बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीको शान्ति मिसनको प्रश्नपत्र लिक प्रकरण : ३ जना प्रहरीलाई बर्खास्त गर्न सिफारिस

एसपी जबरासहित ११ जनालाई विभागीय कारबाही
बुधबार, २७ साउन २०७८, १० : ०३
बुधबार, २७ साउन २०७८

शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको बारे छानबिन सकिएको छ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वको समितिले छानबिन सकेर बुधवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन ५ सय ५० पृष्ठको छ । 

समितिले ३ जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । प्रहरी नायव निरीक्षक जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई जागिरबाट हटाउन सिफारिस गरिएको छ । 

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।

प्रश्नपत्र प्रहरी प्रधान कार्यालय स्थित युएन शाखाका एसपी अनुपम शम्शेर जबराको टेबलको घर्राबाट कार्यालय सहयोगी सुरेश बमले चोरेर हवल्दार कुमार शाह मार्फत लिक गराएको छानबिनबाट पुष्टि भएको छ । 

छानबिन समितिले युएन शाखाका एसपी अनुपम शम्शेर जबरा र डिएसपी रुपेश खड्का सहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । डिएसपी खड्का परीक्षार्थी हुन् । हवल्दार कुमार शाहले समितिसँगको बयानमा डिएसपी खड्कालाई आफूले प्रश्नपत्र दिएको स्विकारेका थिए । 

शान्ति मिसनको प्रश्नपत्र १ सय १९ जना परीक्षार्थीहरूको हातमा पुगेको छानबिनबाट थाहा भएको छ । ‘प्रधान कार्यालयबाट तेस्रो लेयरसम्म प्रश्नपत्र लिक भएको देखियो’ समितिका एकजना सदस्यले रातोपाटीसँग भने–‘प्रश्नपत्र लिक गराउने र पाउने समेत गरि करिब ३६ जनालाई बोलाएर सोधपुछ गरेका थियौँ ।’ 

साउन १५ र १६ मा चार सेटको प्रश्न तयार गरेर परीक्षा लिइएको थियो । चारवटै सेटको प्रश्नपत्र लिक भएको समितिको निष्कर्ष छ । 

परीक्षा रद्द गर्न सिफारिस 

सवैतिर प्रश्नपत्र लिक भएको हुनाले समितिले परीक्षा रद्द गर्न सिफारिस गरेको छ । ‘परीक्षा रद्द गरेर नयाँ परीक्षा सञ्चालन गर्न समितिले सुझाव दिएको छ’ प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीसँग भने–‘संलग्नलाई कारबाही गर्न र युएन शाखामा विगतदेखि नै लापरबाही हुँदै आएको निष्कर्ष सहित छानबिन समितिले आगामी दिनमा सुधार गर्नुपर्ने सुझाव दिएको छ ।’ 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप