केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी- ६

सहाना प्रधानको क्रान्ति, अनशन र कैद

person explore access_timeसाउन ३०, २०७७ chat_bubble_outline0
http://remote-journey.blogspot.com/

सहाना प्रधान नेपाली परिवेशको नारी शिक्षाका लागि समर्पित, प्रखर बौद्धिक नेतृ र राष्ट्रवादी राजनीतिज्ञ थिइन् । उनले शिक्षा, नारी जागरण र राजनीतिमा दरिलो, साहसी र ऐतिहासिक उपस्थिति जनाएकी थिइन् । साथै उनले सङ्घर्षका गतिलो पाठका रूपमा नेपाली भूमिमा आफूलाई सग्लो ढाँचामा उभ्याउँदै आएकी थिइन् । देश बनाउनेबारे किशोरावस्थादेखि नै उनको गतिलो सोच थियो ।

साधना प्रधान र सहाना प्रधान म्यान्माबाट नेपाल आएदेखि पिँजडामा थुनिएका चराजस्ता भइसकेका थिए । एकातिर घरका सँग कुरा नमिल्ने र अर्कातर्फ आफूहरूलाई पढ्नै समेत नदिने घरको प्रवृत्तिले उनीहरूलाई घरबाट कसरी र के गरी उडूँउडूँ भइराखेको थियो । अनि त्यतिखेर नै प्रेमबहादुर कङ्साकारचाहिँ जागरूक युवाहरूका खोजीमा थिए । त्यसमाथि त्यस समयसम्म पनि राजनीतिमा नारीहरूको उपस्थिति न्यून थियो । त्यसै बेला यी दिदीबहिनीको पखेटा पनि घरको सङ्घार काट्न उचालिइरहेका थिए ।

२००३ सालको कुरा हो, त्यस बेला साधना र सहाना प्रेमबहादुर कङ्साकारका सम्पर्कमा पुगेका थिए । उनीहरू त्यहाँ आफ्नो भाइ शङ्करप्रसाद प्रधानमार्फत गएका थिए । कङ्साकारले उनीहरूलाई भेटेकै दिन देशमा कालरात्रि छाएको र यसलाई हटाएर उज्यालो नेपाल बनाउने सन्दर्भका कुरा गरेर यिनीहरूलाई मोहित पारेका थिए । देशलाई कसरी अघि लान सकिन्छ भन्ने विषयमा कङ्साकारले यिनीहरूलाई थप पाठ नै पढाउन थालेका थिए । साथै उनीहरूले पनि इमानजमानका साथ कङ्साकारले दिएको पाठ घोक्न थालेका थिए । त्यस बेला कङ्साकारका जोसले यी दिदीबहिनीहरू जुरुक्कै उचालिएका थिए । वास्तवमा त्यस घडी उनीहरूका लागि कङ्साकार विश्वका सबैभन्दा ठूला राजनीतिक गुरु बाबुजस्तै भएर उभिएका थिए । त्यसैले उनीहरू पनि कङ्साकारको नीतिनिर्देशनमा टमक्कै बाँधिएका थिए । अन्ततः कङ्साकारकै निर्देशनमा उनीहरूले राणाविरोधी पर्चा बनाउन थालेका थिए ।

सहाना प्रधान २००३ सालदेखि प्रेमबहादुर कङ्साकारमार्फत राजनैतिक नेताहरूको प्रत्यक्ष सम्पर्कमा आइसकेकी थिइन् । त्यो राणकालीन युगमा राजनीतिमा लाग्नु भनेको मृत्युको मुखमा हिँडेझैँ मानिन्थ्यो । तर पनि उनले आफ्नो ज्यानलाई हत्केलामा राखेर भए पनि आफूलाई राजनैतिक यात्रामा होमेकी थिइन् ।

सहानाले देशमा चलिरहेको क्रान्तिमा नै सहभागिता जनाउने अभिप्राय राखिन् । उनी नारी शिक्षाको मागमा मात्र अड्किनन्; उनी राणा फाल्ने आन्दोलनमा पनि सक्रिय भइन् । २००४ साल वैशाख १७ गते नेपाली जनताले गरेको आन्दोलनमा उनी पनि सहभागी भई प्रत्यक्ष रूपमा उभिएकी थिइन् । त्यतिखेर उनले ज्यानको समेत माया मारेरै घरको सङ्घार काटेकी थिइन् । त्यस घडी सहानाको मनमा ‘अब यो घरमा कहिल्यै फर्किन्न होला’ भन्ने पनि लागेको थियो । मानौँ, उनी लडाइँमा नै सकिन पनि सक्छिन् । त्यतिखेरको त्यो नारी सहभागिता नौलो, उपयोगी र प्रेरक थियो । त्यस बखत जुलुसमा जाने नारीहरू छ जना मात्र थिए । ती वीराङ्गनाहरू थिए— साधना प्रधान, सहाना प्रधान, प्रमिला श्रेष्ठ, शान्ता श्रेष्ठ, स्नेहलता ओन श्रेष्ठ र कनकलता नकर्मी बज्राचार्य । प्रमिला श्रेष्ठचाहिँ २००४ सालअघिदेखि नै स्कुलकी शिक्षिका पनि थिइन् भने कनकलताले चाहिँ पछिल्ला दिनमा नर्स पेसा समातेकी थिइन् । जे होस्, त्यतिखेर उनीहरूले राजनीतिक मैदानमा आपूmहरूलाई प्रदर्शन गरेको साहस नै उच्च कोटिको थियो । अरविन्द रिमालका अनुसार— ‘नेपालको इतिहासमा नारीहरू प्लेकार्ड बोकेर सडकमा उभिएका थिए ।’ त्यतिखेरको जुलुसमा नारी उपस्थितिको हल्लाले राजनीतिक फाँट नै रङ्गीन भएको थियो ।

सहाना सम्मिलित जुलुस राणा प्रधानमन्त्री पद्मशमशेरलाई भेटी शिष्टाचारपूर्वक आफ्ना माग राख्न ठूलो जोसका साथ टङ्गालतिर बढिरहेको थियो । त्यतिखेर जुलुसलाई भताभुङ्ग पार्नेहेतु प्रहरी प्रमुख जनरल नरशमशेर राणा आफँै खटेका थिए । जुलुस भगवतीबहाल पुगेपछि नरशमशेरले त्यसको नेतृत्व गर्ने पुष्पलालको घाँटी समाएका थिए । त्यति मात्र होइन, राणाले पुष्पलाललाई मरणासन्न हुने गरी पिटेका पनि थिए । त्यति बेला राणाले सहानालाई समेत बेइज्जतपूणर्का गाली गरेर थर्काउनु थर्काएका थिए र तर्साउनु तर्साएका थिए । तर राणा जतिसुकै चुइँके पनि राणाका वाणीमा सहानाले टेरपुच्छरै लगाएकी थिइनन् । यति हुँदाहुँदै पनि राणाका सेनाले ती क्रान्तिकारीहरूलाई पक्राउ गरेका थिए । त्यतिखेर उनीहरूलाई समाएर मोहनशमशेरको ब्यारेकमा थुनिएको थियो । असी जना क्रान्तिकारीहरूसहित सहाना पनि  १८ दिन राणाको ब्यारेकमा बन्दी बनेकी थिइन् । त्यसै बेला क्रान्तिकारी युगनारी सहाना प्रधानसँग क्रान्तिकारी युगपुरुष पुष्पलालको पहिलो चोटि भेट भएको थियो । त्यसै समयमा उनीहरू सात दिन पानी पनि नखाई जेलभित्र अनसन बसेका थिए ।

सहाना प्रधान न्यायका लागि जिद्धी गर्थिन् । उनको त्यस्तो स्वभावबारे उनलाई चिन्ने जतिलाई ज्ञात थियो । उनी आफ्ना मागप्रति बफादारी पनि थिइन् । त्यति मात्र होइन उनी जे बोल्थिन् बौद्धिक धारामा बोल्ने गर्थिन् । उनले राणा सरकारउपर नारीका लागि पनि पुरुषको जस्तै शिक्षा चाहियो भनेर आफ्नो घोक्रो फुलाएकी थिइन् । उनको निर्भीक, तार्किक र आवश्यकीय कुरा श्री ३ पद्मशमशेरलाई पनि घत लागेको रहेछ । त्यसैले उनले केटीहरू पढ्ने स्कुल खोल्न अनुमति दिएका थिए । तत्कालै स्कुल भवन नभएकाले सुरुमा नारी शिक्षा पनि दरबार स्कुलबाट नै प्रारम्भ भएको थियो । अनि स्कुलको भवन मात्रै दरबार स्कुल थियो; तर त्यहाँ सञ्चालित नारी स्कुललाई चाहिँ पद्मकन्या स्कुल नामाकरण गरिएको थियो । पछिल्ला दिनमा डिल्लीबजारमा पद्मकन्या विद्याश्रमको नाउँबाट त्यस स्कुलको सञ्चालन हुन थालेको थियो ।

सहाना प्रधानहरूले २००४ साल साउन २२ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला सङ्घको तदर्थ समितिको स्थापना गरेका थिए । त्यस बेला सहाना क्रान्तिकारी भावनाले अझै ओतप्रोत हुँदै सङ्गठनमा समर्पितै भएर लागेकी थिइन् । उनी लोभानी पापानीबाट टाढा बसेर देश र जनताका लागि बफादार भई राणा शासनका कैफियतका विरोधमा होमिएकी थिइन् ।

सहाना लडाकू स्वभावकी थिइन् । डन्डा त के पुलिसले बन्दुक तेस्र्याए पनि त्यसलाई ठेलेर हिँड्न सक्ने उनी हिम्मती नारी थिइन् । सङ्घर्षका घडीमा उनी भोक, तिर्खा र घामपानी बिर्सेर आफ्नो कर्ममा जुटेकी हुन्थिन् । उनको साहस नै उच्च किसिमको थियो । उनीभित्र सङ्घर्ष गर्ने प्रबल शक्ति थियो । त्यति बेलादेखिकै हिसाब गर्ने हो भने नेपालमा उनको जोडा राजनीति गर्ने निष्ठावादी नारी पाइँदैनथ्यो । २००५ सालको कुरा हो— इन्द्रचोकको जनसभामा भाषण गर्दा राणाका सिपाहीले सहानालाई लछारपछार गर्दै, मुन्ट्याउँदै र घिसार्दै त्यहाँबाट जेल लगेको दृश्य शान्ता श्रेष्ठले देखेकी थिइन् । अनि उनलाई राणाले जनता कोच्ने खोरसम्म पनि पुर्‍याएको थियो । तर त्यस बेला उनले खोरमा धेरैबेर बस्नु परेन । त्यति बेलाको त्यो दृश्य हेरेर उनकी साथी शान्ता श्रेष्ठले भनेकी थिइन्— ‘सहाना प्रधान अत्यन्तै साहसी, निर्भीक र जनतामा समर्पित नारीको नाउँ हो ।’


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.