शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी गठबन्धन बनाउन बाबुरामलाई एमालेको प्रस्ताव

बिहीबार, १० चैत २०७८, १८ : १९
बिहीबार, १० चैत २०७८

नेकपा एमालेले स्थानीय तहमा चुनावी गठबन्धन गर्न जनता समाजवादी पार्टी नेपाल समक्ष प्रस्ताव गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रचार प्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङमार्फत सो प्रस्ताव गरेका हुन् । गुरुङले जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलाई भेटेर अध्यक्ष ओलीको सो प्रस्ताव सुनाएका थिए ।

चुनावी गठबन्धनका लागि काँग्रेस पार्टीमा विवाद चलिरहेको बेला एमालेले सत्तारुढ गठबन्धनमै रहेको जसपा नेपालसँग चुनावी गठबन्धनका लागि प्रस्ताव अघि सारेको हो । चार दलको गठबन्धनलाई चुनावमा पनि निरन्तरता दिने प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले भनिरहे पनि पार्टीभित्र त्यसमा एकमत हुन सकेको छैन ।

सत्तारुढ गठबन्धनमा भएको प्रारम्भिक छलफलमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले जितेका सबै ठाउँमा आफूलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । उता काँग्रेसले सबै महानगरपालिका लिने, अन्यमा भागबण्डा गर्ने भनेको छ । यो खिचातानीबीच सत्ता पक्षको चुनावी गठबन्धन नबनिरहेको बेला एमालेले त्यसको फाइदा लिन चाहेको हो ।

​एमालेले कहाँ कहाँ कसरी मिलाउन सकिन्छ, त्यसको बारेमा छलफल गरौं भन्ने प्रस्ताव गरेको स्रोतको दाबी छ । तर त्यसमा अझै कुनै निष्कर्ष ननिस्केको बताइन्छ । सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भइरहेको छलफलप्रति अध्यक्ष भट्टराई पनि सन्तुष्ट नरहेको बताइन्छ । यस्तै अवस्था रह्यो भने काँग्रेस, माओवादी, नेकपा (एस) को विकल्पमा जान सकिने अध्यक्ष भट्टराईको धारणा रहेको स्रोतले दाबी गरेको छ ।

अध्यक्ष भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले दुईजना नेताको बीचमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताए । ‘समसामयिक राजनीतिक घटनाक्रममा अहिले स्थानीय चुनावको विषय मुख्य भइहाल्यो, त्यो विषयमा नेताहरुको बीचमा कुरा नहुने कुरै हुँदैन’ उनले भने ।

डा. भट्टराई र एमाले नेता गुरुङका बीचमा स्थानीय चुनावको विषयमा छलफल भएको उनको भनाइ छ । उनले भने, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएर आएको भन्ने कुरा मलाई थाहा छैन तर यति कुरा थाहा छ– उहाँ दुईजनाको बीचमा स्थानीय चुनावको विषयमा कुराकानी भएको हो ।’

उनले काँग्रेस, माओवादी केन्द्रसँग नै तालमेल गर्नुपर्छ भन्ने छैन, अन्य विकल्पहरु पनि खुल्ला राख्नुपर्छ भन्ने तर्कसमेत गरे । स्थानीय चुनाव भएको कारणले कहाँ कुन दलसँग सहमति हुन्छ, त्यसैको आधारमा अगाडि बढ्न सकिने उनको भनाइ छ ।

सत्ता गठबन्धनभित्र अहिले दलहरुले जसरी आ–आफ्नो सीट दाबी गरिरहेका छन्, त्यस हिसाबले कुरा मिल्ला जस्तो आफूलाई नलागेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप