शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : पल शाह जेल चलानसहित देशभर के–के भए ?

बिहीबार, १० चैत २०७८, २२ : २३
बिहीबार, १० चैत २०७८

आज मिति २०७८ साल चैत महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । 

१. पल शाह जेल चलान
नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।
बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले  पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । 
अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

२. एमालेको निर्णय
नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । पार्टी केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो । 
 बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एउटै लयका साथ जनताको घर दैलोमा जान निर्देशन दिएका छन् । त्यसक्रममा अध्यक्ष ओलीले विचार, दृष्टिकोण र संगठनका हिसावले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने राजनीतिक दलहरु नभएको बताएका थिए ।

३. गगन घोषणापत्र लेख्ने कमाण्डर
नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक बनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन् ।

पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५२६८ जनामा गरिएको नमूना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएन ।

५. लोडसेडिङबारे कुलमान
उत्पादनमूलक उद्योगहरूमा बिजुली आपूर्ति रोकिएपछि चौतर्फी विरोध खेपेको विद्युत प्राधिकरणले लोडसेडिङ सुरू नभएको प्रष्टिकरण दिएको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर लोडसेडिङ सुरू भएको हल्ला सही नभएको जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘भारतमा बिजुलीको मूल्य बढेकाले हिजो आयातमा समस्या भएको हो । त्यो लोडसेडिङको सुरुवात होइन ।’ उनले हिजो प्राधिकरणले अर्डर गरेको मूल्यमा बिजुली किन्न नपाउँदा आपूर्तिमा समस्या भएको बताए ।

६. शेयरबजार
पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज  लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । बुधबार २०३४ अंकले घटेको नेप्सेमा आज बिहीबार पनि १६६९ अङ्कको पहिलो चलेको हो । नेप्से सूचक २६१३६९ बिन्दुमा झरेको छ ।
कूल ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँमा कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमात्रै कारोबार भएकोमा बिहीबार कारोबार रकम भने केही बढेको हो ।

७. गठबन्धनको प्रयास
नेकपा एमालेले स्थानीय तहमा चुनावी गठबन्धन गर्न जनता समाजवादी पार्टी नेपाल समक्ष प्रस्ताव गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रचार प्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङमार्फत सो प्रस्ताव गरेका हुन् । गुरुङले जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलाई भेटेर अध्यक्ष ओलीको सो प्रस्ताव सुनाएका थिए ।

८. पुष्प मेला सुरु
२३ औं पुष्प मेला सुरु भएको छ । ललितपुरको जावलाखेलको खेल मैदानमा सुरु भएको मेला चार दिनसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । मेलामा विभिन्न ५१ वटा स्टल रहेका छन् । मेलाको अवलोकन ४५ हजारले गर्ने र करिब ७५ लाखसम्मको व्यापार गर्ने अनुमान गरिएको एशोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी गराए । मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्रीहरु समेत प्रदर्शनमा राखिएको छ ।

स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरिएको छ । बिहीबार  गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले  सो नीति पारित गरेको हो ।

१०. थप समाचार...
निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिए ।

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको हो । थाइल्याण्डको चोनबुरीमा भएको खेलमा घरेलु टोलीका लागि फिलिप रोलेर र चाओवाट विरचर्टले एक–एक गोल गरे ।

शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्ष बनेका छन् । गएराति सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप