केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी-५

सहाना प्रधान नेपाल आउँदाकाे दु:खद‍्यात्रा

person explore access_timeसाउन २४, २०७७ chat_bubble_outline0

सहान प्रधानका घरमा नौँ जनाको परिवार थियो । ती नौँ जना नै घर छाडेर रेल चढ्न हिँडेका थिए । त्यतिखेर उनीहरूका भरपर्दो साथी सेतु नाउँ गरेका नरहरि खनाल थिए । साथै लडाइँमा टिक्न नसकेका बन्दुकधारी सिपाहीहरु पनि उनीहरुका दलमा मिस्सिएका थिए । 

अनि खनाल र  ती भगुवा सिपाहीहरु सहित रेल चढेर उनीहरू राति माण्डले पुगेका थिए । त्यस ठाउँको अमरावतीमा पानीजहाज घाट थियो । त्यो ठाउँ निस्लोट अँध्यारो थियो । त्यही ठाउँमा किनारा लागेर उनीहरू गुजुल्टिँदै बसेका थिए । भोलिपल्टको झिसमिसेमा उनीहरूले त्यस ठाउँमा कहालीलाग्दो दृश्य देखेका थिए । भनौँ, त्यस ठाउँमा हजारौँ मान्छेको लास देखिएको थियो । तीमध्ये धेरैको हातखुट्टा नै थिएन, कसैको टाउकै थिएन र कुनै लासहरू आधा मात्र थिए । त्यहाँ कोही जिउँदै छटपटाइरहेका पनि देखिन्थे । कोही अर्ध चेतनामा रुने गर्थे । कुरा बुझ्दा अघिल्लो दिनमा त्यहाँ धेरैपल्ट बम खसाइएको रहेछ । अनि हजारौँको एउटै ठाउँमा चिहान भएको रहेछ । त्यो दृश्य हेरेर सबै जना आत्तिएका थिए । अनि सहाना परिवारका नौँ जनाकै सातोपुत्लो गएको थियो ।

सहानाहरू भामो जानका लागि ऐरावती नदीबाट पानीजहाजमा चढेका थिए । बम हानिएका कारण त्यस ठाउँमा अघिल्लो दिनसम्ममा एक सय वटा जति पानीजहाज नदीभित्रै डुबिसकेका थिए । त्यसैले त्यसदिन पानीजहाजमा पनि उनीहरू थर्कमान भएर बसेका थिए । त्यतिखेर उनीहरूले पानी जहाजबाट कैयौँ चोटी लडाकूजहाजहरू ओहोरदोहोर गरिरहेको देखिरहेका थिए । पानीजहाज चढेको सातौँ दिनमा उनीहरू भामो सहरमा पुगेका थिए । त्यतिबेला ऐरावती नदीबाट पानीजहाजमा भामो पुग्न सात दिन लाग्थ्यो भने यतिखेर चौबीस घण्टा मात्र लाग्छ । भामो सहरमा पनि बमवर्षाका कारण जतासुकै मान्छेका लास मात्र देखिन्थे । सेतु भनिने नरहरि खनाल चाहिँ त्यहीँदेखि उनीहरूको साथबाट हराएका थिए । अनि सहानाहरूचाहिँ पानीजहाजबाटै कत्था भन्ने सहरतिर लागेका थिए । त्यस सहरको हालत पनि मुर्दैमुर्दामा रूपान्तर भएको देखिन्थ्यो । त्यहाँ पनि सद्धे मान्छे कतै भेटिएका थिएनन् । जतासुकै रेल पल्टेका, घर भत्केका र मान्छे लडेका दृश्य हेर्दै उनीहरू कत्थामा बसिरहेका थिए । कत्थाभन्दा अगाडि जानका लागि कुनै पनि प्रकारको यातायातका साधन थिएन । अब उनीहरूका लागि पैदल यात्राको सुरुवात गर्नुपर्ने अवस्था आएको थियो । त्यसैले सबै जनाले खानेकुराबाहेक आफूसँग भएका सम्पूर्ण कुरा फ्याँकेका थिए । ती बस्तु फाल्दा त्यतिखेर सहाना बेजोडले रोएकी थिइन् ।


केही दिन पैदल हिँडेपछि जगाईतिरबाट सहानाका कानमा हवाईजहाजको आवाज सुनियो । उनी फेरि डरले आच्छुआच्छु भइन् । लडाकू हवाईजहाज देखेर उनीहरू लुक्न थालेका थिए । अनि झन् सारो हवाईजहाज नजिकै आउँदा उनीहरू चिच्च्याउन थालेका थिए । जहाजले उनीहरूका लागि खानेकुरा फालेको रहेछ । अनि त्यो जहाज खाने सामग्री फालेर अक्कासिएको थियो । त्यो बेलायती जहाजले फालेको चामल, पीठो, चिनी, बिस्कुट आदि खानेकुरा भएको ठाउँमा सहाना घोप्टो परेर सुतेकी थिइन् । धेरेजसोले त्यसै गरी आफ्नो अधिनमा खानेकुरा राखेका थिए । अनि पछि बोक्न सकेजति खानेकुरा बोकेर उनीहरू हिँडेका थिए ।

बाटामा हिँड्दै जाँदा सहानाहरू पानी खान नपाएर प्याकप्याक हुन्थे । त्यसै बेला पानी पनि भेटिएको थियो । तर त्यही पानीमा ‘विष छ नखानू’ भनेर लेखिएको देखिन्थ्यो । साथै छेउमै मान्छे मरेको पनि भेटिन्थ्यो । त्यसैले पानीमा विषै रहेछ भन्ने पनि उनीहरूलाई भान भइसकेकै थियो । बाटामा पानी नभेटेर तीन दिनजति पानी नखाईकन पनि सहानाहरू पैदल हिँडिरहे ।

सहानाले पाँचवटा फ्रक लगाएर म्यान्मा छाडेकी थिइन् । बाटामा उनले लगाएका लुगा झुत्रो भइसकेको थियो । उनका कपालमा लट्टा परेका थिए । एक महिनाजति पैदल हिँडेपछि उनले चारवटा फ्रक फालिसकेकी थिइन् । पाँचौँ नम्बरको फ्रक पनि काँडाले च्यातेर धुजाधुजा हुने क्रममा थियो । ती पाँचवटा फ्रक क्रमशः फाट्दा उनले फाटेको ठाउँमा गाँठो पारेर पनि लगाएकी थिइन् । पछिल्लो दिन बाटामा शरणार्थीलाई दिने खद्धरका कपडा लगाएर उनले आफ्नो लाज ढाक्न पाएकी थिइन् ।

टमुको बाटामा सहानाका बर्मेली काका, भैरवका आमा, श्रीमती र तीन जना छोराहरू पनि त्यस दलको यात्रामा उनीहरूकै समूहमा सँगै थिए । महिना दिनसम्म हिँड्दै जाँदा भैरवकी श्रीमती र तीनै जना छोराको बाटैमा निधन भएको थियो । अनि बाटोको छेउमा उनीहरूलाई सुताएर सलाई कोरेर उनीहरूका शरीरमा आगो लगाएका थिए । सलाईका काँटीले जति आगो लागेको थियो त्यस उप्रान्त उनीहरूले गर्न सक्ने अरू उपाय नै केही पनि थिएन । रुँदै, कराउँदै र भोकै, तिर्खै उनीहरू बेहाल भएर नागाल्याण्ड आइपुगेका थिए । त्यसपछि सहानाका बर्मेली काका भैरवचाहिँ वनारसतिर लागेका थिए ।
म्यान्माबाट नेपाल आउने क्रममा उनीहरूको हरिबिजोग भएको थियो । त्यति बेला उनीहरू मरीतरी भारतको नागाल्याण्डसम्म त आइपुगेका थिए । त्यसपछि सैनिकको ट्रकमा उनीहरूको यात्रा अघि बढिरहेको थियो । त्यसै बेला मध्यरातमा उनीहरू चढेको ट्रक सडकबाट चालिस फुट तल खसेको थियो । त्यस दुर्घटनामा सात जना मानिस ठहरै भएका थिए । सहानालाई आफूहरूसँग नदेखेपछि उनकी हजुरआमा चिच्च्याएकी थिइन् । हजुरआमाको बोली सुनेर सहाना पनि कराएकी थिइन्— ‘म यहाँ छु ।’ खोज्दै जाँदा उनी ट्रकको फल्याक खसेर टाँड परेको ठाउँमुनि चेपिएर बसेकी रहेछिन् । भर्खर रोपिएको धानखेत भएकाले उनको एउटा खुट्टाचाहिँ धान रोपेको हिलोमा भासिएको रहेछ । त्यतिखेर उनीहरुका परिवार प्राय: घाइते भएका थिए । अनि उनीहरुलाई जिपले डिम्मापुर अस्पतालमा पुर्याएको थियो । त्यस अस्पतालमा उपचारार्थ उनीहरु सात दिन बसेका थिए ।  

सहानाहरू रेल, पानीजहाज र ट्रक चढेर अनि दुई महिना अनेक कष्ट खेपेर पैदल हिँडेपछि नेपाल आइपुगेका थिए । नेपाल आउँदा उनीहरूलाई एक प्रकारको रमाइलो भएको थियो । नेपाल मेरो जन्मभूमि रहेछ भन्ने ज्ञान त्यस बेला मात्र सहानालाई बोध भएको थियो । तर पनि उनी निकै समयसम्म म्यान्माकै न्यास्रोमा थिइन् ।  

सहानाले काठमाडौँको आफ्नो घरका कुनै पनि रीतिरिवाज मन पराइनन् । उनका घरमा सामन्ती प्रथाको टड्कारो स्थिति उनले आफ्नै आँखाले देख्न थालिन् । तर उनले घरमा विद्रोह गर्ने अवस्था पनि थिएन । घरमा एकातिर हैकमवादीहरू थिए भने अर्कातिर गाँसवासकै समस्या देखा पर्न थालेको थियो । वास्तवमा त्यस घरको रहनसहन उनलाई पटक्कै मन परेको थिएन । त्यसपछि उनी आफ्ना माहिला बुबा खोज्दै दक्षिणकालीछेउको कोकु भन्ने तामाङ गाउँमा पसेकी थिइन् । त्यतिखेर उनका माहिला बुबा त्यहाँका जिम्वाल थिए । 

सहाना आफ्ना माहिला बुबाको कोकु गाउँमा नै रमाउन थालिन् । उनको त्यहाँ पढाइलेखाइ हुने वातावरण पनि थिएन । त्यसैले त्यहाँ उनको मुख्य काम भनेको गाईबस्तु हेर्ने, गाई दुहुने, गोबर सोर्ने, गाईबस्तुका लागि घाँस काट्ने नै थियो । उनी प्रायः हरेक दिन मकै, भटमास पोल्टामा हालेर गाई चराउन जाने गर्थिन् । त्यस घरमा ढिँडो खान पाइन्थ्यो र उनका लागि त्यो नयाँ परिकारकै भोजन मानिन्थ्यो । त्यस ठाउँमा बस्ने उनको त्यो क्रम उनका माहिला बुबाको निधनपछि समाप्त भएको थियो । त्यहाँ उनी दुई वर्ष बसेकी थिइन् । माहिला बुबा दिवङ्गत भएपछि उनले त्यस प्रकारको सहारा अन्त कतै भेटिनन् । त्यसपछि उनी आफ्नै घर काठमाडौँ नै आएकी थिइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.