बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : जेल गए सन्दीप लामिछाने, मुद्दाको निरन्तर सुनुवाइ हुने

शुक्रबार, १८ कात्तिक २०७९, २१ : ०३
शुक्रबार, १८ कात्तिक २०७९

आज मिति २०२९ साल कात्तिक महिनाको १८ गते शुक्रबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ–

१. सन्दीप गए जेल

काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई तत्काल प्राप्त प्रमाणहरुको आधारमा निर्दोष मान्न नसकिने ठहर गरेको छ । अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले तत्काल प्राप्त प्रमाणहरुको आधारमा प्रतिवादी निर्दोष रहेछन् भन्ने मान्न नसकिने ठहर गर्दै लामिछानेलाई कारागार कार्यालय जगन्नाथदेवल पठाउन आदेश दिएको हो ।

अदालतले सीसीटीभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादीको बयान व्यहोराबीच अपसमा तादात्मयता रहेको तथ्य देखिएको जनाएको छ ।

यसैबीच सन्दीप लामिछानेको मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ, अदालतले मंसिर ७ गते बकपत्रका लागि पीडितलाई झिकाउन आदेश पनि दिएको छ ।

२. प्रमुख दल चुनाव प्रचारमा सक्रिय

प्रमुख दल एमाले, कांग्रेस र माओवादी केन्द्र चुनावी प्रचारमा व्यस्त छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिमको चुनावी कार्यक्रममा छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो चुनावी क्षेत्र गोरखामा छन् ।

​३. निहारिका पक्राउ

कुमारी आमाका भनेर चिनिएकी निहारिका राजपुत बालुवाटारबाट पक्राउ परेकी छन् । राजपुतले शुक्रबार बलात्कार आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटारमा पुगेर पत्रकार सम्मेलन गर्न लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेलगत्तै उनलाई परिवारको रोहबरमा छाडेको छ ।

४. कोरोना बीमाको रकम वितरण

कोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रूपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले हालेको ८१ करोड रूपैयाँ जम्मा गरेर १ अर्ब ८१ करोड रूपैयाँ दाबी भुक्तानी गर्न लागिएको हो ।

​यस साता सेयर बजार सूचक नेप्सेमा ४७ अंकको वृद्धि भएको छ । लामो समयपछि केही सुधारात्मक संकेत देखिएको यस हप्ता ४७ अंकले बढ्दै १९२२.१६ अंकमा उक्लिएको हो ।

​नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्ने बताएका छन् । बिहीवार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा भैरहवा–कुवलालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम प्राधिकरणले गर्ने बताएका हुन् ।

​५. फिल्डमा म्यादी

प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरिएको छ । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले रातोपाटीलाई बताए ।

​६. कोरोना अपडेट

नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४५ जनामा गरिएको नमुना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

​नेपाल नर्सिङ परिषदले नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी मंसिर २४ गते सञ्चालन गर्ने भएको छ । परिषद सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको हो ।

​७. वैदेशिक रोजगार

बेलायत र जापानमा सरकारी स्तरबाट कामदार पठाउन आवश्यक पर्ने मापदण्ड (प्रोटोकल) तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार पठाउन आवश्यक पर्ने मापदण्ड तयार गरेको हो ।

उक्त मापदण्ड मन्त्रिपरिषदले पारित गरेसँगै कार्यान्वयनमा जाने मन्त्रालयका सहायक प्रवक्ता डा थानेश्वर भुसालले बताए ।  मन्त्रालयले जी टु जी मार्फत बेलायत पठाउने नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकलको मस्यौदा तयार गरेको हो । यो मस्यौदा मन्त्रिपरिषदले पारित गरेसँगै प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

​वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले छिटो काम गराइदिन्छु भन्दै पैसा असुल्नेहरूबाट सजग रहन आग्रह गरेको छ । ईपीएसमार्फत कोरिया जानेहरूका काम छिटो छरितो गराइदिने वाहनामा दलालहरू सक्रिय रहन थालेको भन्दै उनीहरूबाट सतर्क रहन आग्रह गरेको हो ।

​८. अस्थायी मतदाताको अन्तिम सूची प्रकाशित हुँदै

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको व्यवस्था गरेको हो ।

​९. विदेश भ्रमणमा जाँदै राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्ने भएकी छन्। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उनी यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंसिर ४ को निर्वाचनको विरोधमा अर्को मोर्चा पनि थपिएको छ । यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा बहुमत, मोहन वैद्य नेतृत्वको  नेकपा क्रान्तिकारी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।

निर्वाचनको मुखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द विवादमा तानिएका छन् ।  एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयुक्त चन्द निर्वाचन आचारसंहिता विपरितका गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ । संघका महासचिव क्षितिज थेवेले जारी गरेको विज्ञप्तिमा आफ्नो उद्देश्य पुरा गर्न चन्दले निर्माण व्यवसायी, कर्मचारी तथा अरू व्यवसायीलाई धम्क्याएको दावी गरेका छन् ।

​रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिएका छन् । देशको संवैधानिक फुलहरूको बगैँचामाथि बनमारा झारले आक्रमण गरेको भनी उनले टिप्पणी गरे ।

थप समाचार


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप