ad
x
अर्थ संवाद

‘हिमालय एयरलाइन्स र निगम मिलेर संसार जित्न चाहन्छौं’

क्यानको जिम्मेवारीलाई परिमार्जन गर्नुपर्छ : विजय श्रेष्ठ

person explore access_timeमाघ १४, २०७८ chat_bubble_outline0

नेपाली हवाई उड्डयन क्षेत्रको एक उदीयमान अन्तर्राष्ट्रिय उडान कम्पनी हो ‘हिमालय एयरलाइन्स’ । चिनियाँ,तिब्बत सिभिल एभिएसन डेभलपमेण्टको ज्वाइन्ट भेन्चरको रुपमा सञ्चालित हिमालय एयरलाइन्सले आफ्नो स्थापना कालको करिब ७ वर्ष पुरा गरिसकेको छ । सन् २०१४ अगष्ट १९ मा स्थापित कम्पनीले स्थापनाकालको दुई वर्षपछि अर्थात् सन् २०१६ मे ३१ बाट आफ्नो व्यवसायिक उडान सुरु गरेको थियो । यसले हाल ९ देशका दर्जन बढी सहरमा आफ्नो नियमित उडान विस्तार गर्न सफल भइसकेको छ ।


बंगलादेशको ढाका,चीनको बेजिङ्ग,चाङ्सा,चोङ्युकिङ,गोयाङ्,सेन्जाहिन सहरसहित मलेसियाको कोलाम्पापुर,म्यानमारको याङ्गोन,कतारको दोहा,साउदी अरबियाको दमाकस र रियादसहित श्रीलङ्काको कोलम्बो र युनाइटेड अरब इमिरेट्सको आबुधाबी र दुबईमा समेत एयरलाइन्सले नियमित उडान भरिरहेको छ । यी गन्तव्य सहरहरुमा कम्पनीले प्यासेन्जर र कार्गो गरी दुई सेग्मेन्टमा चार वटा जहाजबाट नियमित उडान सेवा प्रवाह गरिरहेको छ ।



त्यसो त नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने एक मात्र निजी कम्पनी हिमालय एयरलाइन्स नै हो । अर्कोमा सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम (नेवानि) रहेको छ ।



एक निजी कम्पनी त अर्को सरकारी स्वामित्वको हवाई कम्पनीले समानान्तर रुपमा अन्तर्राष्ट्रिय उडान भर्दैगर्दा कतिपय अवस्थामा यी दुई हवाई कम्पनीहरु एक अर्काको प्रतिस्पर्धीको रुपमा देखिने गरेका छन् । गत वर्षको कोभिड महामारीका बेला भएका अन्तर्राष्ट्रिय चार्टर्ड उडान,सेल्फ ग्राउन्ड ह्यान्डलिङ्ग प्रदानको विषय निकै विवादित बन्यो । तर,हिमालय एयरलाइन्स यो मान्न तयार छैन ।



हिमालय एयरलाइन्स नेवानिको प्रतिस्पर्धी होइन,सहयात्री हो । हामी नेवानिसँग मिलेर संसार जित्न चाहन्छौं, भन्छन् हिमालय एयरलाइन्सका उपाध्यक्षविजय श्रेष्ठ । हिमालयले नेवानिसँग मिलेर एकै साइकलको दुई पाङ्ग्रा जसरी अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्न चाहेको उनको जिकिर छ । प्रस्तुत छ,उपाध्यक्ष श्रेष्ठसँग रातोपाटीले गरेको अर्थसंवाद :



हिमालय एयरलाइन्सले आफ्नो व्यवसायिक उडान कसरी गर्दैछ ?



हिमालय एयरलाइन्स चाइना–नेपालको ज्वाइन्ट भेन्चर (संयुक्त) लगानी भएको हालसम्मकै ठूलो निजी व्यवसायिक हवाई कम्पनी हो । यसमा चिनियाँ सरकारको पूर्ण स्वामित्व भएको तिब्बत सिभिल एभियसन इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ड कम्पनीको लगानी छ भने नेपालमा यति वल्र्ड इन्भेष्टमेन्ट कम्पनीले ज्वाइन्ट भेन्चरको रुपमा काम गरिरहेको छ ।





अहिले हिमालय एयरलाइन्ससँग चार वटा एयरबस ३२० फेमिलीमा ‘एयर बस ३१८’, ‘एयरबस ३१९’, ‘एयर बस ३२०’ र ‘एयर बस ३२१’ रहेका छन् । जसमा ३२० सिरिजमा तीन वटा र ३१९ मा एउटा जहाज छ । यी जहाजहरूले तात्कालिन अवस्थामा दम्माम,रियाद,दोहा,दुबई,क्वालालम्पुर र ढाका गरी छ गन्तव्यमा प्यासेन्जर फ्लाइट गरिरहेको छ भने चाइनाको कोम्नेम र नानिमामा कार्गो फ्लाइट सञ्चालन भइरहेका छन् । 

कोरोना महामारीले कत्तिको प्रभाव पारेको छ ?

हाल कोरोना महामारीको अवस्थामा अधिकांश हवाई कम्पनी प्रभावित छन् । तर,तत्कालको अवस्थामा हिमालय एयरलाइन्स भने सामान्य तरिकाले अघि बढिरहेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको पहिलो रोजाइमा हिमालय एयरलाइन्स पर्न सफल छ । यता नेपाली हस्तकलाका वस्तु चाइना कार्गो गर्ने र उताबाट मेडिकल सामग्री ल्याउने अवसर समेत हिमालय एयरलाइन्सले नै पाइरहेको छ ।

एयरलाइन्सको ७ वर्षे व्यवसायिक दौडानमा सफलता अनि दुर्बलता कसरी मूल्याङ्कन गर्नु हुन्छ ?

सुरुवाती दिनमा हामी भूकम्पका कारण केही प्रभावित हुन पुग्यौं । सन् २०१४ मा चिनियाँ कम्पनीसँग ज्वाइन्ट भेन्चरको रुपमा काम गर्ने गरी सम्झौता गर्यौ । २०१५ कै चरणमा हामीले जहाज भित्र्याउने र क्रमशः जहाज थप्दै जाने योजना बनायौं । तर दुर्भाग्यवश अप्रिलमा महाभूकम्प गयो । यसले एक÷डेढ वर्ष हाम्रा योजना पर धकेलिए । त्यसैले ढिला गरी सन् २०१६ मा मात्र हामीले जहाज भित्र्याउन पायौं र सञ्चालन गर्यौ ।

सुरुवाती दिनमा हामीले चार्टर्ड फ्लाइट मात्र गर्यौ । कोलोम्बो,दोहा लगायतका केहीँ स्थानहरुमा चार्टर्ड फ्लाइटहरु भए । त्यसपछि हामीले क्रमशः स्कुजल फ्लाइटहरु गरेर गयौं । महत्वपूर्ण कुरा के भने भूकम्पपछि हामीले जुन स्मुथ तरिकाले फ्लाइटहरु गर्न पायौं,यो नै हाम्रो सफलता हो । अर्को जहाजको संख्या निरन्तर थप्न सकियो भने कोभिड–१९ को महामारीमा समेत कम्पनीले चीनको पाँच वटा नयाँ गन्तव्यहरुमा हवाई सेवा विस्तार गर्न सफल भयो । नेपाललाई बेइजिङसँग सिधा फ्लाइटले जोड्न सक्यौं । यो नै हाम्रो सफलता हो ।

जुन गतिले अहिले कम्पनीले एक पछि अर्को सफलता प्राप्त गरिरहेको छ, यो अन्तर्राष्ट्रिय बजारले नै पत्याएर हो कि आफ्नै बलबुताले हासिल गर्दैछ ?

यो उपलब्धि भन्ने कुरा सिंगल फ्याक्टर वा एउटा कारक तत्वले मात्र निर्धारण गर्दैन । अहिले कम्पनीको सबल भनेको हाम्रो ‘वेल म्यानेजमेन्ट सिस्टम’ नै हो । हिमालय एयरलाइन्सको व्यवस्थापकीय कार्यप्रणली,गुणस्तरीय र उत्कृष्ट सेवाले बलियो उपस्थिति देखिएको हो । फलस्वरुप,हालैमात्र कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरीयताको सर्टिफिकेट आईएसओ ९००१ः २००५ समेत प्राप्त गरेको छ । यो कम्पनीलाई अझ राम्रो बनाउँदै जाने कुरामा कोसेढुंगा हो भन्ने हामीले बुझेका छौं ।

यस्तै,गत वर्ष हामीले एयर क्राफ्टको मेन्टेनेन्सको क्षेत्रमा समेत सोही किसिमको सर्टिफिकेसन पाएका छौं । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड अडिटर आइकाओले हिमालय एयरलाइन्सलाई एशिया प्यासेफिकको एयरलाइन्सहरु मध्येको सबैभन्दा राम्रो र सुरक्षित एयरलाइन्सको रुपमा परिभाषित गरेको छ । यो मानेमा हिमालय एयरलाइन्स मेन्टेनेन्सदेखि सेफ्टी,व्यवस्थापकीय सवालमा समेत उत्कृष्ट प्रमाणित भएको छ । जुन अन्य एयरलाइन्सहरुसँगै बारडायग्राममा राखेर हेर्ने हो भने पनि हिमालय एयरलाइन्सको डायग्राम अलि अग्लो देखिन्छ । यहीँ हो हाम्रो सफलता ।

तर यही गतिमा सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम किन अघि बढ्न सकेन ?

यो त मैले बोल्ने विषय होइन । सम्बन्धित पक्षलाई सोध्नुपर्ने प्रश्न हो । तर,एक नागरिकको हैसियतले म यति भन्न सक्छु कि,हामीले तिरेको ट्याक्सबाट सञ्चालित एयरलाइन्स कुनै पनि मानेमा घाटामा जान हुन्न,कमजोर हुनहुन्न । तर,त्यस्तो हुन सकिरहेको छैन । व्यवस्थापकीय अनि राजनीतिक पक्ष लगायत विविध कारणले नेवानि कमजोर भइरहेको छ । यसलाई सुधार्न आवश्यक छ । के गर्दा नेवानिलाई सुधार गर्न सकिन्छ,कसरी उचाईमा लान सकिन्छ,त्यो सोच्नुपर्ने अवस्था आएको छ । यदि अहिलेको मोडलले वा कार्य प्रणालीले हुँदैन भने बाटो नै चौडा गरेर भए पनि नेवानिलाई सुधार्न आवश्यक छ । हामी त्यो चाहन्छौं । पूर्ण सरकारी स्वामित्वको नेवानि सरकारको प्रिय पुत्र र हामी जस्तो निजी कम्पनी प्रिय पुत्रमा नपरेको अवस्था हो ।

तपाईंहरुलाई त यसले फाइदै पुगिरहेको होला नि ! प्रतिस्पर्धी कम्पनी नै कमजोर भइदिँदा......

त्यसो होइन,हिमालय एयरलाइन्स नेवानिको प्रतिस्पर्धी होइन । हिमालय कस्तो खालको संस्था हो र हाम्रो कस्तो खाले मानसिकता रहेको छ भने, ‘ह्वयर पोसिबल,ह्वइन पोसिबल’ । हिमालयले नेवानिलाई सहयोग गर्नुपर्छ,नेवानिले सकेको बेला हिमालयलाई सहयोग गुर्नपर्छ भन्ने हो । भनिन्छ नि,एउटा साइकलको दुई पाङ्ग्रा भएपछि मात्र गुड्न सक्छ । हो,हामी त्यसै गरी दुइटा कम्पनी आपसमा मिलेर अन्तर्राष्ट्रिय बजारमा प्रभाव विस्तार गर्न चाहन्छौं ।

हिमालय एयरलाइन्स र नेवानि दुवैसँग चार चार वटा जहाज छ । तर,हामीसँग प्रतिस्पर्धा गर्ने अन्य अन्तर्राष्ट्रिय जहाजहरु (कम्पनी) हेर्ने हो भने,७ देखि ८ सय जहाज भएका मेगा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । नेपालमा मात्र १५० को हाराहारीमा विदेशी कम्पनीहरुको नियमित फ्लाइट हुन्छ । यी कम्पनीहरुसँग हाम्रो प्रतिस्पर्धा हो,न कि नेवानिसँग । त्यसैले हिमालय एयरलाइन्स र नेवानि आपसी प्रतिस्पर्धा गर्ने भन्दा पनि मिलेर संसार जित्नेतर्फ लाग्ने हो । हामी त्यसो गर्न सधैं तयार छौं ।

गत वर्ष कोरोना महामारी उत्कर्षमा थियो । विदेशमा रहेका नेपालीलाई उद्दार गर्नुका साथै मेडिकल सामग्रीसमेत ढुवानी गर्नुपर्ने थियो । तर यस्तो संकटग्रस्त अवस्थामा पनि चार्टर्ड फ्लाइटमा हिमालय एयरलाइन्स र नेवानिबीच प्रतिस्पर्धा नै चल्यो । तपाईंहरुले धेरै विजनेश हत्याउनु सफल हुनुभयो भन्ने आरोप छ नि !

यो त भन्ने कुरा मात्र हो । हामीले कुरा भन्दा तथ्याङ्कलाई हेर्ने हो । यसरी हेर्दा नेपाल सरकारको स्पष्ट कार्यगत नीति के थियो भने,कुल चार्टर्ड फ्लाइटको चार भाग हिमालय एयरलाइन्सलाई दिने र छ भाग नेवानिलाई दिने भन्ने थियो,त्यो पनि उडान संख्याको आधारमा । नेवानिको ठूलो जहाजका कारण थोरै उडान संख्यामा पनि धेरै विजनेश हुने अवस्था थियो । हाम्रो साना जहाजका कारण कुल विजनेशको ४० प्रतिशत पनि पुग्ने अवस्था थिएन । र,पनि उडान संख्याको आधारमा नेवानिको तुलनामा हिमालयले कम नै चार्टर्ड उडान भरेको छ । यो म ग्यारेन्टीका साथ भन्न सक्छु ।

अर्को जुन कार्गो चार्टर्डको कुरा छ,जतिबेला संसारभरकै सबैखाले यातायातका साधान बन्द भएको स्थिति थियो । यस्तो अवस्थामा चार्टर्ड फ्लाइटमार्फत् नै अत्यावश्यक औषधी,मेडिकल किट तथा सामग्रीको ढुवानी भइरहेको थियो । यसमा यो वा त्यो भन्ने अवस्था थिएन । जतिबेला जसले जुन फ्लाइटले पनि खुल्ला प्रतिस्पर्धाको हिसाबमा चार्टर्ड फ्लाइट गर्न पाउने अवस्था थियो । हामीले पनि यसै गर्यौ र अन्य धेरै कम्पनीहरुले गरे । विदेशी कम्पनीहरु पनि नेपाल आए र हामी पनि गयौं । यसमा कसले कति गर्यो भन्दा पनि आपतकालीन अवस्थामा खुल्ला प्रतिस्पर्धाका आधारमा गरिएको सेवामुलक व्यवसाय हो । यसमा कसैले कसैको रिस गरेर हुँदैन । 

केही दिन अघि मात्र हिमालय एयरलाइन्सले अफगानिस्तानको काबुलमा चार्टड फ्लाइट गर्यो । नेपाल सरकारको समन्वयनमा निजी व्यवसायिक क्षेत्रबाट गरिएको भनिएको उक्त मानव सहायता सामग्रीको ढुवानीको फ्लाइट निःशुल्क थियो कि सशुल्क ?

बिल्कुल निःशुल्क थियो । हामी गौरव गर्छौ कि नेपालको इतिहासमा पहिलो पटक नेपाल सरकार,परराष्ट्र मन्त्रालयको अनुरोधमा हामीले अफगानिस्तानको काबुलमा मानव सेवाका निमित निःशुल्क चार्टर्ड फ्लाइट गर्ने अवसर पायौं । हालसम्म यसरी अन्य हवाई कम्पनीबाट सरकारले सहयोग लिएको थिएन । तर,हामीबाट लिइयो । यो सन्दर्भमा म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु । यदि सोही स्थानमा सशुल्क चार्टर्ड फ्लाइट गर्नुपर्ने थियो वा गरेको थियो भने सरकारले नेवानिलाई नै लिने थियो । यसमा हाम्रो कुनै गुनासो हुने थिएन ।

यति मात्र होइन,हामीले यस अघि नै कोभिड–१९ को महामारीका बेला चिनियाँ सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्रीको समेत निःशुल्क ढुवानी गरेका थियौं । त्यसबेला हामीले सरकारलाई चार वटा निःशुल्क चार्टर्ड फ्लाइट उपलब्ध गराएका थियौं । अहिले नेपाल सरकारको अनुरोधमा सार्क राष्ट्र भित्रको एक मानव संकटमा फसेको मुलुकलाई राहत सामग्री बोकेर जान पाउनु हाम्रो खुशीको कुरा थियो,जो हामीले गर्यौ ।

‘अप एण्ड डाउन’ उक्त चार्टर्ड फ्लाइटमा कति जति खर्च आयो ?

यो कमर्सियल फ्लाइट थिएन,अनयुजल फ्लाइट हो । यस्तो फ्लाइटमा निकै जोखिम रहने गर्छ र सोहीअनुरुप फ्लाइटलाई जोखिमयुक्त वर्गमा राखिन्छ । यस्तो फ्लाइटको बीमा पनि महँगो हुन्छ । यसपछि फ्लाइटको अन्य खर्च त भइहाल्छ । यी सबै खर्च जोड्दा उक्त काठमाडौं–अफगानिस्तान (काबुल),काबुल–काठमाडौंको अप एण्ड डाउन चार्टर्ड फ्लाइटको खर्च झण्डै सवा करोड आएको छ ।

तर,खर्च कति भयो भन्दा पनि उद्देश्य पुरा भयो कि भएन भन्ने विषय महत्वपूर्ण हो । हामीले यसमा आफ्नो मानवीय सेवाको निःस्वार्थ उद्देश्य पुरा भएको मानेका छौं ।

ग्राउन्ड ह्यान्डिलिङ्गको विषय कहाँ पुग्यो ? हिमालय एयरलाइन्सले पायो कि पाएन ?

कहाँ पाउनु,दिँदै दिइएन नि । ग्राउन्ड हेन्डिलिङ्गको विषय कुनै विवादित विषय नै होइन । तर जबरजस्त विवादित बनाइयो । अन्तर्राष्ट्रिय उडान नियम कानुनले के भन्छ,त्यो महत्वपूर्ण कुरा हो । विश्वका जुनकुनै हवाई कम्पनीले पनि आफ्नो ग्राउन्ड ह्यान्डलिङ्गको काम आफैले गर्न पाउँछ । तर नेपालमा नेपाल वायुसेवा निगमलाई नै दिनुपर्ने बाध्यात्मक स्थिति छ ।

म आफ्नो गाडी आफै धोइपखाली गर्छु,सफा गर्छु भन्न पनि नपाउने ?मेरो घरमा आएको पाहुनालाई म आफै नमस्कार गर्छु,सत्कार गर्छु भन्न पनि नपाउने ?यस्तो नि हुन्छ । यहीँ कमजोरी छ । हामीले सरकारसँग सेल्फ ग्राउन्ड ह्यान्डिलिङ्गको अधिकार माग गर्यौं,दिने निर्णय पनि भएको हो तर कार्यान्वयन भएन ।

कम्पनीको वित्तीय स्थिति कस्तो छ ?

कम्पनी अहिले पनि घाटाकै अवस्थामा हो । हामीले गरेको लगानी,एयर क्राफ्ट खरिद,कम्पनी सञ्चालन खर्च,कर्मचारी तलब लगायतका खर्चहरुमा आम्दानीले धानिरहेको अवस्था होइन । र,पनि हामीले लङ ट्रमको उद्देश्य लिएर अघि बढिरहेका छौं ।

यहाँ समस्या के छ भने हामी जस्तो विदेशी लगानी भएका कम्पनीहरुलाई सरकारले सहजीकरण गर्नुको साटो उल्टो समस्यामा पार्ने काम गरिरहेको छ । सरकारले विदेशी लगानीलाई आकर्षण त गर्ने भनिरहेको छ तर आएको लगानीलाई कसरी टिकाउने र सहज वातावरण दिने भन्नेतर्फसरकारको खासै ध्यान जान सकेको छैन । यसमा दुःख लाग्छ ।

यतिसम्म कि गत वर्ष कोभिडका कारण समस्यामा पर्दा कर्मचारीहरुलाई तलब समेत खुवाउन नसक्ने अवस्था हुँदा हामीले मातृकम्पनीसँग पैसा माग्यौं । यसका लागि कम्पनीले स्वीकृति माग्यो तर सरकारले दिएन । बोलेर मात्र हुँदैन,व्यवहारमा लागू गर्न सक्नुपर्छ । विदेशी लगानीलाई थप सहजीकरण गर्ने हो भने हिमालय एयरलाइन्समा मात्र होइन,भोलि यस्ता अन्य एयरलाइन्सहरुमा पनि लगानी आउन सक्छ । यसतर्फ सरकार सचेत हुन आवश्यक छ ।

समग्र नेपाली हवाई उडान क्षेत्रको समस्या तथा चुनौती के देख्नु हुन्छ ? यसको समाधान के हुन सक्छ ?

अहिलेको नेपाली हवाई उड्यन क्षेत्रको मुख्य समस्याको विषय भनेको नै नीतिगत व्यवधान हो । अहिलेसम्म नेपालमा हवाई सेवा सञ्चालन तथा नियमनको जिम्मा सिभिल एभियसन (क्यान) लाई छ । तर,यहीनिर गलत भइरहेको छ । एउटै निकाय त्यो पनि दुई विपरित स्वार्थ बाझिने जिम्मेवारीमा रहन सक्दैन । सञ्चालनको पाटो एउटा हो भने नियमनको अर्को विपरित पाटो हो । त्यसैले अहिलेको क्यानको जिम्मेवारीलाई परिमार्जन गर्नुपर्छ । यद्यपि,यो अहिले संसदमा विचाराधीनकै अवस्थामा छ । त्यो पास भएर कार्यान्वयनमा आए राम्रै होला ।

अर्कोतर्फ अन्तर्राष्ट्रिय हवाई नियमन तथा सुरक्षा संगठन (आइकाओ) ले नेपालको हवाई सुरक्षासम्बन्धी अडिट गर्दैछ । यसबाट नेपालले राम्रो अंक ल्याउनुपर्ने अवस्था छ । आइकाओबाट मात्र नभएर राम्रो अंक ल्याएर ईयूबाट समेत नेपालले यसपटक हवाई क्षेत्रमा सुरक्षित रहेको प्रमाणित गर्नुपर्ने छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।