केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी-३

सहाना प्रधानको जन्म र शिक्षा

person explore access_timeसाउन १०, २०७७ chat_bubble_outline0

काठमाडौँमा सुनजस्तो जीवन भोगिरहेका शङ्करलाल प्रधानको परिवार सहाना प्रधानको जन्म ताका भने पित्तलजस्तै जीवन भोगाइका क्रममा झरिसकेको थियो । शङ्करलाल प्रधानले पारिवारिक अनुशासनको कठोर रीत र आर्थिक कठिनाइसँग युद्ध गरिरहेका बेला सहाना प्रधानको जन्म भएको थियो । 

सहानाको जन्म १९८४ साल असार २७ गते काठमाडौँको असनमा भएको थियो । चार वर्षसम्म नेपालको हावापानीमा रमाएपछि उनी बर्माको माटोमा बाल्यकाल बिताउन पुर्याइएकी थिइन् ।   

सहानाको घरेलु नाउँ चिनी र उनकी दिदी साधनाको नाउँ मिश्री थियो । पछि सहानालाई बद्रीफूल भन्न थालिएको थियो । पछिल्ला दिनमा साधनालाई पनि मिश्री नभनेर कृष्णफूल भन्ने गरिन्थ्यो । 

बर्माबाट नेपाल आउँदा सहाना १७ वर्ष पुगेकी थिइन् । बर्माबाट फर्केपछि उनको नाउँ बद्रीफूल हटाएर सहाना राखिएको थियो । साथै कृष्णफूल नाउँ भएकी जेठीलाई पनि नेपाल पसेपछि साधना भन्न थालिएको थियो । सहानाका बुबा बर्मामा बसेका बेला नेपालमा जन्मिएकाले कान्छो छोराको नाउँ ब्रह्मलाल राखिएको थियो । नेपाल फर्केपछि उनलाई पनि शङ्करप्रसाद भन्न थालियो ।  



सहाना बर्मा पुगेको ६ महिनापछि स्कुलमा भर्ना भइन् । देवशमशेरका वंशजले बर्मामा नेपाल स्कुल नाउँको प्राथमिक विद्यालय स्थापना गरेका थिए । सोही स्कुलमा सहानालाई भर्ना गरिएको थियो । त्यस स्कुलमा तीन कक्षासम्म मात्र पढाइ हुने भएकाले चार कक्षादेखि उनलाई अर्कै स्कुलमा पुर्याइएको थियो । भनौँ त्यसपछि उनी बर्मेली स्कुलमा पढ्न थालेकी थिइन् । तर, त्यहाँ उनले ६ महिना मात्र पढिन् । अनि उनलाई मद्रासी स्कुलमा पुर्याइएको थियो । त्यस स्कुलमा उनले पाँचदेखि सात कक्षासम्म पढिन् । बर्मामा उनको पढाईको दैलो त्यतिमा नै बन्द भयो । पढ्दापढ्दै सहाना परिवारसहित उनी नेपाल फर्किइन् । त्यो समय २००१ सालको असार महिना थियो । 

बर्माबाट नेपाल आएपछि सहानाका दाजुभाइलाई स्कुल भर्ना गर्नेबारे छलफल भयो । तर, छोरी भएका कारण साधना र सहानालाई स्कुलमा नपठाउने निर्णय भएको थियो । त्यहीअनुरूप उनका दाजुभाइचाहिँ दरबार स्कुलमा भर्ना पनि भए । ‘यदि बर्मा नगएकी भए म काठमाडौँमा गोठालो नै हुने थिएँ’ भन्ने बेहोराको सहानालाई त्यतिखेर नै महसुस भएको थियो । 

सहानालाई पढ्न खुबै रहर थियो । तर, घरको कठोर अनुशासनको फेरोमा परेर उनी केही बोल्न सक्तिन थिइन् । कितापकापी उनका प्रिय चिज थिए । तर, पढ्न नपाएपछि आफ्ना अभिभावकउपर उनको मनमा कालो छाया रगडिन थालेको थियो । यसै प्रसङ्गमा सहानाले आफ्नी हितैषी सुशीला श्रेष्ठलाई भनेकी थिइन्, ‘कहिलेकाहीँ दाइभाइको किताप मैले समाएको बाजेले देख्नुभयो भने ‘कलियुग, कलियुग’ भन्नुहुन्थ्यो ।’ बाजेका दृष्टि र भावनाका कारण सहाना खिन्न हुन्थिन् । तैपनि उनले लुकीचोरी पढ्न छाडेकी चाहिँ थिइनन् ।

सहाना र साधनाले अनेक तरह गरेर पढ्न थालेका थिए । दुईतीन महिना भए पनि ट्युशन पढेर जाँच दिन उनीहरूले आफ्ना बुबासँग गुहार मागेका थिए । तरुनी छोरीलाई तन्नेरीहरूले पढाउँदा बिग्रिन्छन् कि भन्ने उनीहरूका बुबालाई डरै थियो । किनभने त्यति बेला गुरूआमा पाइदैन थिए । कुनै बिघ्नबाधा नपारोस् भनेर घरमा कडा निगरानीका साथ ती दिदी बहिनीलाई ट्युशन पढाइएको थियो । त्यतिखेर उनीहरूलाई ट्युशन पढाउने  गुरुहरू प्रेमबहादुर कंसाकार, रेणुलाल सिंह, भुवनलाल प्रधान र तीर्थप्रसाद ढुङ्गाना थिए ।  

घरमा नै पढेर सहाना र साधना दशौँ कक्षाको टेस्टको परीक्षा दिने अवस्थामा पुगिसकेका थिए । त्यसै क्रममा उनीहरूलाई परीक्षामा सम्मिलित पनि गराइएको थियो ।  त्यस बेलासम्म केटीहरूले जाँच दिने प्रचलन पनि थिएन । दस कक्षा भनेको केटीहरूका लागि माथिल्लो स्तरको पढाइ मानिन्थ्यो । त्यतिखेर साधना र सहानाले दरबार हाईस्कुलबाट टेस्ट परीक्षा दिएका थिए । त्यतिखेर दरबार हाईस्कुलका हेडमास्टर बोधविक्रम अधिकारी थिए । 

साधना र सहाना प्रवेशिका परीक्षा दिन गएको बेहोराको हल्लाले टोलै उचालिएको थियो । ती दुई दिदीबहिनी परीक्षा दिन हिँडेको हेर्न टोलका किशोरकिशोरीको बाटोमा भीड लाग्ने गर्थ्यो । वास्तवमा त्यसभन्दा अघि नेपालमा टेस्टसम्म पढ्ने केटीहरू पनि थिएनन् । त्यतिखेर नेपालबाट प्रवेशिका परीक्षा दिने साधना प्रधान, सहाना प्रधान, अङ्गुरबाबा जोशी र भुवन सिंह (राणा) गरेर जम्मा चार जना मात्र किशोरी थिए । त्यति बेलाको त्यो विषयले पछिसम्म पनि बौद्धिक मगज हल्लाएको थियो । त्यसबारे राजा महेन्द्रका प्रमुख सचिव ईश्वरीमान सिंहसमेतले आफ्नो संस्मरणमा उल्लेख गरेका थिए । साथै त्यो घटना सहाना प्रधानले पनि कहिले भुल्न सकिनन् । यही कुरा उनले पछिसम्म पनि भनिरहिन्, ‘हाम्रो परीक्षा केन्द्र दरबार स्कुल थियो । घरबाट निस्कदा हामीलाई हेर्नेको ताँती लाग्थ्यो । त्यतिखेर हामी परीक्षा दिन हिँडेको घटनालाई सबैले अचम्म नै माने । त्यसैले हामी हिँड्दा बाटोमा रमिता नै हुन्थ्यो । बाटामा हामी हिँड्दा मानिसहरू कुर्कुच्चा उचालीउचाली हामीलाई हेर्थे ।’ 

साधना र सहानाले २००४ सालमा एसएलसी परीक्षा पास गरे । नेपालमा त्रिचन्द्र कलेज भए तापनि त्यतिखेर त्यहाँ केटीले पढ्न पाउँदैन थिए । त्यसैले सहानाले बाहिरै जानु पर्ने अवस्था आयो ।  २००५ सालको कुरा हो, सहाना आफ्नो भाइसँग लखनऊ गएर आइएस्सी पढ्न थालिन् । त्यहाँ उनी इजाबेला थोर्वन अमेरिकन मिसनरी कलेजमा पढ्थिन् ।

सहाना लखनऊ कलेज पढेताका कक्षाभित्रै बेहोस भएर लडेकी थिइन् । त्यसपछि उनी कलेजकै अस्पतालमा भर्ना भइन् । तीन दिनपछि मात्र उनको होस फिरेको थियो । त्यसपछि पनि उनी तीन महिना सोही अस्पतालमा बसिन् । उनी बिरामी परेपछि विज्ञान पढ्न नसक्ने अवस्थामा पुगेकी थिइन् । डाक्टर भएर जनसेवा गर्ने उनको सपना त्यहीँ तुहिएको थियो । त्यसपछि उनले आईए नै पढ्ने विचार गरिन् । उनले त्यही कलेजबाट दोस्रो श्रेणीमा आईए पास गरिन् । 

सहानाले आईए पढेपछि बीए पढ्नका लागि धेरै कुरा सोचिन् । अनि यिनले खर्च जुटाउनका लागि कन्या मन्दिर हाईस्कुलमा पढाउन थालिन् । त्यसै समयमा उनले घरघरमा गएर ट्युसन पढाउने काम पनि गर्न थालिन् । स्कुलमा पढाउनुका साथै ट्युसन पनि पढाउँदै उनी आफू बीए पढ्न थालिन् ।


सहानाले ट्युसनबाट महिनाको तीस रुपैयाँ र स्कुल पढाएर मासिक तीस रुपैयाँ कमाउन थालिन् । आफूले कमाउँदै पढ्न थालेपछि उनीभित्र आत्मगौरव पनि बढ्दै जान थाल्यो । उनी उत्साहका साथ पढ्नमा नै लागिरहिन् । त्यतिखेर उनी नेपाल कम्युनिष्ट पार्टीभित्रै समर्पित थिइन् । वीए पढ्नका लागि समय मागेर उनले पार्टीमा निवेदन दिइन् । उनलाई पार्टीले परम्परावादी शिक्षा नलिनु भनेर छुट्टि नदिने निर्णय सुनाएको थियो । अनि उनले पनि पार्टीको कामलाई अवरोध नगरी र पार्टीलाई थाहा नदिई रातिराति पढिन् । त्यहीअनुरूप उनले प्राइभेट पढेर बीएको परीक्षा दिइन् । त्यस बेला बीएको परीक्षामा सम्मिलित सत्तरी जना केटा थिए भने उनी एउटी मात्र केटी थिइन् । उक्त परीक्षामा उनी पास भइन् । त्यति बेलासम्ममा नेपालबाट नै बीए परीक्षा दिने नारी कोही थिएनन् । नेपालबाट जाँच दिएर बीए पास गर्ने उनी प्रथम नारी थिइन् ।

बीए पास भइसकेपछि सहानाको थप पढ्ने चाहना विविध कारणले अवरुद्ध भएको थियो । एकातिर घरपरिवारको बाधाविरोध साम्य पार्दै अघि बढ्नु त पर्दथ्यो नै, अर्कातिर आर्थिक उपार्जनमा पनि उनी लागिसकेकी थिइन् । यसका साथै उनी क्रान्तिमा पनि समाहित भएकी थिइन् । जसले गर्दा उनको अध्ययनको थप गति रोकिएको थियो । यसैबीच क्रान्तिकारी पुष्पलालकी जीवनसङ्गिनीका रूपमा पनि सहानाको जीवन गाँसिन पुगेको थियो । त्यसैले उनको एमए पढ्ने दैलो उघ्रेको थिएन ।

२०१७ सालको राजनैतिक परिवर्तनपछि सहानालाई फुर्सद भयो । अनि एमए पढ्ने हिसाबमा पनि उनी जुटिन् । डा.यादवप्रसाद पन्त र नरेशमान सिंह उनका पतिका साथी थिए । तिनै दुई जनाको सहयोगमा उनले पढ्न थालिन् । त्यतिखेर पुष्पलालले पनि उनका लागि नोट बनाएर सहायता गर्ने गर्थे । त्यस बेला परीक्षा नजिकिदो थियो । त्यसैले उनले भनेजस्तो मिहेनत गरेर पढ्न पाएकी थिइनन् । यसबारे उनकी छोरी उषा श्रेष्ठले भनेकी छन्, ‘मेरी ममीले एमएको परीक्षा दिँदा मेरो भाइ निकै सानो र म पनि सानी नै थिएँ । मेरी ममीको जागिर थियो त्यसैले उहाँले पढ्न पाउनु हुन्न थियो । तर, पनि दुई तीन महिना पढेकै भरमा मेरी ममीले एमए पास गर्नुभयो ।’ 

सहानाले २०१८ सालमा अर्थशास्त्र विषयमा एमए पास गरिन् । उनको विद्यावारिधि गर्ने इच्छा पनि विश्वविद्यालयले कुल्चिसकेको थियो । तर पनि उनी आफ्नो इच्छालाई साकार पार्न अघि सरेकी चाहिँ थिइन् । २०३३ सालको कुरा हो, पुष्पलालको समेत करबलमा काशी विश्वविद्यालयबाट विद्यावारिधि गर्ने उनले निर्णय गरेकी थिइन् । तर, विविध व्यावहारिक कारण जोडिनाले उनले पिएचडी गर्ने धोको पूरा गर्न सकिनन् ।

(प्रकाशोन्मुख जीवनीकृति 'ढुङ्गाको कापमा झाङ्गिएको पीपल : सहाना प्रधान'बाट) 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.