बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : कोरोना संक्रमण युवा पुस्तामा बढी, निर्वाचनबारे अन्योल कायमै

सोमबार, १० माघ २०७८, २० : ४२
सोमबार, १० माघ २०७८

आज २०७८ माघ १० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा स्थानीय तहको निर्वाचनबारे अन्योल कायमै, कोरोना संक्रमण युवा पुस्तामा बढी, मन्त्री रेणु यादवको समर्थनमा जुलुस, कोरोना संक्रमण : २१ हजार २०१ जनामा परीक्षण गर्दा १० हजार ३१९ संक्रमित, कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति : ५६ तोला सुनसहित ठाउँठाउँमा जग्गा, मधेस प्रदेश नामकरणले इतिहास रचियो : महन्थ ठाकुर, नेपाली नर्स बेलायत जाने प्रक्रिया पूरा गर्न अझै एक वर्ष लाग्ने लगायत छन् ।

१. स्थानीय तहको निर्वाचनबारे अन्योल कायमै
स्थानीय तहको निर्वाचनबारे देखिएको अन्योल हट्न सकेको छैन । निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरे पनि सरकारले यसबारे निर्णय गर्न सकेको छैन । सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचनका विषयमा मतैक्यता हुन नसक्दा अन्योल बढेको हो ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसभित्रै पनि स्थानीय तहको निर्वाचनका बारेमा एकमत देखिएको छैन । काँग्रेसका केही नेता वैशाखमै निर्वाचन गराउनुपर्ने तर्क गरिरहेका छन् भने केहीले संविधान र ऐनका केही विषय बाझिएको भन्दै तिनलाई सच्याएर सरकारले निर्वाचनको मिति घोषणा गर्ने तर्क गरिरहेका छन् ।

​२. कोरोना संक्रमण युवा पुस्तामा बढी
नेपालमा कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । पछिल्लो समय संक्रमितमध्ये युवा पुस्ता बढी देखिएको छ । कोरोना संक्रमितको तथ्याङ्क केलाउँदा २१ देखि ३० वर्ष उमेर समूहका युवा बढी रहेको पाइन्छ ।

३. मन्त्री रेणु यादवको समर्थनमा जुलुस
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको समर्थनमा मधेस प्रदेशका विभिन्न जिल्लामा जुलुस निकालेको छ । जसपा नेपालकै नेतृसमेत रहेकी मन्त्री यादवले केही दिनअघि गौरमा दिएको अभिव्यक्तिलाई लिएर विरोध भइरहेको समयमा पार्टी निकट समाजवादी महिला संघले भने उनको समर्थनमा जुलुस निकालेको हो ।

४. गजेन्द्रनारायण सिंहको २० औं स्मृति दिवस
नेपाल सद्भावना पार्टीका संस्थापक नेता स्व.गजेन्द्रनारायण सिंहको २० औँ स्मृति दिवस तराई मधेसका जिल्लाहरुमा मनाइएको छ । अनिल महासेठ संयोजक रहेको गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले ‘मधेस प्रदेश नामकरण र गजेन्द्रनारायण सिंह’ विषय अन्तरक्रिया कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाएको हो । तर, मधेसवादी दलका नेताहरुले भने गजेन्द्रनारायण सिंहको स्मृति दिवसलाई खासै चासो दिएनन् ।

५. कोरोना संक्रमण : २१ हजार २०१ जनामा परीक्षण गर्दा १० हजार ३१९ संक्रमित
पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा दुई हजार ५४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण चार जनाको मृत्यु भएको छ ।

६. कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति : ५६ तोला सुनसहित ठाउँठाउँमा जग्गा
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफूसँग ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र विभिन्न ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन् । 

७. मधेस प्रदेश नामकरणले इतिहास रचियो : महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेश नामकरण गरेर इतिहास रचिएको बताएका छन् । जनकपुरमा पार्टीका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले ८ जिल्ला रहेको प्रदेशको नाम ‘मधेस’ राख्दैमा मधेस संस्कृति यतिमै सीमित रहेको भन्न नमिल्ने तर्क पनि गरे । 

सोमबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ३.४३ प्रतिशतले घटेर २८ सयको रेन्जमा झरेको हो । यस दिन नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झरेको छ । 

९. नेपाली नर्स बेलायत जाने प्रक्रिया पूरा गर्न अझै एक वर्ष लाग्ने
नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत ल्याउने प्रक्रिया पूरा गर्न अझै एक वर्ष लाग्ने भएको छ । बेलायतमा रहेका नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सोको जानकारी गराएको हो ।

१०. टेलिकमको तार चोरेको आरोपमा भायोनेटका पाँच कर्मचारी पक्राउ
इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटमा कार्यरत ५ जना कर्मचारीहरूमाथि टेलिकमको तार चोरेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुले भायोनेटका ५ कर्मचारीलाई पक्राउ गरेको हो ।

११. र यो पनि,
अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रको लगानी दुई गुणाले बढाउन आग्रह गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप