बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा अचानक लोडसेडिङ : ऊर्जा संकट नै निम्तिएको हो ?

बिहीबार, १० चैत २०७८, १६ : ५४
बिहीबार, १० चैत २०७८

नेपालमा बर्खायाममा माग धान्नेगरी र अझ बढी बिजुली उत्पादन हुन थालेको छ । तर, अधिकांश जलविद्युत आयोजना नदी बहावमा आधारित (रन अफ रिभर–आरओआर)  प्रकृतिका भएकाले पानीको मात्रा घट्नासाथ बिजुली उत्पादन पनि स्वतः घट्छ । यसको सीधा असर ऊर्जा उपलब्धतामै पर्छ । 

बर्खामा बिजुली खेर फालेको नेपालमा अहिले सोही समस्या दोहोरिएको छ । आन्तरिक उत्पादन र भारतबाट हुने आयातबाट विद्युत् कटौती (लोडसेडिङ) अन्त्य भएकोमा समस्या फेरि दोहोरिँदैछ । कोइलाको भाउ आकासिएका कारण भारतीय बजारमा बिजुलीको भाउ महँगिएको छ । नेपाल विद्युत् प्राधिकरणले निकै महँगो दरमा बिजुली किन्न नसक्दा बुधबार उद्योगहरूमा लोडसेडिङ नै गर्‍यो । यद्यपि, प्राधिकरणले आज (बिहीबार) राति १२ बजेपछि भारतबाट प्रतियुनिट ३८ रुपैयाँ तिरेर भारतबाट ७ हजार मेगावाट/आवर बिजुली किन्ने र लोडसेडिङ हुन नदिने बताइसकेको छ ।

रुस–युक्रेन युद्धका कारण अहिले प्रतिटन कोइलाको मूल्य विश्व बजारमा ३२६ अमेरिकी डलरभन्दा माथि पुगेको छ । मार्च ७ मा यो मूल्य ४२२.६५ अमेरिकी डलरसम्म पुगेको थियो । २०२१ मार्चमा प्रतिटन कोइलाको मूल्य ९० डलर हाराहारी थियो । भारतले अधिकांश ऊर्जा कोइला जलाएरै उत्पादन गर्ने गर्छ । विश्व बजारमै कोइलाको मूल्य बढेकाले भारतमा उत्पादित बिजुलीको मूल्य पनि ह्वात्तै बढेको हो । जसले गर्दा नेपालमा पनि ऊर्जा संकट सुरु भएको छ ।

हिउँदमा भारतकै भर

माथि नै उल्लेख गरियो कि हिउँद याममा आयात गर्नु नपर्ने मात्रामा नेपालमा विद्युत् उत्पादन भइसकेको छैन । वर्षायाममा नेपालबाट भारततर्फ दैनिक ३९ मेगावाटसम्म बिजुली निर्यात नै हुन्थ्यो । यो वर्षको असारदेखि मङ्सिरसम्म ३००/४०० मेगावाट बिजुली खेर गए पनि त्यसयता नेपालले भारतबाट बिजुली किनिरहेको छ । 

हाल नेपालमा दैनिक बिजुली माग १६०० मेगावाट रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । देशभित्र १२०० मेगावाटमात्र उत्पादन भइरहेको छ । माग पूरा गर्न बाँकी ४०० मेगावाट बिजुली भारतबाटै आयात गर्नुपरेको छ ।

यसअघि प्राधिकरणले भारतबाट प्रतियिुनिट बिजुली सरदर ४.१६ भारुमा किन्दै आएको थियो । तर, रुस–युक्रेन युद्धका कारणले विश्वभर सबै प्रकारको ऊर्जाको मूल्य बढ्दा भारतीय बजारमा बिजुलीको माग र मूल्य ह्वात्तै बढेको छ । सोहीकारण, यतिबेला भारतीय बजारमा बिजुलीको मूल्य प्रतियुनिट २०/२१ भारूभन्दा माथि पुगेको छ । यसको नेपाली मूल्य प्रतियुनिट ३८ रुपैयाँ हाराहारी पर्छ ।

भारतले जलविद्युत, सोलार, वायु र कोइलाबाट ऊर्जा उत्पादन गर्छ । भारतमा ठूला–ठूला जलविद्युत आयोजना र विश्वकै सबैभन्दा ठूलो सोलार र हावाबाट चल्ने प्लान्टसम्म सञ्चालित छन् । तर, यी प्लान्टबाट उत्पादित बिजुलीले मात्रै नपुगेपछि कोइलाबाट समेत बिजुली उत्पादन गर्छ । कोइलाबाट उत्पादित बिजुली सबैभन्दा महँगो पर्छ । तर, भारतीय बजारको माग धान्न कोइलाबाट बिजुलीको उत्पादन नगरी सम्भव छैन ।

यतिबेला विश्व बजारमा अन्य सबै प्रकारका ऊर्जा स्रोतजस्तै कोइलाको मूल्य पनि बढेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा तथा रुस–युक्रेन युद्धलाई कारण देखाउँदै विश्वभर कोइला आपूर्ति गर्दै आएका अष्ट्रेलिया र अफ्रिकी मुलुकले कोइलाको उत्पादन कटौती गर्दा मूल्य आकासिएको छ । जसकारण भारतमा कोइलाबाट चल्ने प्लान्टबाट उत्पादित बिजुलीको मूल्य महँगिएको हो ।

भारतमै उत्पादन घट्यो

डिजेलको मूल्यसमेत उकालो लागेपछि डिजेलबाट सञ्चालित जेनेरेटहरूको उत्पादन समेत घटेको छ । जसकारण भारतमा बिजुलीको माग ह्वात्तै बढेको छ । विहारमा सञ्चालित बिजुलीको प्लान्टमा यही साता मंगलबार र बुधबार समस्या आउँदा भारतीय ऊर्जा बजारमा बिजुलीको चाप परेको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् । ‘नेपालले बिहारबाट बिजुली किन्दै आएको र विहारकै प्लान्टमा समस्या आएपछि भारतीय बिजुली बजारमा विहार राज्यको मागको चाप पर्‍यो,’ उनले रातोपाटीसँग भने, ‘जसकारण भारतमा मंगलबार र बुधबार बिजुलीको मूल्य ह्वात्तै बढायो ।’

‘मंगलबार दिउँसो प्रतियुनिट ९ भारुसम्म परेको प्रतियुनिट बिजुलीको मूल्य विहारमा सञ्चालित प्लान्ट बिग्रिएपछि ह्वात्तै बढेर १२ भारुसम्म पुग्यो,’ घिसिङले भने, ‘जसकारण, हामीले प्रतियुनिट ९ भारूमा राखेको अर्डर भारतको बिजुली बजारमा म्याच भएन र किन्न पाइएन ।’ यहीकारण हिजो बुधबार दिनभर नेपालमा बिजुलीको आपूर्तिमा चाप परेको र उद्योगहरूमा आलोपालो बिजुली दिइएको घिसिङको भनाइ छ ।

हिजो नेपालले राखेको मूल्य म्याच नखाएपछि किन्न नपाइएको बिजुली आजदेखि किन्न थालिएको र आपूर्ति सहज भइरहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अझै चैत महिनाभर नेपालमा बिजुली आपूर्तिको चाप पर्न सक्नेछ । वैशाखदेखि आन्तरिक उत्पादन उकालो लाग्दा केही सहज हुने तथा असार लागेपछि त मागभन्दा बढी बिजुली उत्पादन हुन थाल्नेछ । त्यसपछि भने नेपालले भारततर्फ ४००/५०० मेगावाटसम्म बिजुली बेच्न थाल्ने बताइएको छ ।

उद्योगलाई ७ घण्टाका दरले आलोपालो बिजुली

हिजो बुधबार दिनभर औद्योगिक करिडोरमा सञ्चालित धेरै बिजुली खपत गर्ने उद्योगहरूलाई ६/७ घण्टाका दरले आलोपालो बिजुली दिएको प्राधिकरणले जनाएको छ । यद्यपि, यसलाई लोडसेसिङ भन्न नहुने र कुनै पनि हालतमा देशमा लोडसेडिङ नफर्कने प्राधिकरण नेतृत्व बताउँछ । अहिले देखिएको समस्या अल्पकालीन भएकाले यसलाई सोहीअनुसार समाधान गर्ने र आज राति १२ बजेदेखि बिजुलीको आपूर्ति सहजतातार्फ जाने बताइएको छ ।

यही क्रममा, उद्योगमा आलोपालो बिजुली दिन थालेपछि औद्योगिक उत्पादन प्रभावित बनेको उद्योगीहरू बताउँछन् । प्राधिकरणले आवश्यकताअनुसार बिजुली दिन नसक्दा उत्पादन प्रभावित बनेको र कोभिड–१९ महामारीबाट लयमा फर्कँदै गरेको औद्योगिक गतिविधि बिजुली आपूर्ति नहुँदा पुनः समस्यामा फस्न थालेको नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

‘प्राधिकरण र राज्यको दीर्घकालीन योजना नहुँदा नेपालमा पटक–पटक बिजुलीको आपूर्ति अवरुद्ध भइरहेको छ,’ घिमिरेले भने, ‘यस्तै भइरहे उद्योगको तालाचाबी राज्यलाई बुझाउनुको विकल्प छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप