केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी- १४

सहाना प्रधानको जीवनमा आर्थिक सङ्कट

person explore access_timeअसोज २४, २०७७ chat_bubble_outline0

छोरी जन्मेपछि सहाना प्रधानलाई घरायसी आर्थिक कारणले तनाव हुन थालेको थियो । उनको खासै आयस्ता थिएन । उनका ससुरा नेपाल सरकारका सुब्बा थिए । उनको त्यो जागिर पनि स्थायी थिएन । त्यस घडी दुईदुईवटा स्कुलमा काम गरेर छोरी हुर्काउन सहानालाई सकस परेको थियो । त्यसैले उनी एउटा स्कुलबाट अवकाश लिन बाध्य भएकी थिइन् । 

त्यतिखेर पार्टीको काम, स्कुल, घर आदिले गर्दा उनी खुबै बेफुर्सदी पनि थिइन् । तर पनि जागिर, घर, पढाइ र सङ्गठनमा उनी मिलाएर समय दिने चाहिँ गर्थिन् । साथै समयको उचित व्यवस्थापनका कारणले उनले सफलता नै पनि पाउँदै गएकी थिइन् ।

२०१७ सालसम्म पुष्पलाल र सहाना डेरामा नै बस्थे । त्यसपछि सहानाले पाँच हजार रुपियाँ जुटाएर बन्दकीमा तीन कोठाको घर लिएकी थिइन् । बन्दकीमा लिएको त्यो घर काठमाडौँको असन बजारमा थियो । त्यस घरमा उनीहरू जति समय बसे रमाएर नै बसिरहेका थिए । तर राजनैतिक चक्रव्यूहका कारण एकाएक काठमाडौँबाट पुष्पलालले डाँडा काट्नु परेको थियो । त्यसै परिवेशमा सहानाले सुशीला श्रेष्ठलाई भनेकी थिइन्— ‘पुष्पलालजीसँग म लामो समयसम्म सँगै बसेको भनेको त्यही बन्दकी घरमा हो ।’ तर त्यस घरमा उनीहरू चार महिना मात्रै सँगै बसेका थिए ।  

बन्दकी लिएको घरमा सहाना पनि लामो समय बस्न पाइनन् । त्यस घरमा करिब तीन वर्ष बसेपछि सहानालाई पाँच हजार रुपियाँ बुझाएर घरधनीले आफ्नो घर उकासेर लगेका थिए । त्यसपछि सहानाको वास फेरि पनि डेरामा नै कायम भएको थियो ।

सहाना प्रधानले २०२६ सालमा आफ्ना नाउँमा क्षेत्रपाटीको ठहिँटीमा घर किनेकी थिइन् । त्यस घरको मूल्य चौध हजार रुपियाँ थियो । त्यस घरमा बसेपछि उनलाई साइत परेको थियो । साथै त्यो घर किनेपछि पुष्पलाल पनि खुसी भएका थिए । उनीहरू त्यस घरमा २०४२ सालसम्म बसेका थिए ।

विवाहित नारीले लालाबालासमेतको जायजन्मपछि पतिको कुनै आर्थिक सहयोगबिना नै गृहस्थीको धर्म एक्लै निर्वाह गर्नु निकै जटिल परिस्थिति हुने गर्छ नै ! त्यसैले सहानाले पनि त्यस्तो जटिल अवस्थाका लागि अर्थात् घर धान्नका लागि अनेक कसरत गरेकी थिइन् । उनले आफ्ना पतिलाई भेट्न बनारस गएको बेला पनि त्यहाँबाट सारीहरू किनेर काठमाडौँमा ल्याएर बेच्ने काम पनि गरेकी थिइन् ।

सहानाको अविरल र अथक परिश्रमबाट पुष्पलाल एकातिर मोहित पनि थिए र अर्कातिर श्रीमतीलाई सुक्ख दिन नपाएकोमा उनलाई ग्लानि पनि थियो । सहानाले आफूले कमाएको पैसा आफ्नो घर खर्च  गरेर पुष्पलाललाई पनि पठाउने गर्थिन् । सहानाका अति घनिष्ठ, पुत्रतुल्य तथा राजनीतिक सहकर्मी वामदेव गौतमले सहानाको आर्थिक अवस्थाका बारे भने— ‘२००७ सालदेखि २०१७ सालसम्म सहाना प्रधानले सधैँ पुष्पलाललाई अघि बढ्न प्रेरित गरिरहिन् । पुष्पलालको भारत प्रवासको कठिन परिस्थितिमा सहाना प्रधानले नै नैतिक रूपमा मात्र होइन आर्थिक रूपमा पनि सक्तो सहयोग गरिन् ।’ वास्तवमा राजनैतिक रूपमा होस या चाहे माया गरेर होस् र चाहे आर्थिक सहयोग गरेर नै होस् सहानाबाट पुष्पलालको शुभलाभ भइरहेको नै थियो ।

सहाना प्रधानको दुक्ख र कष्टका बारे एक दिन पुष्पलालले मोदनाथ प्रश्रितलाई भनेका थिए— ‘बिहे गरेपछि सहानाले घरका लागि हरेक प्रकारले आफ्नो जीवन अर्पण गरिन् । तर उनले कहिले आर्थिक सुक्ख पाउनै सकिनन् । मैले उनलाई आर्थिक रूपले समेत कुनै सहयोग गर्न पाइनँ ।’ वास्तवमा पुष्पलाल जन्मेदेखि नै सङ्घर्षमा परेका मान्छे थिए । बनारस बस्ता पनि उनको डेरा र नेपाल कम्युनिस्ट पार्टीको कार्यालय एउटै थियो । २०२७ सालतिरको कुरा हो, उनका सहयोगी साथी दुई जनामध्ये गोविन्द ज्ञवाली र मोदनाथ प्रश्रित पनि सोही पार्टी कार्यालयमा नै डेरा जमाएर बसेका थिए । प्रश्रितका अनुसार त्यति बेला पन्ध्र रुपियाँले उनीहरू तीन जनाले सत्र दिन पालिनुपरेको थियो । त्यस बेला उनीहरू भटमास र चनाका गेडा टोक्तै पेटभरि पानी खाएर सुत्ने गर्थे । प्रश्रितले पछिसम्म पनि भने— ‘त्यस्तो अवस्थामा बाँचेका पुष्पलालले घरपरिवारका लागि के गर्न सक्थे र ?’

घरको अप्ठ्यारो आर्थिक अवस्था सोचेर सहाना झोक्राउने पनि गर्थिन् । प्रवासमा बसेर राष्ट्रको राजनैतिक परिवर्तनका लागि क्रान्तिमा लागेका पति, अध्ययनको बीचमा पुगेका छोराछोरी र घरव्यवहार कसरी धान्ने भन्ने पीडाले त्यस घडी उनलाई बेसरी डस्न थालेको थियो । त्यस घटनाको ज्वालामा भतभती उम्लँदै उनले भनेकी थिइन्— ‘मेरो त अडेस लाग्ने ठाउँ पनि कतै छैन ।’

प्राध्यापनबाट विमुख पारिएकी सहानाले ट्युसन पढाउन थालेपछि उनको आम्दानी बढ्दै जान थालेको थियो । त्यसै समयमा उनका छोराले पनि जागिर भेटेका थिए । त्यसपछि छोराले चाहिँ आमाले पढाउदै गरेको ट्युसन जबरजस्ती छाड्न लगाएका थिए । छोराले जागिर खान थालेपछि पनि सहानालाई एउटा ठूलो पीर भने परेको थियो । त्यो पीर के थियो भने उनले आफ्नो छोराको पढाइ बीए स्तरमा नै थन्क्याउनु परेको थियो । घरको आर्थिक अवस्थाका कारणले छोरालाई एमए पढाउने उनको धोको भने अधुरो नै रहेको थियो ।

सहाना आफ्ना छोराछोरी बढाउन, पढाउन र जोगाउन उद्धत थिइन् । साथै उनले खाइनखाई जोगाएर राखेको पैसाले जग्गा किनेकी थिइन् । आफ्नो मात्र थैलीमा बाँधेको रकमले नपुगेर उनले त्रिभुवन विश्वविद्यालयबाट पाँच हजार रुपियाँ पेस्की लिएकी थिइन् । त्यो सबै धन भेला पारेर उनले सानेपामा आधा रोपनी जग्गा किनेकी थिइन् । साथै ठहिटीको घरसमेत बेचेर उनले २०४२ सालमा त्यही जग्गामा नयाँ घर बनाएकी थिइन् ।

जतिसुकै आर्थिक सङ्कटले रिङ्ग्याउँदा पनि सहाना प्रधानले अर्काको सम्पत्तिमा कहिले आँखा गाडिनन् । उनले आफ्नो पसिनाको कमाइबाहेक कसैको लोभ गरिनन् र कसैउपर लालच पनि राखिनन् । उनी दलको हर्ताकर्र्ता हुँदा पनि उनले कतैतिरबाट पनि एक पैसा पनि नाजायज धन लिइनन् । मन्त्री हुँदा पनि उनले शुद्ध पारिश्रमिक मात्र लिएकी थिइन् । त्यसैले नेपाली समाजमा उनी पवित्र, मर्यादित र आदरणीय रूपमा परिचित भइन् । इमानका कारण उनका विरोधीले पनि उनको विरोधमा बेठी लगाउन सकेनन् ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.