केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी-२

सहाना प्रधानका बाजे र बाबुको कथा

person explore access_timeसाउन ३, २०७७ chat_bubble_outline0

सहाना प्रधानको पुर्ख्यौली थलो काठमाडौँको साँखु थियो । यिनीहरू नेपालका आदिवासी थिए । यिनीहरू नेवार जातिका ‘‍स्यापु’मा दरिन्थे । तिनै स्यापुका वंशज लक्ष्मणलाल स्यापुचाहिँ सहानाका बाजे थिए ।

कालान्तरमा स्यापुहरू साँखुबाट भक्तपुरमा झरे । भक्तपुरमा उनीहरूको पेसा व्यापार थियो । भक्तपुर सरेपछि उनीहरूले आफ्नो प्रतिष्ठालाई केही माथि उठाएका थिए । त्यहाँ अलिक हुने, खाने भएपछि उनीहरू बिजुक्छेँमा कहलिन थाले । तर त्यस ठाउँमा उनीहरू एकचौथाइ शताब्दी मात्र बसेका थिए । त्यसपछि उनका बाजेहरू काठमाडौँतिर सरे । काठमाडौँमा खुट्टा टेक्न थालेपछि उनीहरूले आफूलाई प्रधान लेख्न थाले ।

सहाना प्रधानका बाजे लक्ष्मणलाल प्रधान काठका व्यापारी थिए । काठकै व्यापारबाट उनको आर्थिक हैसियत दिन दुई गुना र रात चार गुना भएर उक्लेको थियो । हुँदाहुँदै उनी कति धनी भए भने राजालाई पनि ऋण दिने हैसियतमा उनले आफूलाई पुर्‍याएका थिए । त्यसैले उनलाई बत्तीसकोटी साहू पनि भनेर चिनिन्थ्यो । उनीहरू राजदरबारका प्रिय पात्र नै भइसकेका थिए । वास्तवमा उनीहरू पनि दरबारले बोलाइसक्ता दौरासुरुवाल लगाएर सम्बन्धित ठाउँमा पुगिसक्थे । 

लक्ष्मणलाल प्रधानले पछिल्ला दिनमा काठको व्यापार गर्न छोड्नुपर्ने भएको थियो । किनभने उनीहरूले व्यापारका लागि मधेशबाट काठ ल्याउनु पथ्र्यो । त्यस कार्यमा खटिने उनीहरूका कारिन्दाहरूलाई औलो लाग्न सुरु भइसकेको थियो । अनि सहानाका बाजे लक्ष्मणलाल प्रधान पनि औलो लागेरै १९७२ सालमा स्वर्गीय भएका थिए । त्यसपछि उनीहरूले काठको व्यापार नै छोड्नुपरेको थियो ।

०००
सहाना प्रधानका बुबा शङ्करलाल प्रधानको जन्म १९६१ साल र आमा रम्भादेवीको जन्म १९६३ सालमा भएको थियो । बिहे हुँदा बुबा १७ वर्षका थिए भने आमा १५ वर्षकी थिइन् । यी दम्पतीले दुई छोरी साधना र सहाना तथा दुई छोरा गौरीभक्त र शङ्करप्रसाद जन्माएका थिए ।

 सहाना प्रधानका बाजे काठको व्यापार गर्दागर्दै औलोका कारण दिवङ्गत भएकाले बुबा शङ्करलाल प्रधानले पैत्रिक काम अथवा भनौँ काठको व्यापार गरेनन् । उनले म्याट्रिक पास गरेका थिए । तत्कालीन नेपालमा त्यति पढेका व्यक्तिका लागि सरकारी नोकरी त्यति असहज थिएन । तर सरकारी जागिरमा रुमल्लिनुभन्दा आफ्नै स्वतन्त्र पेसाप्रति आबद्ध हुने उनको वैयक्तिक चाहना थियो । त्यसैले उनले आफ्नो पेसाका रूपमा फोटोग्राफीलाई समाए । 

काठमाडौँमा फोटोग्राफी सुरु गर्ने पनि उनी नै थिए । उनी काठमाडौँका नामी फोटोग्राफरमा चिनिएका थिए । अनि राजदरबारका फोटोग्राफर पनि उनै थिए । उनले सयौँको फोटो पनि खिचे । फोटो खिचेर नै उनी काठमाडौँभरि सर्वत्र परिचित थिए । 

यति हुँदाहुँदै पनि उनले आफ्नी पत्नीको चाहिँ फोटो खिच्न बिर्सेका थिए । सहानाकी आमा रम्भादेवी स्वर्गीय भएपछि त्यस परिवारलाई सारै ठूलो पछुतो भएको थियो । किनभने उनको एउटै पनि फोटो कहीँ, कतै थिएन ।

नेपालमा जहान परिवारको बढोत्तरी हुँदै जाँदा शङ्करलाल प्रधानले फोटोग्राफीबाट मात्रै परिवार धान्ने अवस्था रहेन । किनभने फोटोग्राफीको आम्दानी मात्रले उनीहरूलाई भात खान नै पनि धौधौ हुन थालेको थियो । 

तत्कालीन समयमा धेरै नेपालीका लागि धनार्जन गर्ने मुलुकका रूपमा बर्मा प्रचलित थियो ।  त्यसै कारण पनि व्यापार व्यवसाय गर्ने हेतु शङ्करलाल प्रधानले मुलुक छाड्ने अर्थात् बर्मातिर लाग्ने विचार गरेका थिए । यसबारे उनले घरपरिवारसँग पनि आफ्नो निणर्य सुनाइसकेका थिए । 

त्यसैको परिणमस्वरूप उनी आफ्ना बहिनीज्वाइँसहित १९८५ सालमा व्यापारिक प्रयोजनका लागि बर्मातिर लागे । त्यहाँ पुगेर उनीहरूले व्यापारमा हात बढाए । त्यतिखेरको व्यापारअन्तर्गत उनीहरू चुरापोते बेच्ने गर्थे । साथै उनीहरूको टोपी, हुक्का, नली, कोपरा, पौभा, थाङ्का आदिको पनि व्यापार थियो । बर्मामा उनीहरूको आयुर्वेदको पसल पनि थियो । 
त्यहाँको व्यापारबाट उनीहरूको फलिफाप पनि हुन थालेको थियो ।

 सहाना जन्मेको दुई वर्षजतिमा उनकी आमा रम्भादेवीले पेट बोकेकी थिइन् । सासूको बुहारीउपर हुने समकालीन अवस्थाको घरेलु बुहार्तनको मार रम्भादेवीले पनि खेपेकी थिइन् । त्यसैले उनले दिनभरि घोटिनु पथ्र्यो । घरको काममा उनी जति दलिए तापनि आवश्यकीय खानापिनाबाट उनको पेटले वञ्चित हुनुपरेको थियो ।
 त्यस्तो अवस्थामा कान्छो छोराका रूपमा ब्रह्मलालको जन्म भएको थियो । पेटमा बच्चा भएदेखि नै राम्ररी खान नपाएकी र सुत्केरी अवस्थामा पनि पोषिलो खानेकुराबाट उनी वञ्चित थिइन् । त्यसैले पनि उनलाई क्षयरोग (टिबी)ले आक्रमण गरेको थियो । त्यतिखेर उनका पति पनि बर्मामा नै थिए । सहानाकी आमा त्यसरी रोगले थलिँदा पनि उनकी सासूले उनलाई भन्ने गर्थिन्— ‘अझै सुत्न पुगेको छैन ?’

 सहानाकी आमा रम्भादेवी झन्झनै सिकिस्त हुँदै जान थालिन् । उनको अवस्था देखेर उनलाई माया मार्नुपर्ने अवस्था उनको शरीरले देखाइरहेको थियो । उनकी आमाको अन्तिम अवस्था आउन लागेको देखेर बर्मामा रहेका सहानाका बुबा शङ्करलाल प्रधानलाई ‘तुरुन्त घर आउनु’ भन्ने तारकाठमाडौँबाट गयो । त्यस तारले हतारोमा शङ्करलाल घर आए ।

उनी घर आउँदानआँउदै उनकी पत्नीलाई पशुपतिनाथ मन्दिर पूर्व आर्यघाटको तटमा पुर्‍याइसकिएको थियो । उनले आफ्नी पत्नीको अन्तिम सास त्यहीँ भेटेका थिए । सोही अवसरमा उनकी पत्नीले उनलाई भनेकी थिइन्- ‘मेरा छोराछोरी सानै छन् । यिनीहरूलाई छाडेर जान मलाई सारै पीर परेको छ । मेरो प्राण गइरहेको छैन; तर म जान्छु, मलाई थाहा छ । अर्को बिहे नगर्ने मलाई वचन दिनुहोस् ।’ 
आफ्ना पतिले ‘हुन्छ’ भनेर टाउको हल्लाएपछि रम्भादेवीले सास छोडेकी थिइन् । १९८८ सालको कुरा हो, कान्छो छोरा आठ महिना लाग्दानलाग्दै टिबी रोगकै कारण रम्भादेवीको निधन भएको थियो ।
बर्मामा व्यापारले गति लिने अवस्था आउँदानआउँदै नेपालमा शङ्करलाल प्रधानकी पत्नी रम्भादेवीको अप्रत्याशित रूपले निधन भयो । त्यसपछि उनको काठमाडौँको घर तहसनहसजस्तै भएको थियो । पत्नीका सास मात्र भेट्न काठमाडौँ आएका शङ्करलाल एक वर्ष त काठमाडौँमा नै जेनतेन बसेका थिए । 

काठमाडौँको कमाइले उनीहरूलाई हातमुख जोड्न पनि त्यति सजिलो थिएन । त्यसैले पत्नीको निधन भएको अर्को वर्ष लक्ष्मणलाल प्रधान आफ्नी आमासहित आफ्ना चार जना छोराछोरी र भाइहरूसमेत लिएर आठ जनाको ज्यानसहित बर्मातिरै लागे । क्रमशः बर्मामा नै उनीहरू सबै रमाएका पनि थिए । त्यहीँ पुगेर उनका भाइहरूले पनि घरजम गरे । तर शङ्करलाल प्रधान भने आजीवन विधुरै रहे ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.