शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खोपको एक वर्षे चक्र : हाहाकार छिचोलेर सहजतातिर

११ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याउने तयारी
शुक्रबार, १४ माघ २०७८, १२ : ३३
शुक्रबार, १४ माघ २०७८

सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको एक वर्ष पुग्दैगर्दा तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप वितरण गरिसकेको छ । जसमा पूर्णमात्रा खोप एक करोड ३७ लाख ३४ हजार ३९० जनाले लगाएका छन् भने एक करोड ६४ लाख ५८ हजार ४७५ जनाले खोपको एक मात्रा लगाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५.२ प्रतिशतलाई पूर्ण खोप र ५४.२ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् । लक्षित जनसङ्ख्याका ६८.९ प्रतिशतले पूर्ण मात्रा, ८२.६ प्रतिशतले कम्तीमा एक मात्रा लगाएका छन् । यस्तै, माघ ४ गतेबाट फ्रन्टलाइनर अर्थात् अग्रपंक्तिमा खटिएका दुई लाख ८२ हजार ७२४ जनालाई खोपको तेस्रो अर्थात् अतिरिक्त मात्रा दिइएको छ ।

नेपाल दक्षिण एशियामै धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा परेको स्वास्थ्य मन्त्रालयको जिकिर छ । सरकारले आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
सातै प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कोभिसिल्ड, एस्ट्राजेनेका र भेरोसेलको पहिलो/दोस्रो मात्रा खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल, ५७ जिल्लामा मोडर्ना खोप लगाइँदैछ । 

कसले कहिले लगाए ?
सरकारले ३ करोड ४ लाख मात्रा खोप लगाइसकेको अवस्थामा विगत फर्केर हेर्दा भने कम चुनौतिपूर्ण थिएन।  विश्वमै खोपको अभाव भएको सन्दर्भमा सरकारले सुरुमा भारत र त्यसपछि चीनसहितका विभिन्न देशबाट खोप आयात गरेको थियो । खोपको सीमितता र खोप लगाउन चाहनेको ठूलो संख्याका कारण वितरणमा कम चुनौति दिएन । तर सरकारले लक्षित समूह निर्धारण गरेर खोप दिँदै आएको थियो । अहिले खोप पाउन केही सहजता भएको छ भने बालबालिकाले समेत लगाउनका लागि आयातको तयारी भएको छ । 

सरकारले गतवर्ष माघ ८ गते भारत सरकारबाट अनुदान सहयोगमा १० लाख मात्रा कोभिशिल्ड खोप प्राप्त गरेको थियो । सो खोप माघ १४ गतेबाट फ्रन्टलाइनरलाई लगाउन सुरु गरिएको थियो । सरकारले पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई पहिलो चरण अन्तर्गत गत फागुन १० गतेसम्म खोप दिएको थियो ।

यस्तै, दोस्रो चरणमा फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र हिमाली जिल्लामा ५५ वर्षदेखि माथिकालाई खोप दिन सुरु गरिएको थियो । तेस्रो चरणमा ५५ देखि ६३ वर्ष समूहका नागरिकलाई खोप दिन सुरु गरिएको थियो ।

त्यसपछि सरकारले १८ वर्ष माथिका जनसंख्यालाई खोप लगाउन सुरु गरेको हो । यस्तै, सरकारले कार्तिक २८ बाट मंसिर ४ गतेसम्म १२ देखि १८ वर्ष उमेर समूह, दीर्घ रोगी, बालबालिकालाई खोप लगाउन सुरु गरेको हो । मंसिर ५ गतेबाट १२ देखि १७ वर्षका बालबालिकालाई खोप लगाउन सुरु गरेको थियो । यही माघ ४ गतेदेखि फ्रन्टलाइनर, ६० वर्ष काटेका, जटिल प्रकारका आठ दीर्घ रोगीलाई बुस्टर डोज खोप दिन थालिएको छ ।
 
खोप कति आयो ?
सरकारले अनुदान र खरिदमार्फत कोरोनाविरुद्धको खोप कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल, जोनसन, फाइजर मोडर्ना खोप प्राप्त गरेको छ । सरकारले ४ करोड २० लाख ४९ हजार ६४० मात्रा खोप प्राप्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यस्तै, मंगलबारसम्म विश्व बैंकको सहयोगमा ४० लाख मोडर्ना खोप आइपुग्ने भनिए पनि १६ लाख ६० मात्रै पाइपुगेको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।

बुधबार कोभ्याक्समार्फत फ्रान्स र इटालीले नेपाललाई १३ लाख खोप प्रदान गरेका छन् । नेपालले हालसम्म कोभिसिल्ड र एस्ट्राजेनेकाको एक करोड ३८ लाख २४ हजार ५६० मात्रा खोप प्राप्त गरेको छ । यस्तै, भेरोसेल एक करोड ९७ लाख ३६ हजार चार सय मात्रा, जोन्सन ३७ लाख ११ हजार पाँच सय मात्रा प्राप्त गरेको छ । ७ लाख ६५ हजार १८० मात्रा फाइजर खोप ल्याइएको छ ।

खोप वितरणको विवरण
कोरोनाविरुद्धको खोप सातै प्रदेशका १३ वटा खोप भण्डारण केन्द्रबाट पुग्ने गर्छ । केन्द्रीय भण्डारण केन्द्रबाट हालसम्म सातै प्रदेशमा रहेका १३ भण्डारण केन्द्रमा कोभिशिल्ड र एस्ट्राजेनेका खोप एक करोड ११ लाख ३ हजार ६० मात्रा पठाइएको छ । यस्तै जोन्सन खोप सातै प्रदेशका विभिन्न खोप भण्डारण केन्द्रमा हालसम्म ३४ लाख ६७ हजार २५० मात्रा पठाइएको छ । मोडर्ना ३४ लाख ५१ हजार ८०० मात्रा र भेरोसेल एक करोड १९ लाख २७५ मात्रा पठाइएको छ । अहिलेसम्म कुल तीन करोड ६१ लाख ३२ हजार ३८५ मात्रा खोप सातै प्रदेशमा रहेका भण्डारण केन्द्रमा पठाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कुन र कति खोप पाइनलाइनमा ? 
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले ४० लाख मात्रा चीनको सिनोभ्याक खोप पाइपलाइनमा रहेको बताएका छन् । यस्तै सरकारले खरिद गरेको ४० लाख मोडर्ना खोपमध्ये १६ लाख ६० हजार मात्रा आइपुगेको छ भने बाँकी २३ लाख ४० हजार मात्रा आउने क्रममा रहेको उनले बताए ।

गाभी र कोभ्याक्स अन्तर्गत ६२ लाख मात्रा फाइजर खोप पाइपलाइनमा छ । चैत मसान्तसम्म १८ वर्षमाथिका सबै उमेर समूहलाई खोप लगाइदिन पाइपलाइन र भण्डारणमा रहेको खोपले पुग्ने उनले बताए । खोप खरिद र अनुदानमा आउने क्रम जारी रहेकाले लक्ष्यअनुसार चैतसम्ममा १८ वर्षमाथिका सबैलाई पूर्ण मात्रा दिन सकिने उनले बताए ।

आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप दिइसक्ने सरकारको लक्ष्य छ । फ्रन्टलाइनरलाई बुस्टर डोज दिँदा पनि उक्त लक्ष्य हासिल गर्न समस्या नहुने बताइएको छ । आगामी दिनमा बुस्टर डोज दिने लक्षित समूह बढाउँदै गए पनि खोप आयातका लागि छलफल गरी प्रक्रियामा जाने उनको भनाइ छ ।

११ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याउने तयारी
नेपालले ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिका​लाई पनि कोरोनाविरुद्धको खोप दिने बताएको छ  । खोप सल्लाहकार समितिको सुझावमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई खोप दिने योजना बनाएको हो । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्छ । सरकारले फाइजर खोप खरिदका पत्राचार गरि खरिद प्रक्रियालाई अगाडि बताएको प्रमुख डा. चौरसियाले जानकारी दिए ।

सिरिन्ज अभाव नहुने
सरकारले टेन्डर प्रक्रियाबाट दुई करोड चार लाख सिरिन्ज खरिद गर्दैछ । उक्त सिरिन्ज आउने क्रम जारी रहेको जनाइएको छ । आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. चौरसियाका अनुसार दुई करोड चार लाख सिरिन्जमध्ये ५० लाख सिरिन्ज आइसकेको छ ।

खरिद गरेको यो सिरिन्ज क्रमशः १५/१५ को फरकमा तीन पटकमा गरी आइपुग्ने उनले बताए । यस्तै, युनिसेफमार्फत खरिद गरिएको ६० लाख सिरिन्ज फेब्रुअरीसम्ममा आइपुग्ने डा. चौरसियाले जानकारी दिए । केहीदिन अघिमात्रै चीन सरकारको सहयोगमा २० लाख सिरिन्ज नेपालले प्राप्त गरेको उनले सुनाए । यस्तै, कोभ्याक्स सुविधा अन्तर्गतको १२ लाख ८६ हजार सिरिन्ज आइसकेको छ ।

कोभ्याक्समार्फत आएको खोपका लागि सिरिन्ज आउन बाँकी रहेको उनले बताए । कोभ्याक्स सुविधामार्फत आउन बाँकी सिरिन्ज मार्चसम्म आइपुग्ने उनले बताए । नेपालमा सिरिन्ज आउने क्रम जारी रहेकाले अभाव नहुने डा. चौरसियाको जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप