केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी- ८

सहाना प्रधानको राष्ट्रमोहले दिएको धोका

person explore access_timeभदौ १३, २०७७ chat_bubble_outline0

२०४६ सालमा बहुदलीय व्यवस्थाको माग राखेर देशमा क्रान्तिको ज्वालाले आकाशै ढाकेको थियो । त्यति बेलाको उक्त क्रान्ति गर्ने कमान्डर गणेशमान सिंह थिए भने सहकमान्डर सहाना प्रधान थिइन् । त्यतिखेर देशदेशान्तरबाट निर्दलीय पञ्चायती व्यवस्थाउपर आएको हुन्डरी थाम्न सक्ने अवस्था राजा वीरेन्द्रसँग रहेनछ । त्यसैले प्रतिबन्ध लगाएका दलहरूसँग उनले सरोकार राख्ने निणर्य गरे । 

सोहीबमोजिम राजाले क्रान्तिकारीहरूलाई आफूसँग बसेर छलफल गर्न राजदरबारमा आउन आह्वान गरे । ‘देशमा बहुदलीय प्रजातन्त्र नआई राजालाई म भेट्दिनँ’ भन्ने गणेशमान सिंहले वाचा गरेकाले उनी राजदरबार पस्न मानेनन् । अनि राजनैतिक व्यवस्थाको फेरबदलका लागि राजासँग सहमती गर्न २०४६ साल चैत २६ गते संयुक्त वाममोर्चाका तर्फबाट सहाना प्रधान, राधाकृष्ण मैनाली अनि नेपाली काङ्ग्रेसका तर्फबाट कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला राजासँग वार्ता गर्न राजदरबार पुगेका थिए । त्यस बेलाको वार्तामा भाग लिने सहाना प्रधानसँग राजा वीरेन्द्र प्रभावित भएका थिए ।

पछिल्ला दिनहरूमा राजाबाट हुकुम भएको थियो— ‘सहाना प्रधान त झुक्नै नजान्ने फलामजस्तै कडा (Iron Lady) तर सिद्धान्तवादी नारी रहेछिन् ।’ त्यसपछि सहानाको व्यक्तित्वलाई मान्नेको झनै ताँती लाग्न थालेको थियो । क्रमशः उनी नेपाली राजनीतिक परिवेशमा सर्वमान्य नेतृ नै भइसकेकी थिइन् । नेपाली माटोमा उनको योगदान खाली कम्युनिस्टहरूमाझ मात्र सीमित थिएन । अमृता लम्सालका भाकामा भन्दा ‘सहाना प्रधान कुनै राजनैतिक दलको मात्र सम्पत्ति नभई नेपालीको हकहितका लागि लड्ने योद्धा थिइन् ।’ लम्सालको कुरालाई पुष्टि गर्दै सुषमा कोइरालाले भनेकी थिइन्— ‘आफ्नो पार्टीका लागि त्यागी र सिद्धान्तमा दृढ भए तापनि सहाना प्रधान जुनसुकै विचारका मान्छेसँग पनि नजिक थिइन र उनी अत्यन्तै विदुषी, शालीन र दूरदर्शी सोचकी राजनीतिज्ञ थिइन् ।’ त्यतिखेर सहानाको नाउँ खुबै चम्केको थियो । त्यस बेला उनी बहुदलीय राजनैतिक निणर्याक बिन्दुमा नै रहेकी राजनेता थिइन् ।
••
नेपालमा बहुदलीय व्यवस्थाको आगमनका लागि सहाना प्रधान २०१७ सालदेखि नै जुरमुराएकी थिइन् । उनी जागिरमा बाँधिएकी भए पनि उनी नेपालको चौतर्फी विकास होस् भन्ने भावनामा नै समाहित थिइन् । खास गरेर २०३५ सालपछि देशव्यापी रूपमा क्रान्तिका ज्वाला क्रमैसँग बल्न थालेको थियो । राजा वीरेन्द्रको शासकीय शैली सन्तोषजनक नभएका कारण देशमा क्रमशः निराशा छाउँदै गएको थियो । साथै विदेशीको समेत सक्रिय सहयोगका कारण २०४६ सालको आन्दोलनले चाहिँ उग्र रूप लिएको थियो । 

सहाना प्रधानहरूको अडान, राष्ट्रिय र अन्तर्राष्ट्रिय अनेक प्रकारको दवावसमेत आउन थालेपछि अन्ततः राजाले आफ्नो नेतृत्वमा सञ्चालित पञ्चायती व्यवस्था खारेज गर्न बाध्य हुनुपरेको थियो । त्यहीअनुरूप २०४६ साल चैत २६ गते राति नै राजा वीरेन्द्रबाट नेपालमा बहुदलीय प्रजातन्त्रको घोषणा भएको थियो ।


नेपालमा बहुदलीय प्रजातन्त्रको घोषणा भएकै भोलिपल्ट टुँडिखेलमा आमसभाको आयोजना भएको थियो । त्यस बृहत् सभामा मान्छेको ओइरो लागेको थियो । नेपालको इतिहासमा त्यतिको ठूलो जुलुस कहिल्यै देखिएको थिएन । टुँडिखेलभरि नेपाली काङ्ग्रेस र वामपन्थीको झन्डा फहराएर त्यो क्षेत्र नै राताम्मे भएको थियो । आमसभाको सुरुमा गिरिजाप्रसाद कोइरालाले सम्बोधन गरेका थिए । बोल्ने क्रममा उनले ‘यो जित जनताको हो र राजाको पनि हो’ मात्र भनेका थिए । कोइरालाको भाषणको प्रत्युत्तरमा मञ्चतिर चप्पल, ढुङ्गा, माटो, कुखुराको फुलको वर्षा हुन थालेको थियो । त्यस बेलाको त्यस सन्दर्भले मञ्चमा बसेका गणेशमान सिंह पनि आत्तिइसकेका थिए । अनि गणेशमान सिंहको आग्रहमा सहाना प्रधानले माइकमा गएर जोस निकालेर बोलेकी थिइन् । सहानाले बोल्न थालेपछि मात्र त्यो ज्वाला निभेको थियो । त्यसपछि मुलुकमा सहाना, सहाना र सहाना छाएको थियो । वास्तवमा उनको बोलीको प्रताप नै उच्चस्तरीय थियो । 
••
सहानाको राजनैतिक जीवनमा उनले देखावटी शत्रु कमाइनन् होला; तर उनले आफ्नो ईर्ष्या र डाहा गर्ने मान्छेहरू प्रशस्तै कमाएकी थिइन् । उनका विरोधमा जतिले मुख बङ्ग्याए पनि र उनको खोइरो खने तापनि तीबारे अर्थ राख्न उनलाई फुर्संदै पनि हुँदैनथ्यो । वास्तवमा उनको सोच, दृष्टिकोण र योजना नै लोभिलो र गर्विलो थियो । यति हुँदाहुँदै पनि उनको यात्रामा उनलाई हतोत्साही बनाउने, होच्याउने र दुक्ख दिनेहरूको अनिकालै पनि लागेको थिएन । तर उनी हिम्मतकी नारीचुली थिइन् । उनको व्यक्तित्वको त्यही पाटोलाई छोएर रवीन्द्र अधिकारीले आफ्नो मत पोखेका थिए— ‘सहाना प्रधान राजनीतिका धेरै खुरापात, घात, अन्तर्घातलाई सजिलै पिउन सक्ने; आफ्नो स्वाभिमान र क्षमतामा विश्वास गर्ने एक जना नेता हुनुहुन्थ्यो ।’

२०४६ सालमा तीस वर्षसम्म चलेको पञ्चायती शासन व्यवस्था फालियो । त्यसपछि २०४७ साल वैशाख ३ गते नेपालमा अन्तरिम सरकार बनेको थियो । त्यस सरकारको नेतृत्व नेपाली काङ्ग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले गरेका थिए । अनि मर्यादाक्रममा सहाना दोस्रो व्यक्तिका रूपमा मन्त्री बनेकी थिइन् । उनी २०५१ सालमा पनि मन्त्री बनिन् । महाकालीको सन्धिपछिका दिनमा उनलाई राजनीतिबाट पर सार्न उनैको पार्टीबाट कसरत भएको थियो । त्यसैले सहानाको नाउँ रूसका लागि नेपाली राजदूतमा पनि राख्न लागिएको थियो । अनि त्यसबारे सुइँको पाएपछि उनले राजनीति छाडेर अन्यत्र जान ठाडै अस्वीकार गरेकी थिइन् । त्यसपछि उनी २०६३ सालमा उपप्रधानमन्त्री पनि भएकी थिइन् ।

नेपालमा संसदीय व्यवस्थाको ऐतिहासिक निर्वाचन भयो । निर्वाचनमा लोकप्रियताको कुरा गर्ने हो भने सहाना अब्बल दर्जामा थिइन् । भनौँ, त्यस आमनिर्वाचनमा सहानाले देशभरिको निर्वाचन परिणाममध्ये सबैभन्दा धेरै मत ल्याएर चुनाव जितेकी थिइन् । त्यस्ती जनप्रियताको नापोमा नापिएकी नेतालाई राजनीतिबाट घचेट्न उनकै राजनीतिक सहकर्मीहरू हात धोएर लागेका थिए । वास्तवमा उनको लोकप्रियताका कारण उनी २०४८ साल र २०५१ सालमा प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।

 सहाना प्रधान २०४७ सालदेखि २०५४ सालसम्म नेकपा एमालेको पोलिटब्युरो सदस्य भएकी थिइन् । महाकाली सन्धिपछि कम्युनिस्टहरू दुई चिरामा विभाजित भएका थिए । त्यही कारणले एमाले पार्टी पनि फुटेको थियो । त्यसपछि वामदेव गौतमहरू मिलेर नेकपा मालेको स्थापना भएको थियो । अनि उनी २०५४ सालदेखि २०५८ सालसम्म सोही मालेको अध्यक्षमा आसिन भइन् । त्यसपछिको प्रतिनिधिसभाको निर्वाचनमा मालेले शून्य मत ल्याएपछि चार वर्षपछि अर्थात् २०५८ साल फागुन ३ गते उनीहरू फेरि एमालेमा मिसिन गएका थिए । अनि उनी २०६५ सालसम्म पनि राजनीतिमा सक्रिय भएर नै लागिरहिन् । त्यतिखेर उनी एमालेको स्थायी समितिको सदस्य भएकी थिइन् ।

सहानालाई उपप्रधानमन्त्रीभन्दा माथि चढ्नचाहिँ राजनीति र समयसन्दर्भले साथ दिएको थिएन । कतिसम्म भने गणतन्त्र आएपछि राष्ट्रप्रमुखका लागि उनको समेत नाउँ अरू दलबाट प्रस्तावित भएको थियो । तर उनको दलले चाहिँ राष्ट्रप्रमुखका लागि उनको नाउँ सिफारिस गर्ने हिम्मत गरेको थिएन । किनभने उनले बराबर नेपालकै हितमा मात्र काम गरेकी थिइन् । वास्तवमा उनको राष्ट्रमोहका कारण उनलाई राजनीतिको लिस्नो चड्न धोका नै भइरहेको थियो । तर पनि उनले राजनीतिको ‘रा’ छाडेर देशभक्तिको ‘दे’ रोजेकी थिइन् । बालकृष्ण समले भनेझै ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ भन्ने सिद्धान्तमा उनी अटल भएर बेरिएकी थिइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.