शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ओलीलाई बलियो बनाउन गठबन्धन भित्रैबाट खेल भयो : रामचन्द्र पौडेल

शुक्रबार, २३ वैशाख २०७९, १६ : ३८
शुक्रबार, २३ वैशाख २०७९

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउन गठबन्धन भित्रबाट खेल भएको बताएका छन् । शुक्रबार काठमाडौंको शान्ति वाटिकामा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले भने,  ‘केपी ओली मुलुकको स्थिरताको कारक बन्नुभएको छ । ओलीलाई बलियो बनाउन गठबन्धनलाई कमजोर पार्ने काम भएको छ । हँसिया हथौडामा भोट हालिँदैन भनेर गठबन्धनलाई कमजोर बनाउने खेल भएको छ ।’ उनले नेपाली काँग्रेसका गठबन्धन विरोधी नेताहरुलाई संकिर्ण सोच त्याग्न आग्रह गरे । 

‘मेरा साथीहरुलाई भन्न चाहन्छु– यो संक्रिणता त्यागेर गठबन्धनको पक्षमा उभिनुस् । प्रतिगामीहरु एक ठाउँमा उभिँदैछन् । आज काँग्रेस र कम्युनिस्टको द्वन्द्व होइन,’ उनले भने, ‘परिवर्तन र प्रतिगामी  शक्ति बीचको द्वन्द्व हो । हामीले पुराना कुरामा अल्झिने होइन । हामीले गठबन्धनलाई मजबुद बनाउन जरुरी छ ।’ 

गठबन्धनका दलहरुले खुला दिलले एक अर्कालाई सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘हामीले खुला दिलले एकले अर्कालाई सहयोग गरौं । तीनवटा महानगरपालिकामा हामीले साथीहरुलाई सहयोग गर्छौं भने साथीहरुले हामीलाई तीन महानगरमा सहयोग गर्नुहुन्छ । यो गठबन्धन परिर्वतनको माग हो ।’ गठबन्धन सफल भए नेपाल पनि सफल हुने उनको भनाइ छ । 

‘सत्ता गठबन्धन परिवर्तन, संविधानको रक्षाका लागि बनेको हो । राजनीतिक स्थिरताका लागि यो गठबन्धन बनेको हो । गठबन्धन सफल भयो भने देश पनि सफल हुन्छ,’ उनले भने ।

यस्तै नेता पौडेलले काठमाडौंमा ३० वर्षदेखि फोहोर व्यवस्थापन र खानेपानीको समस्या रहेको बताए । खानेपानीमा किसुनजीको सपना पुरा हुने अवस्थामा रहे पनि फोहोर व्यवस्थापन हुन नसकेको बताए । उनले गठबन्धनका उम्मेदवारले सुशासन दिनुपर्ने बताए । ‘काठमाडौंमा भ्रष्टाचार भइरहेको छ । जनताको करको सदुपयोग भएको छैन । गठबन्धनका उम्मेदवारले भनेको सुने । यहाँहरूले सुशासन दिनुहोस् । सुशासन हुने अपेक्षा गर्दैछु,’ उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप