बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पुष्पलालका अन्तिम वाणी : सहाना ! तिमीलाई मैले दु:ख मात्र दिएँ

शनिबार, १५ कात्तिक २०७७, ०८ : ५४
शनिबार, १५ कात्तिक २०७७

सहाना प्रधान र पुष्पलाल दिल्लीमा थिए । त्यसैबीच पुष्पलाल बिरामी परे । उनी लरतरो बिरामी पर्दा टेरपुच्छरै लगाउँदैन थिए । त्यसैले बिरामी परेका बेला पनि उनले दौडधुप गर्ने काम छाडेका थिएनन् । ‘आराम गर्नु नि ! शारीरिक यन्त्रले पनि कतिन्जेल थाम्छ ?’ आफ्ना पतिको खिइँदो अवस्था देखेर त्यतिखेर सहानाले भनेकी थिइन् । ‘अन्नपानीको शरीर हो, कहिलेकाहीँ यस्तै हुन्छ’ भनेर पुष्पलालले आफ्नी पत्नीलाई जवाफ फालेका थिए । बिरामी भएर सुत्तै, बस्तै उठ्तै गर्दा पुष्पलाललाई केही आराम भएजस्तै भएको थियो । अनि उनी अर्ध बिरामी शरीर लिएर दरभङ्गामा हुने कम्युनिस्टको सभामा भाग लिन गएका थिए । त्यस बखत सहानाले जति जोड गरे पनि उनी रोकिएका थिएनन् । उनका लागि जिउभन्दा कर्तव्य ठूलो मानिन्थ्यो ।

पुष्पलाल रोगलाई नटेरी दरभङ्गा पुगे । तर त्यहाँ पुगेपछि उनी थला परेका थिए । उनी सिकिस्त भएपछि उनले वनारसमा भएका आफ्ना अति हितैषी गोविन्द ज्ञवालीलाई बोलाएका थिए । ज्ञवाली पनि दरभङ्गा पुगे । त्यसपछि पुष्पलाललाई अस्पतालमा भर्ना गरियो । केही दिनपछि सहानालाई गोविन्द ज्ञवालीले ‘पुष्पलाल दरभङ्गा अस्पतालमा भर्ना हुनु भएको छ’ भन्ने समाचार पठाएका थिए । उक्त समाचार सुनेपछि सहाना प्रधान नराम्रोसँग आत्तिएकी थिइन् ।
‘पुष्पलालका लागि दरभङ्गामा राम्ररी उपचार हुन सक्ने सम्भावना रहेन । ‘उहाँलाई लिएर हामी दिल्ली नै आउँदै छौँ ।’ फेरि पनि सहाना प्रधानलाई गोविन्द ज्ञवालीले समाचार पठाएका थिए । 

पुष्पलाललाई उपचारका लागि दरभङ्गाबाट रेल चढाएर दिल्ली पुर्‍याइएको थियो । त्यति बेला पनि पुष्पलालको सम्पूणर् हेरचाह गर्ने गोविन्द ज्ञवाली नै थिए । दिल्लीमा पुगेपछि स्थानीय राममनोहर लोहिया अस्पतालमा पुष्पलाललाई भर्ना गरिएको थियो । त्यस अस्पतालमा उनको बिराम पत्ता लगाउन नै चार दिन लागेको थियो । त्यस अस्पतालले उनको मुटुुसम्बन्धी रोग भएको बेहोराको नतिजा दियो । अनि त्यसपछि मुटु रोगको विशिष्टता हासिल गरेको गोविन्दवल्लभ अस्पतालमा उनलाई पुर्‍याइएको थियो । 

पुष्पलालको नाउँचाहिँ ठूलो थियो तर आयस्ता थिएन । उनको मन ठूलो थियो तर उनीसँग धन भने थिएन । उनी जति माथिल्ला कोटीका बौद्धिक थिए, आर्थिक रूपमा महाकमजोर थिए । त्यसैले उनी त्यस अस्पतालको साधारण शैय्या भनौँ जनरल वार्डमा नै भर्ना भएका थिए । त्यहाँ उनलाई हेर्न चन्द्रशेखर (पछि भारतका प्रधानमन्त्री) पनि अस्पतालमा आएका थिए । पुष्पलाल तथा सहानाकी छोरी उषा श्रेष्ठका अनुसार अस्पतालका प्रमुखलाई चन्द्रशेखरले भनेका थिए— ‘पुष्पलाल हाम्रो साथी हुनुहुन्छ । उहाँलाई क्याबिनमा राख्नुपर्छ ।’ चन्द्रशेखर बोलेपछि पुष्पलाललाई उच्चस्तरीय कक्ष अथवा भनौँ क्याबिनमा तुरुन्तै सारिएको थियो । केही दिनपछि उनलाई झन् गाह्रो हुन थालेको थियो । त्यसपछि उनलाई आईसीयुमा राखिएकोे थियो । त्यही बेला चन्द्रशेखरले ‘तपाईंलाई विदेश लानुपर्ने भयो र अब हामी हाम्रैतर्फबाट तपाईंलाई विदेश पठाउँदै छौँ’ भनेका थिए । तर पुष्पलालले चन्द्रशेखरको प्रस्तावलाई अस्वीकृत गरिदिएका थिए । किनभने पुष्पलालले त्यस बेला भारतीय नेताका कारण विदेशमा गएर औषधि उपचार गर्दा आफ्नो स्वाभिमानमा असर पर्ने बेहोराको महसुस गरेका थिए ।   

आईसीयुमा पुष्पलाललाई निकै कष्ट भइरहेको थियो । उनको त्यो कारुणिक दृश्यको साक्षी सहाना प्रधान थिइन् । त्यस बेलाको दृश्यका कारण हरपल सहानाका छातीमा पीडाको भँगालो बगिरहने गथ्र्यो । त्यस बखत उनले आफूलाई सम्हालेर पुष्पलालको सेवा गरिरहेकी थिइन् । पुष्पलाललाई स्वाँस्वाँ भइरहेको थियो । उनी बोल्न पनि नसक्ने अवस्थामा थिए । एक पटक उनले आफ्नो मास्क आफैले खोलेर सहाना सामु स्वाँस्वाँ गर्दै बोलेका थिए— ‘सहाना ! तिमी...ला...ई मै...ले दुक्...ख मात्र दि...एँ । तिम्रो नि...म्ति मै...ले के...ही ग..र्न सकि...नँ । अब अ...गाडि...का काम...पक्कै पनि ति...मीले ग...र्छौ होला ।’ 

पुष्पलालका वाणी सुनेर सहानालाई त्यस बेला नमीठो लागिरह्यो । पुष्पलालको संवादले उनको पेट निचोरिएको थियो । त्यस क्षण उनको मनको बाँध बेजोडले फुटेको थियो । पतिका अगाडि उनलाई आफ्नो मन थाम्न सारै कठिन भएको थियो । अनि उनी कोठाबाहिर आइन् । पुष्पलाल जाने भए भन्ने त्यतिन्जेलमा उनीमा आभास आइसकेको थियो । टिलपिलटिलपिल उनका आँखाबाट आँसु झरिरहेका थिए । त्यसै बेला गिरिजाप्रसाद कोइराला र शैलजा आचार्य पनि पुष्पलाललाई हेर्न अस्पताल पुगेका थिए । 

अस्पतालमा आएका पाहुनापासासँग बोलेर सहाना प्रधान आईसीयुभित्र पसेकी थिइन् । त्यति खेरसम्ममा उनका पति पुष्पलालको स्वर्गारोहण भइसकेको थियो । २०३५ साल साउन ७ गते बिहानको १० बजे नेपाल कम्युनिस्ट पार्टीका प्रवर्तक पुष्पलालले आफ्नो देह त्याग गरेका थिए । 

पुष्पलालको निधनपछि चन्द्रशेखरका निजी सचिव गोविन्दवल्लभ अस्पतालमा पुगेका थिए । चन्द्रशेखरकै आग्रहअनुसार पुष्पलाल क्याबिनमा बसेका हुँदा अस्पतालमा लागेको सम्पूर्ण रकम उनैले तिर्न उनले आफ्ना सचिवलाई पठाएका थिए । अस्पतालमा तिर्नुपर्ने रकम सहानाले नै जोहो गरेकी थिइन् । त्यसैले सहानाले चन्द्रशेखरका निजी सचिवलाई धन्यवाद दिदै भनेकी थिइन्— ‘पैसा म नै तिर्छु । उहाँको इच्छा पनि त्यही नै थियो ।’ तर चन्द्रशेखरका निजी सचिवले त्यो पैसा चन्द्रशेखरकै तर्फबाट तिर्नु पर्नेबारे सहानालाई सम्झाएका थिए । अन्ततः चन्द्रशेखरकै तर्फबाट अस्पतालमा लागेको सम्पूर्ण खर्च बेहोरिएको थियो । 

पुष्पलालको निधन भएको भोलिपल्टै दिल्लीको निगमवोधघाटमा उनको दाहसंस्कार गरिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली चढाउन र सहाना प्रधानलाई समवेदना दिन दिल्लीमा नै उपचार गरिरहेका गणेशमान सिंह, तुलसीलाल अमात्य, हिकमतसिंह भण्डारी र पछिल्लो समयमा ‘गद्दार पुष्पलाल’ भन्नेहरू पनि निगमवोधघाट पुगेका थिए । साथै चन्द्रशेखर लगायत भारतीय नेताहरूको पनि घाटमा उपस्थिति थियो । स्मरण रहोस्— उपचारका क्रममा आठ बर्षअघि अर्थात २०२७ सालमा दिल्लीमा नै निधन भएका पुष्पलालका बुबा भक्तलाल श्रेष्ठलाई पनि सोही निगमवोधघाटमा दाहसंस्कार गरिएको थियो ।   

पुष्पलालको पार्थिव शरीर नेपालमा ल्याउन सहानाले इच्छा प्रकट गरेकी थिइन् । तर तत्कालीन सरकारबाट त्यो बेहोरालाई अस्वीकृत गरिदिएको थियो । कतिसम्म भने उनको अस्तुसम्म पनि नेपाली माटोमा छुवाउन प्रतिबन्ध नै गरिएको थियो । यतिहुँदाहुँदा पनि उनको अस्तु नेपालमा भित्रिएको थियो । दुर्गा पौड्यालका अनुसार ‘एकजना कर्मठ साहसी योद्धा आर.सी. चापागाईँबाट पुष्पलालको अस्तु देशभित्र ल्याउने काम भएको थियो ।’  

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको निधनले त्यतिखेर नेपाली राजनीतिमा बादल लागेको थियो । साथै त्यस दिन नेपालका निष्ठावादी वामपन्थीहरूका आँखा रसाएका थिए । त्यस घटनाले उनीहरूको शिरको टोपी खसेको थियो । त्यति मात्र होइन, उनीहरूले आफ्नो आकाश रित्तो देखेका थिए । वास्तवमा नेपालका अर्का एउटा राजनेताको निधनले पृथ्वीभरि दुःखद सन्देश सम्प्रेषण भएको थियो । 

पुष्पलालको निधनमा धेरैले धेरै कुरा बके । दुर्गा पौड्यालका शब्दलाई अघि सारेर भन्ने हो भने— ‘पुष्पलालको मृत्युपछि उनलाई गाली गर्नेहरूले पनि उनको सम्मान गर्न थाले र उनका नाउँमा छुट्टाछुट्टै स्मृति दिवस मनाउन थाले ।’ अनि उनका बीसौँ वर्षका दुक्खसुक्खका सहयोगी गोविन्द ज्ञावालीले चाहिँ भनेका थिए— ‘पुष्पलाल बाँचुन्जेल असफल र अभागी मानिए तर उनी मरेपछि सफल र भाग्यमानीमा दरिए ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप