नेहरुलाई कालो झण्डासँगै सहाना प्रधानलाई जेल
सहाना प्रधान २००७ सालमा नै नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनिसकेकी थिइन् । त्यसपछि उनी इमानदारीका साथ पार्टीको नीतिनिर्देशनमा समाहित भएकी थिइन् । उनी राष्ट्रको हितका लागि जुधारु भएर नै लागिपरेकी थिइन् । २००७ सालको क्रान्ति सफल भएपछि २००८ साल असार २ गते भारतका प्रधानमन्त्री पं. जवहारलाल नेहरू नेपाल आएका थिए ।
त्यसबेला नेपाल महिला सङ्घबाट मङ्गलादेवी सिंहहरू फूलमाला लिएर पं. नेहरूको स्वागत गर्न हवाईअड्डा पुगेका थिए । साथै कामाक्षादेवी बस्नेतको नेतृत्वमा सहाना प्रधानहरू भने नेहरूको विरोधमा कालो झन्डा बोकेर त्यस ठाउँमा पुगेका थिए ।
सहाना समूहचाहिँ दिल्ली राणा काङ्ग्रेस सम्झौताको घोर विरोधी थियो । पं. नेहरूलाई कालो झन्डा देखाएर विरोध गरेबापत त्यतिखेर सहाना प्रधानलगायत सात जना नारी र तीन जना पुरुषलाई सरकारले पक्रेर जेलमा कोचेको थियो ।
तर उनीहरूलाई चार दिनपछि अथवा असार ६ गते जेलमुक्त गरिएको थियो । जेलबाट निस्केपछि ती नारीहरूको स्वागतका लागि महिला सङ्घको जुलुसले स्वागत गरेको थियो । साथै टङ्कप्रसाद आचार्यले कालो झन्डा देखाउनेहरूलाई नैतिक समर्थन गरेका थिए ।
सहानाले सक्रिय रूपमा राजनीति गर्न थालेकी थिइन् । नेपाल महिला सङ्घका अध्यक्ष मङ्गलादेवी सिंह र उनका गुटका नारीहरूसँग भारतका प्रधानमन्त्री पं. जवहारलाल नेहरू नेपाल आएपछि सहानाहरू सशङ्कित हुन थालेका थिए । भारतको चाकरी गरेको भन्ठानेर उनीहरूले २००८ सालमा कामाक्षादेवीको अध्यक्षतामा फेरि अर्कै नेपाल महिला सङ्गठन खोलेका थिए । त्यो सङ्गठनको स्थापनाका लागि सहानाको नै गुरुत्तर भूमिका थियो । अनि उनी त्यस सङ्गठनको महासचिव पनि बनेकी थिइन् ।
राणा शासन खारेज भएपछि २००८ साल मङ्सिर १ गते नेपालको इतिहासमा जनताको छोरो पहिलो चोटि प्रधानमन्त्री भएका थिए । भनौँ, त्यतिखेर मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा सरकार बनेको थियो । राजा त्रिभुवनले त्यस सरकारलाई अपदस्त गरेर २००९ साल साउन ३० गते जनरल केशरशमशेरको नेतृत्वमा सरकार गठन गरेका थिए । तर त्यस सरकारको प्रमुखको पदचाहिँ परामर्शदात्री थियो । त्यतिखेरसम्म पनि जनता र राणाको विभेदको अवस्था थियो । त्यसैले जनताको छोरा हटाएर राणालाई प्रधानमन्त्रीस्तरको पद प्रदान गरिएको बेहोरालाई नेपाल कम्युनिस्ट पार्टीले घोर निन्दा गरेको थियो ।
साथै त्यस काण्डको विरोधमा सहाना प्रधानहरूको आक्रोश बढिरहेको थियो । राणा सरकारलाई समेत आच्छुआच्छु पार्ने सहानालाई राजासँग पट्टा खेल्नु ठूलो कुरै थिएन । त्यसैले राजाको त्यस कदमउपर उनले पनि राँको बालेकी थिइन् । त्यति बेला नेपाल महिला सङ्गठनले काठमाडौँको भूगोलपार्कमा विरोध र्यालीको आयोजना गरेको थियो । अनि नेपाल महिला सङ्गठनका तर्फबाट महासचिव सहाना प्रधानले निर्भीकतापूर्ण भाषण गरेकी थिइन् ।
त्यही बेला सहानालाई पुलिसले लछार्दै लगेको थियो । त्यतिखेर उनीसँगै उनका सहकर्मीहरू प्रभा नेपाली र ज्ञानुमैयाँ श्रेष्ठलाई समेत प्रहरीले पक्रेर लगेको थियो । राज्यको विरोध र जनता भड्काएको अभियोगमा त्यस बखत उनलाई चार महिना जेलमा राखिएको थियो । तर उनी जेलबाट निस्केको छ महिनापछि नै मातृकाप्रसाद कोइराला पुनः प्रधानमन्त्री नियुक्त भएका थिए ।
सहाना राजनीतिक सङ्गठनमा अहोरात्र लागेकी थिइन् । पुरानो ढाँचामा चलेको नेपाल उनको सपनामा नयाँ देखिने क्रम उनीभित्र जागृत हुन थालेको थियो । सङ्गठनमा साधना र सहानाहरू आगाका ज्वाला जस्ता थिए । त्यसैले उनीहरू धेरैका मनमस्तिष्कमा परेका थिए । वास्तवमा त्यतिखेर उनीहरूको कुरा काट्नेहरूको पनि अनिकाल लागेको थिएन । केटाहरूसँग जुलुसमा उफ्रीउफ्री हिँडेको देख्नेहरू उनीहरूलाई छिल्लिएका आइमाई भन्न पनि चुकेका थिएनन् । त्यति मात्र होइन, उनीहरूको बिहे भयो भने कान काटौँला भन्ने मान्छेहरू पनि त्यही समाजमा देखा परेका थिए ।
त्यतिबेला एकातिर घरपरिवार साधना र सहानाको बिहे गर्ने छटपटीमा थिए भने अर्कातिर आफ्ना छोरीहरूलाई भने त्यस्तो आरोप लगाइएको उनीहरूले सुनेका थिए । बनारसमा आफूसँगै बसेका मोदनाथ प्रश्रितसँग पुष्पलालले सहानाबारे यस प्रकारका पनि धेरै कुरा भन्न भ्याएका थिए ।
झुकाई हिमाल झुक्तैन
ताकेर सगर खस्तैन
नेपाली रगत बगेको
टिस्टाको पानी सुक्तैन ।
२०३२ सालअघि र पछिको कुरा हो, श्री जयप्रसाद यू.के.ले स्वनिर्वासित भएका बखत बनारसमा ‘झुकाई हिमाल झुक्तैन’ भन्ने गीत प्रायः गाइरहन्थे । त्यति बेलाको यू.के.को गीत त्यहाँका नेपाली विद्यार्थी र राजनीतिज्ञ माझ लोकप्रिय पनि थियो । पुष्पलाल, सहाना र नारायणमा बिजुक्छे रोहितको पनि त्यस गीतप्रति झुकाउ थियो । पछि ‘जनताको साहित्य’ले त्यस गीतलाई स्थान दिएको थियो । सहानाले पनि त्यस गीतलाई गुनगुउने गर्थिन् ।
नेपाल कम्युनिस्ट पार्टीमा सहानाको योगदान छँदै थियो । विवाहपछि पनि पढ्दै, जागिर खाँदै उनले पार्टीका लागि समय दिइरहेकी थिइन् । त्यसैले उनी २०११ सालमा सो पार्टीको बाग्मती क्षेत्रकी हस्तीका रूपमा कायम भएकी थिइन् ।
••
पुष्पलालको निधनपछि सहानाले आफ्ना पति, सहकर्मी र नेताको वचनलाई पालन गर्ने निणर्य गरिन् । त्यसैले उनी झन्नै डेढ दशकपछि राजनीतिमा पुनः सक्रिय भएर लागेकी थिइन् । वास्तवमा उनी २०१८ सालदेखि २०३२ सालसम्म त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेसामा नै समर्पित थिइन् ।
उनलाई विश्वविद्यालयले अनाहकै लखेटेको बेहोरा पनि कालान्तरमा नेपाल कम्युनिस्ट पार्टीलाई चिट्टै परेको मानिन्थ्यो । उनी पूणर्कालीन रूपमा पार्टीमा सक्रिय हुन थालेपछि उनलाई पार्टीको महासचिव बन्न अनुरोध गरिएको थियो । तर उनले त्यस पदको जिम्मा लिन अस्वीकार गरिन् । यसै परिवेशमा उनले पुष्पलालसँगको दुक्खसुक्खमा बीसौँ वर्ष बिताएका र आफ्ना ज्यादै हितैषी सल्लाहकार गोविन्द ज्ञवालीलाई भनेकी थिइन्— ‘पुष्पलालले आफ्नो जीवनमा अविरल सङ्घर्ष गरेर बचाइराखेको नेपाल कम्युनिस्ट पार्टीको साखलाई जीवित राख्न मैले सक्रिय हुनै पर्छ । तर उहाँले सम्हाल्दै आएको महासचिव पद मैले नै बहाली गर्नचाहिँ हुँदैन । त्यो पदमा पुष्पलालकी पत्नी नै बसिन् भनेर कसैले भनिहाले भने पनि मेरा लागि दुःखद कुरा नै हुन जान्छ । त्यसैले म पार्टीको पोलिटब्युरोमा मात्र रहेर काम गर्छु ।’
अनि बलराम उपाध्यायलाई नै पार्टीमा सर्वेसर्वा भएर काम गर्न उनैले अनुरोध गरेकी थिइन् । पछिल्ला दिनमा उनका सहयोगीहरूका पूर्ण आग्रहका कारण उनी पार्टीको महासचिव पनि भएकी थिइन् ।
सहाना सधैँ आफ्ना कर्ममा विश्वास गर्थिन् । उनको कर्म नेपालको राष्ट्रियतामा जोडिएको थियो । २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सचिव भएदेखि नै उनी मन, वचन र कर्मबाट आफ्नो पार्टीप्रति झन् सारो बफादार भइरहिन् । उनलाई पदभन्दा पार्टीलाई सुदृढ बनाउनुपर्छ भन्ने ध्येय थियो । पदमा बसेर भए पनि र पदविहीन भएर पनि उनी पार्टीकै हितमा मात्र आफूलाई जोड्ने गर्थिन् । तर उनी पार्टीबाहिर चाहिँ रहिनन् । त्यसैले उनी २०४२ सालमा नेकपा माक्र्सवादीको पोलिटब्युरो सदस्य भइन् ।
२०४२ सालमा नेपाली काङ्ग्रेसले सत्याग्रहको आन्दोलन गरेको थियो । त्यस सत्याग्रहलाई नेपाल कम्युनिस्ट पार्टीले पनि समर्थन गरेको थियो । तर पार्टी पक्षबाट त्यहाँ भाग लिन जाने कोही तयार थिएनन् । अनि सहाना प्रधानले मुख फोरिन्— ‘सत्याग्रहको आन्दोलनलाई समर्थन् गरेपछि नैतिकताले हामीले भाग लिनै पर्छ ।’ अनि उनी आफू त्यस आन्दोलनमा हार्दिकतापूर्वक सरिक भइन् । उनी त्यस आन्दोलनमा सरिक हुँदा महिला प्रहरी आएर उनलाई भुत्ल्याएर घाइते हुने गरी भुइँमा पछारेका थिए । अनि महिला प्रहरीले त्यहाँबाट घिसार्दै भ्यानमा राखेका थिए । त्यसपछि हनुमानढोकाको कैदी राख्ने ठाउँमा पुर्याइएको थियो, त्यहाँ दुई दिन राखियो । दुई दिनसम्म पनि उनलाई पुलिसले भोकै राखेको थियो । अनि तीन दिनका दिन मुद्धा लगाएर जेल चलान गरिएको थियो । त्यस बेला उनी साढे चार महिनाजति जेल बसेकी थिइन् ।
२०४३ सालमा नेपाल कम्युनिस्ट पार्टीको छैटौँ सम्मेलन भएको थियो । त्यस सम्मेलनले मनमोहन अधिकारीलाई महासचिव बनाएको थियो । साथै सहानाचाहिँ सचिवमा चुनिएकी थिइन् । २०४६ सालमा मालेको शिरबन्दी लगाएको नेपाल कम्युनिस्ट पार्टीलगायत कम्युनिस्ट सिद्धान्तका सात दल जस्तै नेपाल मजदुर किसान पार्टी, नेकपा माक्र्सवादी, नेकपा संयुक्त, नेकपा बर्मा, नेकपा अमात्य र नेकपा चौ.म. मिलेर संयुक्त वाममोर्चा बनाइएको थियो । अनि सहाना सोही मोर्चाको अध्यक्ष बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान