सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्ध साँझ ७ बजेपछि पुलिसको लौरो !

काठमाडौँका सिडिओ भन्छन् – अझै कडा हुन सक्छ
बुधबार, २७ साउन २०७८, २० : ४७
बुधबार, २७ साउन २०७८

नेपाल सरकारका सहसचिव भीष्मकुमार भुसालले बुधबार बिहान फेसबुकमा लेखे– ‘राति ८ बजेपछि कोरोना सक्रिय हुने होइन । सबै मानिस घरभित्र पसिसकेपछि कोरोनाले सडकमा राज्य गर्ने पनि होइन ।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै उपत्यकाका तीन जिल्लाका सिडिओहरुले अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने आदेश दिएपछि सरकारी कर्मचारीदेखि सर्बसाधारणसम्मले राति कोरोना सक्रिय हुने हो र ? भन्दै व्यङ्ग्य गरिरहेका छन् ।

सरकारका तीनजना सहसचिव तहका कर्मचारीले बनाएको यो नियमसँग उनीहरुकै तहका कर्मचारीसमेत सहमत नभएको सहसचिव भुसालको फेसबुक स्टाटसले पुष्टि गर्छ ।

बिहानदेखि राति ७ बजेसम्म सर्वसाधारणले जुनसुकैरुपमा आवत–जावत गर्न सक्ने, तर रात परेर सबै सुत्न गएपछि गरिएको लकडाउनको के अर्थ भन्दै सरकारी निर्णयमाथि प्रश्न उठेको हो ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना रोकथामका लागि भन्दै जारी निषेधाज्ञामा ल्याएका केही नियमहरु हास्यास्पद भएको भन्दै आलोचना भइरहेको छ ।

 

कोरोनाबाट थलिएको व्यवसाय राति पनि सञ्चालन हुन दिनुपर्नेमा सरकारले व्यवसायीलाई निरुत्साहित गरिराखेको नयाँ बानेश्वरका एक व्यवसायीले रातोपाटीलाई बताए । कपडाको व्यापार गर्ने उनले नाम उल्लेख गर्न डराउँदै भने ‘हाम्रो  व्यापार भनेकै साँझ ६ बजेपछि ८ बजेसम्म बढी हुन्छ, यही बेला प्रहरीले दुःख दिने गरेको छ ।’  

बिहानदेखि साँझसम्म पसल खुला, ७ बजेपछि पुलिसको लौरो !

यतिबेला काठमाडौं उपत्यकाका सडक, बजार, व्यवसाय सबैतिर हेर्ने हो भने सामान्य अवस्थाको झैं बाक्लो चहल–पहल छ । यद्यपि शैक्षिक संस्था, सिनेमा हल लगायतका केही क्षेत्र बन्द गरिएको छ । साप्ताहिकरुपमा जिल्ला प्रशासन कार्यालयले निकाल्ने विज्ञप्तिमा निषेधाज्ञा जारी छ । तर, सडकमा हेर्दा त्यो अवस्था देखिँदैन ।

साँझ ७ बजेपछि काठमाडाैं उपत्यकामा प्रहरीले लौरो लिएर पसलहरु बन्द गराउने गरेको छ । बिहानदेखि दिनभरि पसल खोल्न दिने, तर बन्द गर्ने बेला भएपछि प्रहरीले हैरानी दिने गरेको पसल व्यवसायीहरुले गुनासो गर्ने गरेका छन् ।

यसबारे काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पसल खोल्न निर्धारित समय छुट्याइएको र सो भन्दा बढी समय पसल नखोल्नुस् भनिएको उल्लेख गरे ।

 प्रजिअ पराजुलीले रातोपाटीसँग भने, ‘आदेशमा साँझ ७ बजेसम्म मात्र पसल खोल्नुस् भनिएको छ । त्यही आदेश पढेर प्रहरीले रातिको गतिविधि नियन्त्रण गर्न खोजेको हो । प्रहरी गएन भने फेरि प्रहरीले हेरेन भन्ने कुरा पनि आउँछ । प्रहरीले जबरजस्ती ग¥यो भन्ने कुरा पनि आइरहेको छ, यो खास कोरोना नियन्त्रणका लागि हो ।’

पराजुलीले साँझ ७ बजेको समयमा फुटपाथमा बस्ने, खाने, भीडभाड गर्ने देखिएको र त्यसलाई नियन्त्रण गर्न खोजेको बताए । उनले भने, ‘हाम्रो उद्देश्य दैनिक जीवन चलोस् भन्ने पनि हो । झ्याप्पै एकैचोटि बन्द नगरौं भन्ने पनि हो ।’

उनले काठमाडौं उपत्यका अझ कडाइ हुन सक्ने संकेत गर्दै भने, ‘अब झन स्थिति बिग्रँदै गयो भने झन् कडाइ गर्दैै जानुपर्ने हुन्छ । त्यो स्थिति नआओस् भनेर नै समय तोकिदिएको हो । भिडभाडजन्य गतिविधि नगरिदिनुस् भनेर अनुरोध गरेको हो ।’

प्रहरी भन्छ– हामी त प्रशासनले भनेको मान्ने कारिन्दा मात्रै हौँ

दिनभरि सर्वसाधारण र बजारलाई कुनै अवरोध नगर्ने, तर साँझ ७ बजेदेखि अवरोध गर्न थालेदेखि सर्वसाधारण र बजारका बिक्रेताहरूले प्रहरीमाथि प्रश्न गर्ने गरेका छन्, ‘बिहानदेखि दिनभरि खुला गर्ने, के साँझ ७ बजेदेखि मात्रै कोरोना संक्रमण सक्रिय हुने हो र ? पुलिसले साँझका बेला किन दुःख दिन्छ ?’

सर्वसाधारणले गर्ने गरेको यो प्रश्न हामीले नेपाल प्रहरीका प्रवक्ता एवं एसएसपी बसन्त कुँवरलाई सोध्यौँ । जवाफमा उनले भने, ‘प्रशासनको आदेशअनुसार हामीले काम गर्ने हो । भोलि (विहीबार) बाट बेलुका ८ बजेदेखि सार्वजनिक सवारी साधन चल्न नदिने कुरा आएको छ । पुलिसको आफ्नो काम हामीले त सरकारी आदेश पालना गर्ने मात्र हो । जिल्ला प्रशासन कार्यालयले जे भन्छ, हामीले त्यहीअनुसार काम गर्ने हो ।’

राति ८ बजेपछि बिहानसम्म ‘लकडाउन’

बिहीबारदेखि काठमाडौं उपत्यकामा राति ८ बजेसम्म मात्र सार्वजनिक र निजी सवारी चलाउन पाइने प्रमुख जिल्ला अधिकारीहरुको भनाइ छ । कोरोना रोकथामका लागि यस्तो कदम चालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली बताउँछन् ।

रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘हाम्रो मुख्य उद्देश्य साँझको गतिविधि कम गर्नु हो । राति ८ बजेपछि जुन खानपिनको गतिविधि हुन्छ, भीडभाडको गतिविधि हुन्छ, त्यो नहोस् भनेर राति ८ बजेदेखि बिहान ५ बजेसम्म कडाइ गरिएको हो । यसमा कसैले आश्चर्य मान्छन् भने मानुन् । कस्तो प्रतिक्रिया आउँछ, त्यहीअनुसार हामी कडाइ गर्दै जान्छौँ ।’

 

‘कोरोनाको ग्राफ हेर्दा लकडाउन कडा हुन सक्छ’

प्रमुख जिल्ला अधिकारी पराजुलीले बुधबारको कोरोनाको डाटा हेर्दा कडा  लकडाउन गर्ने अवस्था आएको बताए । बुधबार ३ हजार ४ सय जनामा कोरोना संक्रमण ३० जनाको मृत्यु भन्ने डाटा आएको बताउँदै पराजुलीले  सहायक सिडिओलाई अनुगमनका लागि पठाउँदा मानिसले मास्क नलगाउने गरेको र भिडभाड बढिरहेकाले अब सबैलाई सीमित गर्नुपर्ने स्थिति आएको बताए । उनले भने, ‘कोरोना बढ्दै गयो भने थप लकडाउन गर्नुपर्ने हुन्छ । सामान्य भयो भने यही शैलीमा अघि बढ्छौँ ।’

अहिले सार्वजनिक सवारी साधन र मालवाहक सवारी साधनहरुलाई समयमा गन्तव्यमा पुग्न आग्रह गर्दै प्रजिअ पराजुलीले भने, ‘बेलुका ८ बजेसम्म घर पुगिसकौँ भनेर सूचना निकाल्दा गलत हुन्छ त ? समयमा घर पुग्नुस्, भीडभाडजन्य गतिविधि नगर्नुस् भनेर सुचना निकालेका हौँ । रातिमात्र हैन, बिस्तारै अब दिउँसोको समयमा पनि कडाइ हुन सक्छ ।’

काठमाडाै‌ं उपत्यकामा आगामी भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएकोमा संक्रमण दर बढ्दै गए अझै कडाइ गर्ने जिल्ला प्रशासन कार्यालयहरूको तयारी छ ।

 

टेम्पोको बीचमा प्लाष्टिक टाँगेर कोरोना रोक्ने आइडिया !

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सार्वजनिक सवारी साधनका रुपमा रहेको टेम्पो चलाउँदा यात्रीको बीचको भागमा प्लाष्टिक टाँग्न लगाएका छन् । तर, त्यो प्लाष्टिक फोहोर हुने र त्यसबाट झन् अरु रोग फैलिने पो हो कि भन्ने यात्रुहरुले चिन्ता ब्यक्त गर्ने गरेका छन् । काठमाडौंका सिडियो पराजुली भन्छन्, ‘टेम्पोको बीचमा राखिएको प्लाष्टिक बेला–बेला परिवर्तन गर्नुपर्छ । सधैं एउटै प्लाष्टिक राख्न कहाँ हुन्छ ?’

उनले यस्ता नयाँ नियमहरु यातायात व्यवसायी, मजदुर, ट्राफिक प्रहरी र नेपाल प्रहरी सबै बसेर उनीहरुले दिने सल्लाह–सुझावका आधारमा बनाउने गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप