शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनका उम्मेदवारलाई माधव नेपालको निर्देशन : भ्रष्टाचार र कुशासनमा नफस्ने विश्वास दिलाउनुस्

‘प्रतिगामीलाई मत दिनुभयो भने पछुताउनुपर्छ, सन्तानले दुख पाउँछन्’
शुक्रबार, २३ वैशाख २०७९, १७ : ०२
शुक्रबार, २३ वैशाख २०७९

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुईवटा गठबन्धन रहेको भन्दै प्रगतिशील लोकतान्त्रिक वामपन्थी गठबन्धनको पक्षमा मतदान गरेर प्राप्त राजनीतिक उपलब्धी जोगाउन सार्वजनिक अपिल गरेका छन् । 

‘अहिले दुईवटा गठबन्धन छ । दुईमध्ये एक रोज्नुपर्नेछ । एउटा प्रगतिशील वाम–लोकतान्त्रिक र अर्को दक्षिणपन्थी’, नेपालले भने, ‘दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेका छन् ।’ उनले ओलीले नेतृत्व गरेको गठबन्धनमा प्रतिगामी र राजावादीहरु रहेको भन्दै उनीहरु परिवर्तन र संविधान विरोधी रहेको बताए । 

त्यस्तै आफुहरु रहेको गठबन्धनमा प्राप्त उपलब्धिको रक्षा, संविधान जोगाउने, समाजवाद सुशासन र गणतन्त्रका हिमायती प्रगतिशील गठबन्धनमा रहेकाले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर सुशासनको पक्षमा उभिन आग्रह गरे । ‘प्रगतिशील गठबन्धनमा सामेल भएका उम्मेदवारलाई मतदान गर्नुस् । प्रतिगामी कित्तामा मत खसाल्नुभयो भने पछुताउनुपर्ने र सन्तानले दुःख भोग्नुपर्नेछ’, अध्यक्ष नेपालको भनाइ छ । 

उनले इतिहासका सबै मोडमा काँग्रेस र नेकपा सँगसँगै अगाडि बढेको इतिहास भएको भन्दै दम्भीहरु कमजोर र समाप्त हुँदै गएको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले काठमाडौ महानगरपालिकालाई सुन्दर महानगरपालिका बनाउन सकिने भन्दै गठबन्धन देशका लागि आवश्यक भएकाले सोहीअनुसार गठबन्धनप्रति विश्वास गर्नसक्ने वातावरण बनाउनुपर्ने भ्रष्टाचार र कुशासनमा फस्दैनौ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।

उनले काठमाडौ महानगरका गठबन्धनका उम्मेदवारहरूले मतदातालाई यसरी प्रस्ट पार्न सके विजयको सुनिश्चित रहेको दावी समेत गरे । उनले कतिपय स्थानमा गठबन्धनमा रहेकाहरुले प्रतिगामी शक्तिसँग साँठगाँठ गरेर उम्मेदवारी दिएको सुनिएको भन्दै त्यस्तालाई कारवाही गरिने बताए । काठमाडौ महानगरमा काँग्रेसबाट मेयर र नेकपा एकीकृत समाजवादीका उपमेयरका प्रत्यासी छन् ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप