आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गजेन्द्रनारायण सिंहलाई किन बिर्सिए मधेसवादी दलका नेताहरूले ?

सोमबार, १० माघ २०७८, १७ : १४
सोमबार, १० माघ २०७८

नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधन भएको २० वर्ष बितिसकेको छ । उनले मधेसको अधिकार र पहिचानका लागि उठाएका माग कति पूरा भए, कति भएन भन्ने हिसाब किताबको अध्याय बेग्लै हुन सक्ला तर उनले स्थापना गरेको दलको अहिले नामनिशान पनि छैन ।

नेपाल सद्भावना पार्टीबाटै राजनीतिक गरेका नेताहरू हृदयेश त्रिपाठी, राजेन्द्र महतो, सरिता गिरी, खुशीलाल मण्डल, भरत विमल यादव, श्यामसुन्दर गुप्ता, अनिल झा, रामेश्वर राय यादव, विकास तिवारी, अमृता अग्रहरी, लक्ष्मणलाल कर्ण, रामनरेश राय यादव, देवेन्द्र मिश्र, देवेन्द्र यादव, मनिष सुमन, नवल किशोर साह, बद्री मण्डल हुन् । यीमध्ये कतिपय अहिले पनि सक्रिय राजनीतिमा छन् भने कतिपय राजनीतिबाट निष्क्रिय भइसकेका छन् ।

हृदयेश त्रिपाठी लामो समय नेपाल सद्भावना पार्टीमा रहे । पछि उनी महन्थ ठाकुर नेतृत्वको तमलोपामा सामेल भए । २०७४ सालको निर्वाचनमा भने उनी अलग्गै ‘स्वतन्त्र समूह’ बनाएर सामेल भए । अहिले उनले जनता प्रगतिशील पार्टी खोलेका छन् ।

राजेन्द्र महतोले पनि नेपाल सद्भावना पार्टीबाट अलग भएर सद्भावना पार्टी गठन गरे । पछि राजपा, जसपा हुँदै उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा छन् ।

अनिल झाले पनि सद्भावना पार्टीबाट अलग भएर संघीय सद्भावना पार्टी बनाएका थिए । उनी पनि राजपा, जसपा हुँदै हाल लोसपामा छन् । रामेश्वर राय यादव नेपाल सद्भावना पार्टी छाडेर मधेसी जनअधिकार फोरम, त्यसपछि लोकतान्त्रिक फोरम हुँदै अहिले माओवादी केन्द्रमा छन् । खुशीलाल मण्डल नेपाल सद्भावना पार्टी छाडेपछि स्वतन्त्र भएर बसेका छन् । भारत विमल यादव नेपाल सद्भावन पार्टी छाडेर फोरममा गएका थिए । अहिले फोरम छाडेर उनी स्वतन्त्र बसेका छन् ।

यसरी नेपाल सद्भावना पार्टीबाट नेता बनेकाहरू अहिले कोही निष्क्रिय भएका छन् भने कोही अन्य पार्टीमा सामेल भएका छन् । गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी अहिले इतिहासमा सीमित छ ।

गजेन्द्रनारायण सिंहसँग लामो समय काम गरेका खुशीलाल मण्डल भन्छन्, ‘अब नेपाल सद्भावना पार्टीले स्थापना गरेको सिद्धान्त र विचारमात्र होइन, त्यसको इतिहास पनि बाँकी छैन ।’ २० वर्षअघि गजेन्द्रनारायण सिंहको निधन भएपछि नै सो पार्टीको पतन सुरु भएको उनको भनाइ छ । ‘आज त्यो पार्टीको नामनिशान पनि छैन,’ उनले भने, ‘कुनै व्यक्तिले त्यो पार्टीले कतै झोलामा राखेको होला तर अहिले दृश्यमा कतै छैन ।’

पहिला गजेन्द्रनारायण सिंहको पुण्यतिथि, जन्मतिथिमा सो पार्टीका नेताहरूले विभिन्न कार्यक्रम आयोजना गर्दथे । उनले स्थापना गरेकै दलबाट राजनीतिक पहिचान बनाएका कतिपय नेताहरूले अहिले गजेन्द्रनारायण सिंहको स्मृति दिवस, जन्मजयन्ती नै बिर्सिन थालेका देखिन्छन् । उनको नाममा खुलेका विभिन्न एनजिओले सानोतिनो कार्यक्रम गरेर औचारिकता दिएका छन् ।

राजनीतिज्ञ मण्डल भन्छन्, ‘गजेन्द्रबाबुले आठ जिल्लालाई मात्र मधेस बनाउनुपर्छ भन्नुभएको थिएन, उहाँले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भूभागलाई स्वायत्त मधेस बनाउनुपर्छ भन्नुभएको थियो तर अहिले आठवटा जिल्लामा मधेस सीमित भएको छ ।’

उनले नेपाल सद्भावना पार्टी र उसको विचार, सिद्धान्त समाप्त हुनुमा सबभन्दा बढी दोषी हृदयेश त्रिपाठी र राजेन्द्र महतो रहेको दाबी गरे ।

मधेसको मुद्दालाई लिएर जागिर समेत छाडेर गजेन्द्रनारायण सिंहसँग लामो समय काम गरेका भरतविमल यादव भन्छन्, ‘गजेन्द्रनारायण सिंहले उठाएको मुद्दा जीवित भए पनि उनको विचार र सिद्धान्त समाप्त भइसकेको छ, र यो समाप्त हुनुमा अहिलेका मधेसवादी दलका नेताहरू दोषी छन् ।’

गजेन्द्रनारायण सिंहले चाहेको मधेसको पहिचान आंशिक रूपमा प्राप्त भए पनि पूर्ण हुन नसकेको उनको भनाइ छ । ‘अधिकारको कुरा त धेरै टाढाको विषय हो,’ उनले भने, ‘गजेन्द्रनारायण सिंहले उठाएको कुनै माग पूरा भएको छैन ।’

गजेन्द्रनारायण सिंहलाई नजिकबाट बुझेका वरिष्ठ पत्रकार सीताराम अग्रहरीले मधेसी नेताहरू राजनीतिको नाममा व्यापार गरिरहेको आरोप लगाए । ‘उनीहरूलाई जे गर्दा फाइदा हुन्छ, त्यो गरिरहेका छन्,’ उनले भने, ‘गजेन्द्रनारायण सिंहलाई मधेसी नेताहरूले नसम्झे पनि मधेसका जनताले मुटुमा राखेर सम्झिरहेका छन् ।’ मधेसी नेताहरू अहिले सत्ताको दौडमा रहेकाले गजेन्द्रनारायण सिंहलाई सम्झना गर्ने फुर्सद उनीहरूसँग नरहेको अग्रहरी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप