्न थालेपछि हिमांशुले फिल्म रोकिदिए । देविका, नज्मसँगै गइन् । फिल्म रोकिँदा पैसा डुब्यो ।
अन्ततः शशधर मुखर्जी, जो त्यतिबेला प्रोडक्सन हाउसका साउन्ड इन्जिनियर थिए, ले देविकालाई सम्झाए र कुरा मिलाउनका लागि फिर्ता बोलाए । देविकाले शशधरलाई भाइ मान्थिन्, त्यसैले उनको कुरा काट्न सकिनन् । त्यतिबेला उनीहरुबीच कानुनी रुपमा सम्बन्धविच्छेद हुन सकेन र श्रीमानलाई छोडेर छुट्टै बस्ने महिलालाई राम्रो मानिँदैन थियो ।
श्रीमान् भएठाउँ फर्किनका लागि राखिन् विशेष शर्तः
हिमांशु तिरै फर्कनका लागि देविकाले एउटा शर्त राखिन् । उक्त शर्त अनुसार उनलाई हरेक फिल्मका लागि पारिश्रमिक दिइनुपर्ने र घरको पूरा खर्च हिमांशु एक्लैले उठाउनुपर्नेछ । बम्बे टकिज टाट पल्टिने अवस्थामा थियो । फिल्म रोकिएका कारण हिमांशुले देविकाको सबै शर्त माने । समाजलाई देखाउनका लागि यी दुई सँगै त बसे तर यी दुईबीच कामबाहेक अरु कुनै सम्बन्ध बाँकी रहेन ।
जीवन नैयामा नज्म–उल–हसनलाई हटाएर अशोक कुमारलाई लिइयो र त्यसपछि फिल्म पूरा भयो । देविका–अशोकको जोडी दोस्रो पटक अछुत कन्यामा सँगै देखियो । यो फिल्म हिन्दी सिनेमाका लागि ल्यान्डमार्क साबित भयो । अछुत कन्यालाई नै भारतमा छुवाछुतविरुद्ध आन्दोलनको आधारशीला तयार गर्ने फिल्म मानिन्छ । तेस्रो पटक यी दुई जीवन प्रभातमा सँगै देखिए जसमा अशोक कुमारभन्दा बढी देविकाले प्रशंसा पाइन् ।
सन् १९४९ मा हिमांशु रायको निधनपछि देविकाले बम्बे टकिजको जिम्मेवारी शशधर मुखर्जीसँग मिलेर सम्हाले । त्यसपछि उनीहरुले अनजान, किस्मतजस्ता हिट फिल्म निर्माण गरे ।
दिलिप कुमारलाई उद्योगमा स्थान दिलाइन्ः
सन् १९४४ मा देविका रानीले बम्बे टकिजमा काम गर्ने दिलिप कुमारलाई ज्वार भाटा फिल्ममा काम दिलाइन् । ती देविका नै थिइन् जसले युसुफ खानलाई दिलिप कुमार नाम दिलाइन् । केही वर्षमै अशोक कुमार र शशधर मुखर्जीले देविकासँग अलग्गिएर आफ्नो नयाँ प्रोडक्सन हाउस फिल्मिस्तान बनाए । इन्डष्ट्रिबाट साथ सहयोग नपाएका कारण देविकाले फिल्म बनाउन नै छोडिदिइन् ।
दोस्रो विवाह गरेर फिल्मी उद्योगबाट टाढा भइन्ः
फिल्मी उद्योग छोडेपछि देविकाले रसियाली पेन्टर स्वेतोस्लाव रोरिचसँग विवाह गरिन् । यी दुई मनालीमा साधारण जीवन जिउन थाले । सन् १९५८ मा देविकाले पद्मश्री सम्मान पाइन् । सन् १९६९ मा देविका दादासाहेब फाल्के अवार्ड जित्ने पहिलो भारतीय बनिन् । आफ्नो दोस्रो श्रीमान् रोरिचको मृत्यु भएको एक वर्षपछि ७ मार्च सन् १९९८ मा देविकाको पनि निधन भयो ।
स्रोतः दैनिक भास्कर