शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ट्याक्सीबाहेक सार्वजनिक सवारीमा जोर बिजोर हट्यो

शुक्रबार, १४ माघ २०७८, २२ : १६
शुक्रबार, १४ माघ २०७८

आज मिति २०७८ साल माघ महिनाको १४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. ट्याक्सीबाहेक सार्वजनिक सवारीमा जोरबिजोर हट्यो

काठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ ।  शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् । माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।

२. सर्वोच्चले घटायो धरौटी

सर्वोच्च अदालतले नक्कली कम्पनी खडा गरी राजस्व छली प्रकरणमा मुछिएका एक आरोपितलाई धरौटी रकममा राहत दिएको छ । उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर मुद्दामाथि प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको संयुक्त इजलासले निवेदक उमा शंकर राय भरलाई धरौटी रकममा राहत दिएको हो ।

​३. सरकारको शीतल निवास र आयोगसँगको दूरी बढ्यो

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकार र राज्यका संवैधानिक अंग बीचको दुरी बढ्न थालेको छ । खासगरी स्थानीय चुनावको सवालमा संवैधानिक अंग निर्वाचन अयोग र राष्ट्रपतिसँग सरकारको दुरी बढ्न पुगेको हो ।

निर्वाचन आयोगले आगामी बैशाख २०७९ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहँदा सरकार संविधानको छिद्र खोजेर चुनावलाई पछि धकेल्ने प्रयासमा लागेपछि सरकार र संवैधानिक अंगहरूबीच दुरी बढ्नुका साथै अविश्वास एवं खटपट देखिन थालेको हो 

४. काँग्रेस केन्द्रीय कार्यसमिति गठन

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए  । सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री गगन थापालाई बैठकमा २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

बैठकले उक्त नाम सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो । काँग्रेस विधान अनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भएपनि आज पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो ।

​५. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो ।

मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ । यससँगै  देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ । बिहीबार यस्तो संख्या ९० हजार बढी थियो ।

६. रकम गायब प्रकरणमा मुद्दा

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट ५३ लाख रुपैयाँ गायब पारिएको घटनामा वडा अध्यक्ष  ध्रुवप्रसाद मिश्रले उन्मुक्ति पाएका छन् भने वडा सचिव र अन्य दुई कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । सो घटनामा वडाध्यक्ष मिश्रमाथि पनि निष्पक्ष छानबिनको माग हुँदै आएको थियो ।

​७. बेलायतमा राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

​८. सेयर बजार

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो ।

साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अंकले वृद्धि भएको छ ।

थप समाचार

​९. यो पनि...

भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका केही देशहरूमा गैरकानूनी रूपमा पुर्याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारामा परेको गुनासो आइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो अपिल गरेको हो 

​केन्द्रीय दुग्ध सहकारी संघले तत्काल दूधको मूल्य वृद्धि गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक पेस विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सरकारसँग माग गरेको हो ।

विगत तीन वर्ष देखि दूधको मूल्य एउटै रहेको तर बजार महँगी बढेर आकाशिएसँगै किसानहरू गाई भैँसीलाई खुवाउने घाँसपात, पराल, दाना, चोकर समेत किन्न नसक्ने अवस्थामा पुगेको संघको भनाई छ ।

​सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताएका हुन् ।

 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप