शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारसँग कोरोनाविरुद्धको एक करोड १४ लाख ४५ हजार मात्रा खोप स्टक

शुक्रबार, १४ माघ २०७८, १६ : १९
शुक्रबार, १४ माघ २०७८

 स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाएका छन् । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा उनले एक सन्देश जारी गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन् ।

हालसम्म नेपालमा चार करोड २० लाख ४९ हजार ६४० मात्रा खोप विभिन्न विधिबाट भित्रिएकोमा ३ करोड ६ लाख ४ हजार १५२ मात्रा प्रयोग भइसकेको पनि मन्त्री खतिवडाले जनाएका छन् ।

उनका अनुसार यो एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जान्सन एन्ड जान्सन, मोडर्ना, फाइजर खोप प्रयोगमा आएको छ । पछिल्लो समय १२ वर्षमाथिका सबैका लागि खोप अभियान सुरु भएको पनि उनले प्रस्ट पारेका छन् ।

उनका अनुसार १८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको ७० प्रतिशतले पूर्णमात्रामा र ८३ प्रतिशतले कमसे कम एक मात्रा खोप लगाइसकेका छन् । १२ देखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६७० जनाले पहिलो मात्रा र तीन लाख ५८ हजार २९८ जना बालबालिकाले पूर्णमात्रा खोप लगाइसकेको पनि स्वास्थ्य मन्त्री खतिवडाले जनाएका छन् ।

उनका अनुसार अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पेशाका झण्डै तीन लाख जनालाई अतिरिक्त मात्रा खोप लगाइसकिएको छ ।

उनले भनेका छन्, ‘यही खोप अभियानमा हाम्रो सक्रिय सहभागिताले दोस्रो र तेस्रो लहरमा हुन सक्ने निकै ठुलो जोखिमलाई कम गर्न सकिएको छ ।’ कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको तथा हामीकहाँ अझै धेरैजना कोभिड–१९ को खोप लगाउन बाँकी रहेकाले यसलाई तीव्रताका साथ अघि बढाउन र बाँकी उमेर समूहकालाई समेत खोपको व्यवस्थापन गर्नुपर्ने चुनौती कायम रहेको पनि उनले प्रस्ट पारेका छन् ।

‘खोप तथा खोपजन्य सामग्रीको विश्वव्यापी चुनौतीका बीच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहहरुको सहयोग र सहजीकरण गर्नुहुने सम्पूर्ण राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्था, निकायहरु, जनप्रतिनिधिहरु, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु, आमसञ्चार माध्यमहरु, आमसर्वसाधारणहरु सबैलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप