केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी- ९

सहाना प्रधानको गुन्यूदेखि शिरबन्दीसम्मको मान र अपमान

person explore access_timeभदौ २०, २०७७ chat_bubble_outline0

सहाना प्रधान जनउत्थान या प्रजातन्त्र र नारी जागरणको हिसाबमा राजनीति गर्थिन्; तर अधिकांशचाहिँ विदेशलाई रिझाउन राजनीति गर्थे । त्यसैले उनीहरूको सोचको बीचमा ठूलो खाडल थियो तापनि उनी भनिरहन्थिन्— ‘महिलाहरूलाई अझै प्रजातन्त्र आएको छैन ।’ वास्तवमा गणेशमान सिंहहरू र सहाना प्रधानहरू समेतले सङ्घर्ष गरेर ल्याएको प्रजातन्त्रमा पछिपछिका दिनमा न गणेशमान सिंहको हैसियत थियो न सहाना प्रधानको नै हैसियत थियो । नेपालमा लुटी ल्याएर भुटी खानेका लागि मात्र प्रजातन्त्र आएको देखिन्थ्यो ।

यसबारे दुःखित हुँदै सहानाकी छोरी उषा श्रेष्ठ बोलेकी थिइन्— ‘अहिलेका नेताहरूले व्यक्तिगत स्वार्थलाई मात्र सर्वोपरी ठान्दछन् । यत्रो राजनैतिक स्वतन्त्रता र महिलाहरूको लागि आन्दोलनमा नेतृत्व लिएकी मेरी आमाले पार्टीबाट र राष्ट्रका तर्फबाट केही सम्मान पाउनु भएन ।’ तर सहाना प्रधानले चाहिँ यो पाएँ र यो पाइँन भनेर कहिल्यै आवाज निकालिनन् । बरु उनले राष्ट्रको चौतर्फी विकास र जनसमृद्धिका लागि मात्र चिन्तन गरिरहिन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालका शब्दमा भन्ने हो भने- ‘सहाना  प्रधान देशभक्तिपूर्ण आन्दोलनमा चिन्तनरत’ राजनेता थिइन् । उनी समग्र नेपालको विषयमा जसरी चिन्तित थिइन्; नारी हक, हित र संरक्षणका लागि त्योभन्दा दोब्बर लागिपरेकी थिइन् । तर पनि राजनीतिको माथिल्लो तहमा रहेर राष्ट्रको विकासहेतु आफ्नो गच्छे रोप्न उनले विहङ्गम दृष्टि राखेकी थिइन् । वास्तवमा उनको सोचअनुसारको काम गर्न उनलाई चारैतिरबाट प्रपञ्च रचिएको थियो । त्यतिखेर उनीप्रतिको धारणा उनका मनले थेग्न नसकेर उनी स्वयम् बोलेकी थिइन्— ‘महिला भएकै कारणले महिला सङ्गठनमा जानुपर्ने मेरो मनले खाएको थिएन ।’ अनि उनको खासै रुचि नभए तापनि उनी २०४६ सालपछि अखिल नेपाल महिला सङ्घमा दुई कार्यकाल अध्यक्ष भएकी थिइन् ।
••
२०१७ सालदेखि २०२४ सालसम्म पुष्पलालसँग दुक्खसुक्ख बाँडेर बनारस बसेका कमलप्रसाद कोइरालाले सहानासँग पनि मनग्गे सङ्गत गरेका थिए । त्यति मात्र होइन पुष्पलालको शेषपछि पनि उनले सहानाउपर यथेष्ट सहयोग, सद्भावना, समर्थन जनाउँदै आएका थिए । अनि कोइरालाले सहानाको व्यक्तित्वमाथि सधैँ भन्ने गरेको संवाद पनि एउटै थियो— ‘नेपालको वामपन्थी आन्दोलनमा सक्रिय, निर्भीक र खुल्ला रूपमा उभिने पहिलो नारी सहाना प्रधान नै थिइन् । जसको तुलना वाम राजनीति गर्ने अरू नारीसँग गर्न अन्याय हुन्छ । उनले राजनीतिमा मात्र विशिष्टता हासिल गरेकी थिइनन्, उनी विदुषी पनि थिइन् ।’

सहानाले राष्ट्रबाट केही पाए पनि र केही नपाए पनि उनको साहस, प्रतिबद्धता र जाँगरको चारैतिरबाट प्रशंसा भइरह्यो । यसै प्रसङ्गमा नेपाली वामपन्थी आन्दोलनका धीर, बौद्धिक र अविरलयात्री पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भावना पोखेका थिए— ‘सहाना प्रधानजस्ता अविचलित योद्धाहरूकै कारण असम्भव ठानिएका धर्ती हल्लाउने घटनाहरू सम्भव भएको हामी पाउँछौँ ।’ नेपाल दलको प्रमुख या भनौँ महासचिवको पदभार सम्हालेर गुटरहित ढङ्गबाट सबैभन्दा लामो अवधिसम्म नेपाल कम्युनिस्ट पार्टीलाई परिचालन गर्ने योद्धा मानिन्छन् । 

सहाना सिद्धान्तकी लखपति थिइन् । उनले कुनै पनि सर्तमा र कुनै पनि हालतमा आफ्नो सिद्धान्तलाई व्यापार बनाइनन् । वास्तवमा नेपाल कम्युनिस्ट पार्टीमा नै उनको प्राण मिसिएको थियो । उनको राजनीतिक उचाइ निक्कै माथिल्लो स्तरको थियो ।

सहाना प्रधानकालीन नेपालको पछिल्लो चरणको राजनीतिक अवस्था तरल रूपमा नै सञ्चालित भएको थियो । भनौँ, त्यतिखेर आश्चर्यजनक रूपमा मुलुक रूपान्तरित भइरहेको थियो । उनकै जीवनकालमा महाकालीको बाउन्ने प्रसाद नै पाएझैँ गरी मपाइँ हुने कर्ता पनि टड्कारै रूपमा देखिएका थिए । त्यसपछि समग्र नेपालकै राजनीति क्रमशःक्रमशः हेरिनसक्नुकै अवस्थामा अनुवाद हुन थालेको पनि पाइयो । सहाना प्रधानको गुन्यू पनि हुन नसुहाउने मान्छे पछिल्ला दिनहरूमा सहानाको शिरबन्दीसम्म जस्ता भएर पनि निस्केका देखिए । तर त्यस्तो दयनीय राजनीतिक अवस्थाचाहिँ सहानाले टुलुटुलु हेर्नुपरेको थिएन । त्यसैले उनको आत्मा धन्य भइरह्यो भन्ने अड्कल गर्ने ठाउँ पनि देखियो । संसद्मा दुई तिहाइको रापमा प्रजातन्त्रलाई पेवा, राजनीतिलाई अधमरो र राष्ट्रियतालाई धराप पार्ने खेलको दृश्यसँगै साँगी लागेर सहानाले रुनुपरेको चाहिँ थिएन । अनि जब उनको जीवनभरिको त्याग, तपस्या र समर्पणबाट प्राप्त सिद्धान्तको निष्कर्षलाई नै ढाल्ने क्रम सुरु हुन थाल्यो तब उनी पनि त्यही ताकदेखि ढल्दै, ढल्दै र ढल्दै जान थालेकी थिइन् । वास्तवमा उनलाई प्रजातन्त्रसँग धेरै लोभ, मोह र प्रेम थियो । यही जनव्यवस्थाको स्थापनाका लागि २००३ सालदेखि बराबर चेप्टिँदै, थेप्चिँदै र कुटिँदै, भोकनिद्रासमेत छोडेर उनी युद्धमैदानमा होमिएकी थिइन् । 

सहाना प्रधानमा देशभक्ति भावना, निष्ठाको राजनीति र नेतृत्व दिन सक्ने खुबी थियो । त्यसैले वैचारिक भिन्नता भएका मध्ये पनि उनको बौद्धिक क्षमता, स्वाभिमान र राष्ट्रवादी धाराउपर नतमस्तक थिए । यसै परिवेशमा २०४६ सालअघि पूर्वाञ्चलमा गठित सात वाममोर्चाका अध्यक्ष नन्दकुमार प्रसाईले उनीबारे भनेका थिए— ‘राजधानीमा वाममोर्चा गठनताक सहाना प्रधानसँग मेरो सैद्धान्तिक र वैचारिक असमझदारी भएको थियो । यति हुँदाहुँदै पनि उनका बारे मलाई भन्न मन लागेको कुरा के हो भने— उनी राष्ट्रियताका लागि समर्पित उच्चस्तरीय राजनीतिज्ञ थिइन् । उनी नेपाल कम्युनिस्ट पार्टीमा अहोरात्र लागिपरेकी बौद्धिक नेतृ थिइन् । पुष्पलाललाई पुष्पलाल बनाउनसमेत पनि सहानाको अधिकतम भूमिका थियो । उनले २००७ सालदेखि बाँचुन्जेल नेपाल कम्युनिस्ट पार्टीमार्फत राष्ट्र र राष्ट्रियताका लागि आफूलाई समाहित गरेकी थिइन् ।’ 

साथै सहानालाई आफ्नो राजनैतिक जीवनको आदर्श मान्ने रामकुमारी झाँक्रीले भनेकी थिइन्— ‘नेपाली राजनीतिमा सहाना प्रधान एउटा अग्लो नाउँ हो । जीवनका अनेक उकाली ओरालीमा अविचलित रूपमा क्रियाशील उनको हर समयको चिन्ता र चासो राष्ट्र र जनताप्रति समर्पित थियो । त्यतिमात्र नभएर देशभक्तिपूर्ण आन्दोलनको अर्को नाउँ पनि सहाना प्रधान नै हो ।’

सहानाको हृदयमा प्रचुर मात्रामा नेपालमोह थियो । नेपालप्रेमबारेको सन्दर्भमा धेरैले मुक्त कण्ठले उनको प्रशंसा गरेका थिए । यसै क्रममा अर्का एक जना देशभक्त राजनेता नारायणमान बिजुक्छेँ ‘रोहित’ले पनि सहानाको सम्मान गर्दै आए र उनले सहाना प्रधानउपर भनि पनि रहे— ‘सहाना प्रधान देशभक्त थिइन् । बाँचुन्जेल उनले राष्ट्रभक्तिप्रतिको धर्म निर्वाह गरिरहिन् ।’ तर उनलाई पार्टीले थेचार्न मात्रै खोजेको थियो ।

सहाना प्रधानको निधनपछि धेरैले धेरै कुरा गरे । धेरैले उनको योगदानको स्तुति पनि गरे । अनि बाँचुन्जेल उनको जरा धोइपखाली गर्न खोज्ने र निधन हुनासाथ उनीप्रति गोहीको आँसु झार्ने पनि देखिए । तर उनका लागि समग्रमा भन्नुपर्दा रवीन्द्र अधिकारीले जे भने त्यो कुरा नै शाश्वत थियो— ‘राजकीय पदका हिसाबले सहाना प्रधान उपप्रधानमन्त्री र दुई पटक काठमाडौँबाट निर्वाचित सांसद भइन् । प्रधानमन्त्री, मन्त्री, सांसद हुनु त्यति ठूलो कुरा होइन; सबैभन्दा ठूलो कुरा त जीवनभर एउटा निष्ठा र आदर्शको राजनीतिमा अविचलित भएर अगुवाइ गर्नु हो, जुन सहाना प्रधानले गरिन् । सहाना प्रधानको जीवन सङ्घर्षले भरिएको एउटा खुल्ला किताब हो, जुन नेपालको राजनीतिको अध्ययन गर्ने नयाँ पुस्ताका लागि अझ उपयोगी हुनेछ ।’


 
सहाना सिद्धान्तकी लखपति थिइन् । उनले कुनै पनि सर्तमा र कुनै पनि हालतमा आफ्नो सिद्धान्तलाई व्यापार बनाइनन् । वास्तवमा नेपाल कम्युनिस्ट पार्टीमा नै उनको प्राण मिसिएको थियो । उनको राजनीतिक उचाइ निक्कै माथिल्लो स्तरको थियो । त्यसैले उनलाई वामदेव गौतमले ‘आमा’ नै मानेका थिए । महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीका शब्द सापटी लिएर भन्नुपर्दा सहाना प्रधान ‘नेपाली आमा’ नै थिइन् । पुष्पलालका आत्मीयजन गोविन्द ज्ञवाली पनि सहाना प्रधानको राजनीतिक निष्ठाप्रति गौरवीबोध गर्थे र भन्थे— ‘म बाह्र वर्ष सहाना प्रधानको राजनीतिक सहकर्मीका रूपमा निकट रहेँ । यस अवधिमा मैले उनको प्रबल इच्छाशक्ति, सुदृढ राजनीतिक निष्ठा, आफ्नो काम र कर्तव्यप्रति समर्पण भाव हेर्ने र अनुभव गर्ने अवसर पाएँ । सहाना प्रधानमा उच्च कोटिको राजनीतिक विश्वसनियता थियो । उनी जे बोल्थिन् त्यही गर्थिन् । उनले राजनीतिलाई ट्रिक, तिकडम र षड्यन्त्रका रूपमा कहिल्यै लिइनन् । उनको व्यवहार पारदर्शी र राजनीति आदर्श थियो ।’ 
 
पुष्पलालसँगसँगै धेरै वर्ष बिताएका नेपाल कम्युनिस्ट पार्टीका प्रेरक हस्ती तथा कम्युनिस्ट पार्टीबाट मन्त्री भएका नेपाली साहित्यका महारथी मोदनाथ प्रश्रितले सहाना प्रधानछेउ बसेर उनलाई धेरै वर्षदेखि हेरिरहेका थिए । त्यसैले उनी सहाना प्रधानको राजनीतिक निष्ठा र बौद्धिक क्षमताबाट आह्लादित भएका थिए । सहाना प्रधानको राजनैतिक चमकमा घोत्लिएर उनले सहना प्रधानबारे भनेका थिए— ‘नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालपछाडि सहाना प्रधानको नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याइपुर्‍याउन सहाना भाउजूको पनि उत्तिकै भूमिका रहेको छ ।’ यति हुँदाहुँदै पनि सहाना प्रधानजस्ती देशभक्त नारीलाई उनैको दलले शीर्ष स्थानमा पुर्‍याउने कसरत गरेन, हिम्मत गरेन र साहसै पनि गरेन ।

सहाना नेपाली पटभूमिमा लामो समयसम्म निष्ठाको राजनीतिमा होमिएर सङ्घर्षले बेरिएकी एक मात्र साहसी नारी थिइन् । अनि यस्ती विशिष्ट कोटीका नारीलाई समेत गणतन्त्रात्मक व्यवस्थाले झल्लु र उल्लु बनाउन दुष्प्रयास गरेकै थियो । तर उनी देशभक्त भएर पनि विदुषी थिइन् र विदुषी भएर पनि राजनीतिक सुझबुझ राख्न सिपालु थिइन् । त्यसैले उनी आफ्नै दलबाट हुने अनेक जाल, षड्यन्त्र र कुचक्रको सिकार हुनबाट जोगिदै आएकी थिइन् । अनि उनले जस्तोसुकै गति वा दुर्गति बेहोर्नु परे तापनि अन्तत: इतिहासले नै उनलाई देशभक्त राजनेताका रूपमा स्थापित गरिदियो ।
    
नेपालको इतिहासको डिलमा उभिएर हेर्दा राष्ट्रप्रमुख या सरकार प्रमुखको पद नै मात्र पनि ठूलो कुरा रहेन । इतिहासमा सुकिलो र मुकिलो भएर अजर र अमर हुन केवल राष्ट्रप्रमुख र सरकार प्रमुख नै पनि भइरहनु पर्दैन भन्ने गतिलो नजिर बहुदलीय व्यवस्थामा गणेशमान सिंह र सहाना प्रधान अनि निर्दलीय पञ्चायती व्यवस्थामा विश्वबन्धु थापा र राजेश्वर देवकोटाले नै स्थापित गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.