शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उद्योगमा बिजुली आपूर्ति रोकिएपछि कुलमानले भने – लोडसेडिङ होइन, अल्पकालिन समस्या हो

बिहीबार, १० चैत २०७८, १४ : ४१
बिहीबार, १० चैत २०७८

उत्पादनमूलक उद्योगहरूमा बिजुली आपूर्ति रोकिएपछि चौतर्फी विरोध खेपेको विद्युत प्राधिकरणले लोडसेडिङ सुरू नभएको प्रष्टिकरण दिएको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर लोडसेडिङ सुरू भएको हल्ला सही नभएको जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘भारतमा बिजुलीको मूल्य बढेकाले हिजो आयातमा समस्या भएको हो । त्यो लोडसेडिङको सुरुवात होइन ।’ उनले हिजो प्राधिकरणले अर्डर गरेको मूल्यमा बिजुली किन्न नपाउँदा आपूर्तिमा समस्या भएको बताए ।

हिजो देखिएको समस्या अल्पकालिन भएको र त्यो समाधान भइसकेकाले उद्योगहरूको आपूर्ति सहज बनाउँदै लगिने घिसिङको भनाइ छ । उनले अहिले नेपालको बिजुली उत्पादनमा ‘ड्राई’ सिजन चलिरहेकाले माग धान्न भारतबाट दैनिक ४०० मेगावाटसम्म आयात गर्नुपर्ने स्थिती रहेको जनाए । 

‘हामीले दैनिक ४०० मेगावाटसम्म बिजुली आयात गर्दै आइरहेको छ । हिजो पनि बढेको मूल्यमा हामीले किन्न खोजेका थियौं,’ उनले भने, ‘तर, हिजो हामीले किन्न खोज्दा खोज्दै मूल्य उच्च भइदियो र अर्डर गरेको मूल्यमा बिजुली पाइएन ।’ जसकारण, केही उद्योगहरूमा बिजुली आपूर्ति असहज भएको उनको भनाइ छ ।

यसअघि, नेपालले भारतबाट प्रतियुनिट ४.१६ भारू तिरेर बिजुली किन्दै आएको थियो । जुन, बढेर ९ भारूसम्म पुगेको र सोही मूल्यमा बिजुली अर्डर गर्दा बढेर १२ भारूभन्दा माथि पुगेकाले किन्न समस्या भएको प्राधिकरणले स्पष्टिकरण दिएको छ । प्राधिकरणका अनुसार आज राती १२ बजेदेखि बिजुलीको आपूर्ति सामान्य हुने र केही उद्योगमा आलोपालो गर्नुपरेमा पनि आपूर्तिमा समस्या नहुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप