रातोपाटी ब्रिफिङ : शंकर पोखरेलले अविश्वास प्रस्ताव फेस गर्न सकेनन्, काठमाडौं कोरोनाको ‘रेड जोन’मा
आज २०७८ साउन २७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट राजीनामा, नयाँ प्रक्रियाको आह्वान, लुम्बिनी प्रदेशको मुद्दा संवैधानिक इजलासमा, दार्चुला प्रकरणमा एसएसबी दोषी देखिएको, विद्यार्थीलाई प्रदेश पत्रको आधारमा खोप दिइने, प्राधिकरणमा कुलमान घिसिङको प्रवेशलगायत रहेका छन् ।
१) लुम्बिनीमा शंकरको राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएपछि त्यसको फेस नगरी उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।
यसैबीच मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् । अब विपक्षी गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नेछन् ।
आजै मुख्यमन्त्री पोखरेलको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका थिए । एमाले नेता पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
२२ घन्टाको समय दिएर लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान |
यसैबीच लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट संवैधानिक इजलासमा सरेको छ । रिट निवेदकको मागअनुसार अदालतले अन्तरिम आदेश निदएको हो।
२. कुलमानले थाले काम
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले काम थालेका छन् । आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका थिए ।
घिसिङले आफूले ठूलो चुनौती स्वीकारेर विद्युत प्राधिकरणमा दोस्रो पटक नियुक्ति लिएर आएको पदभारका क्रममा बताएका छन् ।
चरम लोडसेडिङ भइरहेको बेला तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले घिसिङलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।
३. बिजय कुमार गच्छदारको गुनासो
काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफंैले गर्नुपर्ने बतएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँधेको बताए ।
४. भ्रष्टाचार काण्डको छानविन गर्न माग
राष्ट्रियसभाका सांसद कोमल वलीले ठुला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छिन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष एमालेकी सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुुन् ।
५. कोरोनाबाट ३० को मृत्यु
कोरोनाभाइरसबाट आज मात्रै थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९०७ र एन्टिजेनबाट ५ हजार ७४९ जनाको परीक्षण गरिएको थियो ।
पीसीआरबाट २ हजार ६१६ र एन्टीजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित थपिएसँग देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन । यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । १.५ प्रतिशत मृत्यु दर रहेको नेपालमा १० हजार १८० जनाले ज्यान गुमाइसकेका छन ।
६. विद्यार्थीलाई खोप दिइने
सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।
संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।
अब विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका विभिन्न स्थानबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् । वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी अस्पताल बलम्बु र राधास्वामी आइसोलेसन खोप केन्द्र बसुन्धराबाट छिट्टै प्रवेश पत्रका आधारमा खोप दिइने भएको हो । सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई यसरी खोप लगाउने जनाएको छ ।
७. रेड जोनमा काठमाडौं
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौँ जिल्ला रेड जोनमै पुगिसकेको विज्ञहरुको भनाइ रहेकाले निषेधाज्ञामा कडाइ हुन सक्ने बताएका छन् । उनले कोरोनाभाइरसको संक्रमण दर बढ्न थालेकाले जारी आदेश जुनसुकै बखत पनि पुनरावलोकन हुन सक्नेमा सचेत गराए । अहिले दिन प्रतिदिन डाक्टरहरूसँग र स्वास्थ्य मन्त्रालयहरूसँग समन्वयमा रहेको पनि उनले बताए ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको थियो ।
८. संवैधानिक आयोगको माग
संवैधानिक आयोगहरुले आफ्ना कार्यालयहरुमा विशिष्ट श्रेणीको कर्मचारी सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अन्य मन्त्रालयसँग सहज ढंगले कार्य सम्पादन गर्न पनि सचिव स्तरको दरबन्दी आवश्यक भएकाले त्यसको तत्काल व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गर्नु परेको स्पष्ट गरे ।
आयोगहरुका कार्य सम्पादन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सम्पर्क कार्यालय भए सहज हुने निष्कर्षमा पुगिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताए ।
९. सेयर बजारमा वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्से आज भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुगेको छ । कूल २३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार कित्ता शेयर १५ अर्ब ४५ करोड भन्दा बढी मूल्यमा कारोबार भयो । बुधबारको कारोबारमा विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
१०. दार्चुला प्रकरणमा एसएसपी दोषी
जनअधिकार अभियान नेपालले दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन फुकालिदिएको कारणले महाकाली नदीमा खसी बेपत्ता भएको ठहर गरेको छ । अभियानमा घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा यस्तो निष्कर्ष निकालेको हो ।
अभियानले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गर्दै महाकाली घटना गम्भीर, अक्ष्यम्य र मानवता विरोधी अपराध भएको बताएको छ । एकराज भण्डारी अध्यक्ष रहेको अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै घटनापछि स्थानीय जनतामा डर, त्रास उत्पन्न भएको भन्दै त्यस्ता असरलाई व्यवस्थापन गर्नका लागि तत्काल पहल गर्न तथा स्थानीय जनताको सुरक्षा तथा आवतजावतका लागि आवश्यक पुल तथा मोटर बाटोलगायतको पूर्वाधारहरु निर्माण गर्न पनि सरकारसँग माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी