केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी-१९

सहाना प्रधानको विदेश भ्रमण : कतै हर्ष, कतै वैराग

person explore access_timeमंसिर १, २०७७ chat_bubble_outline0

सहाना प्रधानले बाल्यकालमा नै विदेशको रङ्गीविरङ्गीको झाँकी देखिसकेकी थिइन् । म्यान्मा र भारत पुगिसकेकी उनलाई त्यसपरको अरू देश हेर्ने कौतुहल पनि थियो । त्यति मात्र नभएर उनी कम्युनिस्ट सिद्धान्तमा समर्पित भएका नाताले पनि चीन, उत्तर कोरिया, रुस आदि देश पुग्ने उनको तीव्र चहाना थियो । खास गरेर कम्युनिस्टले शासन गरेको देश जाने भनेपछि उनी खुट्टा उचालिहाल्थिन् । 

सहानाले नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी र महिला सङ्गठनका तर्फबाट प्रतिनिधित्व गर्दै विश्वका विभिन्न मुलुकको भ्रमण गरेकी थिइन् । त्यही क्रममा उनी २०४३ सालमा मनमोहन अधिकारीको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टीको निमन्त्रणामा मास्को गएकी थिइन् । त्यतिखेर उनी पन्ध्र दिन मास्कोमा बसेकी थिइन् । 

रूस नपुगुन्जेल सहानाका मनमा रूस भनेको कम्युनिस्ट देशमध्येको माथिल्लो श्रेणीको साम्यवादी मुलुक हो भन्ने लागेको थियो । सर्वहारा वर्गको नेतृत्वले रूसको सञ्चालन भएको छ भन्ने उनको भ्रम रूस गएपछि तोडिएको थियो । यति हुँदाहुँदै पनि रूसमा क्रमशः परिवर्तन भएको बारेमा त्यहाँका नव सिद्धान्तकारले हरेक दिन तीन घण्टा जतिको पाठ उनलाई पढाइरहने गर्थे । त्यति मात्र होइन सहानालाई रूसका विविध ठाउँको स्थलगत भ्रमण पनि गराइएको थियो । त्यहाँको राजनीतिक व्यवस्था जेजसरी परिवर्तित भए पनि लेनिनग्राद र पिटर्सवर्ग हेर्न उनीभित्र उत्सुकता थियो र त्यस ठाउँमा पनि उनी पुगेकी थिइन् ।

सहानाको दृष्टिले रूसलाई त्यति सहज रूपले ग्रहण गरेको थिएन । यसको मुख्य कारण के थियो भने– त्यहाँका नारीहरूलाई राजनीतिक, प्रशासनिक र आर्थिक क्षेत्रमा उच्च पद नदिएको देखेर उनी खिन्न थिइन् । त्यहाँ उनले कलकारखाना र शारीरिक परिश्रम हुने ठाउँमा मात्र नारीले प्रायः काम गरेको देखेकी थिइन् । उनी जताजता पुग्थिन् नारी वर्गले तलतलै मात्र घोटिनुपर्ने अवस्थाको सग्लो चित्र दख्तै जान्थिन् । अनि उनका लागि रुस त्यति रुचिको विषय बनेको थिएन तापनि उनले त्यहाँको ससानो विषयको पनि अवलोकन गर्न चाहिँ मन गरिरहिन् ।

रूसको सम्पूर्ण व्यवसाय पनि सहानाले हेर्ने मौका पाएकी थिइन् । उनी जुन बजार जान्थिन् त्यहीँको दृश्यले उनी दुखित बन्थिन् । जब उनी डिपार्टमेन्टल स्टोरहरू जान्थिन् त्यहीँको वातावरणले उनी निराश हुन्थिन् । उनी कलकारखाना जाँदा त्यहीँ नै उनी तीन छक्क पर्थिन् । रुसको हालत हेरेर त्यतिखेर उनले मनमनै कुरा खेलाउने गर्थिन्— ‘समाजवाद, साम्यवाद र सर्वहारावाद त खाली कितापकापीमा मात्रै पो सीमित रहेछ । व्यवहारमा त नाङ्गो रहेछ ।’ वास्तवमा जनताका लागि उपभोग्य समानै नभएको ठाउँ भनेर उनले रुस पुगेपछि मात्र सक्कली समाजवाद, साम्यवाद र सर्वहारावादका बारे चाल पाएकी थिइन । दिनभरि कुरेर पनि पाउरोटी र दूध सकिएर रित्तै फर्कनुपर्ने रूसका जनताको हालत देखेर सहानालाई समाजवादी धाराउपर त्यतिखेर वैराग्य छाएको थियो । उनले खाएर फालेको रोटी र अन्य खाद्यन्न जुठोसुठो नभनी त्यहाँका कामदारले उठाएर खाएको दृश्य हेर्दा उनी भित्रभित्रै रोएकी पनि थिइन् ।

सहाना उद्योग मन्त्री भएका नाताले २०४७ सालमा स्विडेन गएकी थिइन् । अनि त्यहाँका दुईवटा विश्वविद्यालयमा उनले सम्बोधन गरेकी थिइन् । त्यहाँ उनले सम्बोधन मात्र गरिनन् त्यहाँका उत्कृष्ट पत्रिकाका लागि उनको अन्तर्वार्ता लिन पत्रकारहरूको घुइँचो लागेको थियो । उनी नेपालमा प्राध्यापक भएको बेहोरा त्यहाँका नारीहरूलाई पनि थाहा थियो । राजनीति, प्रशासन र आर्थिक र मामिलामा त्यहाँ नारीपुरुषको बराबरी सहभागिता भएको बेहोरा सहानाले पनि देखिन् । उनले घुमेका राष्ट्रहरूमध्ये उनी स्विडेनबाट धेरै प्रभावित थिइन् । त्यस देशको उच्च ओहोदाहरूमा प्रायः नारी नै नारी देखिन्थे । त्यखितेर प्रधानमन्त्री नारी, संसदकी प्रमुख नारी, सहरकी प्रमुख नारी, मन्त्री नारी थिए र शासनमा प्रायः सबैतिर नारी नै नारी थिए । त्यहाँ प्रायः बलिया, बाङ्गा र दोहोरो शरीर परेका नारी देखेर उनी दङ्ग थिइन् । नारी स्वतन्त्रताले अधिकतम ठाउँ पाएको स्विडेनमा सम्बन्ध विच्छेदका धेरै घटना हुने पनि उनले थाहा पाइन् । सहानाले स्विडेनमा प्रायः जति नारी भेटिन् ती सबै सम्बन्ध विच्छेद भएकै मात्र भेटेकी थिइन् ।

सहाना दुईपल्ट स्विडेन गएकी थिइन् । अर्कोपल्ट दमननाथ ढुङ्गाना सभामुख भएका बेला २०५२ सालमा ढुङ्गानाकै नेतृत्वमा स्विडेन र नर्वे गएकी थिइन् । त्यस बेला नर्वेको भ्रमण गरेको बेला त्यहाँकी प्रधानमन्त्रीको शारीरिक बनोट हेरेर सहाना मक्ख परेकी थिइन् । नर्वेकी प्रधानमन्त्री ब्रन्डलेन्ट अग्ली थिइन् र उनीसँग नजिक जाँदै डर लाग्ने व्यक्तित्व भएको सहानाले नेपालमा आएर उनको बयान गरिरहिन् । उनी भन्थिन्– ‘नर्वेकी प्रधानमन्त्री त कुरा गर्दा पनि सातो खाने खालकी थिइन् ।’



संसदको चुनाव जितेपछि २०४८ सालमा अन्तर्राष्ट्रिय भ्रमण कार्यक्रम अन्तर्गत सहाना अमेरिका गएकी थिइन् । त्यो उनको अमेरिकी सरकारका तर्फबाट भ्रमण थिएन्, नेपालकै तर्फबाट थियो । पहिलोपल्ट न्युयोर्कमा पुग्दा उनलाई आश्चर्य नै लागेको थियो । त्यहाँका मान्छेको भीड, चिताइ नसक्नुका अग्ला घर र राजनीतिक वातावरणले उनी चकित भएकी थिइन् । त्यहाँको भ्रमणमा उनले स्थानीय अधिकारीहरूसँग विविध जिज्ञासा रोखकी थिइन् ।

उनको मूल जिज्ञासा नै अमेरिका जस्तो विशाल प्रजातान्त्रिक मुलुकमा एउटी नारीले बल्लबल्ल उपराष्ट्रपतिको चुनावमा आफूलाई सहभागी गराएकी थिइन् तर उनलाई पनि हराइएको थियो । उनको यस भावना विपरीत त्यहाँका बौद्धिक भनिनेहरूबाट उनले जबाफ पाएकी थिइन्– ‘हामीलाई नारी राष्ट्रपति चाहिँदैन र नारीद्वारा हुने शासन हामी पचाउन पनि सक्तैनौँ ।’ त्यस्ता विचित्रका कुरा सुनेर सहाना छाँगोबाटै खसेसरी भएकी थिइन् । त्यति मात्र होइन अमेरिकाको सरकारको कुनै पनि निर्णायक ठाउँमा नारीको उपस्थिति उनले अति नै न्यून देखेकी थिइन् । अनि त्यस्तो विकसित देशमा नै पनि निर्णायक ठाउँमा नारी नहुनु उनका लागि अर्काे आश्चर्यकै विषय थियो । त्यतिखेर ‘नारीद्वारा हुने शासन हामी पचाउन पनि सक्तैनौँ’ भन्ने संवाद सुनेर उनले २०१० सालमा सीताराम हाइस्कुलमा पढाउँदा उनलाई विद्यार्थीले हुटिङ गरेको क्षण सम्झेकी थिइन् । तर उनी ती विद्यार्थीबाट अपहेलित भएको पैँतीस चालीस वर्षपछिको समयमा पनि अमेरिकाका बुद्धिजीवीहरूको राजनीतिक सोच, चेत र ज्ञान त्यतिखेरका नेपालका मान्छेको भन्दा खच्केको उनले ठम्याएकी थिइन् । 

सहानाको अमेरिका भ्रमणमा सबैभन्दा रोचक कुरा के थियो भने त्यहाँ उनले जति जेल देखिन् ती सबै जेल उच्चस्तरीय थिए । त्यति मात्र होइन कैदीहरूका लागि त्यहाँको जेल जीवन नै माथिल्लो कोटिको थियो । नेपालको नर्कतुल्य जेलमा बसेकी उनलाई अमेरिकाको जेल स्वर्ग जस्तै लागेको थियो । अनि त्यसै विषयलाई लिएर उनले त्यहीँका अधिकारीलाई भनेकी थिइन्– ‘नेपालमा पनि अमेरिकाको जस्तै जेलको व्यवस्था भए म सधैँभरि जेलै बस्थेँ होला ।’ वास्तवमा जेलका कैदीको जेलभित्रै आफ्नो योग्यताअनुसारको पढाइ, काम, ज्याला, आयस्ता, व्यस्थापन, खेलकुद, होटेल देखेर उनी उनी चकित परेकी थिइन् । त्यतिखेर एक महिनासम्म अमेरिकाको भ्रमण गर्दा अमेरिकाको विविध विषयमा चाख मानेर उनले आफ्नो डायरीमा समेत लेख्न भ्याएकी थिइन् । 

२०५० सालमा सहाना उत्तर कोरियाको भ्रमणमा गएकी थिइन् । त्यहाँ उनले जति सम्मान पाइन् धेरै पाइन् । त्यो देश उनका लागि एकादेशको सुन्दर देश लागेको थियो । भनौँ हेर्दाखेरी उत्तर कोरियाभन्दा राम्रो देश उनका लागि अरू कुनै देश थिएन । तर त्यस देशको हरेक तरिका देखेर उनी छक्कै परेकी थिइन् । उत्तर कोरियाको बजार पनि उनका लागि आश्चर्य नै थियो । यति हुँदाहुँदै पनि त्यस देशमा पुगेपछि उनलाई सुनसान लागेको थियो । त्यहाँका बाटा ठूला थिए तर यात्री थिएनन् । साथै त्यहाँबाट सञ्चारहरूमा बाह्य मुलुक प्रवेश गर्न दिएका थिएनन् । उनलाई कोरियाको विविध ठाउँ हेर्न मन लागेको थियो । अनि उनले त्यहाँ यसबारेमा आफ्नो इच्छा पनि जाहेर गरेकी थिइन् । तर उनको अनुरोधलाई कोरियाली सरकारले स्वीकार गरेन । उनी त्यहाँ छ दिन बस्ता उनलाई छ ठाउँ लगिएको थियो । भ्रमणको अन्त्यमा उनले त्यहाँको महत्त्वपूर्ण कडी फेला पारेकी थिइन् । त्यो के हो भने त्यस देशका जनता अति जागरुक, मेहनती र देशप्रति समर्पित थिए । तर पनि उनी त्यस मुलुकमा जति बसिन् त्यति नै अघाएकी थिइन् । मानौँ उनका लागि त्यो ठाउँ फेरि फर्केर घुम्न लायकको थिएन । यति भएर पनि त्यस देशप्रति उनको प्रेम चाहिँ झाङ्गिदो थियो ।

सहानाले कोरियाबाट फर्कंदा चीनको बाटो पारेकी थिइन् । उनलाई चीन हेर्न कौतुहल पनि थियो । तर त्यस बेला उनी भनेजस्तै गरेर चीन घुम्न पाएकी थिइनन् । त्यसपछि उनी अर्काे वर्ष फेरि चीन गइन् । भनौँ उनी सन् १९९४ मा जनवर्गीय सङ्गठनको औपचारिक निम्तोमा चीन गएकी थिइन् ।

चीनमा सहानाले नारीहरूबाट सञ्चालित उद्योगधन्दाहरूको अवलोकन गरेकी थिइन् । त्यहाँको ती विषयले उनलाई धेरै प्रभाव पारेको थियो । त्यहाँ बस्ताउठ्ताका समयमा उनले आधुनिक चीनका महेश्वर माओ त्सेतुङको जताततै बयान मात्र सुनेकी थिइन् । चीनका मान्छेको कामप्रतिको समर्पण ज्यादै माथिको देखिन्थ्यो । त्यही कारणले नै चीनको विकास भएको कुरा पनि उनले महसुस गरेकी थिइन् । 

त्यतिखेर नै उनले चिनी सरकारले आफ्ना जनताका लागि सुख सुविधा र जनतालाई खुसी पार्न हर प्रयत्न गरेको रहेछ भन्ने बुझेकी थिइन् । चिनिया क्रान्तिपछि त्यहाँका नारीहरूको पनि भाग्यमा बढोत्तरी भएको बेहोरा पनि उनले त्यही बेला थप थाहा पाएकी थिइन् ।

सहानाले चीनबारे जान्नु पर्नेभन्दा पनि धेरै कुरा त्यस भ्रमणकालमा थाहा पाएकी थिइन् । किनभने चिनियाँ नारी फेडेरेसनका अध्यक्ष चेन लीले सहानालाई चीनको सबै बेहोराको आन्द्राभुँडी नै फर्काएकी थिइन् । त्यतिखेरै सहानाले चिनियाँ क्रान्तिपछि चीनमा नारी जागरणका लागि धेरै ठूलो परिवर्तन आएको बुझेकी थिइन् । उनले सुने अनुसार चीनमा महिला सहभागिता धेरैजसो ठाउँमा थियो । तर पनि राष्ट्रको निणर्यक ठाउँमा समान रूपमा नारीहरूको उपस्थिति नभएको तथ्य पनि उनलाई चेन लीले घोकाएकी थिइन् । त्यहाँका धेरैजसो नारीका लागि जीवन कष्ट नै थियो । नारी हिंसा, घरेलु हिंसाबाट नारी मुक्त हुन सकेका थिएनन् र  नारीका लागि राज्यले भनेजस्तो कदर पनि गरेको थिएन् । यति हुँदाहुँदै पनि त्यतिखेरसम्मको चीनमा सरकार र संसदमा बाइस प्रतिशत नारी सहभागिता थियो ।

सन् १९९५ को कुरा हो– चीनको बेइजिङमा चौथो महिला सम्मेलन भएको थियो । त्यस सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व सहाना प्रधानले गरेकी थिइन् । त्यस बखत चारैतरिबाट चीनमा पुग्ने नारीहरूको लर्काे लागेको थियो । विश्वका खारिएका नारीहरूसँगको भेटघाट र कुराकानीबाट उनी खुसी भएकी थिइन् । त्यस सम्मेलनमा सहानाले थप एउटा अर्काे कुरा पनि बुझेकी थिइन्– त्यो के हो भने अन्य केही विकसित देशमा झैँ चीनमा पनि ‘तिमी नारी हौ र तिमीले पुरुषभन्दा मुनि बस्नु पर्छ’ भन्ने सोच कायमै थियो । त्यतिखेरसम्ममा चीनमा अर्थतन्त्रको सम्पूर्ण बागडोर पनि पुरुषकै हातमा भएको उनले चाल पाएकी थिइन् । 


२०५१ सालको कुरा हो– सहाना प्रधान नेपालको प्रतिनिधि भएर श्रीलङ्कामा गएकी थिइन् । साथै उनी त्यहाँ २०५५ सालमा पनि पुगेकी थिइन् । पहिलो चोटि र दोस्रो चोटि उनी तीन तीन दिन त्यस देशमा बसेकी थिइन् ।

श्रीलङ्कामा नारी जाति पनि पुरुषसरह अगाडि भएको पनि सहानाले प्रत्यक्ष देखेकी थिइन् । त्यहाँका नारीहरू पढाइलेखाइ र सरकारी ओहोदामा पनि अगाडि रहेको बेहोराले पनि उनी खुसी थिइन् । त्यति मात्र होइन श्रीलङ्कामा छोरी राष्ट्रपति र आमा प्रधानमन्त्री एकैचोटि भएको घटना उनका लागि सबैभन्दा सुखद थियो । सहानालाई श्रीलङ्काको अर्काे आश्चर्य के थियो भने– त्यस देशमा रावण पूजा गरिने परिपाटी उनले देखेकी थिइन् । त्यसबारे उनले भनेकी थिइन्– ‘हामीले राक्षस ठानेर घृणा गरिएका रावणलाई त्यहाँ देवता मानेर पूजा गरेको देखेँ ।’ त्यहाँ प्रायः उनले रावणै रावणको मन्दिर मात्र देखेकी थिइन् ।

सहाना दोस्रो पटक श्रीलङ्का जाने क्रममा पाकिस्तान पनि गएकी थिइन् । तर नारी जागरणका हिसाबमा पाकिस्तानले उनलाई निराश बनाएको थियो । हजारौँ पुरुष भएका ठाउँमा उनले एक दुई जना बुर्का लगाएका मात्र नारी देखेकी थिइन् । उनलाई पाकिस्तानउपर अर्काे कुन विषयमा चित्त दुखेको थियो भने– त्यहाँ सम्भ्रान्त परिवार बाहेक नारी शिक्षामा न्यून थियो । उनले आँखा तन्काइतन्काइ हेर्दा पनि त्यहाँ न बाटामा केटी देखिन्, न बसमा केटी देखिन् र न स्कुलमा नै केटी देखिन् । पाकिस्तानमा केटीहरू भनेका घरभित्र मात्र बस्ने जात मानिएको बेहोराले उनी खिन्न थिइन् ।



सहाना २०५१ सालमा बङ्गलादेश गएकी थिइन् । त्यसपछि पनि उनी अर्काे एक पल्ट फेरि त्यही देश गएकी थिइन् । त्यहाँको विकासको बाधक भनेको भोका नारी र नारी आरक्षण भन्ने बेहोरा हो भन्ने उनले ठम्याएकी थिइन् । त्यहाँ ३३ प्रतिशत आरक्षणमा नाउँमा आआफ्ना दलबाट नारीहरूलाई बोकेर लगिने गरिन्थ्यो । त्यसैले उनीहरूले कुनै सुझबुझ नै राख्न पाउँदैन थिए । उनीहरू एक प्रकारका रोबोट जस्ता मात्र हुन्थे । 

सहाना २०५२ सालमा माल्दिभ्स पनि गइन् । त्यहाँको नारी जागरण देखेर उनी खुसी भएकी थिइन् । उनले आफू घुमेमध्ये माल्दिभ्सलाई पनि साह्रै राम्रो देश मानिन् । समुद्रका बीचमा भएको माल्दिभ्समा खानेपानीको अभाव देखेर फेरि उनी चकित भएकी थिइन् । त्यहाँ सबैभन्दा महँगो पिउने पानी नै थियो । त्यहाँको सबैभन्दा ठूलो विशेषता भनेको नारीहरूका लागि राजनीति फराकिलो ठाउँ थियो । उच्च ओहोदाहरूमा नारीकै पनि सहभागिता हुन्थ्यो । नारीले पेट बोक्छन्, नानी पाउँछन् र छुट्टी लिन्छन् भनेर तलतिरको काममा चाहिँ नारी जातिलाई त्यति जागिर दिइँदैनथ्यो । त्यहाँका उच्च ओहोदामा बसेका नारीहरूले चाहिँ सहानालाई भन्ने गर्थे– ‘हामी चाँडोभन्दा चाँडो पुरुषहरूकै हाराहारीमा पुग्न चाहन्छौँ ।’ 

२०५५ सालमा सहाना यमन गइन् र त्यहाँ पाँच दिन बसिन् । त्यहाँका नारीहरू रूढीवादी धारमा देखिएका थिए । यमन भन्ने देश विकसित भए पनि त्यहाँको नारी चेतना विकसित नभएको सहानाले ठहर गरेकी थिइन् । त्यहाँका नारीहरू बाटामा त के घरको छतमा पनि उभिन पाउँदैन थिए । उनीहरूलाई आफ्नो घरको झ्याल खोल्ने समेत अनुमति नभएको बेहोरा सहानाले थाहा पाएकी थिइन् । त्यहाँ समारोहमा देखिएका नारीहरूले पनि बुर्का लगाएका थिए । बाहिरबाट जसले पनि टाउकोमा सारीको सप्को हाल्नुपर्ने त्यहाँको चलन भएको तथ्य पनि सहानाले आफ्नै आँखाले देखेकी थिइन् । 

देशविदेशको भ्रमण गर्ने क्रममा सहाना प्रधान उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री भएका बेला २०६४ सालमा इजिप्टको भ्रमणमा गएकी थिइन् । सन् २००७ को कुरा हो, त्यस बेला नेपाल इजिप्टको दौत्य सम्बन्धको स्वर्ण वर्ष महोत्सवको समय थियो । त्यसै उपलक्ष्यमा नेपालबाट सहानाले भाग लिएकी थिइन् । त्यस अवसरमा इजिप्ट सरकारले नेपाल इजिप्ट दौँत्य सम्बन्ध स्वर्ण वर्षको उपलक्ष्यमा प्रकाशनमा ल्याएको हुलाक टिकटमा सहानाले टाँचा लगाएकी थिइ्न् । त्यस बेलाका इजिप्टका लागि नेपालका राजदूत डा. रामभक्त ठाकुरका अनुसार त्यस प्रकारको हुलाक टिकट विश्वका कुनै देशबाट पनि त्यसभन्दाअघि प्रकाशित भएको थिएन । नेपालका लागि त्यो बेहोरा गौरवको विषय हो भन्ने सहानाले मन्तव्य दिएकी थिइन् । 

त्यतिखेरै इजिप्टका नागरिक उमार समरासँग सहानाको भेट भएको थियो । समरा सगरमाथाको शिखर आरोही थिए । अरबका कुनै पनि नागरिकले त्यसभन्दा अघि सगरमाथाको टुप्पो टेकेका थिएनन् । त्यहाँको एक साताको बसाइमा उनले नेपालको उज्ज्वल छवी प्रस्तुत गरेकी थिइन् । सहानाको इजिप्टको भ्रमणबारे डा. ठाकुरले पछिसम्म पनि बयान दिए– ‘नेपालका उपप्रधानमन्त्री सहाना प्रधानको ज्ञानगुन र क्षमताबाट इजिप्टका राजनीतिज्ञ र प्रशासक छक्कै परेका थिए ।

सहानाले इजरायल, टर्की, स्विजरल्यान्डको पनि भ्रमण गरेकी थिइन् ।  

(हरेक शनिबार प्रकाशित हुँदै आएको सहाना प्रधानको जीवनी श्रृङ्खला प्राविधिक कारणले यसपटक सोमबार प्रकाशित भएको छ । आगामी श्रृङ्खला शनिबार नै प्रकाशित हुनेछः रातोपाटी)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.