शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

म काठमाडौँको मेयर भए मतदाताको शीर निहुरिन दिन्नँ : सिर्जना सिंह

शुक्रबार, २३ वैशाख २०७९, १५ : ३१
शुक्रबार, २३ वैशाख २०७९

काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आफू महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन नदिने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले पार्टीको घोषणापत्र र आफ्नो संकल्प पत्रलाई आधार मानेर आफू अघि बढ्ने बताइन् ।

उनले महिला आन्दोलनका लागि आफ्नो उम्मेदवारी गौरवपूर्ण रहेको पनि बताइन् । आफू मेयर भइसकेपछि काठमाडौं महानगरलाई भ्रष्टाचारमुक्त बनाउने, डिजिटल प्रविधि अपनाएर घरबाटै सेवा लिन सक्ने बनाउने उनको भनाइ छ ।

काठमाडौं महानगरमा ट्राफिक जाम, फोहोर समस्या विकराल बन्दै गएको भन्दै तिनलाई समाधानका लागि पहल गर्ने उनले बताइन् । महानगरका महिलालाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने, विदुर पुरुषका लागि पनि विशेष राहत प्याकेज ल्याउने उनले प्रतिबद्धता जनाइन् ।

उनले महिलाले उत्पादन गरेका वस्तुलाई प्रत्येक वडामा कोसेली घर बनाएर बजारको व्यवस्थापन गर्ने, युवा वर्गका लागि विशेष योजना बनाउने बताइन् । ‘प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाएर ज्येष्ठ नागरिकका लागि दिनचर्या कटाउन सहज बनाउने छु,’ उनले भनिन्, ‘७७ जिल्लाकै बासिन्दा बसोबास गर्ने सहर हो यो । काठमाडौंको आफ्नै मौलिक परम्परा छ । त्यसलाई उजागर गर्न सधैँ ध्यान दिनेछु । विश्व सम्पदा सूचीमा परेको सहर हो यो । ऐतिहासिक सभ्यताका यस्ता सहरलाई पर्यटकीय स्थल बनाउन सकेका छैनौं, काठमाडौंलाई विश्वकै पर्यटकीय सहर बनाउने छु ।’

उनले काठमाडौंमा २४ सै घण्टा खोल्ने बजारको व्यवस्था गर्ने पनि बताइन् । उनले सार्वजनिक तथा खुला ठाउँमा निःशुल्क खानेपानीको व्यवस्था गर्ने पनि बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप