बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सहाना र पुष्पलालको अमरप्रेम भाँच्ने जमर्काे

शनिबार, ०३ असोज २०७७, ११ : १५
शनिबार, ०३ असोज २०७७

सहाना प्रधानको पुष्पलालसँग २००४ सालको जुलुसमा नै भेट भएको थियो । त्यति बेला पक्राउ परेर उनीहरू जेलभित्र सँगै पनि बसेका थिए । त्यसभन्दा अघिको जनसङ्गठन र पछिको पार्टीको काममा समेत उनीहरू जाँगरिला भएर सँगसँगै हिँडेका थिए ।

२००४ सालदेखि नै पुष्पलालले सहानाको व्यक्तित्वको रौनक चाल पाउँदै आएका थिए । सहानाको सक्रियताबाट आह्लादित भएर पुष्पलाल क्रमशःक्रमशः सहानाको पछिपछि लागेका थिए । कतिसम्म भने सहाना लखनउमा आईए पढेका बेला पनि पुष्पलाल उनलाई भेट्न दुईपल्ट त्यहाँ गएका थिए । तर त्यस बेला त्यहाँ सहानासँग पुष्पलालको भेट हुन सकेको थिएन । पुष्पलाल उहाँदेखि आफूलाई नै भेट्न आएको बेहोरा सुनेर सहाना धेरै खुसी भएकी थिइन् । त्यतिखेर पुष्पलाल बनारस बस्थे । त्यसताका पुष्पलाल नेपाली काङ्ग्रेसको कार्यालय सचिव भएर काम गरिरहेका थिए ।

पुष्पलाललाई सहाना अति मन परेकी थिइन् । त्यस बेलासम्म उनले सहानाजस्ती सशक्त समकालीन नारी अरू देखेका पनि थिएनन् । त्यसैले उनी सहानालाई भेट्नका लागि नै भनेर २००७ सालमा नेपाल आएका थिए । त्यस बेलाको उनको लक्ष्यचाहिँ सहानालाई फकाउने नै मात्र थियो ।

पुष्पलाल नेपाल आएपछि सहानासँग उनको बराबर सम्पर्क भइरह्यो । त्यति बेलैदेखि उनीहरूको सिद्धान्त पनि मिल्यो, कुरा पनि मिल्यो र मन पनि मिल्न थाल्यो । पछिल्ला दिनहरूमा उनीहरूले एकअर्कालाई मनैभित्रबाट रुचाएका थिए । यति हुँदाहुँदै पनि पुष्पलालको बिहे गर्ने प्रस्तावमा सहानाले सकारात्मक उत्तर चाहिँ दिएकी थिइनन्— ‘अहिले म टेक्ने न समाउने अवस्थामा छु । म मेरो खुट्टामा उभिएपछि मात्र बिहे गर्छु ।’ सहानासँगको वैवाहिक जीवनमा गाँसिने पुष्पलालको सोच त्यतिखेरका लागि असफलै भएको थियो ।

सहानाले बैबाहिक जीवनमा टाँसिन चाहेकी थिइनन् । उनी जति फुत्कन चाहे पनि पुष्पलालले सहानामाथि आफ्नो राजनैतिक, मानसिक र भौतिक जाल बिछ्याउन छाडेका थिएनन् । त्यसैले उनले फेरि दाम्पत्य जीवनमा गाँसिने उद्धेश्य राखेर २००९ सालमा सहानासँग भेट गरे । त्यतिखेर पुष्पलालले चाँडोभन्दा चाँडो बिहे गर्न सहानासँग प्रस्ताव राखे । पुष्पलालको आफूउपरको सम्मान, समर्पण र प्रेमबाट त्यस बेलासम्ममा सहाना पनि राम्ररी नै पग्लिन थालिसकेकी थिइन् ।


पुष्पलाल सहानाभन्दा जातमा एक तहमुनि भएकाले सहानाका घरका मान्छेले पुष्पलाललाई त्यतिसारो मन पराएका थिएनन् । गङ्गालाललाई फाँसी दिएपछि त्यस परिवारको सम्पत्ति पनि सरकारी भइसकेको थियो । भनौँ, गङ्गालालको सर्वस्व हरणका कारण त्यस परिवारको सिरीखुरी नै भएको अवस्था थियो । पुष्पलालचाहिँ गङ्गालालका माहिला भाइ थिए । त्यसैले पुष्पलालको आर्थिक अवस्था दयनीय नै थियो । वास्तवमा त्यस बेला उनीहरू तन्नमैको अवस्थामा नै पुगिसकेका थिए । आर्थिक रूपमा पुष्पलालको घरायसी अवस्था खण्डहर भएको सहानाका बुबालाई पनि कण्ठाग्र थियो । त्यसैले पुष्पलाल आफ्ना घरमा नआइदिए हुन्थ्यो भन्ने सहानाका बुबाको भावना थियो । तर पुष्पलालचाहिँ सहानालाई भेट्न बराबर सहानाका घरमा धाउने गर्थे । सहानाका परिवारजनलाई मन नपरे तापनि त्यतिखेर उनीहरू एकअर्कासँग समर्पित भइसकेका थिए । उनीहरू गहिरो प्रेम बन्धनमा बाँधिइसकेका थिए । अनि सहिद गङ्गालाल श्रेष्ठकी पत्नी हसिना र भाइ विजयलाल श्रेष्ठले सहाना र पुष्पलालको प्रेमसम्बन्ध प्रगाढ भएको बेहोरा थाहा पाइसकेका थिए ।

एकातिर पुष्पलाललाई सहानाको घरपरिवारले फुटेको आँखाले पनि देख्न सक्तैन थिए । अर्कातिर पुष्पलाल भने मीठा कुरा गर्थे र सहानाका परिवारका सबैलाई आदर र सम्मान गर्थे । उनी थोरै बोल्थे तर उनको बोलीमा जादु हुन्थ्यो । उनलाई जति अपमान गरे तापनि उनी सहानाका घर जान छाड्दैन थिए । अन्ततः उनको सरल, शालीन र सौम्य व्यवहारका कारणले उनीप्रति सहानाका घरपरिवारको स्नेहमा बढोत्तरी हुन थालेको थियो । तर पनि उनलाई ज्वाइँ बनाउनचाहिँ कसैको पनि मन्जुरी थिएन । त्यसै ताका नै मनमोहन अधिकारीको चाहिँ सहानाकी दिदी साधनासँग प्रेमप्रसङ्ग चलिरहेको थियो । बाहुन भनेर अधिकारीलाई भने त्यस परिवारले खुबै आदर गरेको थियो ।

पुष्पलालको भावनात्मक शक्तिले सहाना प्रधान उनकी बेहुली बन्न राजी भएकी थिइन् । घरपरिवारको मन्जुरीबिना नै सहानाले पुष्पलाललाई वरण गर्ने निश्चय पनि गरिन् । अन्ततः क्षेत्रपाटीका तीर्थप्रसाद ढुङ्गानाका घरमा उनीहरूको बिहे हुने कार्यक्रमको नक्सा कोरियो । बेहुलाबेहुलीका आआफ्ना साथीसङ्गीहरूमाझ पुष्पलाल र सहानाको प्रेमविवाह २०१० साल माघ २ गते सम्पन्न भएको थियो । त्यस विवाहको कार्यक्रमका हर्ताकर्ता मनमोहन अधिकारी थिए । त्यो दिनभरि विवाहको रमझम भयो । अनि साँझपख पुष्पलालले आफ्नो घर यट्खाको दमाईं टोलमा बेहुली भित्र्याएका थिए । बीए पढेकी बुहारी भित्रँदा पुष्पलालका बुबाले घरमा दीपावली पनि गरेका थिए । 

पुष्पलाल र सहानाको विवाहमा सहानाका घरबाट भने एक जना मानिसको समेत उपस्थिति थिएन । यता पुष्पलालका बुबाले सहानालाई क्रान्तिताकादेखि नै चिन्दै आएका थिए । तर क्रान्तिकारी सहानाबाट पुष्पलालको घर हुँदैन नै भनेर त्यस बिहेमा पुष्पलालका घरपट्टिबाट पनि कसैको उपस्थिति भएको थिएन । साथै सहानाको बिहेको केही महिनापछि उनकी दिदी साधनाको बिहे मनमोहन अधिकारीसँग भएको थियो । अनि उनीहरूको बिहे विजेश्वरी मन्दिरमा भएको थियो । अधिकारीचाहिँ बाहुन भएकाले सहानाका बुबा र उनको घरपरिवारै हर्षबढाइँका साथ साधनाको बिहेमा सरिक भएका थिए ।

सहाना र पुष्पलालको दाम्पत्य जीवन आपसी प्रेम, विश्वास र समझदारीमा अडेको थियो । उनीहरूमध्ये सहानाले घर खाने, छोराछोरीको हेरविचार गर्ने, कमाउने र पुष्पलालले चाहिँ राजनीति गर्ने उनीहरूको व्यावहारिक परिस्थिति स्थापित भएको थियो । पुष्पलाल सरकार विरोधी राजनीतिमा लागेका कारण उनका लागि नेपाल आइरहनु खतरा थियो । त्यसैले हरेक वर्षको कम्तीमा पनि दुईपल्ट सहाना आफ्ना पति पुष्पलाललाई भेट्न छोराछोरीसहित भारत पुग्ने गर्थिन् । त्यतिखेर पुष्पलाल प्रायः बनारस नै बस्ने गर्थे । उनीहरू त्यसरी टाढाटाढा बसेको बेहोरा शत्रुपक्षले नाफा नै ठानेका थिए । त्यसैले त्यही मौकामा दुवैतिरका स्त्रीपुरुषलाई भड्काउनेहरूको पनि अनिकाल लागेको थिएन । त्यस कालखण्डमा सहाना र पुष्पलालको सम्बन्ध बिग्रियोस् भन्ने नै धेरै थिए । पुष्पलालका आत्मीय सहयोगी गोविन्द ज्ञावालीका अनुसार पुष्पलाल र सहानाको सम्बन्ध बिगार्न मनमोहन अधिकारी पनि लागेका थिए । यति हुँदाहुँदै पनि यी दम्पतीको एकअर्काप्रतिको प्रेम, व्यवहार र सम्बन्धमा कहिल्यै आँच आएन  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप