शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन एकढिक्का छ, यसलाई धेरै परसम्म लानुपर्नेछ : प्रचण्ड

‘म अलि बढी नै सोझो, धेरै लचिलो र त्यागी छु’
शुक्रबार, २३ वैशाख २०७९, १७ : ४१
शुक्रबार, २३ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा वाम गठबन्धन र पार्टी एकता गरेर समाजवादको सपना देखेपनि त्यो सपना तीन वर्ष नपुग्दै चकनाचुर भएको बताएका छन् ।  शुक्रबार काठमाडौमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको सपना देखेर केपी ओलीलाई नायकका रुपमा अघि सारेपनि उनले धोका र षडयन्त्रबाहेक केही नदिएको बताए ।

निषेधको निषेधबाट अहिलेको सत्ता गठबन्धन जन्मिएको भन्दै उनले यस्तो गठबन्धन विकसित गठबन्धन रहेको दावी समेत गरे । ‘वाम गठबन्धन गरेर स्थायित्व र पार्टी एकता गरेर समाजवादको देखेको सपना तीन वर्ष नपुग्दै चकनाचुर भयो’, प्रचण्डले भने, ‘केपी ओलीलाई ठुलो संघर्षका रुपमा नायकका रुपमा लगेका थियौ । तर एकता गरेको दुई हप्ता नपुग्दै धोका जालझेल, षडयन्त्र र धोकाबाहेक केही देखिएन ।’ 

प्रचण्डले आफु अलि बढी नै सोझो, धेरै लचिलो र त्यागी रहेको भन्दै आफुलाई गहिरो गरी हेर्न सुझाव दिए ।  उनले मतदाताहरूलाई गठबन्धनका उम्मेदवारका चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै हँसिया हथौडा, रुख र कलमलाई सहज रुपमा लिन आग्रह गरे । 

हँसिया हथौडा र चारतारे झण्डा सँगै नफहराएको भए संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव नहुने भन्दै अब पनि रुख वालाले हँसिया हथौडा र हँसिया हथौडा वालाले रुखमा छाप हान्नै पर्ने बताए । उनले यो नै लोकतन्त्र, प्रगतिको हितमा हुने बताए । 

‘रुख वालाले बडो खुसी र गर्वसाथ हँसिया हथौडामा छाप लगाउन सक्नैपर्छ । हसिया हथौडावालाले गर्वका साथ रुखमा छाप हान्न सक्नैपर्छ’, प्रचण्डको जोड छ । उनले केही मानिस मर्न तयार रुखबाहेक भोट हाल्न नजाने र कतिपय मर्न तयार हँसिया हथौडाबाहेक अन्त भोट हाल्दिन भन्ने लकिरको फकिरजस्तो भएर मुलुकको प्रगति हुन नसक्ने बताए ।

उनले  विगतमा काँग्रेस र कम्युनिस्टबीच पानी बारबार गर्दा देशले केही नपाएको भन्दै अहिलेको गठबन्धन संविधान र गणतन्त्रका रक्षाका निम्ति भएको बताए । उनले गठबन्धन अहिले पनि एकढिक्का रहेको भन्दै धेरै परसम्म लानुपर्ने आवश्यकता रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप