सहाना प्रधानको जीवनमा सेती नदीमा भएको त्यो घटना
सहाना प्रधान हरेक कुरामा चाख राख्ने गर्थिन् । उनका लागि रुचि नभएको कुनै विषय नै थिएन । उनलाई कला, संस्कृति, इतिहास, भूगोल, विज्ञान, राजनीति, अर्थशास्त्र आदि विषयको ज्ञान थियो । तर अत्याधिक रूपमा चाहिँ उनी शिक्षा र राजनीतिप्रति मुखरित थिइन् । नाटकदेखि घोडचढीसम्म र यात्रादेखि भाषण गर्नसम्म उनको सोखको विषय थियो । त्यही क्रममा उनले २०१० सालमा नाटकमा पनि अभिनय गरेकी थिइन् । नाट्यसम्राट् बालकृष्ण समको निर्देशनमा त्यस बेला उनले केटाको भूमिकामा अभिनय गरेकी थिइन् । उनी नाच्न पनि सिपालु थिइन् । पार्टीका कार्यक्रमहरूको सांस्कृतिक कार्यक्रममा उनी नाच्ने पनि गर्थिन् । साथै शान्ति मास्केको निर्देशनमा पनि उनले आफ्नो अभिनय देखाएकी थिइन् । •
सहाना खुबै राम्रो पौडी खेल्थिन् । उनी आफ्नो समयकी जलपरी नै थिइन् । साथै उनी घोडचढीमा पनि सोखिन थिइन् । त्यसै सन्दर्भमा उनी पोखरामा बसेका बेला उनले घोडा पनि चढिन् । पोखरामा रहँदा घोडा चढ्न उनको दैनिकी जस्तै थियो । क्रमशः उनीमा घोडा चढ्न बानी परिसकेको थियो । तर त्यसै बेला एक दिन उनलाई घोडाले फालेको थियो । त्यस घडी उनी सेती नदीमा पर्नबाट जोगिएकी थिइन् । त्यसपछि चाहिँ उनले घोडा चढ्न कान समाएकी थिइन् ।
••
सहाना घर, घरपरिवार र समाज स्वच्छ, शिक्षित र न्यायिक हुनुपर्छ भन्ने धारणा राख्थिन् । उनलाई जे कुरा पनि शुद्ध, सफा र स्पष्ट भएको मन पथ्र्यो । मनमा एउटा कुरा र मुखबाट अर्को बोली बोल्ने मान्छेसँग उनी टाढै बस्न रुचाउँथिन् । उनी पनि चाहिँदो कुरा नै बोल्थिन् । उनी जति कुरा बोल्थिन्, आफूले बोलेको कुरा ताकतले भ्याएसम्म पुर्याउन नै प्रयास गर्थिन् । उनी खड्गप्रसाद वलीजस्तो उखान छाँटेर जनता झुल्याउने कुराको विरोधी थिइन् । पतरपतर गरेर जगाभावी बोल्ने उनीमा कला नै थिएन । कोही बोलिरहने मान्छेसँग नजिक हुन थालिन् भने उनी तिनलाई किताप पढ्न सुझाव दिन्थिन् । अर्कालाई होच्याउने, अरूको कुरा काट्ने र अरूको हितविपरित लाग्ने मान्छेसँग उनी टाढा थिइन् ।
सहानासँग साना, ठूला जति नजिक हुन्थे तिनीहरूलाई उनी कथा सुनाउने, आफ्नो जीवनकथाका रोचक घटना सुनाउने र देशविदेशको वणर्न गर्ने गर्थिन् । खास गरेर उनी बर्माको घटना भनेर चाहिँ थाक्तिन् थिइन् । उनी सबैलाई ज्ञान, सीप र अधिकारका कुरा गर्थिन् । उनी अरूलाई हँसाउने कुरा गर्थिन् । तर उनी हाँस्न मन गर्दिन थिइन् । अरूले चाहिँ उनीसँग खुलेर बोल्नुपथ्र्यो । तर उनी आफ्नो पेट अरूलाई त्यतिसारो बाँड्दिन थिइन् । उनी खाने, बस्ने, सुत्ने, उठ्ने कुरामा पनि अरूहरूलाई शिक्षा दिन्थिन् । उनी आफू पनि यी कुरामा अनुशासित थिइन् ।
उनको सबैभन्दा ठूलो विशेषता के थियो भने उनी घरव्यवहारमा खुबै पारङ्गत थिइन् । सहानालाई आफ्नो घर, कोठा सजाउने शोख थियो । उनको घर जति सफासुग्घर हुन्थ्यो उनको घरप्रतिको दायित्व पनि त्यतिकै अब्बल देखिन्थ्यो । उनी घरको साजसज्जा गर्न मन पराउँथिन् ।
सहानालाई भान्साको काम खुबै मन पथ्र्यो । उनी घरमा आफ्नो खाना आफैँ पकाउने गर्थिन् । उनलाई आफू खानभन्दा अरूलाई खुवाउने सोख थियो । उनी परिकारपरिकारका खानेकुरा बनाएर पाहुनाको स्वागत गर्थिन् । घरमा आउने पाहुनाहरूलाई उनी खाना, खाजा वा चिया भए पनि नखुवाई घरबाट बिदा दिन सक्तिन थिइन् । उनी आफन्त साथी, घनिष्ठ इष्टमित्रका घरमा पनि परेको खण्डमा खानेकुरा पकाउने गर्थिन् । उनी जुनजुन देशमा जान्थिन्, त्यहाँत्यहाँको खानेकुरा पकाउन सिकेर स्वदेश आउने गर्थिन् ।
जेलमा बस्ता पनि सहाना आफूभन्दा साना नारीहरूलाई आफैँ पनि चिया पकाएर खुवाउने गर्थिन् । सहानाले उनीहरूलाई स्नेह दिन्थिन् । उनी तिनीहरूलाई प्रोत्साहन दिएर कुरा गर्थिन् । उनी आफूलाई मन परेका नारीसँग घाँटी जोड्थिन् । उनीहरूका लागि जेसुकै परे पनि उनी आफूले सकेको सहयोग पनि गर्थिन् । वास्तवमा उनी परोपकारकी पनि एउटी नमुना थिइन् ।
सहाना कहिले आफ्नै रुचिअनुसार विविध परिकारका खानेकुरा पकाउने गर्थिन् । उनी सादा खान्थिन्, सादा लगाउँथिन्, सादा बोल्थिन् र सादा व्यवहार गर्थिन् । उनलाई खद्धरका कपडा मन पथ्र्यो । उनी सधैँ सादा जीवनमा नै हिडिँन् । तर उनको विचार उच्च थियो । भनौँ, उनी सादा जीवन उच्च विचारकी कुवेर थिइन् ।
सहानाको सबैभन्दा ठूलो विशेषता के थियो भने उनी दृढ आत्मविश्वास भएकी नारी थिइन् । उनी गर्छु भनेको कुरा गरेरै छोड्थिन् । यदि उनले त्यो काम तुरुन्तै सम्पादन गर्न सकिनन् भने पनि पछिल्ला दिनमा उनले त्यो काम पूरै गरेर छाड्ने प्रयास गर्थिन् । अडानमा उभिन सक्ने उनको अर्को मुख्य विशेषता थियो । त्यही विशेषताले नै धेरै मान्छे उनीसँग नजिक पनि थिए र त्यही कारणले धेरै मान्छे उनीसँग पर पनि सरे ।
सहाना घरमा कहिले पनि हात बाँधेर बसिनन् । उनी आफ्ना घरमा आफैँ फलफूल र तरकारी रोप्थिन् । उनी आफ्नै बारीमा उम्रेका तुलफूलमा गर्व मान्थिन् । उनी कोठेबारीमा काम गर्न पाएपछि त्यतै रमाउने गर्थिन् । जति सीप भए तापनि उनीसँग घमन्डचाहिँ पटक्कै थिएन, बरु उनीभित्र त्याग थियो ।
सहानाको सबैभन्दा ठूलो गुण के थियो भने उनी सबै लिङ्ग, जात, धर्म, राजनीतिक विचारकसँग शिष्टाचार राख्न पारङ्गत थिइन् । वास्तवमा जुनसुकै विचारका मान्छे भए तापनि उनलाई केही फरक पर्दैनथ्यो । उनी कम्युनिस्ट सिद्धान्तकी चट्टान थिइन्; तर बौद्धिक, क्रियाशील र सकारात्मक सोच भएका जुनसुकै सिद्धान्तका मान्छेहरूको पनि उनी कदर गर्थिन् । उनी भन्थिन्, ‘हरेक मान्छेमा केही न केही गुण, विशेषता र क्षमता हुन्छ । मान्छेहरू भनेका साझा फूलबारी हो । बगैँचामा एउटा मात्रै फूल फुल्यो भने त्यति शोभा दिँदैन जति धेरै फूलहरू भएको बगैँचाले दिन्छ ।’ उनलाई फूलमा गुलाफको फूल मन पथ्र्यो । त्यसैले घरमा आएका नारीहरूलाई अवस्था हेरेर उनी फूल उपहार दिने गर्थिन् । उनको मनले खाएका नारीहरूलाई चाहिँ उनी गुलाफकै फूल टिपेर कपालमा सिउरी पनि दिन्थिन् ।
सहानाको रुचि विविध क्षेत्रमा थियो । बाहिरका मान्छेले देख्ता उनको व्यक्तित्व सधैँ पूर्ण नै पाउँथे । वास्तवमा उनले दैनिक गर्ने योग, न्यास, ध्यानले उनीभित्र थप शक्तिको सञ्चय भएको हुन्थ्यो । आफ्नो संस्कृतिअनुसार चाडबाड मान्ने र पूजापाठ गर्ने विषयमा पनि उनको लगाव थियो । उनी मूर्तिपूजामा विश्वास गर्थिन् । पितृहरूको श्राद्ध गर्न पनि उनी निपुण थिइन् । उनकी छोरी उषा श्रेष्ठका अनुसार उनी हरदिन आधा घण्टा ध्यान गर्थिन् ।
सहानालाई पढ्न खुबै रुचि थियो । उनी पढ्न पाएपछि समय बितेको पत्ता पाउँदिन थिइन् । उनीको प्राज्ञिक र राजनीतिक दुवै विषयमा गहिरो रुचि थियो । जनसम्पर्क गर्ने उनको प्रमुख कला मानिन्थ्यो । उनी जुन काममा लाग्थिन् एक चित्तले लाग्थिन् । गाल टार्ने, आँखामा छारो हाल्ने र अल्छी मान्छे उनलाई मन पर्दैन थिए । उनी जुनसुकै बेला पनि जाँगरिली हुन्थिन् । उनका लागि बोलीभन्दा काम प्यारो हुन्थ्यो ।
सहाना प्रधान नेपाली र अङ्ग्रेजी भाषामा बराबरी दक्ष थिइन् । उनले अङ्ग्रेजी भाषामा बोल्दा, लेख्ता र भाषण गर्दा देख्नेहरू आह्लादित नै हुन्थे । उनी बोल्दा स्टेट फर्डवर नै देखिन्थिन् र उनी त्यस्तै पनि थिइन् । नेपाल कम्युनिस्ट पार्टीको इतिहासमा विविध प्रकारका रुचिले ओतप्रोत नेता उनीझैँ अरू देखा परेको पाइएन पनि भनिन्छ ।
सहाना सरल व्यबहारकी धनी थिइन् । उनी आफ्नो शारीरिक शृङ्गारमा ध्यान दिन्न थिइन् । कपडा लगाउँदा पनि भड्किलो रङ भने उनी मन पराउँदिन थिइन् । तर उनलाई सफा चाहिँ चाहिन्थ्यो । उनी जति सरल थिइन्, उनको पोसाक पनि त्यतिकै साधारण हुन्थे । उनको निधारमा जहिलेसुकै पनि रातो टीकाचाहिँ टाँसिएकै हुन्थ्यो । उनी दिगो, शाश्वत र शालीन विषयलाई मात्र कदर गर्थिन् । नेपाली साहित्यका महारथी प्राध्यापक राजनारायण प्रधानका शब्दमा भन्नुपर्दा ‘उनी प्रकृतिवादी थिइन्, जुन कहिल्यै नास हुँदैन ।’