मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिरिजङ्गा लिपि विवादको नालीबेली (कार्यदलको प्रतिवेदनसहित)

२०५० सालको विवाद २०७८ मा छताछुल्ल
शुक्रबार, १४ माघ २०७८, ११ : ५७
शुक्रबार, १४ माघ २०७८

किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी  विज्ञ कार्यदलको प्रतिवेदन यही पुसमा सार्वजनिक भएपछि यसबारे विवाद उत्कर्षमा पुगेको छ । किरात सिरिजङ्गा लिपिको प्रयोगले किरातहरूलाई एकताबद्ध गर्नुका साथै लिपिको प्रयोग र विस्तारमा समेत एकरूपता हुने भन्दै चार किरात संस्थाअन्तर्गत रहेको किरात समन्वय समितिले २०७८ असोज ११ गते ‘किरात सिरिजङ्गा लिपि समायोजन कार्यदल’ गठन गरेको थियो ।

डा. तारामणि राई संयोजक रहेको किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धि  विज्ञ कार्यदलमा प्राज्ञ अमर तुम्याहाङ, डा. लाल श्याँकारेलु रापचा, डा. गणेश जिमी, गणेश राई, डी.बी आङ्बुङ्, इन्दिरा जिमी, उत्तम सुनुवार, तीर्थराज मुकारूङ सदस्य रहेका थिए । तर, संयुक्त लिपिले किरातहरूलाई एकताबद्ध गर्नु भन्दा विवादको बीजारोपण गरिदिएको छ ।

खास गरी पूर्वी पहाडमा बोलिने किरात भाषाहरूमा मूलतः राई, लिम्बू, कोँइच–सुनुवार र याक्खा पर्दछन् । यसका साथै हायू, सुरेल, जिरेल, थामी अहिले पनि किरात भएको दावी गर्छन् । राई समूहभित्र बान्तावा, चाम्लिङ,  कुलुङ, थुलुङ, साम्पाङ, खालिङ, वाम्बुले, बाहिङ, नाछिरिङ छन् ।  त्यस्तै याम्फु/याम्फे, दुमी, पुमा, दुङमाली, आठपहरिया, मेवाहाङ, लोहोरुङ, छिन्ताङ, छिलिङ, जेरो/जेरूङ, तिलुङ, कोयी, बेलहारे, साम, फाङ्दुवाली, लिङखिम/लुङ्खिम वक्ताका रूपमा छन् । यी सबै भाषाको एउटै लिपि समेट्ने गरी किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धि  विज्ञ कार्यदलले सुझाव दिएको छ ।

को थिए सिरिजंगा ?

सिरिजंगा लिपि विवादको गहिराईमा जानुभन्दा अघि सिरिजंगाबारे केही जानकारी दिनु उपर्युक्त होला । सिरिजंगाको जन्म ताप्लेजुङ जिल्लाको याङरुपथुमको सिनाम–तेल्लोकमा याक्थुङ्बा लिम्बू सिंथेबे परिवारमा बिसं १७६१ मा भएको थियो ।

अर्जुनबाबु माबुहाङका अनुसार सिरिजङ्गाबारे हज्सन पाण्डुलिपिमा थुप्रै लेखोट संकलित छन् । बेलायती विद्वान ब्रायन हज्सन नेपालमा रेजिडेन्ट भएर सन् १८२० देखि १८४५ रहे । त्यसपछि पनि फेरि सन् १८४५ देखि १८५८ सम्म दार्जिलिङमा रहँदा उनले पूर्वी नेपाल र सिक्किमका लिम्बू गाउँहरूबाट लिम्बू जातिबारे सिरिजंगा र उनका चेलाहरूले लेखेका लेखोटहरू संकलन गरेका थिए । उनलाई लामाहरुले सिक्किममा तीरले हानेर हत्या गरेका थिए ।

हज्सन पाण्डुलिपिको खण्ड ७९, ८६, ८८ का पत्रहरूमा सिरिजंगा आफैंले याक्थुङहरूको साप्लार भाषा लिपि बनाएको र निकालेको लेखिएको छ । उनले बाह्रखरी अभ्यास गरेका पत्रहरू भेटिन्छन् । पत्रहरूमा सिरिजङ्गाले उतिबेलाको याक्थुङ समाज, इतिहास र राजनीतिक व्यवस्थाबारे पनि लेखेका छन् ।

विसं २०१८ सालमा इमानसिंह चेम्जोङले ‘लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ प्रकाशित गरेका थिए । सोही पुस्तकलाई पुनर्माजन गरी २०६७ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तात्कालीन कुलपति बैरागी काइँलाले प्रकाशनमा ल्याए । त्यसमा प्रयोग गरिएको लिपिलाई सिरिजङ्गा लेखिएको र सिरिजङ्गा वर्णमाला र सिरिजङ्गा लिपिबाट शब्दकोश नै तयार गरिएको छ ।

२०५० सालको विवाद अहिले छताछुल्ल

छयालीसको आन्दोलनपछि पहिचानको राजनीति चुलियो । किरात याक्थुङ चुम्लुङको आह्वानमा किरात धर्म लेखाउन २०४८ को जनगणनामै राई, लिम्बूहरु लागि परे । यसै क्रममा आफ्नै लिपिमा लेखनको अभ्यास र अभियान पनि चल्यो । सिरिजंगा लिपिको खोजी भयो । २०५० पुस १५ गते किरात याक्थुङ चुम्लुङको तेह्रथुममा बसेको पहिलो राष्ट्रिय परिषद् बैठकले त्येÞअङ्सी सिरिजंगा सिङथेÞबेको योगदानको सम्मानस्वरूप अबदेखि लिपिको नाम ‘किरात सिरिजंगा लिपि’ चलाउने निर्णय गर्यो ।

यसै क्रममा निर्णय गरिएको २८ वर्षपछि यस वर्ष ‘किरात सिरिजङ्गा लिपि समायोजन कार्यदल’ गठन भयो । कार्यदलले सबै किरात भाषाहरूका लागि हुनेगरी साझा वर्णमाला तयार पार्यो र पुसमा किरात समन्वय समितिलाई प्रतिवेदन बुझायो ।

कार्यदलले बुझाएको परिशिष्टमा हरेक किराती भाषाहरूका छुट्ट्छुट्टै वर्णमालाको सूची पनि समावेश गरिएको छ । प्रतिवेदनको निष्कर्षमा किरात भाषाहरूमा छुटछुट्टै अस्तित्वमा रहेका ४८ वटा व्यञ्जन वर्ण रहेको तथा उपचिन्ह प्रयोग नगरी प्रयोग गर्नुपर्ने अवस्थाका १२ वटा स्वर वर्ण रहेको उल्लेख छ ।

भाषावीद् अमृत योन्जन तामाङ भन्छन्, नेपालमा प्रचलित लिपिहरुको विकासक्रम हेर्दा नेपालमा पूर्वलिच्छवी कालमा ब्राह्मी लिपि, लिच्छवी कालमा पूर्व लिच्छवी र उत्तर लिच्छवी लिपि अनि मल्ल एवं शाहकालमा किरात, रञ्जना, भुजिमोल, नेवारी, मैथिली, तिब्बती, नन्दीनागरी र  देवनागरी लिपि गरी ११ लिपि प्रचलित भए । यी लिपिहरुको वंश वा पूर्खा एउटै देखिएको छ । उच्चारण स्थान या उच्चारण तरिका पनि उस्तै छन्, क्रमवद्ध छन् । रोमन (अङ्ग्रेजी) लिपिको जस्तो र्यान्डम छैन ।

ऐतिहासिक कालक्रममा लिपिको आकारप्रकारमा परिमार्जन भएको देखिन्छ । ‘हाल मगर भाषाले ब्राह्मी लिपिलाई अङ्गालेको छ । तिव्वतमा थोन्मी सम्भोटाले आफ्नो भोट भाषाको मौखिक वर्ण अनुरुप लिपिको संख्या निर्धारण गरे अनि स्वर वर्ण/अ लाई नै मात्रा दिएर सजिलो बनाए र आफ्नो भौगोलिक परिवेशअनुरुप लिपिको परिमार्जन गरे,’ भाषावीद् तामाङ भन्छन्, ‘लिम्बू लिपिले पनि स्वर वर्णको यस परम्परालाई अङ्गालेको छ । त्यसैले समय अनुसार सहजताका लागि लिम्बूहरु पनि लिपिमा थपघट गर्न सक्छन् ।

तर, यहाँ लिपिको कुरा भन्दा पनि लिम्बूवान अथवा किरात प्रदेशको नामकरणसंग पनि प्रसंग जोडिएको छ । त्यसैले, अहिले विवाद उत्कर्षमा देखिएको हो ।’ स्मरण रहोस् ६ वटै प्रदेशको नामकरण भइसके पनि प्रदेश १ को नामकरण  टुंगो लागेको छैन । लिम्बूवान तथा किरात नाम पनि विकल्पमा रहेकाले लिपिको विवादले राजनीतिक रंग लिएको छ । ।

भाषाविद तामाङका अनुसार सिरिजंगा लिपिबारे आएको विवाद सम्बन्धमा ‘किरात सिरिजङ्गा लिपि समायोजन कार्यदल’का संयोजक डा. तारामणि राईको धारणा आउनुपर्ने हो, तर उनी चुपचाप छन् । अहिले विवाद ब्यक्तिगत गालीगलोज तहमा उत्रिएको छ । लिम्बू समुदायका कार्यदलका सदस्य अमर तुम्याहाङलाई लिम्बू लिपि सिरिजंगा राईहरुलाई बुझाएको आरोप लागेको छ । उनलाई सामाजिक सञ्जालमा फोटोसप गरी जुत्ताको माला लगाउनेदेखि हार्दिक श्रद्धान्जली समेत दिइएको छ ।

हालको विवाद मत्थर गर्न कसैले पहल गरेको छैन । किरात याक्थुङ चुम्लुङले मध्यस्तता गर्नु पर्नेमा उल्टै विज्ञप्ति निकालेर सिरिजंगा लिपि अघि किरात जोड्ने सम्बन्धमा २०५० सालमै सबैको सल्लाहमा भएको सफाइ दिइरहेको छ ।

‘किरात सिरिजङ्गा लिपि समायोजन कार्यदल’का संयोजक डा तारामणि राई रातोपाटीसँग भन्छन्, ‘कार्यदललाई दिइएको जिम्मेवारी सकाएर बुझाएकोले जे बोल्ने प्रतिवेदनले बोल्छ । मैले अहिले थप केही अभिव्यक्ति दिदा आगोमा  घिउ हाल्ने काम मात्र हुन्छ । त्यसैले, उपयुक्त समय आए मात्र बोल्छु ।’

कार्यदलका सदस्य अमर तुम्याहाङ प्रतिवेदन पढ्ने वित्तिकै अहिले नै तातै खाउँ जली मरुँ गर्नुपर्ने अवस्था नरहेको बताउँछन् । सिरिजंगा लिपिको संरक्षण अभियानमा आफू लागी परेको बताउँदै उनले भने, ‘बैरागी काँइलाको ‘लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ (२०६७) लाई आधार मानी हाल गोरखापत्र दैनिकमा मेरै संयोजकत्वमा सिरजिंगा लिपिकै प्रयोग गरी समाचार, लेखरचना प्रकाशित भइरहेको छ ।’ उनको विचारमा हालसम्म सबैभन्दा बढी लिपिको प्रयोग उनले नै गरिररहेका छन् ।

तुम्याहाङका अनुसार किरात भाषीलाई जोड्न सिरजिंगा लिपिमा केही चिन्ह थप्ने कामबाहेक वर्ण थप्ने काम गरिएको छैन । हतारमा बुझाइएको प्रतिवेदनेमा केही गल्ती भए सच्याउन सकिन्छ । तुम्याहाङ भन्छन्, ‘भाषा, लिपि परिवर्तनशील हुन्छ । बैरागी काँइलाकै पालासम्म आउँदा सिरिजंगा लिपिमा धेरै परिवर्तन भएको छ । यसको प्रयोग गर्नेमा भर पर्ने कुरा हो ।’ उनले सिरिजंगा लिपिलाई राजनीतिक रंग दिइएको दावी गर्दै किरात याक्थुङ चुम्लुङबिरुद्ध अर्को संस्था खडा गर्नेहरुले यसलाई बढी उचालेको बताए ।

मुद्दा हाल्ने तयारी

याक्थुङ लिम्बूहरूले सिरिजङ्गाको सम्मानमा उनैको नामबाट लिपिको नाम राख्नु उपयुक्त र सर्वस्वीकार्य हुने अभियान अघि बढाएका छन् । किरात याक्थुङ चुम्लुङले किरात राई यायोक्खासँग मिलेर ‘सिरिजङ्गा लिपि’ लाई ‘किरात सिरिजङ्गा’ लिपि बनाएर चलाउन खोजिरहेकोमा ‘सिरिजङ्गा लिपि’का अभियन्ता अर्जुनबाबु माबुहाङको आपत्ति छ । उनी भन्छन्, ‘सिरिजङ्गा लिपिमा हालसम्म २५ व्यञ्जन थियो । २३ थपेर अब ४८ व्यञ्जनको बनाएपछि त्यो कसरी पढ्नु ? त्यो त संस्कृत पढ्नुभन्दा पनि गाह्रो हुनेछ ।’

लिम्बूहरुको सिरिजङ्गा लिपिको पूरातात्विकता, ऐतिहासिकतालाई जोडेर राईहरूले बौद्धिक सम्पत्तिको प्राधिकार लिन चुम्लुङसँग सम्बन्ध विस्तार गरेको आरोप लगाउँदै बौद्धिक सम्पत्ति चोरीको आरोपमा आफूले मुद्दा हाल्ने तयारीमा रहेको माबुहाङ बताउँछन् ।

युनिकोड भर्सनमा सुनुवार लिपि

किरात सिरिजंगा लिपि समायोजन सम्बन्धी  विज्ञ कार्यदलको सदस्यमा उत्तम सुनुवार तथा डा. लाल श्याँकारेलु रापचा गरी दुइजना सुनुवार समुदायका रहेका छन् । तर सुनुवार समुदाय युनिकोड भर्सनको लिपिमा सुनुवार भाषा प्रविष्ट गराउने अभियानमा छ ।

अभियन्ता देव सुनुवारका अनुसार यही माघ १२ गते बसेको युनिकोड प्राविधिक समितिको पूर्ण बैठकले कोइँच ब्लेअसे अर्थात सुनुवार लिपिलाई युनिकोड स्टान्डर्ड दिने निर्णय गरेको हो । सुनुवार लिपि १६.० भर्सनमा सन् २०२३ को सेप्टेम्बरमा पूर्ण रुपमा प्रविधिमैत्री लिपि विकासपछि सूचीकरण गरी सार्वजानिक गर्ने निर्णय समितिले गरेको छ ।

अभियन्ता देव सुनुवार भन्छन्, ‘सिरिजङ्गा लिपिबारे विज्ञ कार्यदलको सुझाव आएपछि लिम्बूहरुले त्यो लिपि छुन दिन्छन् जस्तो लागेन ।  अर्कोतिर सुनुवार लिपिबारे करिव ३ वर्षदेखि निरन्तर प्रयासमा थियौं हामी । आआफ्नो लिपि निक्र्यौल गरेर गए अघि बढ्न सहज हुन्छ ।’ उनले आफूले गुरुङ जातिको खेमा लिपिबारे युनिकोड स्टान्डर्ड बनाउनमा लागि परेको जानकारी पनि रातोपाटीलाई दिए ।  देव सुनुवारका विचारमा लिम्बू, राई, सुनुवार लगायतका लागि बनाइएको संयुक्त लिपि प्रयोग हुन गाह्रो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप