शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनोज गजुरेलको नयाँ अवतार : पुटिन र जोन्सन !

बुधबार, २७ साउन २०७८, ११ : ४२
बुधबार, २७ साउन २०७८

काठमाडौंँ । विश्वका शक्तिशाली राष्ट्रमध्ये दोस्रो स्थानमा पर्दछ रसिया । अमेरिकाको प्रतिस्पर्धी राष्ट्रका रुपमा रहेको रसियाका राष्ट्रपति हुन्–भ्लादिमिर पुटिन । त्यस्तै विश्वका शक्तिशाली राष्ट्रमध्ये चौथो स्थानमा रहेको बेलायत अमेरिकाको सहयोगी राष्ट्रका रुपमा चिनिँदै आएको छ । बोरिस जोन्सन बेलायतका प्रधानमन्त्री हुन् ।

पुटिन कठोर स्वभावका कारण विश्व चर्चित छन् भने जोन्सन ठट्यौली स्वभाव र कहिल्यै कपाल नमिलाउने शैली कारण चिनिँदै आएका छन् । विश्व चर्चित यिनै दुई पात्रको स्वरुपमा चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल आगामी गाईजात्रामा प्रस्तुत हुन लागेका छन् ।

 टीभीबाटै गाईजात्रा !

कोरोनाका कारण मनोरञ्जन क्षेत्र सुनसान छ । हास्यकलाकारहरुको उत्सवका रुपमा रहने गाईजात्रा योपटक पनि भौतिक रुपमा आयोजना गर्ने माहोल छैन । तर, पनि गजुरेल हास्य कलाकारको धर्म, कर्म, संस्कृति र परम्परा भन्दै साथीहरुका साथ गाईजात्रे प्रस्तुतिका लागि जुटेका छन् ।

अघिल्लो बर्षझैं यो बर्ष पनि गजुरेल टिमसहित  ‘अझै पनि कोरोना कहर बाँकी छ । तर, पनि हँसाउने रहर बाँकी छ– ०७८ सालको गाईजात्रा’ कार्यक्रम ल्याउने तयारीमा छन् ।

यसमा मनोज आफैं पुटिन र जोन्सनको अवतारमा देखिँदैछन् । कोरोनाको कहर बाँकी नै रहेकाले यो बर्षको गाईजात्रा पनि डिजिटल गर्ने निर्णयमा आफ्नो टिम पुगेको गजुरेलले बताए  ।

मनोजको गाईजात्राको टिममा यसपटक करिव ३ दर्जन कलाकार जोडिएका छन् । चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, शैलेन्द्र सिंखडा, सुवोध गौतम, सुमन कार्की, राजा राजेन्द्र, हिमेश पन्त, सजन श्रेष्ठ, पशुपति शर्मा, किरण केसीलगायत धेरै कलाकार यसमा जोडिएका छन् ।

यो पटक कलाकार गजुरेल पुटिन, जोन्सन, पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर देउवालगायतको भुमिकामा देखिँदैछन् भने यसमा शैलेन्द्र सिंखडादेखि अहिलेका चर्चित कमेडियन सुमन कार्कीसम्मको प्रहसन समेत रहने छ । पशुपति शर्माको पनि एक गीत समेटिएको छ, भने  ।

त्यस्तै, शिवशंकर रिजाल ‘जोगिन्दर’, रवि डंगोल, यमन श्रेष्ठलगायत समेत प्रस्तुतिका साथ देखिनेछन् । गाईजात्रा १ भदौदेखि ७ गतेसम्म टेलिभिजन मार्फत देखाइने गजुरेलले बताए ।

गजुरेलले बेलायतका प्रधानमन्त्री बेरिस जोन्सन पात्रलाई शेरबहादुर देउवासँगको सम्वादका रुपमा प्रस्तुत गर्दैछन्, भने रसियन राष्ट्रपति पुटिनको क्यारिकेचर ऋषि धमलाको हमलाको नक्कल कार्यक्रम ‘धमलाको जुमला’का रुपमा प्रस्तुत गर्दैछन् ।

विदेशी पात्र किन  ?

गाईजात्रामा प्रस्तुति दिने थुप्रै कलाकारमध्ये गजुरेलको प्रस्तुतिलाई दर्शकले विषेशरुपमा लिने गर्दछन् । हरेक बर्ष फरक गेटअप र प्रस्तुतिका साथ दर्शक रिझाउन उनी सफल छन् । योपटक गजुरेलले आफ्नो प्रस्तुतिमा विदेशी नेता पुटिन र जोन्सनलाई रोजेका छन् ।

डोनाल्ड ट्रम्प, सि जिनपिङ र नरेन्द्र मोदी लगायतका विश्वका चर्चित र शक्तिशाली नेताको क्यारिकेचर गरिसकेका गजुरेलले यो बर्ष यी विदेशी पात्र रोजेका हुन् ।

नेपालकै पात्र नरोजेर किन विदेशीलाई रोजेको ? रातोपाटीको प्रश्नमा गजुरेल स्वदेशी पात्र पाउनै गाह्रो रहेको बताए । उनले भने, ‘नेपालमा धेरै पात्र खोजें, पाउन सकिनँ । एउटा मन्त्रीको कन्सेप्ट बनायो, उ पदबाट खुस्कन पनि सक्छ । यो हप्ता एउटा कन्टेन बनायो, अर्काे हप्तासम्म त्यो पुरानो पनि हुन सक्छ ।’

कन्टेन्टका हिसाबले पात्र छान्न निकै गाह्रो भएको र सदावहार कन्टेन्ट बनाउने हिसावले पुटिन र जोन्सन आफ्नो रोजाइमा परेको गजुरेलले सुनाए ।

जोन्सन बन्न कति गाह्रो ?

जोन्सनको ठट्यौली स्वभाव र कहिलै कपाल नमिलाउने गेटअफ सबैलाई थाहा भएकै विषय हो । गजुरेलले जोन्सनको गेटअपमा उनकै यही शैली पछ्याएका छन् । जोन्सन क्यारेक्टरमा आफूले प्रत्येक महिना परिवर्तन हुने नेपाली राजनीति, पाँच पटक प्रधानमन्त्री बनेका देउवा, अहिले देशमा राजनीतिक अन्योल कसरी भयो र कस्तो रहेको छ भन्ने बिषय समेटेको गजुरेलले बताए ।

‘राजनीतिक परिवर्तनमा विदेशीको सहभागिताका कुरा, पश्चिमेली मुलक र युरोपियनहरुको नेपाली राजनीतिक परिवर्तनमा सहभागिता र चासो लगायतका विषयसमेत प्रस्तुतिमा समेटिएका छन्’ गजुरेलले थपे ।

जोन्सनको अभिनयमा उनले शेरबहादुरसँगको सम्वादका रुपमा प्रस्तुत गरेका छन् । जसमा देउवाको भुमिका पनि उनी आफैंले निभाएका छन् । यस अगाडि पनि देउवाको गेटअपमा अभिनय गरिसकेका गजुरेलले जोन्सनको गेटअपका लागि आफुलाई कठिन नभएको बताए ।

जोन्सन जस्तो देखिन्छन्, गजुरेलले त्यस्तै गेटअप गरेका छन् । बोली पनि हुबहु गर्ने प्रयास गरेका छन् । दर्शकले जोन्सनको भुमिका सक्कलीझैँ पाउने र निक्कै मनोरञ्जन लिने गजुरेलको दाबी छ

पुटिनको भूमिकामा गजुरेल

गजुरेलले अभिनयको सिलसिलामा यस अगाडि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अरबका सेख, बाबा रामदेवलगायत थुप्रैको गेटअपमा प्रस्तुतीहरु गरेका छन् । ती अभिनयका लागि उनलाई खासै कठिन भएको थिएन ।

यो पटक भ्लादिमिर पुटिनको गेटअपमा भने उनले कठिनाइ महशुस गरेका छन् । आफ्नो शरीर र उमेरसँग पुटिनको शरीर र उमेर नमिल्ने भएकाले पनि आफूलाई कठिन भएको गजुरेलले महसुस गरेका छन् । पुटिनलाई उनले धनी राष्ट्रका प्रतिनिधिका रुपमा प्रस्तुत गरेका छन् ।

‘पुटिनको गेटअपमा आफू ठ्याक्कै नदेखिए पनि उनको मितजस्तो भने देखिएको छ’ गजुरेलले हाँस्दै भने ‘मेरो भ्लादिमिर पुटिनको गेटअप ‘भ्ल्यातरेन पुटिन’ जस्तो भने पक्कै हुन्छ !’

पात्रको गेटअप मिल्यो मिलेन भन्ने भन्दा पनि यो पात्रको रुपमा प्रस्तुत गरेको कन्टेन्टले दर्शकको मन छुन्छ कि छुँदैन, त्यो महत्वपूर्ण हुने गजुरेलको भनाइ छ ।

पुटिनको गेटअपमा आफूले रसियन शैलीमा नेपाली कन्टेन पस्किएको गजुरेलले सुनाए । रसियन भ्याक्सिन, ठूला देश र साना देशका विषय, शक्तिशाली राष्ट्रले साना राष्ट्रहरुमाथि गर्ने विभेद, डब्लु एचओ लगायतका विषय पुटिनको गेटअपमा मनोजले कमेडीको विषय बनाएका छन् । जुन ऋषि धमलाको कार्यक्रम ‘धमलाको हमला’लाई धमलाको जुम मार्फत अन्तवार्ताको रुपमा ‘धमलाको जुमला’ शीर्षकमा प्रस्तुत गरिनेछ ।

यो प्रस्तुतिमा ऋषि धमलाको गेटअपका रुपमा कलाकार सुमन कार्कीले गजुरेललाई साथ दिनेछन् ।

राजनीतिमा केन्द्रित गाईजात्रा

गजुरेलको योपटकको गाईजात्रा प्रस्तुति धेरै राजनीतिक विषयवस्तुमा आधारित छ । त्यसैले यसले ठूलो जनसमूह र सबैलाई मनोरञ्जन दिन्छ भनेर उनलाई लागेको छैन । नयाँ के हँुदैछ छ भनेर राजनीतिमा चासो राख्नेहरुका लागि भने यसले पक्कै मनोरन्जन दिने उनको दाबी छ ।

‘पात्र खोज्ने र कामको हिसावमा मानसिक तनावका बीच हसाउने प्रयास गरेका छौ’ मनोजले रातोपाटीसँग भने ‘हामीले गरिरहेको कार्य किन छोड्नु भनेर काम गरेका हौं । योपटकको गाईजात्रा सामाग्रीलाई त्यही हिसाबले बुझिदिन दर्शकलाई अनुरोध छ ।’

उनी अगाडि भन्छन्, ‘मैले अन्तराष्ट्रिय पात्रको भुमिका नियमित गर्दै आएको छु । त्यो हिसावले पनि अन्तराष्ट्रिय पात्र पनि हुनुपर्छ भनेर पुटिन र जोन्सनलाई  समेटिएको हो । पहिलेको जस्तो अन्तराष्ट्रिय पात्रले चर्चा पाएन भने पनि सिक्ने अवसर हुनेछ । विषयवस्तुले भने दर्शकको म पक्कै छुन्छ ।’

विगत भन्दा कठिन

डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीको अभिनय गरिसकेकोल योपटक  पुटिन र जोन्सनसम्म पुगेको गजुरेलले सुनाए । पुटिन र जोन्सन दुबैको गेटअप आफ्नो पुरै नमिले पनि ६० प्रतिशत मिलेको साथीहरुलाई उधृत गर्दै  उनले सुनाए ।

विगतका बर्षको भन्दा यो पटकको गाईजात्रा कार्यक्रम तयार गर्न गजुरेलाई निकै कठिन भयो । कोरोनाको त्रास र तेस्रो लहरको चर्चादेखि आफ्नो स्वास्थ्य समेतले गर्दा उनले कन्टेन्ट सिर्जनादेखि छायाँकनसम्म धेरै दबाव खेप्नुपर्यो । योपटक आफूलाई परेको प्रेसर प्रस्तुति हेर्दा पनि महसुस गर्न सकिने मनोजले सुनाए ।

‘परम्परा पनि धानिरहनुपर्ने र सबै कलाकारलाई जिविकोपार्जनका लागि र गर्जाे टार्न, दशैं खर्च जस्ता विषयसमेत कार्यक्रमसँग  जोडिएकाले प्रेसरका बाबजुद पनि काम गरेका छौं’ मनोजले भने, ‘टेक्निकल टिमले पनि यो पटक धेरै मिहिनेत गर्नु परेको छ ।’

भर्खर कोरोना निको भएको हिसाबमा आफूले यो पटक पहिले जस्तो उत्कृष्ट कार्य गर्न नसकेको बताएका मनोजले आफ्नो प्रस्तुतिमा दर्शकले कमजोरी महसुस नगरुन् भनेर कोसिस भने गरेको बताए ।

‘अहिले सबै मानिस केही न केही समस्याबाट पीडित छन् । सबैलाई रिफ्रेस गराउन र पोजेटिभ बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ’ गजुरेलले थपे ‘हामीले पनि हास्य–व्यङ्ग्य मार्फत एउटा पहल गर्न खोजेका छौं, राम्रो, नराम्रो जे भए पनि स्वीकार्नुहोला ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप